सर्वे भवन्तु सुखिनः 

सर्वे भवन्तु सुखिनः 

यो एक सर्वमान्य सत्य हो कि मन र शरीरको अटुट सम्बन्ध छ । कुनै पनि काम, प्रतिक्रिया र व्यवहार यसको कुशल संयोजनबिना सम्भव हुँदैन । अतः मानसिक स्वास्थ्यको महत्वलाई नकार्न सकिँदैन । मानसिक स्वास्थ्यबिना स्वास्थ्य मानिसको कल्पना गर्न सकिन्न ।

मानसिक स्वास्थ्यले व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका तनावपूर्ण अवस्थासँग सामना गर्न तथा उत्पादनशील र लाभदायी तरिकाले काम गरेर समुदायमा केही योगदान गर्न सक्षम हुन्छ ।

मानसिक रूपमा स्वस्थ्य व्यक्तिले समय तथा वातावरणअनुसार अगाडि बढ्न सक्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने गुण भएको, अर्थपूर्ण रूपले जीवनयापन गर्न सक्ने क्षमता भएको, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध जोडी सो सम्बन्धलाई निरन्तरता दिन सक्ने र कुनै प्रकारको मानसिक बिरामीको खास लक्षण नभएको हुन्छ ।

नेपालमा मानसिक स्वास्थ्य जनचेतनाको कमी, लाञ्छना र विभेदको कारण सीमान्तकृत र हेयको विषय बनेको छ । यो सामाजिक बहिष्कार र कलंकसँग जोडिएको विषय हो जसले मानवअधिकारका आधारभूत भनाइजस्तै स्वास्थ्यप्रतिको अधिकार, आत्मसम्मानको अधिकार र सामाजिक कार्यमा हुने सहभागिताको अधिकारलाई समेत मिचेको अवस्था छ । नेपाल सरकारले सन् १९९६ मा राष्ट्रिय मानसिक स्वास्थ्यनीति बनाए पनि अहिलेसम्म यसको कार्यान्वयन गर्न सकेको छैन ।

नेपालको स्वास्थ्य क्षेत्रमा खर्च हुने बजेटको एक प्रतिशत हाराहारीमा मात्र नेपालको एक मात्र मानसिक अस्पताल (ललितपुरस्थित मानसिक स्वास्थ्य अस्पताल) को लागि छुट्याइन्छ । यसले राज्यको मानसिक स्वास्थ्यप्रतिको उदासीनता प्रष्ट हुन्छ ।

विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणअनुसार उच्च आयस्रोत या विकसित देशहरूमा आत्महत्या मुख्य स्वास्थ्य समस्या र मध्यम र निम्न आयस्रोत या विकासोन्मुख देशहरूमा उदाउँदो स्वास्थ्य समस्याको रूपमा देखिएको छ । आउँदो दुई दशकसम्ममा सम्पूर्ण रोगीहरूमध्ये २५ प्रतिशत रोगीहरू मानसिक रोगबाट ग्रसित हुने अनुमान लगाइएको छ । आत्महत्याबाट मृत्यु हुने व्यक्तिहरूमध्ये प्रायजसो मानसिक समस्याबाट ग्रसित हुन्छन् ।

मानसिक स्वास्थ्य समस्याले घर, परिवार, समाजमा असहज परिस्थिति सिर्जना गर्दछ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले नैराश्यता, छटपटीको अनुभव, एक्कासि व्यवहारमा परिवर्तन, भ्रम र अवास्तविक सोचको विकासजस्ता लक्षण देखाउँछन् । यी समस्याहरूलाई व्यक्तिले व्यवहारमा देखाउँछ । यो व्यवहार उसको बाहिरी तत्वहरूले प्रभावित हुन्छ ।

यस्ता तत्वहरू हमेशा एक समान रहँदैनन् बल्कि उनको स्वरूमा परिवर्तन भइरहन्छ र यी तत्वहरूले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा व्यक्तिलाई प्रभावित गर्दछ । यदि परिस्थितिहरू समर्थनकारी भएमा व्यवहार सधैं अनुकूल हुन्छ तर परिस्थितिहरू प्रतिकूल भएमा व्यक्तिको मानसिक स्वास्थ्य खराब हुन्छ तथा उसको व्यवहार सामान्य मानवप्रति मानको प्रतिकूल हुन्छ ।

मानसिक स्वास्थ्य बिग्रिनको लागि केही कारक ततवहरूमा घरको वातावरण, पारिवारिक सम्बन्ध, आमाबुवामध्ये कसैको मायाबाट वञ्चित, गरिबी, अशिक्षा, रोग, कलंकित परिवार, कलहपूर्ण वातावरण तथा मानसिक तनाव, उद्वेग, निराशा एवं अवसादको अवस्था, सांस्कृतिक आघात एवं वंशाणुगत गुण आदि मुख्य हुन् जसले व्यक्तिकोे मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ ।

