शोधनान्तर ऋणात्मक
काठमाडौः देशको शोधनान्तर ऋणात्मक भएको छ । यस वर्षको पहिलो दुई महिनामा तीन अर्ब ५० करोड रुपैयाँ शोधनान्तर घाटा भएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गतवर्षको दुई महिनासम्म ३१ अर्ब ८८ करोडले शोधनान्तर बचतमा रहेको थियो ।
व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांस भुक्तानीमा उल्लेख्य वृद्धि भएको तथा वैदेशिक अनुदान घटेका कारण देशको ब्यालेन्ससिटमा असर परेको अर्थ विज्ञ डा. शंकर शर्माले बताए ।
‘देशभित्रिने रकमभन्दा बाहिरिने रकम बढी भएपछि देशको ब्यालेन्ससिट घाटामा जान्छ', उनले भने- ‘यसमा सुधार ल्याउन निर्यातलाई बढावा दिनुपर्छ ।' रेमिट्यान्स आप्रवाहको दर पनि घटेकाले यसको असर शोधनान्तरमा देखिएको हो । अहिले ऋणात्मक भएपनि पछि यस्तो अवस्था नआउने उनको भनाइ छ ।
देशभित्र भित्रिने र देशबाट वाहिरिने रकमबीचको अन्तरलाई शोधनान्तर भनिन्छ । शोधनान्तर वृद्धिमा प्रभाव पार्ने आयात–निर्यात, रेमिट्यान्सदेखि अनुदानसमेत घटेका कारण ऋणात्मक भएको अर्थविज्ञ प्राडा. चन्द्रमणि अधिकारीले बताए ।
शोधनान्तर घट्दा यसको प्रत्यक्ष असर वैदेशिक मुद्रामा पर्ने हुन्छ,' उनले भने, ‘निर्यात तथा पर्यटक आगमन बढेमा यसको असर कम हुँदै जान्छ ।'
शोधनान्तर ऋणात्मक हुँदा देशको वित्तीय रेटिङ पनि घट्छ । यसले प्रत्यक्ष वैदेशिक लगानी निरुत्साहित गर्ने विज्ञहरुको भनाइ छ । घटेको शोधनान्तरले बैंकको ब्याजदरमासमेत असर पर्ने देखिएको छ ।
एउटा देशको अन्यदेशबीच हुने वित्तीय लेनदेनको हिसाबकिताबलाई शोधनान्तर भनिन्छ । शोधनान्तरमा आयात–निर्यातमा बस्तु तथा सेवा, वित्तीय पुँजी र वित्तीय अनुदान र रेमिट्न्सको समेत गणना गरिन्छ ।
घट्यो कुल विदेशी विनिमय सञ्चिति
बजारमा देखिएको अमेरिकी डलरको अभावसँगै नेपाल राष्ट्र बैंकको विनियमय सञ्चिति घटेको छ । गएको असार मसान्तसम्म १० खर्ब ३९ अर्ब २१ करोड रहेको विदेशी विनिमय सञ्चिति शुन्य दशमलव छ प्रतिशतले घटेर १० खर्ब ३२ अर्ब ७० करोडमा पुगेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको दोस्रो महिनाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको ८ खर्ब ८७ अर्ब १ करोडको तुलनामा २०७३ भदौ मसान्तमा शुन्य दशमलव ८ प्रतिशतले कमी आएर ८ खर्ब ८० अर्ब १६ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १ खर्ब ५२ अर्ब २० करोडको तुलनामा शुन्य दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५२ अर्ब ५५ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.४ प्रतिशत रहेको छ ।
घट्यो रेमिट्यान्स दर
गतवर्षको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिट्यान्स यसवर्ष ६ दशमलव ६ प्रतिशतले मात्र वढेको छ । वैदेशिक रोजगारमा गएका नेपालीले दुई महिनामा एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ नेपाल पठाएका छन् ।
मूल्य वृद्धिमा सुधार
चालू आवको दोस्रो महिनामा मूल्य वृद्धि घटेको छ । गत साउनमा आठ दशमलव ६ प्रतिशत रहेको मूल्य वृद्धि भदौमा शुन्य दशमलव ७ प्रतिशतले घटेर सात दशमलव नौ प्रतिशतमा सीमित रहेको छ ।
गतवर्षको भदौमा यस्तो यस्तो मूल्यवृद्धि ७ दशमलव २ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडा, जुत्ता र विविध वस्तु तथा सेवाहरुको मूल्य वृद्धिदर उच्च रहेकोले समग्र उपभोक्ता मूल्यवृद्धि दर अपेक्षित रुपमा घट्न नसकेको हो ।
बढ्यो व्यापार घाटा
यसवर्षको पहिलो दुई महिनाको अवधिमा व्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालबाट १३ अर्ब १८ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएकोे छ भने एक खर्ब ४९ अर्ब २ करोड रुपैयाँको आयात गरिएको छ ।
उर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगहरुको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरुको वेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आउने र त्यसले अर्थतन्त्रलाई राम्रो प्रभाव पार्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।