स्याउबाजे र स्टिभ जब्स

स्याउबाजे र स्टिभ जब्स

हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ श्रेष्ठ, भूपिन, दीपक कथित, पत्रकारद्वय वसन्त बस्नेत, अनन्त वाग्ले र म ।

श्यामल दाइ रातो मफलरमा मज्जाले खुलेको थियो । नीलो ट्र्याकसुटमा वसन्त धावकै देखिन्थ्यो । कर्‌याङकुरुङलाई पनि उछिन्लाजस्तो । भूपिन भने हरियो हुडीमा जादुगर हुडिनीजस्तो रहस्यमयी भान हुन्थ्यो । हुडिनी दर्जनौं ताल्चा र चेनले बाँधिएर समुद्रमा फ्याँकिँदा पनि छोटो समयमा ती बन्धनबाट मुक्त हुँदै निस्कनमा विश्वचर्चित थिए । भूपिन पनि मिलिक्कै बोक्सीखोलाको भंगालोजस्तै छुट्टिन्थ्यो, फेरि निमेषमै देखिन्थ्यो । कारण थियो, मायाबी मोबाइल । सबले रुकस्याक बोकेका । श्यामलको सिग्नेचर टोपी थियो, नेरुदा मार्काको । त्यसैले समूहलाई नेरुदा दल नामकरण गरेका थियौं । दीपक कथित र अनन्त वाग्ले अल्पभाषी । मिलनसार मित्रहरू ।

घाँसा गाउँ कटेपछि भूपिनले बाटामा एकजना रौसे बुढालाई भेटेछन् । भूपिनले सोधेछन्, 'तपाईंको उमेर कति पुग्यो ? ' । 'म बहत्तर वर्षको ठिटो', बूढाले ठट्यौली स्वरमै जवाफ फर्काएछन् । चकित खाएछ भूपिन । दोस्रो प्रश्न 'तपाईंका छोराछोरी कति छन् ? ' बूढाले भनेछन्, 'बीस हजार' । कसरी ? बूढाले रहस्यको पुन्तुरो खोलेछन्, 'मुस्ताङमा दशकौंअगाडि मैले बाँडेका स्याउका बेर्नाहरू झन्डै बीस हजार पुग्छ । ती सप्पै मेरा सन्तान हुन् । त्यसैले बीस हजार ।' पावर चस्माभित्र चिम्सा आँखा झिम्क्याउँदै भनेछन्, '३० वर्ष सरकारी जागिर खाएँ, ६० वर्ष पेन्सन खान्छु ।' भूपिन ठहरै ।

कोखेठाँटीमा भूपिनले रौसे बूढाको प्रसंग सुनाउँदा हामी निकै हाँस्यौं । म सबभन्दा बढी । कारण म उनलाई चिन्छु । उनी नाताले मेरा काका हुन् । बुद्धिरत्न शेरचन । आफ्नै गाउँका । काकाको विनोदी स्वभाव र व्यवहारबारे मलाई थाहा छ । नेपाल सरकारमा कृषिविज्ञका रूपमा ३० वर्ष काम गरी सेवानिवृत्त भए । हाल काठमाडौं बस्ने उनी प्रायः गाउँ गइरहन्छन् । कृषिमै केही न केही गरिरहन्छन् । सपना बाँडिरहन्छन् । उति बेलै सहसचिव बने तर शक्तिमादले कहिल्यै धरातल छाडेनन् । थकाली समुदायमा बुद्धिरत्न शेरचन यौटा विम्ब हो— सादगी र लगनशीलताको ।

गिटार बोकेको एउटा हिप्पी युवा पनि बहत्तरवर्षे ठिटोसँगै हिँडिरहेको थियो । वसन्तले सोधखोज गरिहाले । उनले बोकेकोे गिटार, फिरन्ता र बेपरवाह लाग्ने उनको गेटअप । उनको नाम ब्रेन्डन रहेछ । अमेरिकी । स्कुल सक्काई संसार घुम्न निस्केको । केही समय भारतको हरिद्वार र ऋषिकेशमा आध्यात्मिक गुरुको सानिध्यमा बसेछन् । त्यसपछि हिमवत्खण्डको अनुभव लिन मुस्ताङ छिरेछन् । एकपटक मोटर दुर्घटनामा झन्डै मरेका रे ।

