पोखरामा क्षेत्रीय विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान हुन्छ

पोखरामा क्षेत्रीय विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान हुन्छ

सेवा सुरु गरेको बीसौं वर्षमा प्रवेश गरेको बुद्ध एयर घरेलु उडानमा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स हो । गत वर्ष बुद्ध एयरले साढे सात लाख यात्रु बोकेको थियो । कम्पनी तथा एयरलाइन्स व्यवसायबारे प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग गरिएको वार्ताको सारसंक्षेप

- चाड पर्वको माहोल छ, बुद्ध एयरलाई दसैं कसरी लाग्छ ?

वर्षको ३६५ दिन सेवा दिनपर्ने व्यवसाय भएकाले अरुजस्तो चाडको मुँडमा हुने सुविधा एयरलाइन्स व्यवसायमा हुन्न । अझ बढी कामको चाप हुन्छ । दसैंमा घटस्थपनाको दिनदेखि काठमाडौं छाड्नेको संख्या बढ्ने भएकाले टिकटको मारामार हुन्छ । यसपालि त घटस्थापनाको एक साताअघिदेखि चाप पर्‌यो । यसको कारण मुग्लिङ-नारायणगढ सडक खण्डमा धेरै घन्टा कुर्नपर्ने अवस्था भएकाले हुनपर्छ । काठमाडौं छाड्नेको चाप नौरथाभरि पर्छ ।

यो बेला काठमाडौं आउने प्यासेन्जर एकदम कम हुन्छ । यसैले विमान खाली नहोस भनेर एकदम कममा टिकट बेच्नपर्छ । यसैले दसैंलाई एकदम महत्व नदिने थारु, राजवंशी समुदायका सामान्य परिवारका मान्छे प्लेन चढेर काठमाडौं घुम्न पनि आउँछन् । किनकी झन्डै बसको हाराहारीमा हामी टिकट बेच्छौं । कुखुरा, हाँस बसमा लोड गरेर, आफूचाँहि प्लेनमा काठमाडौं आउने र व्यापार गर्ने पनि हुन्छन् । दसैं बिदामा पनि एयरपोर्टका स्टाफ र टिकट बिक्रीका कम्तीमा ५० प्रतिशत स्टाफले ड्युटी गर्नैपर्छ । त्यसैले यो बेला हामीले ओभर टाइम पनि दोब्बर दिन्छौं ।

-हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्‌यो । श्री एयरलाइन्स तयारीमा छ । घरेलु बजारको सबैभन्दा ठूलो खेलाडी किन पछि ?

बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान लाइसेन्स छ । लखनउ ट्राई गर्‌यौ, सफल भएन । घाटा भए पनि बनारसमा वर्षमा केही उडान गरिरहेका छौं । पोखरा एयरपोर्ट बनेपछि जेट लाइनरबाट क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय उडानको योजना छ । केही महिनाभित्र एयरपोर्टको डिटेल डिजाइन तयार सार्वजनिक हुने वाला छ । यसपछि हामी अन्तर्राष्ट्रिय उडानको बिजनेस प्लान बनाउँछौं ।

अन्तर्राष्ट्रिय उडान बडा गाह्रो छ । किंगफिसर डुब्दा भारतीय अर्बपति विजय माल्याको के हालत भयो थाहै छ । काठमाडौं एयरपोर्ट एकदम प्रतिस्पर्धी छ । सयौं विमान भएका विश्वकै ठूलामा गनिने एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्छ । यसैले हामीले जोखिम मोल्न चाहेनौं । पोखरामा चाहिँ सुरुवात गर्ने एयरलाइन्स बन्ने योजना छ । अन्तर्राष्ट्रिय उडान कम्पनीलाई चाहिँ पब्लिक लिमिटेड बनाउने सोच छ ।

- एयरलाइन्स व्यवसायमा दुई दशकसम्म लगातार सफल हुँदा पनि व्यवसाय विविधीकरण गर्न चाहनु भएन नि ?

