साइडपकेट

साइडपकेट

कसैले नसोधे हुन्थ्यो– ‘घर कहिले जाने ?’ हरेक पटकको सोधाइमा कता-कता चसक्क दुख्छ । मनको घुर्मैलो आकाशमा सम्झनाका काला बादलहरू मडारिन थाल्छन् । आँखाबाट आकाश चुहिएला चुहिएला जस्तो हुन्छ । बाँच्नुको बाध्यताले विवशता ढाकेर हिंडिदिनुपर्छ। याद दुखेर आउँछ ।

लाग्छ, आफैभित्रको आफु बौरिएर आउँछ जब भित्तेपात्रोबाट दशैं फुत्त सडकमा ओर्लिन्छ - बजारको रंगीचंगी बन्छ - सडकको भीडभाड बन्छ - बसको हुलमुल बन्छ - योजनाको नयाँ तारिख बन्छ - भेटघाटको माहौल बन्छ - औंलाका आँख्लाहरूमा दिन घट्किंदै जान्छ । अनि म आफैसँग सोध्न थाल्छु, म भित्रको म कहिले कुनदिन मरेको थियो ?

जीवन जिउने बहानामा हामी यसरी भित्रको आफूलाइ मारेर बाँचिरहेका हुन्छौं, सायद । चाडपर्वका यस्तै बहानामा हामी फेरि जन्मिन्छौं । बगलीमा सुटुक्क चाडपर्व बोकेर आउने रंगीन मौसमले मनको कुनै गहिरो अँध्यारो कुनामा लुकिबसेको जीवनलाई जिवित बनाइदिन्छ ।
०००
साहित्य समीक्षक, कला चिन्तक डा. अरूण गुप्तो भन्छन् - ‘चाडपर्वहरूले हाम्रा जरातिर लैजान्छन् । शताब्दियौं पुरानो स्मृतिसँग जोडिदिन्छन् ।’laxman-shrestha

बगलीमा सुटुक्क चाडपर्व बोकेर आउने रंगीन मौसमले मनको कुनै गहिरो अँध्यारो कुनामा लुकिबसेको जीवनलाई जिवित बनाइदिन्छ।

गाउँ गइरहेको शहरको एक साँझ फोनमा डा. गुप्तोको भनाइ सुनेर म सन्न हुन्छु । सरल शब्दहरूमा कति जटिल जीवन अर्थ्याउन खोजेका उनले । हो त, जबजब समयका रेखाहरूमा चाडपर्वका अंकहरू घुम्न थाल्छन्, जब फूलहरू नयाँ यामको सुवास बोकेर फुल्न थाल्छन्, जब सडकले उमंगको वरात बोकेर आउन थाल्छ, मेरो मनमा पुरानो याद बल्झेर आउँछ । सायद शताब्दियौं पुरानो जरा । मेरो अस्तित्वको खुट्टा उभिएको जमिन । स्मृतिको समय यन्त्रमा बसेर म जरातिर फर्किन थाल्छु ।
०००
घटस्थापनाको दिनबाट दशैं संघारभित्र छिरिसकेको छ । मालश्रीको धुन पर्यावरणभरि गुन्जिन थालेको छ । गाइने दाजुले सारंगीमा रेटेर बजाउँदा मालश्रीको धुनमा एउटा उल्लास भेटिन्छ दशैंको अर्कोतर्फ वेदना छचल्किन्छ दशैं मान्न नआउनेहरूको । लाग्छ, सारंगीको तारमा जीवनको वेदना रेटिन्छ । तर फरक छ माइकाथानमा गाउने मालश्री ।