त्यसपछि उनको जीवनले आध्यात्मिक मोड लिएछ । जुनियर गिन्सबर्ग थपिएपछि नेरुदा दल समावेशी बन्यो । अन्तर्राष्ट्रिय ब्रान्डको । ब्रेन्डन हामीसँगै हिँड्न मन पराएको बुझेर रौसे बूढाले मलाई भन्यो, भतिज ब्रेन्डन तिमीहरूसँगै आओस्, ऊ आज म कहाँ बस्छ । त्यति भन्दै उनी लम्किहाले ।

२०२३ सालतिर मुस्ताङमा स्याउ खेती सुरु गर्ने जस रौसे बूढालाई जान्छ । थकालीका मिर मुखिया इन्द्रबहादुर तुलाचनका अनुसार तत्कालीन श्री ५ को सरकार र भारत सरकारको प्रयासबाट कृषि विशेषज्ञ बुद्धिरत्न शेरचन र डा. रन्धवाले मार्फामा कृषि फार्म स्थापना गरेछन् । सुरुमा स्याउ रोप्न प्रोत्साहन गर्दा यहाँका कृषकले चाख दिएनछन् । किसानको घरदैलो गर्दै यसले भविष्यमा फाइदा गर्छ भन्दै स्याउको बेर्ना बाँडेछन्, बुद्धिरत्नले । अनिच्छुक केही किसानकोमा आफैंले रोपिदिएछन् ।

अहिले मुस्ताङलाई जति मुक्तिनाथले चिनाएको छ, उत्तिकै स्याउले चिनाएको छ । स्याउ पनि भेराइटी भेराइटीका । रोयल डेलिसियस । गोल्डेन डेलिसियस । रिच डेलिसियस र रेड डेलिसियस । मुस्ताङ रेमिट्यान्सले हैन, स्याउको दाना र पर्यटनले कोरेको मार्गले समृद्ध छ ।

बेनीबाट हिँडेको दिन घाँसा हुँदै लेते बस्छौं । लेतेमा मज्जाको बसाइपछि कोवाङको निम्ति हिँड्छौं । प्राज्ञ विष्णु प्रभात, गजलकार बुँद राना, कवि सोनु गुरुङ र प्रतिष्ठानका योजना अधिकृत ज्ञानहरि बस चढ्छन् । नेरुदा दलले हिँड्ने मनस्थिति बनाउँछ । संसारकै सबभन्दा गहिरो गल्छीमा हिँड्दा सल्लाको पात सुई सुई बजेको सुनिन्छ । धूपीसल्लाको महक हुर्रिएर नाकमै आइपुग्छ । एकाध घन्टा हिँडेपछि कोखेठाँटी आउँछ । उवाको खाँटी रक्सी पाउने आशामा त्यो सानो चोइला एउटा होटलतिर तानिन्छ । 'थकाल्नी दिदीले साह्रै मीठो रक्सी खुवायो', श्यामल भन्छन् । भर्खर बिरामीबाट तंग्रिएका तीर्थ दाइ पनि चुस्की लिँदै ऐक्यबद्धता जनाउँछन् । श्यामल दाइको कानको लोती रातिँदै जाँदा मफलरको रातो रङ पनि फिक्का पर्दै जान्छ ।

कोवाङ आइपुग्दा लोथ भएका थियौं । कोवाङ, मेरो गाउँ । आमा समूहले तयार पारेको नुनचिया, मकै, डुङ (ससेज) मीठो मानी खान्छौं । होचो टेबलमा (चोक्च्यो) खाजा राखेर छेउमै बस्दा पनि छपक्क धुवाँले दलकै सदस्यहरूको आकृति धूमिल धूमिल देखिन्छन् । बेलुकीको समय भने खास बनेको थियो । वसन्त मीठो गाउँदा रहेछन् । नवीन के भट्टराई र एड्रियनको प्रशंसक । गिटार बजाउने । सानोतिनो सांगीतिक कार्यक्रम चल्यो । गाउँकै बीचबाट धौलागिरि आइसफलबाट झर्ने कुलेसो बग्छ ।

