निबन्ध- चौकीमा रक्सी

निबन्ध- चौकीमा रक्सी

अन्ततः चौकीमा रक्सी पिउने भइयो ।
औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ । भर्खरभर्खर बैंसालु उमेरको सिँढीमा पाइला राख्दै थिएँ । स्कुल, टोल, समाजका आंशिक लोकप्रिय दाइहरूको सिको गर्नु हामीजस्ता आलोकाँचो अनुयायीको परम कर्तव्यजस्तो लाग्थ्यो ।

समाजमा केही नौलोपन र परिवर्तनकारी काम गरेर देखाउने हुटहुटी उमेरजन्य स्वभावको हिस्सा नै थियो । अहिले सम्झँदा लाग्छ, अनेक विरोधाभास र अज्ञानताका पेटारो बोकेर यताउता गर्ने जमात थियौं हामी । केही नयाँ त गर्न चाहन्थ्यौं । तर, त्यो नौंल्याईको अनुहार र स्वरूपबारे अनभिज्ञ थियौं । लाग्छ, युवा रगतले रोज्ने जोशिला प्रयोगको खोजीमा थियौं । त्यसैको उच्चतम् अवसर थियो, चौकीमा रसरङ । त्यो रसरङ यस्सै लहडमा तय/सम्पन्न भए पनि कार्यकारण पृष्ठभूमिमा राजनीतिक मनोविज्ञान छँदै थिएन भन्न सक्दिनँ ।

...

१३/१४ वर्षको त्यो अल्लारे उमेरमा कसोकसो राजनीतिको डोरी समात्न पुगेको थिएँ । नेकपा एमालेको भ्रातृ संगठन अखिलको प्राक सचिव थिएँ । न जनताको बहुदलीय जनवादको गुह्यबारे बोध थियो, न त माक्र्सवादका आधारभूत सैद्धान्तिक ज्ञान थियो हामीसँग । तर, हामीलाई कम्युनिस्टहरू जनताको पार्टी भएको र एमालेले मात्र गरिब जनताको जीवनोस्तर उकास्न सक्छ भन्ने कुरा रटाइएको थियो । हामी आज्ञाकारी सुगा बनेका थियौं ।

हाम्रो रटाइमा हुन्थ्यो, 'गरिब जनता र एमाले !' तीनचार वर्षअघिको दासढुंगा काण्डलाई हामी ठूलो षड्यन्त्र भन्थ्यौं । तर, भीरपाखामा घाँसदाउरासँग जीवनको खुसी बटुल्ने गौप्राणीलाई षड्यन्त्रबारे के थाहा ? वामपन्थी हुनु नयाँ लयको गीत गाउनुमात्र थिएन, काँग्रेस र राप्रपाविरुद्ध उभिनु पनि थियो । हामी उभिने उन्नत चेष्टा गर्दैथ्यौं । त्यो चेष्टा आफ्नो परिवार र आफन्तीजनको विपरीत बाटो हिँड्नु पनि थियो ।

रसुवाको ठूलोगाउँ, डाँडागाउँ र पैरेगाउँमा गुरुङहरूको बाक्ला बस्ती छन् । मेरो जन्मथलो ठूलोगाउँ गुरुङ संस्कृतिको केन्द्रजस्तै छ । चाडपर्वका सामान्य मेलाबाहेक पनि वर्षमा तीनचारवटा महामेला लाग्छन् हाम्रो गाउँमा । घाटु, मारुनी, रोधीजस्ता सांस्कृतिक झलकले ठूलोगाउँलाई आकर्षक बनाएको छ भेगमा । हाम्रो संस्कृतिमा फुपू–चेला, मामा–चेलाको दोहोरो बिहेवारी चल्ने हुनाले रक्तसम्बन्धको लहरा तीन गाउँ काटेर नुवाकोटका गुरुङ बस्तीहरूसम्म फैलिएको थियो/छ ।