ठाडा बजारका हामी नेवार । गुठीमा छौं । हरेक दशैंमा माइकाथान (देवीको मन्दिर)मा बिहान बेलुका जानैपर्छ । यो नियम कहाँ लेखिएको छ ? थाहा छैन । बस्, हामीलाइ सिकाइएको छ । बिहान उठेर मुख धोइवरी पुजाको थाली समाती हामी माइकाथान जान्छौं । एउटा बेग्लै आनन्द आउँछ यसरी माइकाथान जाँदा – त्यहाँको ठूलो घण्टी सकीनसकी बजाउँदा – त्यसको आवाजले सिर्जना गर्ने इकोमा रमाउँदा । हामी केटाकेटी कहिलेकाहीं प्रसाद स्वरूप राखेको फलफूल बाटैमा खाइदिन्छौं र बाटो छेउ कसैको बारीको डिलमा फलेको अम्बा टिपेर प्रसाद बनाइदिन्छौं ।

माइकाथानमा एउटा मन्दिर छ र छ एउटा लामो घर । घरको दलानजस्तोमा हामी बस्छौं । त्यसैसँग जोडिएको कोठामा छ मन्दिर जहाँ पुजारीबाहेक अन्यलाई जान प्रतिबन्ध छ । हाम्रो मनमा अनेकन् प्रश्न छन् । के होला त्यसभित्र ? कसैले भन्छन्, त्यहाँ देवीको डरलाग्दो मूर्ति छ, त्यो देखेर केटाकेटी डरले बेहोस हुने भएकाले कसैलाई देखाइँदैन । कसैले भन्छन्, त्यहाँ केही छैन पुजारीहरूले यत्तिकै जान नदिएका हुन् । ठूलाबडाले नदेख्नेगरी माथी टिनसँग नछोइएको पखार्लको खाली भागबाट हेरेर सत्य पत्ता लगाउने हाम्रा सारा उपक्रमहरू भने खेर गइरहन्छन् ।

पुजा शुरू भएपछि दलानमा बसेर नेवारहरू मालश्री गाउन थाल्छौं । छेउको अर्को दलानमा बसेर शिल्पी समुदाय दमाहा बजाउन थाल्छन् । सरदार अजा मालश्री गायनको नाइके उहाँकै स्वरमा स्वर मिलाउने हाम्रो जमर्को । कम्पिटिशन चल्छ केटाहरूबीच । सबैको दावी छ - सरदार अजाको बिंडो थाम्ने मै हुँ, केवल म । सरदार अजा मान्छे खत्रा । थरथर काम्ने हातले पुरानो थोत्रो भइसकेको मालश्री किताब समातेर सरदार अजा बडो तनमनकासाथ पुरै रागमा स्वरको आरोह-अवरोह सहित गाउँछन् -

‘जय देवी भैरवी कालिका माइ (यहाँनेर विश्राम) दर्शन देउ भवानी ए (किताबमा नलेखेपनि पहिलोपङ्तिको अन्तिममा ए थप्नैपर्छ) (यसपछि फेरी दोहोरिन्छ अन्तिम तीन शब्द) दर्शन देउ भवानी हरे राम (यसपालि ए को साटो हरे राम) ।’

समयको क्रुर पञ्जाले सरदार अजालाई उहिल्यै टिपेर लग्यो । मालश्री गाउने नेवारहरूको ठूलो हुल तल बटौली बसाइ सरेको छ जसमध्ये एक म पनि हुँ । गाउँमा जरा गाडेका बाँकी नेवारहरूले मालश्रीको जरा जोगाइरहेछन् ।
०००
फोन गरी सोध्छु अभि सुवेदीलाई । उनी प्रोफेसर डाक्टर हुन् । अभिको अगाडि त्यो उपाधी लेख्दा भद्दा लाग्छ । उनी केवल अभि सुवेदी नै हुन् । गज्जबका छन् यी बुढा । फोनमा यति मज्जाले हाँस्छन्, यिनको गाला च्यातिएको म फोनबाटै देख्छु । अँ, फोनमा यी बुढासँग म दशैंबारे गफिन्छु । बडो इमान्दार भएर भन्छन्, ‘चाडपर्व आएपछि म भित्रको केटाकेटीपन ब्युँझिन्छ ।’
०००
‘चाडपर्व आएपछि म भित्रको केटाकेटीपन ब्युँझिन्छ ।’
घर रातो गेरू र चुनाले पोतेको छ । पसलमा किनेको गेरूलाइ पानीमा भिजाएर कुचोले भित्तामा छ्यापी घर रंगाइन्छ । हामी केटाकेटी तल पँधेराबाट सकिनसकि ग्यालिनमा पानी बोकी घर पोत्ने पानी पुर्याउछौं । आमाहरूले घर लिप्नुहुन्छ ।

