एउटै खाट

एउटै खाट

श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए ।

किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो ।

पण्डित बूढाले पूजापाठ सकेर निधारमा तीनधर्के टीका लर्काए र केके स्तोत्र पाठ भट्भटाउँदै आँगनमा आएर उभिए । चारैतिर हेरे । आँखाले देखिनेसम्म परपर हेरे । माथि पनि आकाशतिर पनि हेरे र आकाश उक्लिँदै गरेको बिहानको बालक सूर्यलाई पनि हेरे । अनि सूर्य नमस्कार गरे ।

हाम्रो कोठा र उनको आँगन जोडिएको थियो । श्यामकृष्ण कहिले छातीका, कहिले पेटका, केहिले पेटभन्दा तलका रौं कन्याउँदै उठ्यो । आफ्नो गुप्ताङ्ग छाम्दै भन्यो- 'लौजा, आज पनि नाइटफल भो यार !'
मैले भनेँ- 'अब बिहे गर श्यामुजी, सब ठीक हुन्छ ।'

उसले आँखा मिच्दै भन्यो- 'आफूले पत्याएकाले पत्याएनन्, आफूलाई पल्याउनेलाई पत्याइएन अनि यत्रो बिहे हुन्छ त ।'
मैले उपाय बताएँ- 'त्यसो भए बालाई गाउँमै एउटी गतिली केटी खोज्दिने भन । बूढाले दुईचार जना हेर्लान् । गएर जुन मन पर्छ उही बिहे गर । बा पनि खुसी, तिमी पनि खुसी ।'

- 'अब त्यही उपाए त बाँकी छ ।'
त्यसपछि ऊ नुहाउन गयो र एकैछिनमा आयो । मैले जिस्काएँ- 'बाहुन नुहाइ गर्‌यौ है फेरि ।'
ऊ पनि के कम, भन्यो- 'संगतअनुसारको फल नि... ।'

नुहाएको टाउको पुछ्दै ऊ बिहानको कलिलो घाम ताप्न कोठाबाट बाहिर निस्कियो । अगाडि पण्डित बूढालाई देखेर अलि चर्को आवाजमा करायो- 'गुरुदेव राधे राधे !'

श्यामकृष्णको चर्को बोलाइले नै थाहा हुन्छ, पण्डित अलि कम कान सुन्छन् । उसले बूढाको ध्यान आफूतिर आकर्षित गर्न र बूढाको धार्मिक आस्थाप्रति सम्मान भाव देखाउन राधे राधे भनेको हो ।

बूढाको ध्यान राम्रैसँग आकर्षित भयो । बूढा श्यामकृष्णसँग ठट्टिन र जिस्कन पाए रौसिन्छन् । श्यामकृष्ण पनि बूढासँग जिस्किन पाएपछि सन्तुष्ट हुन्छ ।

बूढाको उमेर ६५ वर्ष जति हुँदो हो । उनी असाध्यै धार्मिक मानिस । शुद्ध शाकाहारी, निष्ठावान् ब्राह्मण । बिहान उठेर नित्य स्नान, जपध्यान र पूजाआजा गरेर मात्र मुखमा अन्न हाल्ने ।

श्यामकृष्ण र बूढामात्र भए । बाटो नजिकको ढुंगामा बसेर श्यामकृष्णले बूढाको कानैनेर मुख लग्यो र साउतीको लबजमा अरूले नसुन्ने गरी तर चर्को आवाजमा जिस्कायो- 'के हो गरुदेव ! बूढेसकालमा पनि आमालाई दुःख देर !'

दाँत साटेको उमेर कटाउँदा झन्डै साठी वर्ष पुराना दाँत देखाएर कित्कित् हाँस्तै बूढाले भने- 'अचेल त मान्दिन श्यामकृष्ण । यसो गर कोट्यायो, बुढेसकालाँ के मास्सिन पर्‌या हो भन्चे हा हा... !'
दुवै कुत्कुतिएर हाँसे ।

श्यामकृष्णले अझै रहस्य खोतल्न सोधे- 'तपैंभन्दा त पन्ध्र वर्ष नै कान्छी होइन र भन्या आमा ? '
बूढाले रौसिँदै भने- 'हुन त हो नि । आइमाईको इच्छा लोग्नेमान्छेको जस्तो बुढेसकालसम्म हुँदो रैन्च के । निरोगी छ भने त लोग्नेमान्छेलाई त सत्तरी वर्षमा पनि चाहिन्च बा । आफैंलाई भोगेर था भो हा हा.... !'