दलगत राजनीतिले आफन्त–आफन्तको पारिवारिक आकाशमा मौन प्रतिद्वन्द्विताको बादल मडारिएको थियो । तर, त्यो बादलमा वैचारिक संचेतनाको अंश नहुनु सबैभन्दा दुखद थियो । हामी भर्खरभर्खर 'छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिराले' सुन्ने÷गुनगुनाउने भएका थियौं । अखिलका कार्यक्रममा भने जीवन शर्मा बजिरहन्थे ।

आफ्नो गाउँको साँघुरो घेरा नाघेपछि मात्र जीवन शर्मा र वामपन्थी राजनीतिबारे सुनेको हुँ मैले । गाउँको भूमेदेवी निमाविबाट डाँडागाउँ माविमा पुगेर ८ कक्षाको पाना पल्टाउन थालेपछि नै मलाई नयाँपनको अनुभूति भएको थियो । डाँडागाउँ बाहुनक्षेत्री समुदाय पनि घुलमिल भएको बस्ती हो । विकास पनि हाम्रो गाउँमा भन्दा राम्रो थियो । त्यस समयमा भेगकै एकमात्र मावि, स्वास्थ्यचौकी, प्रहरीचौकी र भेटेरेनरी पनि डाँडागाउँमै थिए ।

कविता, निबन्ध प्रतियोगितामा सरिक हुन थालको थिएँ । हरेक प्रतियोगितामा रित्तो हात बस्नु परेन मलाई । जिल्लास्तरीय प्रतियोगितामा पनि पुरस्कृत हुन थालेपछि केही सरले 'कविजी' भन्थे मलाई । तर थाहा छैन, त्यो सम्बोधनमा प्रोत्साहन र व्यंग्यको मात्रा कतिकति थियो ? हाम्रो गाउँमा गन्धसमेत नआएको वामपन्थी राजनीति डाँडागाउँमा विस्तारै फैलँदै थियो । सिन्धुलीबाट आएका शिक्षक रामप्रसाद कोइरालाले विद्यार्थीलाई गुप्त रूपमा प्रशिक्षित पनि गर्थे । म उनै कोइराला सरको स्कुलिङमा हुर्किरहेका सिनियरहरूको संगतमा परेँ । र, अखिल भएँ ।

स्कुलका सरहरू पनि राजनीतिक रूपमा विभाजित छन् भन्ने सुनिन्थ्यो । तर, मैले त्यति धेरै सोधिखोजी गरिनँ । हाम्रो गाउँबाट जानेमध्ये तीनजना अखिलमा थियौं– अजय लामा, विजय गुरुङ र म । अखिलमा जिल्ला तहसम्म राम्रो पहुँच थियो अजयको । तामाङ टोलको भए पनि मितेरी साइनोबाट मेरो आफन्त भएकाले अजयसँग म विशेष नजिक थिएँ । सानैमा भारततिर गएर हन्डर ठक्कर पाएको थियो उसले ।

उसको एउटै अर्ती दोहोरिन्थ्यो, 'केटा हो ! नपढे दुःख पाइन्छ । पढेर समाजका लागि केही गर्नुपर्छ ।' डाँडागाउँकै एउटी गुरुङसेनीसँग उसको गुप्त प्रेमपत्र आदानप्रदान हुन्थ्यो । बफादार हुलाकी मै थिएँ । मैले अखिलको सचिवको पद पाउनुमा हुलाकी भूमिकाको हिस्सा पनि थियो कि ?

सामाजिक सम्पर्कमा खुब रुचि बढेको थियो मेरो । बिनाकाम पनि स्वास्थ्यचौकी जान्थेँ । अहेव भए पनि राम्रो डाक्टरका रूपमा प्रशंसित तराई मूलका 'जुलुम' सरसँग कुरा गरिरहन्थेँ । उनीसँगको सानिध्यताको फाइदा उठाउँदै केही औषधि लिन्थेँ । बेलाबेलामा 'चाहिएजति लानुस्' लेखिएको बाकसमा हात घुसार्थें र साथीहरूलाई नचाहिँदो रूपमा बाँड्थेँ । स्कुलमा क्यान्टिन हुन्छ भन्ने हामी धेरैलाई थाहा थिएन । स्कुल छेउकै पसलमा चियाचमेना पाइन्थ्यो ।