त्यसै कुलेसोको छेउ बनाइएको सामुदायिक भवनको भुइँमा लस्करै बिछ्यौना लगाइएको थियो । थाके पनि माहोलले गर्दा सुत्न चाहेनौं । गफको गुरिल्ला मार्च बढ्यो । अबचाहिँ प्रस्टै, कर्‌याङकुरुङको बथान पनि पछाडि छाडिँदै गयो । धाराप्रवाह कविता वाचन, शक्तिवद्र्धक जोकको ठहाका र तीर्थ र श्यामल दाइको रसयुक्त जुगलबन्दी । तीर्थ श्रेष्ठको पालो ।

'म बाँस
तिमीले काट्यौ, ताछ्यौं र पोल्यौ
सोचे बर्बाद भएँ
तिमीले फुक्यौ र सोचेँ म आवाद भएँ'

अहा ! पालैपालो सबैले दुई कविता सुनाए । त्यसै बेला तीर्थ भाउजूको फोन आयो पोखराबाट । दबाई खान त बिर्सेको छैन नि ? कहाँ बिर्सने । रक्सीमा हात त लगेको छैन नि ? रक्सी, कहाँ खानु । दाइको ऐक्यबद्धता प्राप्त भएको पनि निकै भइसकेको थियो । अर्को सामूहिक हाँसो । वसन्तले दुई कविता सुनाएर तिनमा अड्डी लिए । अर्को ठहाका । दीपक, अनन्त र म परे अल्पभाषी । कविहरूले हामीलाई असल श्रोता बनाएर हुर्मतै लिए । सहआयोजक भएपछि त्यति त सहनै पर्‌यो । सुत्दा मध्यरात भएको थियो । ब्रेन्डन उहिले नै पल्टिसकेको थियो ।

-जब्स प्रकारान्तरले स्याउबाजेकै चेतनाको बिस्तार हो । जब्स पनि कम्ता जोधाहा होइनन् । जब्सलाई स्याउ काका भन्न मिल्ला । उनी ज्ञान र सिर्जनाका भोका मान्छे थिए ।मुस्ताङ रेमिट्यान्सले हैन, स्याउको दाना र पर्यटनले कोरेको मार्गले समृद्ध छ ।

बिहानी चिया पिई थकाली जातिको इष्ट देउता नरिझ्योबको दर्शन गर्न हिँड्यौं । खन्ती गाउँको थुम्कोमा अवस्थित छ, नरसाङ गुम्बा । खोलापारि सौरु गाउँ देखिन्छ । दक्षिणतिर कालीगण्डकीको फराकिलो बगर देखिन्छ । सामान्य देखिए पनि त्यो सामान्य बगर होइन । शालिग्रामलाई करोडौं वर्षदेखि आफ्नो गर्भमा बोकेको बौद्ध र हिन्दु धर्मावलम्बीको आस्थाको बगर हो । हिमनदीले स्पर्श गर्ने बगर हो । पर्तिरै सेताम्मे धौलागिरि देखिन्छ । सबलाइम अनुभूति । वसन्तले यो सबलाइम अनूभूति 'मुस्ताङः केही जम्पकट'मा लेखेका छन् । नरिझ्योबको दर्शन गर्‌यौं । हप्ताको एक दिन कैली गाईको दूध र कालीगण्डकीको निर्मल पानीले मूर्तिलाई स्नान गर्ने परम्परा अझै छ ।

