जीवन जिउने कला योग
संसारमा योगको रहस्य, मर्म र यथार्थता बुझ्ने साधक ज्यादै कम छन् । योग र भोगको मिश्रित अवस्था संसारमा हुन्छ । भोगै–भोगको संसार हुँदैन र योगै-योगको पनि हुँदैन । योगमय विश्व हुँदैन र भोगमय विश्व पनि हुँदैन । ज्ञानी होसमय अर्थात् योगमा जीवन जिउँछ । अज्ञानी बेहोसमा जीवन जिउँछ ।
यसैले यी दुवैथरीको समि श्रण संसारमा पाइन्छ । योगको यथार्थ अर्थ अनुशासन हो । अर्को अर्थमा योगभित्र जोड र मिलन शब्द पनि लुकेको छ । बेहोसमा बस्ने मनुष्यलाई होसमा ल्याउने क्रियाको नाम योग हो । सोध, उद्बोध एवं बोध नै योगका लक्षण हुन् । जो मनुष्य जाग्ने कोसिस गर्छ उही योगमा अघि बढ्छ । योग ध्यानले मानिसलाई जागरुक बनाउँछ । चञ्चल मनलाई स्थिर बनाउन, विचलित बुद्धिलाई एकाग्रतामा ल्याउन, जीवदेखि परमात्मा तत्व ज्ञानसम्म प्राप्त गर्नलाई योगानुशासनको महत्व गहन छ ।
मानिसले योगको अभ्यासबाट शरीर स्वस्थ बन्ला, मन नियन्त्रण गर्न सक्ला, ध्यानमा जान सक्ला तर परमात्मा दर्शन पाउन भने अति कठिन छ । किनकि परमात्मा ज्ञान वा दर्शन पाउन योगको क्रमबद्ध अभ्यास र प्रचुर आचार-विचारमा शुद्धताको खाँचो पर्दछ ।
योगको प्रथम अनुशासन यम र नियमको संयमतापूर्वक पालनाबिना परमात्मा दर्शनको ढोका नै खुल्ने छैन ।
संसारमा धेरै साधकहरू योगमा लागेका हुन्छन् तर योगको उपलब्धि र लक्षण भने थोरैमा देखा पर्दछ । यम र नियमको अनुशासन पालनामा पनि जबर्जस्त अर्थात् कठोर नियन्त्रणमा भयो भने असफलता हात लाग्छ ।
संसारमा यही घटना भइरहेको हुन्छ । संयम, बोध एवं समझदारीको ख्याल नगरी पालना गरिएको अनुशासन पनि ढोङ भइदिन्छ । ढोङले योगको जन्म हुँदैन, उल्टो भ्रम पैदा गराउँछ । अनुशासन भन्नासाथ ज्यादाजसो साधकहरू कठोरता अर्थात् नियन्त्रण एवं दमनलाई सम्झन्छन् ।
वास्तवमा योगको आफ्नै नियम छ, व्रत छ र अनुशासन छ । कुनै पनि कुरामा सफलता पाउनका लागि सिँढी चढ्नु पर्दछ । त्यस्तै योगको पहिलो सिँढी यम हो भने दोस्रो सिँढी नियम हो । सत्य, अहिंसा, ब्रम्हचर्य, अपरिग्रह र अस्तेयं आदि यमअन्तर्गतका साधना पर्दछ भने सौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधान नियमभित्रका योग अनुशासनहरू पर्दछन् ।
जसलाई संयमतापूर्वक पालना गर्नु साधकको कर्तव्य हो । यसभन्दा पनि योग साधकले अपनाउनु पर्ने धेरै अनुशासनका क्रियाहरू पर्दछन् । जस्तै शाकाहारी हुनु पर्यो, अरूलाई ठग्ने, उल्लु बनाउने, शोषण गर्ने, दिनेभन्दा लिने भावना बढी, अरूलाई होच्याउने र हराउने प्रवृत्ति आदि शोषणयुक्त व्यवहारबाट साधक पूर्णरूपले मुक्त हुनै पर्दछ ।
