'अंग्रेजी नजान्ने पनि विद्वान'
पोखराः आम मान्यता छ—स्कुल गएपछि सिकिन्छ । अमेरिकाका एक शिक्षाप्रेमी जोन हल्ट भने स्कुल जेल वा आर्मी ब्यारेक जस्तो हुन्छ त्यसैले स्कुल बन्द हुनुपर्छ र केटाकेटीलाई घरमै पढाइनुपर्छ भन्छन् तर यसबीचको बाटो उत्तम भएको शिक्षाविद् केदारभक्त माथेमा बताउँछन् ।
‘केटाकेटीलाई घरमा मात्रै सिकाएर हुँदैन, स्कुलमा मात्रै पढाएर पनि हुँदैन । दुवैतिर सिक्ने/पढ्ने कर्म हुन्छ', उनी भन्छन् । जोन हल्टले लेखेको किताबको नेपाली अनुवाद ‘असफल स्कुल' माथि र्यान्डम रिडर्स सोसाइटीले बिहीबार चलाएको छलफलमा माथेमाले यस्तो धारणा राखेका हुन ।
स्कुलमा मात्रै ज्ञान पाइने भन्ने धेरैको धारणा गलत रहेको माथेमाको भनाइ छ । ‘स्कुलबाहिर झन् धेरै कुरा सिकिन्छ, जानिन्छ', उनले भने । तर अचेलका स्कुलहरूका बालबालिकाले आफ्नो समाज नचिन्ने उनले गुनासो गरे । भने, ‘विदेश जान प्रेरित गरिन्छ तर नेपालै नचिनी ।'
आफू र आफ्नो देश नचिने विदेश जाँदा पहिचानविहीन बन्ने खतरा उनले औंल्याए । अमेरिका, अस्टे«लिया वा क्यानाडा जहाँ गए पनि नेपाल नचिनी जाँदा न उताको न यताको भइने उनको भनाइ छ । सामाजिक शिक्षाजस्तो विषय नेपाली भाषामा पढाउनुको साटो अंग्रेजीमा पढाउनु विडम्बना भएको तर्क गर्दै उनले भने, ‘आफ्नो समाज पनि अर्काको भाषामा चिन्ने ? आफ्नो कुरा आफ्नै भाषामा अभिव्यक्त गर्न सजिलो हुन्छ ।'
अंग्रेजी जान्नु ज्ञान प्राप्त गर्नु भन्ने भ्रम चिर्न पनि उनले आग्रह गरे । ‘जुन भाषामा सपना देखिन्छ, त्यही भाषामै अभिव्यक्त गर्न सजिलो हुन्छ । आफ्नै भाषामा पकड बनाउनुपर्छ', उनले भने, ‘अंग्रेजी नजान्ने पनि विद्वान हुन सक्छ । होइन भने अंग्रेजी नजान्ने जापानी वा टर्किसलाई कसरी नोबेल पुरस्कार दिइन्छ त ? '
एउटा शब्द अंग्रेजी नजाने पनि असल शिक्षा हुन सक्ने उनको भनाइ थियो । बच्चालाई विश्लेषण गर्न सक्ने, सिर्जनशील र समस्या सुल्झाउन सक्ने बनाउनुपर्नेमा उनले जोड दिए । ‘यहाँ त टप गर्नुपर्छ, सफल हुनुपर्छ भन्नेमात्रै छ', उनले भने, ‘टप भएकाहरू पछि गएर हराउँछन् ।' तथ्यहरू घोकाउनेभन्दा पनि विश्लेषण गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्ने खाँचो उनले औंल्याए ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले शिक्षासम्बन्धी विभिन्न दर्शनका राम्रा पक्षलाई आत्मसात् गर्नुपर्ने बताए । जोन हल्टले भनेका सबै कुरा लागू गर्न नसके पनि विद्यार्थीलाई, नपिट्ने, घोकन्ते नबनाउने, होमवर्कको भारी नबोकाउने, खेल्दै पढाउनेजस्ता सुझाव लागू गर्न सकिने उनले सुझाए ।
असफल स्कुल किताबको प्रकाशक सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले जोन हल्टका सुझाव लागू गर्न सकिए नेपाली शिक्षाको मुहार परिवर्तन हुन सक्ने सुनाए । र्यान्डम रिडर्सका अध्यक्ष उपेन्द्र पौडेलले शिक्षक, अभिभावक, विद्यालय सञ्चालकलगायत धेरैजसोका लागि किताब उपयोगी देखेर छलफल आयोजना गरेको प्रष्टोक्ति दिए ।