घमाइलो दिन मंसिरको । प्रगाढ नीलो स्काई लाइनमा हरियो सल्लाको वन र श्वेत हिमाल मनमोहक देखिन्थ्यो । श्यामल, तीर्थ, दीपक स्याउबारी हेर्न गुम्बानजिकै लागेका छन् । म गुम्बामै बसी गहिरो सौन्दर्य अनुभव गर्छु । भूपिन दर्शन गरी फर्कन्छ । उनी कालीगण्डकीकै सेरोफेरोका हुन् । त्यसैका पर्यावरणले उनको कविलाई सिँचेका हुन् । कालीगण्डकी ल्यान्डस्केप पृष्ठभूमिमा आउने गरी फोटो खिच्छौ । मैले भूपिनको, भूपिनले मेरो ।

कुन उत्प्रेरणामा डोहोरिएर म प्रस्ताव गर्छु– स्याउबाजेलाई विम्ब बनाएर म एउटा निबन्ध लेख्छु । तपाईं कविता लेख्नुस् न । स्याउबाजे निख्खर सामाजिक सांस्कृतिक विम्ब बन्न सक्ला । भ्रमणको उद्देश्य पनि थियो, स्थानीय विम्ब टिप्ने, मिथक उधिन्ने, कथा खोज्ने, सांस्कृतिक पर्यावरणसँग परिचित हुने र कवितामार्फत समुदायसँग अन्तरक्रिया गर्ने । राम्रो आइडिया दाइ, भूपिनले भनेको सम्झन्छु ।

थुम्कोबाट ओर्लन्छौं । खाना खाई ज्ञानोदय माविमा जम्मा भयौं । गाउँका आमा, दिदीबहिनीहरू रातो न्होकोन (घाघरा), चौबन्दी चोलो, कालो टिकी, ढाकाको पछ्यौरा, मुगा र यूबाट बनेको कण्ठी, सुनका हम्बेल, तिलहरीमा सजिएर खाता र केल्साङले (परम्परागत ठेकीमा रक्सी र चौंरीको घिउको सगुन) सबैलाई स्वागत गरे । गीत र नृत्यको परम्परा रहेको गाउँमा कविताको कार्यक्रम नयाँ नै थियो । कविता वाचन, कार्यपत्र प्रस्तुति र विचार विमर्शको कार्यक्रम सम्पन्न भयो ।

त्यसपछि 'भूपि स्मृति पुस्तकालय' अवलोकन गर्‌यौं । पूर्ण कदको कविको अर्धकद सालिक देखेर कविहरू गम्भीर बने । श्यामल दाइ त संवेदित नै देखिए । 'होचिमिह्नलाई चिठी' लेख्ने भूपिको लेतेखोलामा उनले भियतनामको मेकङ देखे । परिचय कार्यक्रममा आफ्नो नाम श्यामल शेरचन भनेर थकालीहरूलाई मज्जाले हँसाए । 'मैले आदर गर्ने कवि भूपि शेरचन हुन्', श्यामल दाइले त्यसो भन्दा थकालीहरूको अनुहार उज्यालो भएको थियो । पुस्तकालयका अध्यक्ष वसन्त शेरचनबाट पुस्तकालयका गतिविधिबारे जानकारी लिएर जोमसोम र मुक्तिनाथको निम्ति मार्च पास गर्‌यौं । मुस्ताङबाट फर्केपछि सबै व्यावहारिक जीवनका तानाबानामा व्यस्त भए ।

क्रमशः सत्तरी, एकत्तर, बहत्तर सकियो । त्रिहत्तर देखा पर्‌यो । त्तिहत्तर जेठको एक दिन फेसबुकको इनबक्समा भूपिनको संक्षिप्त म्यासेज आउँछ । मैले स्याउबाजे कविता लेखिसकेँ । तपाईंले निबन्ध लेखिसक्नुभो ? अब परेन फसाद । आफ्नै प्रस्ताव बिर्सेछु । गफ लगाएजस्तो पो भयो । भने अब सुरु गर्छु । मुस्ताङबाट फर्केको केही हप्तासम्म त योजना मस्तिष्कको अग्रभागमै थियो तर के के कारणले पृष्ठ भागतिर धकेलिँदै गयो, जबसम्म भूपिनले रचनात्मक दबाब दिएनन् ।

