‘बालोटेली सर्वोत्कृष्ट स्ट्राइकर
रोमः म्यानचेस्टर सिटीमा रहँदा मारियो बालोटेलीसँगको चर्चित विवादबारे प्रशिक्षक रोबर्टो मान्सिनीले यतिबेला आएर मुख खोलेका छन् । उनले बालोटेली केही वर्षयता इटालीकै सर्वोत्कृष्ट स्ट्राइकर भए पनि आफ्नै कारणले पछाडि परेको दाबी गरेका छन् ।
सन् २०१३ मा एक नियमित क्लब प्रशिक्षणमा मान्सिनी र बालोटेलीबीच हात हालाहाल भएको थियो । गेल क्लिचीलाई गम्भीर ट्याकल गरेको भन्दै मान्सिनीले उनलाई कठालोमा समातेका थिए । त्यसपछि बालोटेली पनि उनीमाथि जाइलागेका थिए ।
‘क्लिची चोटबाट मुक्त भएर मैदान फर्कने प्रयास गर्दै थिए । उनलाई ट्याकल नगर्न मैले सबै खेलाडीलाई भनेको थिएँ । तर बालोटेलीले मानेनन्', प्रशिक्षक मान्सिनीले भनेका छन् । मान्सिनी र बालोटेली दुवै अहिले म्यान सिटीमा छैनन् । मान्सिनीसँग विवाद भएकै वर्ष बालोटेलीले म्यान सिटी छाड्नु परेको थियो । सोही वर्ष मान्सिनी पनि म्यान सिटीबाट बिदा भएका थिए ।
सन् २०११/१२ सिजनमा म्यान सिटीलाई घरेलु लिगको उपाधि जिताउन मान्सिनी र बालोटेली दुवैको भूमिका महत्वपूर्ण रहेको थियो । घरेलु लिगमा म्यान सिटीको त्यो पहिलो उपाधि थियो । म्यान सिटी छाडेसँगै बालोटेली गुमनाम झैं रहेका छन् ।
त्यसयता एसी मिलान र लिभरपुलका लागि खेले पनि उनी फिका देखिएका छन् । ‘मैले भनेको नमानेपछि बालोटेलीदेखि धेरै रिस उठ्यो । मैले समातेर उसलाई धकेल्न खोजेँ तर, ऊ यति बलियो थियो कि हल्लाउन पनि सकिनँ । टोलीका अन्य केही साथीसँग पनि उसको झगडा थियो । त्यसकारण पनि ऊ इटाली नै फर्कने मनस्थितिमा थियो । उसको यो व्यवहारले म निकै दुःखी थिएँ । म्यान सिटीमा उसले अझ धेरै राम्रो गरोस् भन्ने मेरो चाहना थियो', प्रशिक्षक मान्सिनीले भनेका छन् ।
त्यसो त निकै अप्ठ्यारो परिस्थितिमा पनि मान्सिनीले विश्वास गरेर बालोटेलीलाई साथ दिएका थिए । सन् २०११/१२ को सिजनमा म्यान सिटीले म्यान युनाइटेडविरुद्ध प्राप्त गरेको ६-१ गोलको जितमा बालोटेलीले गरेको दुई गोल प्रशंसायोग्य थियो । ‘त्यो खेलपछि बालोटेली परिपक्व खेलाडी भएको महसुस भएको थियो र मैले उनीबाट सधैं त्यही प्रदर्शनको अपेक्षा गरेको थिएँ । त्यो खेलमा उसले आफ्नो प्राकृतिक क्षमता र औचित्य देखाएको थियो', मान्सिनीले भने ।
बालोटेलीकै उत्कृष्ट प्रदर्शनमा इटाली सन् २०१२ को युरोकपको फाइनलसम्म पुगेको थियो । सन् २०१४ को विश्वकपपछि भने उनले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न सकेका छैनन् । ‘यदि आज बालोटेली इटालीको टोलीबाट खेल्दैनन् भने त्यो उनकै गल्तीको कारणले हो ।
तर केही वर्षयता उनी इटालीकै सर्वोत्कृष्ट स्ट्राइकर भने हुन् । बालोटेलीले के बुझ्नुपर्छ भने उनले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्छ र फुटबलबारे मात्र सोच्नुपर्छ', मान्सिनीको भनाइ छ । २६ वर्षीय बालोटेलीले हालसम्म राष्ट्रिय टोलीका लागि ३३ खेल्दै १३ गोल गरेका छन् ।