ती बाबुराम भट्टराई भनिएका मानिसको श्री कतै गुमेको भान हुन्थ्यो । भीडमा कसैले भन्यो, 'अलि–अलि मगज खुस्किएजस्तो छ ।' असई भन्दैथे, 'अनेक भेषमा आउँछन् माओवादी । पागल बनेर पनि हिँड्न सक्छन् ।' ती मान्छे खसीबोका किन्न बेसीबाट गाउँ उक्लिएका रहेछन् । कसो आफैं बलिको बोको भएनन् । डराउँदै ती ओरालो झरे । तर, आँखामा त्यो अनुहारको भूगोल छाप्पिएर बस्यो । सोचेँ, बाबुराम भट्टराई तिनै मान्छेजस्तै होलान् ।

पैसा हुँदा अलिअलि खाजा खाइन्थ्यो । कहिलेकाहीँ उधारो पनि चलाइन्थ्यो । पसलतिरै भेट हुन्थ्यो, प्रहरीसँग । प्रहरी र डाँडागाउँलेलाई हेर्ने ठूलोगाउँलेको नजर उति राम्रो थिएन । कारण थियो– प्रहरी र स्थानीय युवतीहरूको सम्बन्ध । कति प्रहरीले डाँडागाउँतिरै घरजम गरेका थिए, कतिका सन्तान बाबुको थर बोकेर मामाघरमै हुर्किरहेका थिए । डाँडागाउँका साथीहरू पनि हामीलाई 'ठूलोगाउँले' लवजका आधारमा खिस्याउने गर्थे । तर, जति नै निरपेक्ष रहन खोजे पनि हाम्रोजस्तो बन्द र विकट बस्तीमा शक्तिकेन्द्र थिए– मास्टर र पुलिस । विस्तारै म तिनै शक्ति केन्द्रनजिक हुँदै थिएँ ।

माओवादी 'जनयुद्ध'बारे बिस्तारै चर्चा हुन थालेको थियो । तर, प्रभाव उति बलियो देखिँदैनथ्यो हाम्रो भेगमा । अनेक किस्सा सुन्नमा आउँथे । हल्लाको जरा कसरी खोतल्नु ? तर, ती अनकन्टारजस्तै पहरामा पनि हल्लाका लहराबेहरा झ्यांगिँदो थियो । एउटा लहराले हामीलाई पनि छोयो । लहराले यसो भन्यो, 'तीनवटा पीएचडी गरेका बाबुराम भट्टराई नेपालका ठूला विद्वान् हुन् । उनी सदरमुकाम धुन्चेमा आएका छन् रे ।

दिनमा गिट्टी कुट्छन् र रातमा मान्छेहरू बटुलेर माओवादको प्रशिक्षण दिन्छन् रे ।' यस्ता हल्लाले हामीलाई भित्रभित्रै हल्लाउँथ्यो । यो हल्ला वास्तविकताको हावापानीमा हुर्किएको थियो कि थिएन आजसम्म थाहा छैन । एक दिन हाफटाइममा अर्को सनसनीपूर्ण हल्ला चल्यो, 'तल पसलमा बाबुराम भट्टराई आको छ ।' पसलमा एकजना दुब्लोपातलो मान्छे केही गाउँलेबाट घेरिएर बसेका थिए ।

झ्याप्प दाह्रीजुँगा पालेका ती व्यक्तिले मैला सर्टपाइन्ट र प्लास्टिकको चप्पल लगाएका थिए । आफैंमा कतै हराएजस्ता ती अल्पभाषीलाई जिज्ञासुहरू अनेक प्रश्नका तीर सोझ्याउँदै थिए । यत्तिकैमा स्कुलभन्दा दुई कान्लामुनि रहेको चौकीबाट सिपाहीसहित हतियारधारी असई आए । उनले पनि अनेक प्रश्न कुटिल शैलीमा राखे । तर, ती बाबुराम भट्टराई भनिएका मानिसको श्री कतै गुमेको भान हुन्थ्यो । भीडमा कसैले भन्यो, 'अलिअलि मगज खुस्किएजस्तो छ ।' असई भन्दैथे, 'अनेक भेषमा आउँछन् माओवादी । पागल बनेर पनि हिँड्न सक्छन् ।' शरीरको हल्का खानतलासी भो ।

