दौडेरै१०२६ किलोमिटर

दौडेरै१०२६ किलोमिटर

मध्याह्नको समय । टन्टलापुर घामले जमिन धपक्क बलूँलाझैं छ । एक हजार किलोमिटर भन्दा लामो बाटो । सम्झँदै अत्यास लाग्ने ।
घामको चर्को दबाब सहन नसकेर राजमार्गको दायाँबायाँ रूखको सियालमा स्थानीय बासिन्दा लगातार हाते पंखा हल्लाइरहेका छन् । साहित्यकार लक्ष्मण सापकोटा सबेरैको ४ बजेदेखि निरन्तर दौडिरहेका छन् । पंखा हम्किनेहरू अचम्म मानेर उनलाई हेर्छन् र भन्छन्, ‘होइन, केका लागि किन दौडिएका हुन् ? कसरी दौडिन सकेका ? '

सापकोटा असिनपसिन छन् । निधारभरि पसिना आउनु सामान्य बनेको छ उनका लागि । ‘एक किसिमले मेचीदेखि महाकालीसम्म दौडिनु दुस्साहस नै हो तर मैले त्यही दुस्साहसभित्र साहस खोजेँ', साहित्यिक दौडको कीर्तिमानी राख्ने ध्येय पूरा गरेका उनी भन्छन्, ‘निधारमा त देखिने पसिना हो, घन्टौं दौडिरहँदा टन्टलापुर घाममा शरीरमा पसिनाका धारा बग्थे ।

लक्ष्य पूरा गर्ने त्यो साहसले म अघि बढिरहेँ ।' कतिपय ठाउँमा दायाँबायाँ शीतल ताप्न खोज्दा पनि उनले तीनचार घन्टासम्म बाटोमा एउटा पनि रूख भेटेनन् ।

१८ दिने महेन्द्र राजमार्गको एक हजार २६ किलोमिटरको यात्रामा उनलाई प्रचण्ड घामले मात्र सास्ती दिएन, दर्के पानीले पनि उत्तिकै दुःख दियो । उनको घन्टौंको रुझाइ देखेर सहयोगी र स्थानीयवासीले बर्सादी ओढाइदिए तर के गर्नु हप्प भएपछि ? दौडन पनि कठिन ।


‘शारीरिक श्रम बेजोडले गरेपछि न ज्वरो आयो न त रुघाखोकी नै', उनी सम्झन्छन् । ‘जसरी बच्चाले केही पाउँदा रमाउँछ, खुसीले प्रफुल्लित हुन्छ, ठीक त्यसरी नै म पनि तय गरेको किलोमिटर पूरा गरेपछि प्रत्येक दिन त्यसरी नै खुसी हुन्थेँ', सापकोटा थप्छन्, ‘लगत्तै खुट्टा फुल्दै जाँदा र जल्जलाउँदा फोकाहरू पैतालामा उठ्दाको अवस्था कसरी सुनाऊँ ?

पानी र रगतका ती फोका फुटाऊँ घाउ बल्झिने । स्थानीय स्वास्थ्य चौकीमा पुगेर सिरिन्जले तान्न लगाउँथेँ, त्यसपछि टेप र बेन्डेज लगाउँथेँ । यात्रामा मैले दुवै खुट्टाका तीनतीनवटा नङ नै गुमाएको छु ।' पट्टी लगाएर उनी दिउँसो र साँझमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन पुग्थे ।

साहित्यिक दौडको कीर्तिमानीलाई जीवन्त बनाउन प्रत्येक दिन पुग्ने ठाउँमा आयोजना गरेको ती कार्यक्रममा सुनाइने सिर्जना राष्ट्रिय भावनाले ओतप्रोत हुन्थे जसले उनलाई एकातिर साहित्यिक माहोल बनाइरहेको थियो भने अर्कोतिर यात्राको थकान मेट्थ्यो ।