बूढा झन् कित्कित् हाँसे । श्यामकृष्णले आफ्नो दाहिने हातको चोर औंलालाई प्रतीक बनाएर ठड्याउँदै अझै उक्सायो- 'यो उमेराँ पनि यस्सो हुन्छ र भन्या गुरुदेव ? '

हाम्रो कोठाअगाडि बाटो थियो । बाटोपारि एउटा सानो छाप्रे पसल थियो । पसले बाइसपच्चीसकी थिई । एकदमै सुन्दरी । उसलाई सबैले यामिनी भन्थे । ऊ चिया, चना, चाउचाउ आदि पकाउँथी । ऊ गरिब भए पनि उसको बैंस र सौन्दर्य धनी थियो । बैंस र सौन्दर्यले ऊ आफैंलाई घमण्ड देखाउँथे ।

उसलाई संकेत गरेर बूढाले भने- 'यो यामिनीलाई देखेपछि बूढो छु भन्ने नै बिर्सिन्छु श्यामकृष्ण हा हा ... ।' कित्कित् हाँस्तै दाहिने हातको चोरऔंला ठड्याउँदै भने- 'त्यसले मसक्क मस्केको देखेँ भने यस्सो भइहाल्छ । लोग्नेमान्छेको जात बुढेसकालमा पनि बूढो हुँदोरैन्च हा हा ... ।'

यति कुरा पाएपछि श्यामकृष्णलाई के चाहियो । उसले जिस्काउन थालिहाल्यो- 'गुरुदेवलाई समस्या पर्‌यो त उसोभए । हामी तन्नेरी त यहाँ इँजारले बाँधेर बेरोजगार बस्याछम् । हेर बूढाको चकचकी । आमालाई भन्दिम् !'

बुूढाले हौसिँदै भने- 'श्यामकृष्णलाई पनि खुब ठट्टा गर्न आउँछ हा हा... ।' हातको पार लगाउँदै उनले चुनौती दिए- 'तिम्रो पालामा हामी यत्रो भोगटे जत्रो ढुंगा उचाल्थेम् । ढुंगामा डोरी बाँधेर याँ झुन्ड्यायो । जुरुक्कै । त्यति कडा हुन्थ्यो हाम्रो । सक्छौ तिमोरु ? '

- कित्कित् हाँस्तै दाहिने हातको चोरऔंला ठड्याउँदै भने- 'त्यसले मसक्क मस्केको देखेँ भने यस्सो भइहाल्छ । लोग्नेमान्छेको जात बुढेसकालमा पनि बूढो हुँदोरैन्च हा हा ... ।'

उसले लामो जिब्रो झिक्तै सोध्यो- 'ओहो ! तेत्रो ढुंगै उचाल्ने गुरुदेव ? कसरी आयो तेत्रो बल हँ ? '
बूढाले अहिले पनि उचाल्छुझैं गरेर चम्किए र भने- 'हा हा... घिउले आको बल हो ठिटा । गोठ बस्ता एक मानो घिउ त एकैचोटिमा सिनित्तै पिइन्थ्यो । अनि किन ढुंगो नउचाल्नू । अहिलेका केटाले के सक्थे हा हा... ।'

उसले भन्यो- 'है गुरुदेव, अनि गुरुदेवले यस्सो भगवान्को लीला हेर्नुभाछ कि छैन त ? '
बूढा अल्मलिए- 'बुझिनँ ।'

उसले बुझायो- 'धेरै कुरा थाहा भए पनि यो कुराचाहिँ था रैन्छ गुरुदेवलाई । त्यसो भए राति १२ बजे फलानो च्यानल हेर्नुस् । भगवान्को लीला आउँछ ।'
बूढाले भने- 'म त १० बजे सुतिसक्छु हा हा... ।'

- 'आज एक दिन हेर्नुस् । मन परेन भने भोलिदेखि ९ बजे नै सुत्नुहोला । मन परे रातभरि हेर्नुहोला । शिवपार्वतीको लीला हो के गुरुदेव हा हा... । शिवपार्वती कामलीलामा मस्त हुँदा वायु आए र महादेव रिसाएर झन्डै भष्म गरेका थिए । पार्वतीले रोकेपछि शिवले वायुलाई आफ्नै वीर्य भिक्षा दिएर पठाएका थिए । हो त्यस्तै फिलिम हो के गुरुदेव ।'