विश्वमा चार सय ५० मिलियन (४५ करोड) व्यक्ति मानसिक समस्याबाट ग्रसित भएको विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ । नेपालमा मानसिक समस्यको बारेमा अध्ययन कम भएको भए पनि विश्व स्वास्थ्य संगठनले गरेको विभिन्न देशमा गरेको अध्ययनअनुुसार अस्पतालमा आउने चार बिरामीमध्ये एक जनामा निदानात्मक मानसिक समस्या देखिएको तथ्य छ ।

मानसिक स्वास्थ्य बिग्रिनको लागि केही कारक तत्वहरुमा घरको वातावरण, पारिवारिक सम्बन्ध, वंशाणुगत गुण आदि मुख्य हुन् जसले व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । 

नेपालमा पनि बढ्दो मानसिक समस्याका कारणहरू सामाजिक, सांस्कृतिक विचलन, शारीरिक अपांगता, लामो समयसम्म निको नहुने शारीरिक रोगहरू लागेर व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, व्यस्तता, असन्तुष्टि, आपसमा अविश्वास, इमानदारिताको कमी, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी, सञ्चार माध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगत गुण, मादक तथा लागू पदार्थको दुव्र्यसनी, जीवनमा सधैं असफलता आदि उल्लेखनीय छन् ।

नेपालमा पछिल्लो वर्ष गएको विनाशकारी भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरूमा गरेको अध्ययनहरू अनुसार उदासीनता र चिन्ताजस्ता मानसिक समस्यामा वृद्धि भएको तथ्यांक छ ।१० अक्टुबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा विश्व स्वास्थ्य संगठनले विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइरेहेको छ ।

नेपालमा पनि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । यस दिवसको नारा ‘मर्यादित मानसिक स्वास्थ्यः सबैका लागि प्राथमिक मनोवैज्ञानिक एवं मानसिक स्वास्थ्य सहयोग’ भन्ने रहेको छ । मानसिक समस्या विश्वव्यापी समस्याको रूपमा रहेको छ । यसले गर्दा घरपरिवार र समाजमात्र नभई समग्र राष्ट्र प्रभावित हुने गर्दछ ।

यसको समाधानको लागि व्यक्तिलाई उचित मनोचिकित्सा एवं मनोविमर्शको माध्यम अपनाउनु आवश्यक छ । व्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरूबाट प्रोत्साहन, हौसला, एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा ए वं उपचारबाट समयमै यस समस्याको रोकथाम गर्न सकिन्छ ।

मानसिक रोगी एवं समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गरौ एवं नियमित औषधिको प्रयोग र मनोविमर्श सेवाले मानसिक रोग निको हुन्छ भन्ने जानकारी गराउँदै एक व्यक्तिले अर्को व्यक्तिलाई निरन्तरको सहयोग एवं समझदारीको विकास गरी मानसिक रोग बारे जनचेतना फैलाउँदै मानसिक रोगीलाई सहयोग, माया र स्नेह र परिवारमा सहयोगी भावनाको विकास गराउन सकेमा यस समस्यालाई केही कम गर्न सकिन्छ ।

मानसिक स्वास्थ्यसम्बन्धी अज्ञानता कम गर्नको लागि समुदायमा आधारित मनोशिक्षासम्बन्धी कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिंग, धर्म, संस्कृति आदिमा दिनु आवश्यक छ । विश्वासिलो व्यक्तिसँग मनका कुरा आदान–प्रदान गरी मन हलुका बनाउँ र व्यक्तिमा रहेको क्षमता तथा विश्वासको सम्मान गरौं ।

अरूका कुरा सुन्ने र भावनात्मक सहयोग गर्ने हाम्रो सानो प्रयासले मानसिक स्वास्थको मार्गमा आउने चुनौतीहरूलाई कम गर्न सक्छौं तथा भरसक समाधान पनि गर्न सक्छौं । यसप्रकार हामी सबै सुखी भएर कोही पनि दुःखको भागी हुने छैनौं ।

सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणी पष्यन्तु, माकष्चिद् दुःखभाग्भवेत् ।।

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनाको लागि मनोवैज्ञानिक सम्प्रदाय नेपाल (टिसप नेपाल) ले यसै अवसरमा एक हप्ताको मेचीदेखि महाकालीसम्मको मोटरसाइकलयात्रा गरी ३२ जिल्लाका ५० वटाभन्दा बढी ठाउँमा कार्यक्रम गरी यसको विषयवस्तुको बारेमा जानकारी गराउने योजना छ ।

(गत अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवस हो । डा. ठगुन्नाले मनोविज्ञानमा विद्यावारिधि गरेका छन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.