भ्रष्ट भगवान
सामन्त शिरोमणि सिंहासनबाट गए ।
तर्साउनका लागि इतिहास भूत भयो ।
बल्ल अब सामन्ती प्रजातन्त्र आयो ।
गनवादी गनतन्त्र पनि आयो ।
विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो ।
जंगल सहरमा आयो, सहर जंगली भयो ।
राजनीतिले यसै जंगलमा मंगल सुरु गर्यो ।
नयाँ नेपालको जग हो कि चिहान खनिन थाल्यो ।
अर्थात्-
. उसलाई भनेको ईश्वरप्रसाद आचार्योपाध्यायलाई लाग्यो अब उसले नेता हुनुपर्छ । किनभने जे पढियो राजनीति पढियो । जे भइयो खुट्टा ढोगाउने भइयो ।
. उसको साथी भनेको बलबहादुर ‘निर्बल’ चाहिँ जनताका दुःखसुख लेखेर र भट्याएर उहिले नै कविजी माने साहित्यकार भइसक्या थियो ।
नयाँ नेपालमा यी दुई नेपाली र नेपालको कथा बल्ल अब सुरु भयो ।
यस इलाकामा एउटा बलशाली र उच्चतम पहुँच भएको नेता छ ।
यसै इलाकामा एउटा लोकप्रिय र नितान्त निर्बल साहित्यकार पनि छ ।
दुवै सहपाठी थिए ।
अतः त्यो शक्तिशाली नेता बेलाबखत आफ्नो सहपाठी साहित्यकारकहाँ पुग्थ्यो र सदैव एउटै प्रश्न गथ्र्यो ।
‘भन्, अब म को हुँ ? ’
साहित्यकार नेताको गर्वोक्तिमय प्रश्न सुन्थ्यो र सदैव त्यस प्रश्नको उत्तर दिन आलटाल गथ्र्यो । यताउतिका मीठामसिना कुरा गरेर नेतालाई फर्काइदिन्थ्यो ।
एक दिन त्यो उच्चतम् पहुँच भएको शक्तिशाली नेता साहित्यकारसित आफ्नो प्रश्नको जवाफ पाउन कम्मर कसेरै आयो । उसलाई लाग्यो, साहित्यकारले उसको प्रश्नको मर्म र महत्व बुझेन । अतः साहित्यकारकहाँ पुग्नासाथ उसले आफ्नो पुरानो प्रश्न अलि कड्केर सोध्यो ।
‘भन्, म को हुँ ? ’
साहित्यकारलाई चुप लागेको देखेर नेतालाई लाग्यो यसले प्रश्न राम्ररी बुझेन । त्यसो हुनाले उसले आफ्नै प्रश्नको व्याख्या गर्न थाल्यो ।
‘हेर, म यहाँको राजनीतिक नेता हुँ, बुझ्यौ ? ’
साहित्यकारले नेतातिर हेर्यो र मनमनै बुझ्यो, ‘समाजमा भाँजो हाल्ने र झझगडा मच्चाएर भोट र नोट बटुल्ने यै मनुवा हो !’
‘हेर, म यहाँको धार्मिक नेता हुँ, बुझ्यौ ? ’
साहित्यकारले ऊतिर नहेरी मनमनै बुझ्यो, ‘समाजमा विभिन्न धर्मका कर्मकाण्डीय विभेदलाई चर्काएर घुणा र शत्रुभाव उत्पन्न गर्ने मनुवा हो !’
‘हेर, म आधा आकाश ढाक्ने नारीहरूको मुक्तिसंघर्षको संरक्षक हुँ, बुझ्यौ ? ’
साहित्यकारले अझै पनि जवाफ नदिई मनमनै बुझ्यो, ‘चेलीबेटी बेचबिखनको उच्चस्तरीय संरक्षक यै मनुवा हो ।’
‘हेर, म यहाँको आर्थिक क्षेत्रको पनि नेता हुँ, बुझ्यौ ? ’
साहित्यकारले नेतातिर नहेरी मुन्टो निहुर्याएर मनोयोगपूर्वक बुझ्यो, ‘महँगी, घूसखोरी र कमिसनतन्त्रजस्ता आर्थिक भ्रष्टाचारलाई संस्थागत गराउने यै मनुवा हो !’
(साहित्यकारझैं मनमनै यस्तै खालका कुरा बुझ्न अचेलका केही नेता पनि साहित्यकार भएका छन् । हे दुई नाउ ! कृपया पारि पुर्याऊ !)
आफ्नो प्रश्नको जवाफ पाउन अधीर नेतालाई लाग्यो अब यसले मेरो प्रश्नको मर्म र महत्व बुझ्यो होला । अतः आफ्नो पूर्वप्रश्नलाई व्यंग्यपूर्वक कड्केर सोध्यो, ‘मुन्टो निहुर्याएर किन चुप भई बसेको ? लु अब भन, म को हुँ ? ’
उसका प्रश्नले आजित भएको साहित्यकारले मुन्टो ठड्याएर भन्यो, ‘तिमी मान्छे होइनौ !’
राता आँखा लगाएर नेता अझै कड्कियो चर्को स्वरमा, ‘केरे ? फेरि भन् त ।’
साहित्यकारले विनम्रतापूर्वक भन्यो, ‘मैले ठीक भनेको हुँ । तिमी मान्छे होइनौ, तिमी त भगवान् हौ, भगवान् !’
उच्चतम् पहुँच भएको शक्तिशाली नेता, ईश्वरप्रसाद आचार्योपाध्याय, साहित्यकार बलबहादुर ‘निर्बल’को जवाफ सुनेर फुरुंग पर्दै दंगदास भएर गयो । किनभने उसलाई एउटा वर्गविशेषको वर्णविशेषले आफ्नो सामन्ती स्वार्थपूर्तिका लागि कुटिल कल्पानद्वारा जन्माएको भ्रष्ट भगवान्को लौकिक कर्मकाण्डीय तुच्छताका विषयमा केही थाहा थिएन ।
अध्ययनशील साहित्यकार नेता मित्रको अज्ञानले अझै ‘निर्बल’ भयो । सार्वभौम अज्ञानले भगवान् र भगवान् नेता भयो