बूढाले के कसरी बुझे उनै जानून् । जेहोस् बूढाले मनमनै हेर्ने योजना बनाए । श्यामकृष्णले फेरि बुझायो- 'एक्लै हर्नुहोला है गुरुदेव । भगवान्को लीला दुक्लै हुर्नुहुन्न । एक्लै हेरेर मन परे मात्र आमालाई देखाउनुहोला । अरूलाई देखाउनुहोला हा हा... ।'

श्यामकृष्ण बूढाकै शैलीमा हाँस्यो ।
...
भोलिपल्ट ।

हामी सुतिरहेका थियौं । ढोका ढकढकाएको आवाज आयो । सुतेका हामी उठेर सम्हालिन थोरै समय लाग्यो । बूढाको आवाज आयो- 'अझै उठ्याछैनौ श्यामकृष्ण ? '

अघिअघि जुन क्रियाकलापका साथ उठ्थ्यो त्यसरी नै उठ्यो श्यामकृष्ण । मैले ढोका खोलेँ । पण्डित बूढा भित्र आए । उनी अघिअघिभन्दा प्रफुल्ल देखिए । उनले हाँस्तै भन- 'घाम उदाएपछि सुत्नुहुन्न केटा हो । पन्न आउन्न हा हा... ।'
श्यामकृष्णले अभिवादन गरिहाल्यो- 'गुरुदेव, राधे राधे !'

अघिपछि बोल्दाभन्दा अलि धेरै दाँत देखाएर विचित्रसँग बूढाले भने- 'तिमी त छट्टु रैचौ नि श्यामकृष्ण । कृष्णभन्दा पनि छट्टु हा हा... !'
श्यामकृष्णले सोध्यो- 'किन गुरुदेव ? '

बूढाले भने- 'उधुम देखायौ नि तिम्ले । हेरेँ श्यामकृष्ण मैले हा हा... । उल्का हुँदोरच हा हा... ! कति थोक गर्न जानेका नकचरा मुन्छेले ? ए रातै ! तीन छक परेँ म त । त्यस्तो त्यस्तो हेर्दा रचौ र पो तिमोरुले बिहे गर्दारैन्चौ । बल्ल बुझेँ । तिमोरु प्नि नकचरा नै हौ । हा हा... ।'

श्यामकृष्णले प्याच्च भनिहाल्यो- 'भातको फोटो हेरेर भोक मेटिन्छ र बूढा ? '
बूढाले भने- 'उधुम गर्दा रचन् गाँठे । त्यसरी पूरै त मैले आफ्नै बूढीको पनि देख्याथिनँ । कुन खैरिनीको देख्न पर्‌यो । हा हा... ।'
...
बूढाबूढी एउटै कोठामा सुते पनि अलि बुढेसकाल लागेपछि अलगअलग खाटमा सुत्थे । रमाइलो कुराभन्दा पनि घरव्यवहारका कुरामै सीमित हुन्थे बूढाबूढीका गफ ।

बूढा पहिलेपहिले भन्दा अलि चाँडै सुत्न थाले । बूढी निदाएको मौका पारेर प्रत्येक दिन मध्यरातमा उठेर अलक्क टीभी कोठामा जान थाले र एकदुई घन्टा टीभी हेर्न थाले । बूढा पल्किएछन् । उनलाई लागेछ ।

एकपटक राति १ बजेतिर बूढी ब्युँझिछन् । पिसाब फेर्न जान बत्ती बालिछन् । उनका आँखा बूढाको खाटतिर परेछन् । सुरुमा बूढा सुतिरहेका रहेछन् जस्तो लागेछ । यसो छामिहेर्नु पर्‌यो भनेर छाम्दा त सिरकमात्र । चतुर बूढाले सिरकलाई मान्छेजस्तै बनाएर सुताएर टीभी हेर्न गएका रहेछन् ।

बाहिर पिसाब फेर्न गएका होलान् भनेर एकछिनसम्म कुरिछन् । तर धेरै नै बेर नआएपछि डराउँदै उनी बाहिर निस्किछन् । कतै नदेखेपछि डर पनि लागेछ । केही त भएन ?