योगको अभ्यासले साधकलाई अतुलनीय शक्ति र सामथ्र्य मिल्दछ । तर योगको शक्ति सदुपयोग भयो भने वरदान र दुरुपयोग भयो भने अभिशाप बनिदिन्छ । परमात्मा सर्वसुलभ विषय होइन । यो कुरा गोप्य पनि छ र जोसुकैलाई अप्राप्य पनि छ । यसैले यसको ज्यादा प्रचार-प्रसारको जरुरत पनि छैन ।
किनकि अलग-अलग इच्छा र आकांक्षा बोकेको स्वतन्त्र जीवको बाटोमा तगारो बन्नु दोस्रो जीवको कर्तव्य पनि हुँदैन । हरेक जीवको आफ्नै यात्रा छ, आफ्नै परिवेश छ । हरेक जीवको आफ्नो स्वतन्त्रता छ, आस्था पनि छ र विचार पनि छ । त्यसैले योगसाधकले परमात्मा दर्शनको लागि लल्कार्दै हिँड्नु उपयुक्त हुँदैन ।
यदि कुनै आत्माखोज वा जिज्ञासा छ भने त्यसमा सहयोग गर्नु परम कर्तव्य हुन्छ । त्यसैले योग साधनामा अप्रसारलाई पनि ध्यान दिनु जरुरी हुन आउँछ । जरुरतभन्दा ज्यादा कुनै पनि कामको महत्व हुँदैन । आज संसारमा यही कुराले बढी प्र श्रय पाइरहेको छ । योग अप्रसारको विषय भएर पनि जबर्जस्त प्रसारण भइरहेछ । सहजताको विषय भएर पनि कठिनतातर्फ उन्मुख भइरहेछ । भावको विषय भएर पनि अभावमा रमाइरहेछ ।
योग ध्यानले मानिसलाई जागरुक बनाउँछ । चञ्चल मनलाई स्थिर बनाउन, विचलित बुद्धिलाई एकाग्रतामा ल्याउन, जीवदेखि परमात्मा तव ज्ञानसम्म प्राप्त गर्नलाई योगानुशासनको महत्व गहन छ । पहाडको फेदीमा बस्नेलाई एकै फट्कामा चुचुरामा पुग्ने बाटो देखाउन थालियो भने त्यो दुर्भाग्य हुन्छ । क्रमैले पहाड चढ्न सिकाउने हो । क्रमभंग भयो भने नियम मिचिन्छ । भर्याङको बीच खुट्किलामा नै नटेकिकन एकै चोटी माथिल्लो खुट्किलामा पुग्न कोसिस गरियो भने दुर्घटना निम्त्याउँछ ।
असमझ, अज्ञानता र मोहग्रस्त अवस्थाबीच योग खेलिरहेछ । बेहोसमा पनि योग फस्टाएजस्तो भइरहेछ । होसमा रमाउनुपर्ने, बोधमा विस्तार हुनुपर्ने, नियन्त्रणमा नभई संयममा रहनुपर्ने, निद्रामा नभई जागरणमा बाँच्नुपर्ने योग आज कताकता हराइरहेको महसुस भइरहेछ । हुन त सकारात्मक भावले हेर्नुपर्दा यसभित्र कतै न कतै कल्याण पनि भइरहेको छ ।
योग के रहेछ भनि बुझ्न र जान्न धेरैले चाहन्छन् । जानकारी राख्न चाहने संख्या अहिले असंख्य भइसके । तर योगको मर्मभित्र पस्न थोरैले मात्र चाहन्छन् । किनकि यो प्रकृतिको नियम नै हो । योगको मर्म सबैलाई बुझाउन खोज्दा यसको अलौकिकता नै कतै हराएर जाने हो कि भन्ने शंका पनि लाग्न थालेको छ । सबै योगी र सन्न्यासी हँनै सक्दैनन् ।