बाजेको पालामा बनेका घरका बुट्टेदार चौकोसले टल्किने मौका पाउने दशैंमा त हो । अलकत्रा किनेर ल्याइ पुरानो ब्रसले रंगाउछौं हामी । तर अलकत्राको जात बैगुनी हुन्छ असाध्यै । कतिदिनसम्म पनि सुक्दैन । अलिकति होश पुर्याएन भने टिकाको दिन नयाँ कपडाभरि दाग बसिदिन्छ । कालै हून्छ । साबुनले जाँदैन मट्टितेलले धुनुपर्छ ।

आहा नयाँ कपडा ! दशैंको उमंग बोकिल्याउने यिनै नयाँ कपडाले त हो । खासमा त दशैं अमराइ बजारबाट आउँछ, केशवको पसलबाट किनेको कपडाको बुइ चढेर । फेसन हाम्रो गाउँसम्म आइसकेको हुँदैन । गज मिटरले नापी नापी किनेको कपडाले टिकाको दिनसम्म जिउमा लगाउनु अघि धेरै प्रक्रिया पुरा गर्नुपर्छ । कैचींले काटिनुपर्छ । सियोंले सिइनुपर्छ ।

नयाँ कपडा । दशैंको टिका । साथमा पाइने दक्षिणा दशै अझै कहाँ सकिन्छ र ? टिका लगाइ थापेको दक्षिणा नसक्दासम्म के को दशैं ? कस्तो दशैं ?
द्वाद्शीको दिन दहको ठूलो चौरमा लाग्ने मेलामा गएर दशैं टुंगिन्छ । तल मधेशबाट बसको छत चढिआउने पटाका, खेलौना पिस्तोल, क्यापवाला कालो चश्मा र अनेकन् प्रकारका मिठाइ अनि तेलमा फुराएर पकाउने ढु्ङ्ग्रेसँग दशैंको दक्षिणा साटिदिन्छौं हामी ।
०००
त्यो मालश्री ।
ती सरदार अजा ।
त्यो गेरू र चुन ।
त्यो कालो अलकत्रा ।
त्यो कालो चश्मा ।
त्यो पटाकाको डब्बा ।
त्यो खिलौना पिस्तोल ।
त्यो नेगेटिभ राखेर हेरिने फुच्चे भिडियो डब्बा ।
त्यो ढुङ्ग्रे ।
त्यो दुइ रूप्पेमा पाइने जिब्रोमा राख्नासाथ बिलाउने कपास मिठाइ ।
के यिनै हुन् दशैंको जरा ? सम्झनाको जग ?
अहँ, अझ एउटा छ - मूल जरा ।
भर्खरै शैशवको चेतना जाग्दै गर्दा किनेको पाइन्ट । भर्खरै गाउँमा छिरेको फेसन । अमराइ बजारमा पाइने साइडपकेटवाला पाइन्ट ।
तिमीले दिएको पोस्टकार्ड त्यहीं साइडपकेटमा बोकेर हिंडिरहेछु । शुभकामनाका अक्षरबीच म तिमीलाई सिंगै पाउँछु । जब कसैले सोध्छ - दशैं आइसक्यो, घर कहिले जाने ? म पोस्टकार्ड खोज्न थाल्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.