भीड बढ्दै जाँदा एक स्थानीय टाठाबाठा गुरुङ दाइ बीचमा आइपुगे र बोले, 'यो त नुवाकोटे हो । तुप्चेको सोझो बाहुन । मैले देखिरहेको मान्छे ।' त्यसपछि ती एकछिनका बाबुरामको अनुहार उज्यालो हुँदै गयो र अलि बोल्न थाले । ती मान्छे खसीबोका किन्न बेसीबाट गाउँ उक्लिएका रहेछन् । कसो आफैं बलिको बोको भएनन् । डराउँदै ती ओरालो झरे । तर, आँखामा त्यो अनुहारको भूगोल छाप्पिएर बस्यो । सोचेँ, बाबुराम भट्टराई तिनै मान्छेजस्तै होलान् ।

कहिलेकाहीँ पारि कालिकास्थानदेखि विद्यार्थीहरू अखिल क्रान्तिकारीको संगठन गर्न आउँथे स्कुलमा । उनीहरू चौकीको ठीक विपरीत भिरालो चौरमा बसेर मसिनो स्वरमा क्रान्तिकारी कुरा गर्थे । भेउ पाउन गाह्रो हुन्थ्यो, उनीहरू साउती मार्दैछन् कि गफ गर्दैछन् ? तर चौकीतिर पनि चनाखो आँखाले हेरिरहन्थे । छिनछिनमा कसिलो मुठी उचाल्थे पनि । मेरा केही आफन्ती दाइहरू त्यस संगठनमा रहेको संकेत थियो । उनीहरू प्रायः कुरा गोप्य राख्थे ।

कहिलेकाहीँ हाम्रा सांस्कृतिक कार्यक्रमहरू जुध्थे या जुधाइन्थे । म सानैदेखि नाच्न अघि सर्ने मान्छे । स्कुलका धेरै कार्यक्रममा नाचिसकेको थिएँ । अखिल र अखिल क्रान्तिकारीबीचको नाचगान भने उत्तर–दक्षिण फरक हुन्थ्यो । क्रान्तिकारीहरू टाउकोमा रातो रुमाल बाँधेर कराँते काँता र आगो प्रयोग गरी नाच्थे । गीतमा युद्ध र बन्दुकजस्ता शब्दमा विशेष जोड हुन्थ्यो । अनि मलाई आफ्नै नाच फिक्का र सपाट् लाग्थ्यो ।

हामी भन्थ्यौं, 'सबै कम्युनिस्टको उद्देश्य साम्यवाद हो । बाटोमात्र फरक हो ।' यस्तै बोल्न सिकिएको थियो । तर माओवादी एमालेभन्दा बढी क्रान्तिकारी हुनुपर्छ भन्ने लाग्न थालेको थियो मलाई । मनको भण्डारको कुरा मुखसम्म ल्याउने अराजक आँट भएन । मनको कुरा भित्र कतै गाँठो परिरह्यो ।

मेरो कलिलो दिमागमा एउटा भ्रम छिप्पिँदै थियो– कुनै दिन सबै कम्युनिस्ट पार्टीहरूको एकीकरण हुनेछ ।
...

सधैंझैं शुक्रबार आधा खुसीको दिन थियो । हामी खुसीलाई सम्पूर्णता दिन तयार भयौं । अलिअलि फूर्ति लाउने बहाना मिल्दै थियो । स्थानीय शक्तिसँगको रसिलो सम्बन्धको इन्द्रेणी प्रभाव त छँदैछ । स्कुलमा भलिबल खेल्दाखेल्दै रसरङको कार्यक्रम तय भएको थियो । छुट्टीपछि साथीहरू ४० मिनेट हिँडेर घर फर्किए । म डाँडागाउँमै थन्किएँ । अजय, पहलमान, कुमार, रमेश र दुईजना प्रहरी मिलेर चौकीमा रक्सी खाने पक्का भो । अजयलाई पछिल्लो समय डाँडागाउँ यसैयसै प्यारो हुँदै थियो । सायद कार्यक्रमको प्रस्तावक र योजनाकार पनि ऊ नै थियो ।