आफ्नोआफ्नो कर्मानुसार भोग अनि मोक्षको बाटो प्रत्येक मनुष्यले लिएर आएको हुन्छ । यसमा कसैले हस्तक्षेप गर्नुको कुनै तुक छैन । उकालो चढ्ने र चुचुरामा पुग्ने सबैको इच्छा, चाहना र अधिकार हुन्छ । कोही ढिला पुग्लान्, कोही छिटै पुग्लान् । सबैलाई एउटै बास्केटमा राखेर त समस्या समाधान हुन सक्दैन । यहाँ अधिकारको नाममा कर्तव्यलाई बिर्सन खोज्ने प्रयास भइरहेछ । बीच मार्गको कुनै तय नभइकन गन्तव्यमा पुर्याउन खोज्नेको भीड बढ्न थालेको छ ।
पहाडको फेदीमा बस्नेलाई एकै फट्कामा चुचुरामा पुग्ने बाटो देखाउन थालियो भने त्यो दुर्भाग्य हुन्छ । क्रमैले पहाड चढ्न सिकाउने हो । क्रमभंग भयो भने नियम मिचिन्छ । भर्याङको बीच खुट्किलामा नै नटेकिकन एकै चोटी माथिल्लो खुट्किलामा पुग्न कोसिस गरियो भने दुर्घटना निम्त्याउँछ । योग पवित्रता, पुण्यता र दिव्यताको मार्ग हो ।
योगमा भोगविलास सुहाउँदैन, अज्ञानता र अन्धविश्वास टिक्दैन र असभ्यता एवं दुष्चरित्र अटाउन सक्दैन । योगमा न त भेदभाव नै हुन्छ, न त अभाव नै हुन्छ । योग सत्य, सन्तोष, सरलता, क्षमा, दया र परोपकारको मार्ग हो । योगको अन्तिम गन्तव्य परमहोसपूर्ण जीवनमा प्रवेश गर्नु हो । यो स्थिति संसारमा करोडौंमा कुनै एकलाई प्राप्त हुन्छ ।
योगले आनन्दित र होसपूर्ण जीवन जिउने कला सिकाउँछ । तर यो जीवन जिउने मानिस पनि संसारमा कमै छन् । किनकि योगको नियम र अनुशासन पालन गर्ने व्यक्ति पनि कमै छन् । संसारका अधिकांश मनुष्य बेहोसीमा जीवन बिताइरहेका छन् ।
किनकि योगको तत्व ज्ञान र रहस्य सबैले बुझ्न सक्दैनन् । सबैले योग गर्न पनि सक्दैनन् । त्यसैले योग गोप्य पनि छ र खुल्ला पनि छ । मानिसको बाह्य शरीर इच्छा र चाहना एवं भोगको शरीर हो ।
यसको भित्र अर्को शरीर छ जसलाई निर्विकार अथवा ब्रम्हशरीर पनि भनिन्छ । त्यो अति सूक्ष्म छ । इच्छा निर्देशित मनुष्यभोगमा नै रमाउँछ । उसलाई निर्विकार जीवनतिर जाने चाहना नै हुँदैन । ब्रम्हशरीरबाट निर्देशित जीव योगमा रमाउँछ । योगको बाटो कठिन छ । त्यसैले योगको बाटोमा हिँड्ने मनुष्य कम हुन्छन् । भोगको बाटो सरल छ ।
त्यसैले भोगमा रमाउने प्रशस्त हुन्छन् । योग सत्यको मार्ग हो । सत्यको बाटोमा भीडभाड हुँदैन । जहाँ भीडभाड हुन्छ, त्यहाँ संसार सुरु हुन्छ । भीडले योग गर्दैन । तर आज भीडभाडमा योग भएको जस्तो देखिन्छ । यही कुराको भ्रममा हामी परेका छौं । आज विश्वमा बेहोसमा योगको चर्चा र परिचर्चा भएको छ । यसले योगको विज्ञापन त भएको छ, तर यसको चेतना र चैतन्यतामा आँच पुगेको छ ।