हामीकहाँ व्यावासायिक व्यवस्थापन संस्कृतिको विकास भएको छैन । आफैं नभिडी हुन्न । यसैले तन, मन, धन यसैमा केन्द्रित गरियो । यसको फल पनि पाइएको छ । धेरैतिर मन डुलाएको भए, बुद्ध एयर आजको अवस्थामा नहुन पनि सक्थ्यो । जस्तो सुकै आँधीबेहरीमा पनि टिक्ने सक्ने कम्पनी बनायौं नि । सेवा गुणस्तरीय मानिए पनि उडान ढिलो भई यात्रुले सास्ती पाउनपर्ने किन ?

उडान विलम्ब हुने कतिपय कारण काबुबाहिरको हुन्छन् । यसैले संसारभरि उडानमा विलम्ब हुन्छ । हामीकहाँ एयरपोर्टको पूर्वाधार एउटा कारण हो । हरेक दिन रन वे क्र्याक हुन्छ । हरेक दिन रन वे मरम्मत गर्न दुई घन्टा एयरपोर्ट बन्द हुन्छ । एयरपोर्टमा ट्राफिक बढी भएकाले एक घन्टासम्म कुर्नपर्ने हुन्छ । यसको प्रभाव दिनभरिको उडान तालिकामा पर्न सक्छ । दोस्रो कारण जहाजमा आउने प्राविधिक गडबडी । एउटा जहाजमा गडबडी आउदा अरु उडान प्रभावित हुन्छ । तेस्रो कारण मौसम हो ।

-यात्रुलाई विलम्ब हुने पूर्वसूचना दिए यात्रु एयरपोर्टमा कुरिरहनु पर्थेन नि ?

हामीले बुद्ध एयरको एप बनाएका छौं । विलम्बको सूचना दिन सकिन्छ कि भनेर प्रयास भइरहेको छ तर गाह्रो छ । किनकी कति विलम्ब भन्ने एकिनसँग भन्न एकदम गाह्रो छ । दुई घन्टा विलम्ब हुने देखिए पनि त्यो समय घटाउन टिम लागिरहेको हुन्छ । यसैले एक घन्टामै उडान हुनसक्छ । तैपनि हामी गृहकार्य गरिरहेका छौं ।

-एयरलाइन्सको घरेलु बजार अवस्था कस्तो छ ?

सानो बजार हो, विस्तार खासै भएको छैन । हामीकहाँ क्रयशक्तिका कारण विमान चढ्नेभन्दा बाध्यताको कारण यात्रा गर्नेको संख्या धेरै छ । अब मुग्लिङ-नारायणगढ सडकको मरम्मतका कारण सास्तीबाट बच्न हवाई यात्रु बढेकोलाई के भन्ने ? आर्थिक वृद्धि ह्वात्तै नबढेसम्म बजार विस्तार हुने वाला छैन । प्रत्येक २ वर्षमा सरकारले भाडा रिभ्यु गर्ने भनिएको छ, छ वर्षदेखि भएको छैन ।

हालै पेट्रोलियममा भाउ घटेकाले एयरलाइन्सलाई राहत भएको छ । हामीले सस्तो भाडा पर्ने टिकटपनि बेच्छौं, यसैले यात्रुलाई सस्तो टिकटमै नाफा होला, झन महँगो टिकटमा त कति नाफा होला भन्ने भ्रम पर्छ । तर, सस्तो भाडाको टिकट बेच्नुको कारण सिट सकेसम्म खाली नराख्ने रणनीति हो । खाली उडाउनुभन्दा थोरै भएपनि पैसा आवोस भन्ने हो ।


-नेपालमा जति एयरलाइन्स कम्पनी चलिरहेका छन् त्योभन्दा बढी बन्द भएका/डुबेका छन्, यस्तो किन ?

एयरलाइन्स व्यापार संसारभरि टफ मानिन्छ । यसको फिक्स्डभन्दा अपरेसन कस्ट बढी हुन्छ । एयरपोर्टमा ट्राफिकका कारण विमान धेरैबेर होल्ड भए सबै सिटमा यात्रु बोकेर आएको उडान पनि घाटामा जान सक्छ । रहर गरेर सफल भइने खालको व्यवसाय हुन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.