२०७३ असार महिनाको पहिलो शनिबार । कविता वाचनकानिम्ति सर्वनामको हलमा कवि भूपिन र चन्द्रवीर तुम्बापो निम्त्याइएका छन् । चितवनबाट हानिएका छन् कविता सुनाउन भूपिन । वर्षासँग निस्पृह बनेर श्रोताहरू कविता सुन्दै तरंगित भइरहेका छन् । पहिलो पालो कवि चन्द्रवीरको । रामायण ग्रन्थमा अल्छे र सुताहा बनाइदिएको फक्तालुङ (कुम्भकर्ण) हिमाललाई पुनः ब्यूँताएर चन्द्रवीर मुन्धुम मिथकलाई पुनसिर्जना गर्छन् । भूपिनले मधेसी भाषिकाको सुन्दर प्रयोग गर्दै गरिब किसानको पीडालाई खडेरी कवितामा ढाल्छन् । सामूहिक चेतनालाई स्पर्श गर्छ । अनेकन कवितामाझ उनी स्याउबाजे कविता वाचन गर्छन् ।

'स्टिभ जब्सले
अलिकति टोकेर जुठो पारेको स्याउको दाना
विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै ।
यता मुस्ताङमा
बिल्कुल गुमनाम छन्
'ओम माने पेमे हुम्' जपिरहने स्याउबाजे ।'

जीउमा काँडा उम्रिन्छ । अनौपचारिक बातचितमै स्याउबाजे कविता जन्मिएछ । साक्षी बस्छु, त्यो विशेष क्षणको । स्याउबाजे सम्झन्छु । स्याउखेती सुरु गर्ने एकजना रैथाने कृषिविज्ञ मुस्ताङमा गुमनाम छ तर त्यही स्याउ टोक्दै एप्पलका संस्थापक स्टिभ जब्स पुँजीबजारमा विश्वचर्चित छ । किन यस्तो भिन्नता ? भूपिनको चिन्ता काव्यात्मक छ ।

म तर्कना गर्छु । स्याउबाजे जति कर्पोरेट ग्लोबलाइजेसनको मारमा छ, उत्ति राज्यको उदासीनताको मारमा पनि । वर्षौं बितायो मुस्ताङले, सडकको सपनामा । भर्खर मौसमी सडक पुगेको छ । ग्लसी प्याकेजले बजारलाई हल्लाइरहेको बेला, मुस्ताङे स्याउको प्याकेज उसकै भूसतहजस्तो खस्रो र बन्जर छ । स्याउबाजेको ज्ञान र अनुभवको भरपूर फाइदा सरकारले उठाए कति बेस हुन्थ्यो । भूपिनको चिन्ता पनि उपयोगी कुरा जन्माउनेलाई भन्दा, हुर्किसकेपछि फाइदा लिने प्रवृत्ति हावी भयो भन्ने हो ।

स्टिभ जब्सको एप्पल भने सबै मौसममा पाइन्छ । मस्तिष्कमा फल्ने स्याउ भएकाले । वाल्टर आइज्याकनको पुस्तक पढेको थिएँ– स्टिभ जब्स । जब्स प्रकारान्तरले स्याउबाजेकै चेतनाको बिस्तार हो । जब्स पनि कम्ता जोधाहा होइनन् । जब्सलाई स्याउकाका भन्न मिल्ला । उनी ज्ञान र सिर्जनाका भोका मान्छे थिए । तंगीका दिन निःशुल्क भोजनकै लागि कैयौं माइल हिँडेर हरेकृष्ण मन्दिर पुग्थे । उनको कविद्रष्टाले कम्प्युटरभ्रूणमा उघ्रिन बाँकी भविष्य देखे । त्यसैले स्टिभ वज्नाइकसँग मिली एप्पल कम्प्युटरको आविष्कार गरे । जब्सको रुचि विशुद्ध प्रविधिमा थिएन । बरु कला र प्रविधिको इन्टरसेक्सनमा थियो । उनको भाष्यमा कलाको अर्थ मानवतावाद थियो ।

