अब्बल 'प्रतिगामी'
![अब्बल 'प्रतिगामी'](https://annapurnapost.prixacdn.net/media/albums/Annapurna--57e3408c944354.43260457_ZixP1j0KrB.jpg)
२०६३ यताको राजनीतिक परिवर्तनपछि सत्ता र राजनीतिमा पूर्ण नियन्त्रण गर्न सफल एउटा समूहले आफू बाहिरको समूह या व्यक्तिहरूलाई एउटा विशेषण भिराउन थाल्यो, 'प्रतिगामी' को । त्यस्तो विशेषण भिराउनेमा १० वर्ष लामो सशस्त्र विद्रोह गर्ने माओवादी मात्र हैन, माओवादी राजनीतिक एजेन्डालाई बाह्य दबाब र सत्ता स्वार्थ अनि राजासँग प्रतिशोधका भावनासाथ स्विकारेका नेपाली कांग्रेस, एमाले र मधेसकेन्द्रित दलहरूलगायतले समेत नयाँ सत्ता बाहिरको कित्तालाई 'प्रतिगामी' को बिल्ला भिराउँदै आफूले 'अग्रगामी' बिल्लामा एकाधिकार जमाए ।
त्यो वर्गीकरणबारे जनता अब त्यति आश्वस्त छैनन् र खुलेरै स्वघोषित 'अग्रगामी' हरूको विरोध गर्न थालेका छन् । अग्रगामीहरूले खासगरी जातीयतामा आधारित शासन व्यवस्थामार्फत समाजलाई 'कविलाकरण' गने खोजे । अर्कोतिर सशस्त्र विद्रोहताका माओवादीहरूले शिक्षण संस्थाहरू (खासगरी निजी स्कुलहरू) लाई जबर्जस्ती चन्दा असुली या 'जनसेना' मा भर्तीको लागि स्रोत केन्द्रको रूपमा प्रयोग गर्ने कोसिस गरे ।
कतिपय स्कुलहरू बन्द भए, बम आक्रमणको निशाना बने । माओवादीकै केही नेताले आफ्ना बालबालिकालाई लुकेर महँगा स्कुलमा 'बुर्जुवा' शिक्षा दिए, त्यही उमेरका अरूलाई बन्दुक बोक्न विवश बनाएर र शिक्षाबाट वञ्चित गरेर ।
तर दुर्भाग्य, शान्ति प्रक्रिया र माओवादीको सत्तारोहणको एक दसकपछि पनि स्कुलहरू आतंकवादको निशाना बनेका छन् । मंगलबार राजधानीका झन्डै एक दर्जन विद्यालयहरूका हाताभित्र बम राखिए । तीमध्ये दुइटा विस्फोट पनि भए ।
बालबालिकालाई तत्काल भौतिक रूपमा कुनै क्षति पुगेन, तर त्यसले उनीहरूमा गम्भीर मनोवैज्ञानिक असर परेको छ । अभिभावक बालबालिकाको सुरक्षाप्रति आश्वस्त छैनन् । सक्नेले 'असुरक्षित' नेपालबाट बालबालिका बाहिर पठाउनेछन् अध्ययनको लागि जसबाट एकातिर ठूलो धनराशिको अनावश्यक पलायन हुनेछ भने अर्कोतिर शिक्षाको लागि अत्यावश्यक पारिवारिक वातावरण र वात्सल्यबाट उनीहरू वञ्चित हुनेछन् ।
बालबालिकालाई बन्दुक बोकाउनु या कुनै पनि बहानामा उनीहरूलाई हिंसाको तारो बनाइनुको अर्थ मुलुकको भविष्यलाई निशाना या तारो बनाइनु हो । मंगलबारको घटनाका सम्पूर्ण विवरण बाहिर आइसकेका छैनन्, तर प्रहरीबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार यो घटनाको पछाडि माओवादीको विप्लव समूह जिम्मेवारी छ ।
विप्लव समूह पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँगै शान्ति प्रक्रियामा प्रवेश गरेको हो, यद्यपि पछि असन्तुष्टि प्रकट गर्ने उनीहरू माओवादी मूलधारबाट अलग्गिएका हुन् । त्यसपछि आफ्नै किसिमको आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
वैकल्पिक राजनीतिको खोजी गर्ने अधिकार सबैलाई छ तर शान्ति प्रक्रियापछि राज्यको ढुकुटीबाट विभिन्न सुविधा र राजनीतिक पदहरू ओगटेपछि फेरि कहालीलाग्दो हिंसाको पुनरावृत्ति दुःखद, निन्दनीय र इमानदारीविहीन कदम मानिनेछ । बालबालिकालाई शिक्षाबाट वञ्चित गर्ने कदम आफैँमा 'प्रतिगामी' मात्र हैन, चीर भविष्यसम्म समग्र समाज र मुलुकलाई 'प्रतिगामी' राख्ने षड्यन्त्रको रूपमा पनि लिइनेछ त्यसलाई ।
विद्यालयहरू 'शान्ति क्षेत्र' हुन् । त्यसमा हिंसाको वातावरण सिर्जना गर्ने अनि बालबालिकालाई निशाना बनाउनेहरूलाई कसले के विशेषण देला, त्यो बेग्लै पक्ष हो, तर उनीहरूलाई निश्चय पनि मुलुक र त्यसका भविष्यका विरोधीहरू हुन् र अब्बल दर्जाका 'प्रतिगामी' पनि ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)