‘साहित्यिक कार्यक्रममा सुनाइने सिर्जना राष्ट्रिय जागरण ल्याउने, निराशा र कुण्ठालाई आशामा बदल्ने र नकारात्मक सोचलाई सकारात्मकतिर ढाल्ने खालका हुन्थे', उनी सम्झन्छन्, ‘यूरोपमा साहित्यिक लेखनकै कारण विकासमा टेवा पुगेको सुनेको थिएँ । मुलुकभर विशेषगरी युवा पुस्ता (विद्यार्थी)बाट यस्तै अपेक्षा गर्न सकिने वातावरण पाएँ ।'

२०६४ सालमा ‘प्रयास' कवितासंग्रह र २०६५ सालमा ‘वास्तविकता' कथासंग्रह निकालेका लेखक लक्ष्मण सापकोटाले ६ हजार दुई सय मिटर अग्लो इम्जात्से हिमाल आरोहणको नियात्रा कृति र आफू प्रवासमा रहँदाको अनुभव ‘प्रवासका १५ वर्ष' नामक उपन्यास लगायतका पाँचवटा कृति प्रकाशनको तयारीमा छन् ।

उनको यो प्रथम मेची-काली साहित्यिक दौड सगरमाथा चढ्ने तयारीको एउटा आधार पनि हो । उनी आउँदो वैशाखमा सगरमाथामा पुगेर सातवटा विश्व कीर्तिमानी राख्ने हतारोमा छन् ।

 

 

‘प्रवासका १५ वर्ष चुचुरोमा विमोचन गर्दैछु, चुचुरोमै उभिएर राष्ट्रिय गान गाउने र एउटा आफ्नो कविता वाचन गर्नेछु', उनी भन्छन्, ‘दिवंगत झन्डै दुई दर्जन वरिष्ठ साहित्यकार र जीवित झमक घिमिरेको तस्बिर पयाउनेछु, यसैगरी पशुपतिनाथ मन्दिरको स्वरूप र गौतम बुद्धको मूर्ति पनि सगरमाथाको चुचुरोमा पुर्‍याएर गिनिज बुकमा नाम लेखाउनेछु ।'

यी सबैको वृत्तचित्र निर्माण गर्ने उनको लक्ष्य छ । मेची-काली यात्राको उनले नियात्रा संग्रह लेख्नेछन् भने केही कविता दौडने क्रममै लेखेका छन् । यति लामो यात्रा, त्यसमा आइपर्ने जोखिम र १५ वर्षदेखि डायबिटिजको रोगी भए पनि हिम्मत गरेको प्रसंग समेतलाई उनले ‘कसको हिम्मत कसको तागत' शीर्षकमा कविता कोरेका छन्, ‘नदीहरू धरतीमा गहिरिएर बगिरहेका छन्, यिनीहरूको बेगलाई रोक्न कयौं चट्टान तेर्सिएका छन् ।

कयौं पहाड तेर्सिएका छन् । तर यो नदी हो, चट्टानहरूलाई चिरेर बग्न सक्ने तागत हुन्छ नदीसँग । पहराहरूलाई फोरेर बग्न सक्ने क्षमता हुन्छ नदीसँग । त्यसैले यसको बेगलाई रोक्न कसको हिम्मत कसको तागत ? जिन्दगीहरू पनि नदीजस्तै गहिरिएर बगिरहेका छन् । यसको बेगलाई रोक्न कैयौं समस्या तेर्सिएका छन् । कयौं अप्ठ्याराहरू तेर्सिएका छन्...।'
असोज १ गते झापाको काँकडभिट्टास्थित मेची नदीको पुलको बीच भागबाट उनको साहित्यिक दौड सुरु भएको थियो ।