प्रविधिमा झेनस्पर्श उनको अभीष्ट बन्यो । विश्वचर्चित हुनुअघि उनी आध्यात्मिक खोजमा भारतमा भौंतारिए । बब डिलनका हार्डकोर फ्यान थिए उनी । हिप्पीको प्रतिसांस्कृतिक चेतना बोकेरै उनी पुँजीवादको अर्थबजारमा डटिरहे । उनको वार्षिक तलब एक डलर थियो । अरबौं डलरको धनी उनमा पैसाको मोह देखिँदैन । अर्थशास्त्रमा नियम नै छ । यौटा बिन्दुपछि, पैसाको महत्त्व र वस्तुको उपयोगिता घट्दै जान्छ, द ल अफ डिमिनिसिङ रिटर्न । कस्तो विडम्बना ! आफैंले जन्माएको कम्पनीबाट उनी निकालिए । उनले भनेका छन्– जीवनले कहिलेकाहीँ हाम्रो टाउकोमा इँटाले नराम्ररी बजाउँछ ।

तिल्मिलाउने गरी । केही गर्न सकिन्न । तर त्यस्ता अनुभवको सिकाइ अमूल्य हुन्छ । अन्तस्करणलाई पछ्याउनुको विकल्प छैन । नभेटेसम्म खोज । उनी आध्यात्मिक पनि सुनिन्छ । मूर्ख बन । भोको बन ।

थिंक डिफरेन्ट, अभियान चलाए । माइक्रोेसफ्टको एकाधिकारको विरोधमा डटे । चामत्कारिक अविष्कारले उपभोक्तालाई अचम्भित पारिरहे । एप्पल, नेक्स्ट, म्याक, आइप्याड, पिक्सर, आइफोन आदि उनको रचना थियो । जब्सहरूकै आविष्कारले हामी परिवार, आफन्त र हितैषीसँग हरपल जोडिएका छौं । ती प्रविधिको माध्यमले, स्थानिकता, पहिचान, संघीयता, गरिबीको बहस, डा. केसीको अभियान, सिनेमा, थिएटर र कविताका कुरा गर्दैछौं ।

तर, स्याउबाजेको भने प्रविधिसँग गोरु बेचेको साइनो पनि थिएन । कृषि क्षेत्रका थिए उनी । दुर्गम जिल्लाका बासिन्दा । दशकौं सडकले नजोडिएको अवस्थामा पनि कर्ममा लागिरहे । स्याउबाजे पनि एन्टिकरेन्ट थिए । मनमाफिकको । तर, हाम्रो धरातल भिन्न छ । यथार्थ पनि । हामीकहाँ प्रतिभा नभएका होइनन् । प्रतिभा प्रस्फुटित हुने अनुकूल वातावरणको भने सर्वथा अभाव छ । चिसो हावामा स्याउका फूलहरू त फुल्छन् तर फल्न बिदेसिनु नै पर्ने । नत्र स्याउबाजेझै गुमनाम हुनुपर्ने नियति । कवि भूपिनले त्यो तीतो यथार्थलाई स्याउबाजे कवितामा कुशलतापूर्वक उतारेका छन् ।

'नरसिङ गुम्बाको माने घुमाउँदै
हेर्छन् स्याउबाजे उदास उदास
धुपी सल्ला र बैंसका पातहरू बटुलेर
सुसेल्दै सुसेल्दै बग्ने कालीगण्डकी ।
जसको भाँचिएको ढाड तरेर
विदेश हिँडिरहेका छन् नौजवानहरू ।
गम्छन् स्याउबाजे–
ती पनि त हुन् स्याउका बिरुवा
जो चिसो हावामा सिँगान पुछ्दै हुर्किए र फुले
तर फल्नलाई त रोजका छन् तिनीहरूले
जापान, अमेरिका वा युरोपको बारी ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.