सेन्चुरी बैंकमा अरनिको गाभिने
काठमाडौः सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा अरनिको डेभलपमेन्ट बैंक गाभिने भएको छ । सेन्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी हस्ताक्षर भएको छ ।
बैंकले प्राप्तिसम्बन्धी कार्य माघभित्र सम्पन्न गरी एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ । हाल सेन्चुरी बैंककोे कुल पुँजी दुई अर्ब ८४ करोड रहेको छ भने थप ८५ करोडको हकप्रद सेयर जारी गरिसकेको जनाएको छ । त्यसैगरी असोज अन्तिमसम्म कुल निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा रकम २७ अर्ब ४१ करोड रहेको छ ।
सेन्चुरी बैंकले २९ करोड पाँच लाख चुक्ता पुँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय पनि गरिसकेको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेन्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्नेछ ।