नेपाली भाषामा संयुक्त अक्षरको महत्व
मेरा मित्र शरच्चन्द्र वस्तीले एकदुई हप्ता जति अघि उहाँको एउटा लेख मलाई दिनुभयो । नेपाली भाषाको महत्व भनेपछि हुरुक्क हुने र हाम्रो भाषाको शुद्धतामा मरिमेटेर लाग्ने उहाँजस्ता राष्ट्रको साझा भाषाका दक्ष व्यक्तित्वले मलाई एउटा उर्दीको सूचना दिँदा म वाल्ल परेँ ।
त्यो उर्दी नेपाल सरकारको शिक्षामन्त्रित्वको पदमा गजधुम्म बस्ने महाशयको रहेछ ! हामीलाई छक्कै पार्ने त्यो निकृष्ट उर्दी २०६९ साल श्रावण २३ गते जारी भएको रहेछ ।
‘नेपाली भाषा सङ्गोष्ठी'मा प्रज्ञाप्रतिष्ठानमा २०६७ साल पौष २८ गते उपस्थित महोदयहरूले निर्णय गरेको हाम्रो भाषा वैज्ञानिक विश्लेषणलाई अनुचित मानी हाम्रा समस्त संयुक्त अक्षरहरूलाई छरपुस्ट पारी जताततै हलन्त (व्यञ्जन वर्णहरूका खुट्टा काटी लेखाइलाई नै बिगार्ने उद्देश्यको पूर्ति गर्ने साधन) लगाउने नयाँ प्रथा चलाउने प्रयास रहेछ ! यो प्रयास गहिरिएर अध्ययन गर्दा सङ्कीर्ण व्यक्तिहरूलाई क्राइस्टेली धर्म प्रचारकहरूले प्रयोगमा ल्याएको बुझिन्छ ।
उदाहरणका लागि हाम्रा पाठशालाहरूका छात्रछात्राहरूले ‘द्य', ‘द्व', ध्य', ‘ड्ढय', ‘द्द', ‘द्ध', ‘व्य', ‘ह्य', ‘क्त', ‘ट्य', ‘ड्य' आदि संयुक्त व्यञ्जनहरूलाई चिन्दैनन्, किनभने हाम्रा शिक्षकशिक्षिकाहरूले नै त्यस्ता संयुक्त ध्वनिलाई सिकाउने कष्ट गरिरहँदैनन् ।
सानैदेखि बालबालिकाहरूलाई संयुक्त स्वर र व्यञ्जनका लेखाइसित परिचित गरेमा नेपाली पढ्न (वा उच्चारण गर्न) अप्ठ्यारो पर्ने थिएन । क्राइस्टेली प्रचारकहरूले अङ्ग्रेजी (अर्थात् रोमेली वा ‘रोमन') लिपिको उदाहरण दिँदै हाम्रा अक्षरहरूलाई उनीहरूकै जस्तो छताछुल्ल पारेर टुक्य्राउनु (वा छुट्ट्याउनु) पर्छ भन्दै हाम्रा सारा व्यञ्जन र स्वरलाई छुट्टाछुट्टै पारेर लेख्नु वा छाप्नुपर्छ भनी अनुचित शिक्षा हाम्रा तल्लो स्तरका शिक्षकशिक्षिकालाई अनेकौं आर्थिक लोभमा फँसाई दिएका छन् ।
त्यसै हुनाले आजका सुधारिएका भनी फुइँ गरिने नेपाली पाठ्यपुस्तकहरू अङ्ग्रेजीकै जस्तो गरी एकएक वर्णमा लेखिने र स्वरले नथेगेका व्यञ्जनहरूलाई हलन्त दिने (वा खुट्टा काट्ने) गरेर “हाम्रो धर्म वैदिक सनातनी हो” लाई “ह् आ म् र् ओ ध् अ र् म अ व् अ इ द् इ क् स् अ न् आ त् अ न् ई ह् ओ” लेखेर हामीलाई वाल्ल पार्न खोजेका छन् ।
हुन पनि अचेलका हाम्रा छात्रछात्राहरू ‘विद्यालय'को ‘द्य'लाई चिन्दैनन् र ‘ध्य' भन्ठान्छन् र ‘विध्यालय' भन्छन्, ‘सरस्वती'को ‘स्व' लाई ‘स्सो' ठान्दै ‘सरस्सोती' भन्छन् ।
राम्ररी हाम्रो लिपि (अर्थात् सर्व श्रेष्ठ व्याकरणकार पाणिनीद्वारा प्रतिपादित र वैज्ञानिक रूपले निर्मित लिपि)लाई विशेष गरी संयुक्त अक्षरहरूमा जोड दिँदै बालबालिकालाई सानैदेखि शिक्षकशिक्षिकाले सिकाएमा यस्तो दुर्दशा हुने थिएन । त्यति मात्र होइन, शिक्षामन्त्रित्व ओगट्न पुग्ने अधिकारी भनाउँदाले त झन् राष्ट्रिय साझा भाषाको मर्म तथा आफ्ना शिक्षा, परम्परा र संस्कृतिको उच्चता बुझ्नुपर्ने हो, तर घुसमा पल्केका क्षुद्र व्यक्तिले गर्दा यो वेदना हामीले भोग्नु पर्दैछ !!
