काइँला र निहारिकालाई पद्मश्री 

काइँला र निहारिकालाई पद्मश्री 

काठमाडौः २०७२ सालको ‘पद्म श्री साधना सम्मान' वरिष्ठ साहित्यकार वैरागी काइँलालाई शनिबार प्रदान गरियो । यस्तै २०७२ सालकै ‘पद्म श्री साहित्य पुरस्कार'बाट साहित्यकार नीलम कार्की निहारिका पुरस्कृत भएकी छन् । निहारिकाको ‘चीरहरण' उपन्यासका लागि पुरस्कार प्रदान गरिएको हो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्दै आएको पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन नीलम अमेरिकाको क्यारोलिनादेखि भर्खरै नेपाल आएकी थिइन् ।

महाभारतको कथालाई आधारभूमि बनाएर वर्तमान समयसँग जोडेर लेखिएको ‘चीरहरण'मा द्वापर युगकी सत्यवतीदेखि द्रौपदीसम्मका नारी पात्रहरूको विश्लेषण आधुनिक युगको चस्माबाट गरिएको छ । पुरस्कृत कृति र व्यक्तित्वबारे बोल्दै डा. लक्ष्मणप्रसाद गौतमले उपन्यासले वैश्विक रूपमा सम्पूर्ण नारीको प्रतिनिधित्व गर्ने बताए ।

‘महाभारतको व्याख्या वर्तमान समयसँग जोडेर गरिएको छ उपन्यासमा', उनले भने, ‘यो द्वापर युगको ऐनामा कलियुगलाई हेरिएको किताब हो ।' निहारिकाको ‘मौन जीवन', नियतिको खेल', ‘तिमी, म र उनी', ‘अर्की आइमाई' उपन्यास र ‘बेली', ‘हवन', ‘झ्यालबाट भित्र' कथासंग्रह प्रकाशित छन् ।

पुरस्कार ग्रहणपछि निहारिकाले आमाले बाल्यकालदेखि नै सुनाउनुभएको महाभारतको कथाले आफू महाभारतकालीन कथा समाएर उपन्यास लेख्न प्रेरित भएको र द्वापर युगका तमाम पात्रहरूलाई यही युगमा भेटेको बताइन् । ‘धृतराष्ट्रहरूसँग सबैले साक्षात्कार गरिएकै छ ।

दुर्योधन र दुशासनहरूको के कमी छ र ? अल्पमतमा परेका विदुरका आवाज दबिइरहन्छन्', निहारिकाले भनिन्, ‘भाइ लडाउने सकुनी चालबाट राज्य निर्देशित छ । भरि सभामा द्रौपदीको वस्त्रहरणको भीष्मपितामह, कुलगुरु कृपाचार्य, आचार्य द्रोणझैं हामी राज्यको चीरहरण प्रयासका मूकदर्शक बनेका छौं ।'

नेपाली साहित्यमा अग्लो उचाइ बनाएका ‘तेस्रो आयाम' आन्दोलनका अभियन्ता वैरागी काइँलालाई सिर्जना, गतिविधि तथा नेतृत्वदायी भूमिकामार्फत उहाँको योगदानको कदरस्वरूप ‘पद्य श्री साधना सम्मान' प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले काइँलाको योगदान नेपाली साहित्यमा अजर, अमर रहने बताए ।

आमाले वाल्यकालदेखि सुनाएको महाभारतको कथाले द्वापर युगका तमाम पात्रहरुलाई यही युगमा भेटेको नीलमले बताइन् । 

२०२० सालमै ईश्वर वल्लभ, इन्द्रबहादुर राई र काइँलाको सक्रियतामा आयामेली आन्दोलन अर्थात् तेस्रो आयामको सैद्धान्तिक रूपमा घोषणा गरिएको थियो । यसैको सिद्धान्त र विचारलाई अवलम्बन गर्दै काइँलाले कविता लेखेका थिए । जीवनको लम्बाइ र चौडाइमात्र होइन, साहित्यमा जीवनको गहिराइ पनि लेखिनुपर्छ भनेर तेस्रो आयाम आन्दोलन थालिएको थियो ।

काइँलाका दुई कविता संग्रह ‘वैरागी काइँलाका कविताहरू' र ‘अन्धा मान्छेहरू र हात्ती' प्रकाशित छन् । कविताबाहेक उहाँका किराँत लिम्बू भाषा, संस्कृति, इतिहासको अध्ययन र मुन्धुमबारे पनि किताब प्रकाशित छन् । ‘लिम्बू जातिमा कोख पूजा', ‘लिम्बू ग्रन्थ सूची', ‘प्रेतात्माको आख्यान र अनुष्ठान'लगायत किताब पनि प्रकाशित छन् ।

कार्यक्रममा बोल्दै काइँलाले नेपाली समाज एकल संस्कृतिको समाज नभएको बताए । ‘मुलुकको सम्पूर्णतालाई ओगट्नका लागि स्रष्टाले पनि अब नेपाली समाजको बहुसांस्कृतिक सामाजिक संरचनाको हेक्का राख्नुपर्छ', उनले भने, ‘नेपाली समाजको यथार्थ भनेको यसको विविधता र बहुलता हो ।'

२०६३ देखि प्रदान गर्न थालिएको पद्य श्री साहित्य पुरस्कार यसअघि गणेश रसिक, भानुभक्त पोखरेल, कृष्ण बराल, ध्रुव सापकोटा, अमर न्यौपाने, झमक घिमिरे, रवीन्द्र समीर, खगेन्द्र संग्रौला, शारदा शर्मा, मनु ब्राजाकी, उपेन्द्र सुब्बा र मोहन मैनालीले प्राप्त गरिसकेका छन् । २०६७ देखि प्रदान गर्न थालिएको पद्य श्री साधना सम्मान माधव घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, ध्रुवचन्द्र गौतम, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्राप्त गरेका छन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. जीवा लामिछानेका आमा हरिकला लामिछानेले सो पुरस्कार प्रदान गरेकी थिइन् । पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति दुई लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.