मेरो लागि रक्सी नयाँ–नौलो नभए पनि अभ्यस्त थिइनँ पिउन । ब्राह्मण कन्याहरूसँग धेरै घुलमिल हुने र जाँडरक्सीदेखि टाढै रहने हुनाले मलाई गुरुङसेनी मित्रहरू 'बाहुनको ज्वाइँ' भनी जिस्क्याउँथे । पढ्ने मान्छेले रक्सी पिउनु राम्रो होइन भन्ने मेरो सोचाइ पहिलोपटक आफ्नै प्रयोगशील साहसले भत्काउँदै थिएँ । सबैभन्दा सानो भएकाले हुनसक्छ, जोडजामको व्यवस्थापकीय जिम्मेवारी मैले लिनु परेन । झमक्क साँझ परिसक्दा लोकल कुखराको एउटा जब्बर भाले, जर्किनको १० बोतल कोदोको रक्सी, एकाध सिसी बजारु मार्फा, तास र मादल हाम्रा साथमा थिए ।

उता चौकीको भान्साबाट हरहर वासना आइरहेको थियो, यता साथीहरू राजसी छाँटमा तिघ्रा ठटाउँदै तास थुत्दै र पछार्दै थिए । बीचमा कोही सुसेली हाल्थे । सुसेली हाल्नु बतास बोलाउनु हो भन्ने ग्रामीण विश्वास थियो । दिनको २ बजेपछि डाँडागाउँमा यस्सै पनि मुटुमा भाला रोप्ने चिसो स्याँठ चल्न थाल्थ्यो । डाँडामै अवस्थित चौकीमा घच्चीको टुकी बालेर तास खेलेका साथीहरू सुसेलीकारलाई आँखा तर्दै थिए । तासमा रुचि, योग्यता र अनुभव नपुगेकाले म एक्लो दर्शक बनेँ ।

हामीसँग गफ मिल्ने दुई प्रहरी मात्र थिए चौकीमा । सायद अरु घरबिदा या सदरमुकामतिर गएका थिए । सँगै बसेर रक्सी खानु आत्मीयताको प्रतिविम्बन पनि मानिन्छ । प्रहरीसँग नजिकको सम्बन्ध रहेको देखाएर चुरीफरी गर्नु थियो हामीलाई । प्रहरीहरूलाई स्थानीय युवासँग घुलमिल भएर रमाइलो गर्नुका साथै सम्भावित भिडन्तको भयलाई कम गर्नु पनि थियो सायद । तर, हामीले आआफ्नो मनोविज्ञानलाई अनेक सहज भंगिमाले छोप्दै थियौं ।

चियर्सको दोहोरी चलिरह्यो । घुँडा गल्दै आएपछि थाहा पाएँ, रक्सीको ताकत मेरो नशामा बग्दैछ । विस्तारै टोलीले स्वरलाई उच्च बनाउँदै लग्यो । मोटो राजनीतिक गफको वर्षाबीच अंग्रेजी असिना पनि फाट्टफुट्ट झर्दै बिलाउँदै गर्न थाल्यो । राजनीतिक मनसुनमा एमालेलाई परिवर्तनकारी देखाउने घनघोर बादल ओहोरदोहोर गथ्र्यो । गर्जन गतिलै थियो । लाग्थ्यो, चट्याङ झार्नेवाला छ । कतैकतै युद्ध अनावश्यक रहेको तर्कले पनि महत्त्व पाउँथ्यो ।

कोदोको सुरम्य रसको बलमा प्रहरी पनि थपिहाल्थे, यो युद्ध माओवादीले जित्न सक्दैन । तर, युद्धको प्रसंगमा फुत्केका बोलीको स्वाभाविक स्केलचाहिँ खस्केर बेसीमै पुग्थ्यो । मानौं, स्केल उच्च भएमा अग्लाअग्ला पहाडका कानमा अनुरणन हुँदै मैदानमै पुग्छन् शब्दहरू ।