संयुक्त व्यञ्जन नेपालीमा (र संस्कृतमा पनि) दुई प्रकारले एकाअर्कासँग जोडिन्छन्ः पहिलो प्रकार बुई चढेर र दोस्रो प्रकार बुई चढेकालाई बोकेर । उदाहरणमा ‘धर्म' लाई हेरौः रेफ (अर्थात् र्‘ ') ‘म'माथि बुई चढेको छ तर ‘म'ले ‘र्' लाई र्( लाई) बोकेको छ ।
बुई चढ्ने व्यञ्जन पूर्ण रूपले बोक्ने व्यञ्जनको अधीनमा हुन्छ र बोक्ने व्यञ्जन भने स्वरसित अडिएको हुन्छ । पाणिनीको लिपिमा बोलिने वा लेखिने व्यञ्जन संयुक्त छन् भने अथवा शब्दको पुछारमा दुई व्यञ्जन गाँसिएका छन् भने र तिनीहरूपछि कुनै स्वर छैन भने ‘अ'को उच्चारण हुन्छ हुन्छ । जस्तैः ‘रक्त' (‘क्त'पछि ‘अ' बोलिन्छ बोलिन्छ), ‘सिद्ध' (‘द्ध'पछि ‘अ' भन्नैपर्छ), ‘बुद्ध', ‘युक्त',‘ द्वन्द्व', ‘नेत्र', (‘त' र जोडिएकाले) ‘अ'को उच्चारण गर्नैपर्छ । नेपालीमा पनि ‘हुन्छ', ‘भन्छ', ‘जान्नँ', ‘नन्द', ‘पर्छ', ‘चम्क', ‘दुष्ट', ‘मर्न', ‘गर्न', ‘हर्ष' आदि पछि स्वर ‘अ' भन्नैपर्छ ।
उपर्युक्त नियम अर्घाखाँची भन्ने पश्चिम नेपालको जिल्लाभित्र पर्ने ‘पणेना' गाउँमा जन्मेका ठूला भाषा विशेषज्ञ पाणिनीको ‘सिद्धान्त कौमुदी' (संस्कृत व्याकरण)मा पाइन्छ । हिन्दीमा भने यो नियम लाग्दैन (अर्थात् लगाइँदैन) । हिन्दीभाषीहरू अङ्ग्रेजीमा मरिमेट्छन् र ‘भक्त'लाई ‘भक्त्' भन्छन्, ‘रक्त' उनीहरूका उच्चारणमा ‘रक्त्' हुन्छ र ‘बुद्ध' ‘बुध्' हुन पुग्छ । ‘अङ्ग्रेजीमा ‘वेस्ट', ‘ल्यान्ड्स्', ‘मेन्ट्' र ‘डिस्ट्रिक्ट्स्' भएजस्तै ।)
कहाँसम्म भने शब्दको पुछारमा व्यञ्जनमात्र छ भने जबर्जस्ती अङ्ग्रेजीमा जस्तो ‘अ' लगाएर उनीहरू ‘आ' पार्छन् र हँसाउँछन् । जस्तै ‘राम'लाई ‘रामा', ‘योग्'लाई ‘योगा' भन्छन् तिनीहरू । ‘कृष्ण'लाई ‘कृष्णा', ‘देव'लाई ‘देवा' आदि पनि तिनका अड्बाङ्गे' उच्चारण प्रशस्त सुन्न पाइन्छ । (यसबाट वाक्यको वा शब्दको पुछारमा ‘अ' भन्न गाह्रो हुने र तिनले पुछारमा ‘आ'को सघाउ लिने गर्दा रहेछन् भन्ने बुझिन्छ ।)