पहिलो दिन दमकसम्मको ५० किलोमिटर दौडेका उनले असोज १८ गते झलारीदेखि गड्डाचौकीसम्म ३० किलोमिटर दौडिएपछि कञ्चनपुरको महेन्द्रनगरमा दौड समापन गरेका थिए । यात्राको दोस्रो दिन असोज २ गते दमकदेखि इटहरीसम्मको ४५ किलोमिटर, ३ गते इटहरीदेखि मौलीसम्मको ७० किलोमिटर, ४ गते मौलीदेखि लाहानसम्मको ४२ किलोमिटर, ५ गते लाहानदेखि ढल्केबरसम्मको ६० किलोमिटर, ६ गते ढल्केबरदेखि चन्द्रनिगाहपुरसम्मको ७० किलोमिटर, ७ गते चन्द्रनिगाहपुरदेखि हेटौंडासम्मको ७० किलोमिटर, ८ गते हेटौंडादेखि भरतपुरसम्मको ७६ किलोमिटर, ९ गते भरतपुरदेखि दुम्कीबाससम्मको ६० किलोमिटर र १० गते दुम्किबासदेखि बुटवलसम्मको ५९ किलोमिटर दौड सम्पन्न भएको थियो ।
यसैगरी असोज ११ गते बुटवलदेखि चन्द्रौटासम्मको ६६ किलोमिटर, १२ गते चन्द्रौटादेखि लमहीसम्मको ५९ किलोमिटर, १३ गते लमहीबाट कुसुमसम्मको ५० किलोमिटर, १४ गते कुसुमबाट कोहलपुरसम्मको ५६ किलोमिटर, १५ गते कोहलपुरदेखि भुरीगाउँसम्मको ५५ किलोमिटर, १५ गते भुरीगाउँदेखि मसुरियासम्मको ७० किलोमिटर र १७ गते मसुरियादेखि झलारीसम्मको ५० किलोमिटर दौडने काम भयो ।

दौडमा सापकोटाले सँगै हिँड्ने गाडीमा नेपालको झन्डा र लोगो, नेपाल प्रज्ञाप्रतिष्ठान, प्रगति लेखक संघ, नेपाल लेखक संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको लोगो र देवकोटा, भानुभक्त, मोतीराम, बीपी, लेखनाथ, सिद्धिचरण, पारिजातलगायत ३० जनाको तस्बिर पनि राखेका थिए ।

यात्रामा नारा थियो, ‘अग्रज साहित्यकारहरूको सम्मान हाम्रो अभियान ।' दुबईको ५० डिग्री तापक्रममा विशेष कमान्डोको तालिम लिएका उनी विगतकै जोश, जाँगर र आँटले अहिले मेची–काली दौड र अबको सगरमाथा चुम्ने काममा अघि सरेका हुन् ।

काभ्रेका ४८ वर्षीय उनी कुनै पनि काम गर्न शारीरिकका साथै मानसिक तयारी आवश्यक पर्ने बताउँछन् । भन्छन्, ‘लहान पुग्ने क्रममा ७५ मिटर अगाडि एकाबिहानै चितुवासँग भेट भयो । चन्द्रनिगाहपुरको जंगलमा एक हूल बाँदर सडकभरि भए । दाउन्नेको उकालोमा रूखबाट लंगुरहरू फुत्तफुत्त सडकमा हाम्फाल्थे ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाटोमा एक दर्जनजति मानिसलाई पैदलका क्रममा र मोटरसाइकलमा बाघले आक्रमण गरेका घटना सुनिए ।' उनले प्रहरीको सहयोगमा निकुञ्जको २५ किलोमिटरको उक्त सडक नउभिईकनै दुई घन्टा १० मिनेटमा पार गरेका थिए ।

‘मैले भनिसकेँ नि, दुस्साहस नै गरेको हु केवल नामका लागि, पाउनु अरू के छ र ? ', सापकोटा भन्छन्, ‘तर पहिलोपटक चढ्ने विश्वकै सर्वोच्च शिखर सगरमाथा मेरा लागि झनै ठूलो दुस्साहस हो जहाँ ९९ प्रतिशत मृत्यु पाइलापाइलामा भेटिन्छ भन्ने थाहा छ तर एक प्रतिशतमा विश्वास गरेर नेपाली साहित्यको विश्वकीर्तिमान राख्ने दुस्साहस गरेको हु ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.