छोटी भन्सार कार्यालय सहयोगीको भरमा
भीमदत्तनगर: कञ्चनपुरको बेलौरीमा रहेको छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ।
विगत एक वर्षभन्दा बढी समयदेखि बेलौरी छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीका भरमा चलेको छ। मासिक ६० देखि ७० हजार रुपैयाँ राजस्व सङ्कलन हुने गरेको उक्त छोटी भन्सार हाल कार्यालय सहयोगी पदमबहादुर थापाले सञ्चालन गरिरहेका छन्।
'एक महिनामा दुई जना कार्यालय सहयोगीबाट १५/१५ दिन भन्सार चलाउँछौं,' कार्यालय सहयोगी थापाले भने,'मैले हाकिम नपाएको एक वर्षभन्दा बढी भइसक्यो।' भारतीय खजुरिया नाकासित जोडिएको बेलौरी छोटी भन्सार द्वन्द्वकालपछि गति लिन सकिरहेको छैन। बेलौरी क्षेत्रका उद्योगी, व्यवसायी र व्यापारीले उक्त नाकालाई बृहत् रुपमा सुचारु गर्न माग गरे पनि भन्सारको अवस्था भने नाजुक देखिएको छ।
जिल्लाको प्रमुख भन्सार कार्यालय गड्डाचौकीले पनि छोटी भन्सार व्यवस्थापन र कर्मचारी खटाउन ध्यान नदिएको बेलौरीका एक व्यवसायीले गुनासो पोखे। 'कार्यालय सहयोगीले राजस्व सङ्कलन गर्दैछन्,'ती व्यवसायीले भने,'भन्सारमै सुरक्षा संयन्त्र फितलो छ अन्तको के कुरा गर्नु।' रासस