अचानक टीभी कोठातिर आँखा पर्‌यो । आँखा पर्नुको कारण ढोकाको चरबाट आएको मधुरो उज्यालो हो । उनले त्यतातिर नजिकै गएर हेरिछन् । बूढा चुकुल नलगाई ढोकामात्र ढप्काएर टीभी हेर्दै रहेछन् । बूढीले पनि देखिछन् । टीभीमा त्यस्तो दृश्य देख्नासाथ बूढी त दंग परिछन् । कहिल्यै त्यस्तो देखेको भए पो । टीभीमा त्यस्तो आउँछ भन्ने पनि थाहा थिएन ।
बूढी कराइन्- 'छिः छिः ! रातिराति यस्तो हेर्न पो पल्क्या रैछ यो मान्छे त । के हुन लाग्या हो यो ? मास्सिनी काल आर हो कि किन हो ? '

झस्केर एक्कासि बूढाले टीभी बन्द गर्ने पनि मेसो पाएनछन् । नहेरौं भन्दा पनि दुवैले एकछिनसँगै देखे । त्यसपछि बूढी आफैंले बन्द गरिछन् । बूढा लाजले पानीपानी भएर आफ्नो कोठामा गएर सुतेछन् ।

बूढीले फेरि रिमोट थिचिन् । त्यही आयो । दुईतीन मिनेटभन्दा हेर्नै सकिनन् । उनी पनि कोठामा फत्फताउँदै आइन् ।
लाज र डरले सास पनि बिस्तारै फेरेर सुतेका रहेछन् बूढा । तर बूढेसकालको सास जति सानो बनाए पनि ठूलै हुन्छ । गन्गनाउँदै बूढी आफ्नो खाटमा सुतिछन् ।

सुतेपछि सिरकले मुख छोप्न खोजिन् तर निद्रा लागे पो । एक्लै यसै बर्बराइन्- कस्का छोरी हेलान् ती ? कस्का बुहारी होलान् ? कस्का छोरा होलान् ती ? कस्का ज्वाइँ होलान् ? कस्का स्वास्नी होलान् ती ? कस्का लोग्ने होलान् ? के जात्रा गर्न सकेका होलान् मान्छेले । कली लाको भनेको यै हो । सप्पै थोक मास्सिनलाई । मुन्छे अब पशु भएछन् । कलीमा मुन्छे पशु हन्चन भन्थे, साँच्चै हो रच । अब यी बूढा पनि पशु भएचन् ।

बूढाले सुनेको नसुन्यै गरे । बूढी बिस्तारै बर्बराइरहिन्- 'मर्नी कालले घेरेर हो कि के हो ? यस्तो उमेराँ यस्तो पाप देख्न पर्‌यो ।'

बूढा मस्त निदाएजस्ता देखिए । न चल्नु न चल्मलाउनु । बूढीलाई भने निद्रा लागेन । यसै चटपट गरिन् । आफूलाई निद्रा नलागेको बूढाले थाहा पाइदिऊन् भन्ने ठानिन् । तर बूढाले थाहा नपाएजस्तो गरे । बूढीले फेरि बोलिन्- 'यी लामखुट्टेलाई पनि कति कराउनुपरेको ? '

तर खासमा लामखुट्टे आएकै थिएनन् । एकछिन पछि बूढातिर हेरिन् । बूढा मस्त निद्रामा झैं देखिए । बूढी बिस्तारै उठिन्, ढोका खोलिन्, बाहिर निस्किन्, टीभी कोठामा छिरिन् र रिमोट हातमा लिएर च्यानल फेर्दैफेर्दै बूढाले हेरेको च्यानल हेरिन् । केही समय हेरेर लामोलामो सास फेर्दै बूढी फेरि आफ्नो ओछ्यानमा आएर सुतिन् ।

बूढा तीनचार दिनसम्म बूढीसँग आँखा जुधाउन पनि सकेनन् । बोल्न पनि सकेनन् । बूढी पनि बोलिनन् । कुराकानी मौन संवादमै सीमित भयो ।

भोलिपल्टदेखि बूढा मध्यरातमा टीभी कोठामा जान छोडे ।
बूढाले थाहा नपाउने गरी बूढी जान थालिन् ।

एक रात बूढाले बूढी उठेको थाहा पाए । कहाँ जाँदी रहिछे भनेर अलक्क हेरे । बाहिर निस्के । टीभी कोठामा उज्यालो देखे । बूढाले ढोका खोले ।

बूढी झस्किन् तर केही बोल्न सकिनन् । लाजले पानीपानी भइन् । बूढाले पनि केही भनेनन् । दुवै चुपचाप भए । बूढीले टीभी बन्द गरिन् । चुपचाप नै भएर दुवै आफ्नो कोठामा आए र वर्षौंपछि एउटै खाटमा सुते ।
०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.