प्रहरीको ओछ्यानमा ढल्किएका मानव छायाहरू लर्खराउन थालेका थिए । चिल्लो काठको टेबुलमा ढुक्कले उभिएर मोटो सलेदोबाट टुकीले घुर्मैलो उज्यालो फालिरहेको थियो । मादलको खरी रन्किन थालेको थियो । नाचगानमा रस बसेको म उठ्न नसक्ने भएँ । विस्तारै तीन वर्गमा विभक्त भयौं हामी । पहिलो टोलीले राजनीतिक गफको डन्डीबियो खेल्न थाल्यो । टोली नेताले माक्र्सवादी बियोको टुप्पोमा एमालेको मोटो डन्डीले हिर्काएर हावामा पुर्‌याउँथ्यो भाषणखेल ।

नेताले बियो भुइँमा झर्न दिँदैनथ्यो । ऊ कहिले मदन भण्डारीलाई सम्झेर भक्कानिन्थ्यो, कहिले माधवकुमार नेपाल भनेर मुठ्ठी दह्रो पाथ्र्यो । सीपी मैनाली, वामदेव गौतम र मनमोहन अधिकारीका नाम पनि चुरोटको धुवाँमा रङमग्गिएर झ्यालको काप हुँदै बाहिरिन्थ्यो । र, प्रहरीको तिघ्रामा प्याट्ट हान्दै भन्थ्यो, 'अब गरिबको दिन आउँछ ।' यही टोली केटीको मनमोहक किस्सा पनि घुसाइहाल्थ्यो संवादमा । र, गफ थप रोचक मोडमा हुइँकिन्थ्यो ।

दोस्रो टोली मादलको बिटमा आफ्नो गीतको लय मिलाउन खोज्थ्यो । तालमेल नमिल्दा उनीहरूको अनुहारमा पोतिएको ऐतिहासिक हैरानी हेर्नलायक हुन्थ्यो । हैरानीको उकालीमा पसिना चुहाइरहेका ती सिसिफसले छेउका साना सिसीलाई रित्ता बनाइसकेका थिए । तेस्रो टोली एकदम निष्क्रिय श्रोता÷दर्शक थियो । त्यो टोलीको नेता तथा कटिबद्ध कार्यकर्ता फगत म एक्लो थिएँ । मेरो रुचि भने पहिलोतिर बढी थियो । सोच्दै थिएँ, म परिवर्तनशील संगठनमा छु । केही त पक्कै गरिन्छ जिन्दगीमा । एकाएक गर्विलो छाती पिट्ने मन हुन्थ्यो । तर, अल्छी लाग्थ्यो हात चलाउन ।

जीवनमा पहिलोपटक यसरी रक्सी पिइँदै थियो । नौलो आनन्दको आँगनमा उभिँदै थिएँ । लाग्दैथ्यो, म कतै अँध्यारो र गहिरो ओडारतिर जाँदैछु ।

बिहान बिउँझँदा अस्तव्यस्त ओछ्यानमा जाडो मौसमको अल्छी घामले पनि न्यानो उपस्थिति जनाइसकेको रहेछ । निधारवरपर हल्का दुखाइको अनुभूति भो । जीउमा एक मुठी ऊर्जासमेत थिएन । म यो लामो रातमा कुन उपत्यकाको स्वप्निल यात्रामा थिएँ ? मैले ठम्याउन सकिनँ, यो 'क्रान्तिकारी' ठिटोको होशले राति कति बेलादेखि हिउँदे छुट्टी लियो ? बेहोशीको आयु सकिएपछि होशको पाठो सुस्तरी धमिलो खोला तरेर वारि आइपुग्यो ।

होशको सनातन नाकमा केही अप्रिय गन्धको भालाले आक्रमण गर्न थाल्यो । वरपर आँखा डुलाएपछि पत्तो पाएँ, हिजोका टोली सदस्यहरूमध्ये कसैले रक्सीको आवेगी ऊर्जा पचाउन सकेन । र, जताबाट पियो उतैबाट बलात् अवकाश दियो । दुईवटा बेडका तन्ना र सिरकभरि छ्यालब्याल भएको लघु नरककुण्डले एक्कासि तनाव दियो । त्यो त्यति बेलाको सबैभन्दा विद्रूप दृश्य थियो । गाडीको झ्यालबाट कसैले वाकेको देखेमात्र पनि नाइटो बटारिहाल्ने यो मनुवालाई चौकीको कोठामा अनौठो खालको यातनाजस्तो भयो । लाग्यो, धरतीकै कुरूप हर्कत हो यो ।

हर्कतकर्तासँग भकारीभरिको रिस थुप्रियो । यसो हेरेँ साथीहरूलाई । नजिकै घर हुनेहरू हामीसँग थिएनन् । बाँकीले सुन्ने गरी कराएँ, 'हत्तेरी के हो यो ? कसले हो ? '

कथाले त अकस्मात् वियोगान्त दृश्य संयोजन गर्दै लग्यो । त्यहाँ उपस्थित जिउँदा साक्षीहरू फरक आवाज तर एउटै लयमा भन्दैछन्, 'तिमीले राति बोर गर्‌यौ नि यार । पचाउन नसक्नेले त्यसरी खान नहुने । लात्तीले हानेर टुकी फुटाल्यौ, मट्टितेल पोखायौ । हाम्रो नाचगान र रंगरस्सी सबै रोकियो । तिमीले यस्तो झ्याउ गर्‌यौ ।' म अवाक् भएँ । हिजो राति विस्तारै ओडारतिर धकेलिँदै गएपछिका कुनै पनि दृश्य मसँग सजीव छैनन् । म सबैभन्दा सानो मान्छे भए पनि केही बेर जिद्दी गरेर भनेँ, 'मैले हुँदै होइन ।' तैपनि कोही टसमस भएनन् । अन्तिम अस्त्र प्रयोग गर्दै बोलेँ, 'यत्ति धेरै म एक्लैले कसरी गर्छु ? ' हार स्वीकार गर्नुको विकल्प मसँग थिएन ।

एक घन्टापछि चौकीको चर्पीमा बाटा राखेर वासनादार पूजा साबुनको पातलो फिँजमा केटौले क्रान्तिकारिता मिच्दै थिएँ । एमालेगिरी पखाल्दै थिएँ म । मेरो जुझारु मेन्टर अजय लामा मुन्टो बटार्दै पानी हाल्दै थियो । बेला बेला थुक्दै पनि थियो ऊ । के उसले आफैंलाई पनि थुक्दै थियो ? कि हाँसो लुकाउन अन्त हेर्दै थियो ?
...

कहिलेकाहीँ त्यो घटना सम्झन्छु । र, एक्लै हाँस्छु । चौकीमा मैले एमालेगिरी धोएको वर्ष दिन नपुग्दै विभाजनको सिकार भयो एमाले । महाकालीको पानी–कसम खाएर केन्द्रदेखि जिल्लासम्म धेरैले धेरै कुरा वमन गरे पार्टीभित्र । चौकीको त्यो चिसो बिहानीमा भन्दा धेरै दिगमिग लाग्न थाल्यो मलाई । केही साथीसँग मैले पनि घुर्की लाएरै भनेँ, 'अब म एमालेमात्र होइन, राजनीतिबाटै सन्न्यास लिन्छु ।' आफ्नै 'घोषणा' आफैंलाई जोकजस्तो लाग्छ अचेल । स्मृतिको डायरीमा लिखित चौकी–पर्वको निक्कै वर्षपछि मात्र मैले मदिरालाई आमन्त्रण गरेँ आफूभित्र । सोच्छु, आफैं डुब्ने बराबर पिइसकेँ होला । तर, कहीँ–कतै मैले बितन्डा मच्चाएको रेकर्ड छैन ।

मनमा प्रश्न अझै जिउँदो छ, चौकीको त्यो हर्कत साँच्चै मेरैमात्र थियो त ? कि मेरो नै थिएन ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.