एक आदिवासी फिल्मकर्मीको बयान

एक आदिवासी फिल्मकर्मीको बयान

किराती सौन्दर्य भनेको के हो ? त्यसलाई बुझ्न सकियो भने त्यो साहित्य वा सिनेमामा कसरी आउँछ भनेर हेर्न सकिन्छ । तर, पहिले किराती सौन्दर्य भनेकै के हो ? भनेर बुझ्नुपर्ने हुन्छ । किराती सौन्दर्य भनेको किरातीहरूको जीवनपद्धति, जीवनदर्शन, उनीहरूको इच्छा—आकांक्षा, सपनाहरू र विश्व दृष्टिकोण हुन् । किरातीहरू प्रकृति मैत्री जीवन बाँच्दछन् ।

प्राकृतिसँग (हार्मोनियस) लयबद्ध जीवन बाँच्छन् । त्यो नै उनीहरूको सौन्दर्य हो । किरातीहरूको जीवनपद्धति, जीवनदर्शनमा रहेको सुन्दर पक्ष यही नै छ । त्यसलाई किराती सौन्दर्यको रूपमा फिल्म, साहित्य वा संगीतमा कसरी अभिव्यक्त गर्न सकिन्छ ? आजको प्रश्न यो हो ।

किराती जीवनदर्शनले ‘हाइरार्कियर सोसाइटी'मा विश्वास गर्दैन । किरातीहरूको सोच्ने पद्धति भर्टिकल (ठाडो) हुँदैन, होरिजेन्टल (तेर्सो) हुन्छ । किरातीहरूले सबैलाई समान स्पेस दिन्छन् । किरातीहरूको लोक कथाहरू र मुन्धुमहरूको विश्लेषण गर्‍यौं भने त्यो अझ स्पष्ट बुझ्न सकिन्छ ।

हामी जीव—जन्तु, वनस्पति, मानिसका भिन्न सभ्यता सबैलाई समान रूपले हेर्छौं । त्यसलाई भर्टिकल्ली ‘यो चाहिँ तल, त्यो चाँहिँ माथि' भनेर हेर्दैनौं । ‘उसको एक्जिस्टेन्स (अस्तित्व) यहाँ छ है ! यो एक्जिस्टेन्स दिनुपर्छ' भनेर हेर्छौं । र, मुख्यतः किरातीहरूको जीवनदर्शन यससँग अन्तरसम्बन्धित छ ।

यसैसँग जोडिएको अर्को पक्ष चाहिँ हाम्रो जीवनदर्शन आफ्नो भूमिसँग आधारित छ । जति पनि मुन्धुमहरू छन्, लोककथा अथवा किंवदन्तीका कुराहरू छन् अथवा गीतसंगीतका कुराहरू छन्, यी सबैको उत्पत्ति, त्यसको विषय अथवा त्यसको संरचनाको कुरा गर्दा त्यो सबै भूगोलसँग सम्बन्धित छ ।

जस्तो कि ‘हाक्पारे' गीतको उत्पत्ति कहाँ भयो भन्दा निश्चित भूमिको निश्चित पहरा, त्यो पहरामा मानिसको आवाज ठोकिएर त्यसको प्रतिध्वनिको अनुकरणबाट सुरु भयो भनिन्छ । जस्तो राईहरूले मृत्यु संस्कारमा मृतकको आत्मालाई पुर्खास्थलमा पुर्‍याउँदा किराती बहुल क्षेत्रकै भूगोलको यात्रा गराउँदै त्यो स्थानमा पुर्‍याउँछन् ।

मृत्यु संस्कार किरात प्रदेशमा होस् वा काठमाडौंमा होस वा हङकङ, बेलायत, वा अमेरिका मृतकको आत्मा पुर्‍याउँदा राईहरूकै भूगोलको यात्रा गराइन्छ । यसले के बुझिन्छ भने हाम्रा कथामा, मुन्धुममा अथवा अनुष्ठानहरूमा किरातीहरूको जीवनसँग उनीहरूको पुख्र्यौली मूमिको अन्योन्याश्रित सम्बन्ध छ । त्यहाँ भूगोललाई वर्णन गरिएको हुन्छ ।

अथवा कुनै लयको कुरा गरिराखेको हुन्छ भने कुनै खोलाको लयको कुरा गरिराखेको हुन्छ । अथवा कुनै पहरासँग आवाज ठोकिएको कुरा गरिराखेको हुन्छ । त्यो आवाज ठोक्किँदा अर्र्को पहरासँग पनि ठोकिन्छ । आवाज त अरू सभ्यताको पनि उनीहरूकै भूमिको पहरासँग ठोकिएला । अफ्रिकाको अफ्रिकाकै पहरासँग ठोकिएला, अमेरिकाको अमेरिकाकै पहरासँग ।

तर, हाम्रो गीतसंगीतको कुरा गर्दा जुन पहरासँग ठोक्किन्छ, त्यो पहरा चाहिँ हाम्रै भूगोलमा हुन्छ । त्यसैले यो बुझ्न आवश्यक छ कि किरातीहरूको सौन्दर्यमा आफ्नो भूमिले प्राथमिकता राख्छ ।

अर्को पक्ष चाहिँ समयबारे किरातीहरूको अवधारणा हो । हाम्रो समय लिंगीय हुँदैन र यो सरल रेखाजस्तो नभएर वृत्तकारजस्तो हुन्छ । हामीले समयलाई ‘उधौली' र ‘उभौली' भनेर विभाजित गर्छौं । तर, यो वृत्ताकारमा घुमेर आउँछ । उधौली सकिएपछि उभौली आउँछ, उभौली सकिएपछि उधौली आउँछ ।

यसले पनि हाम्रो सोच्ने प्रक्रियालाई निर्देशित गरिरहेको हुन्छ । यो अवधारणा आफैंमा अरूभन्दा भिन्न छ । जस्तो हाम्रा गीतहरूमा स्थायी, अन्तरा वा प्रिल्युड, इन्टरल्युड र क्रिस्यान्डो नभएर वृत्ताकारमा घुमिरहेको हुन्छ ।

जस्तो कि साकेलाको ‘सोइ ढोले सोइ, अर्को ढोले खोइ' अनि निश्चित प्रक्रियाको वर्णन र फेरी घुमेर ‘सोइ ढोले सोइ, अर्को ढोले खोइ ।' गीतसंगीत पनि वृत्ताकारमा घुमिरहन्छ । प्रकृतिको मौसम पनि वृत्ताकारमै घुमिरहन्छ ।

हाम्रो जीवनदर्शन यसरी प्रकृतिसँग ‘हार्मोनियस' छ । जीवजन्तुहरूसँग ‘हार्मोनियस' छ । हाम्रो जीवनदर्शनले त्यसरी बाँच्नुपर्छ भन्ने सोच्छ । सबैलाई स्पेस दिनुपर्छ भनेर सोच्छ । र, हाम्रो सोचाइ ‘ब्ल्याक एन्ड ह्वाइट' छैन । ‘त्यो चाहिँ कालो हुनुपर्छ, यो चाहिँ सेतो हुनुपर्छ' भनेर हाम्रो जीवनदर्शनले भन्दैन । यसले जहिल्यै पनि ‘ग्रे' एरियाको कुरा गर्छ । त्यहाँ कालो पक्ष पनि छ, सेतो पक्ष पनि छ भनेर कुरा गर्छ ।

तर, अहिलेको तथाकथित मूलधारको सौन्दर्य जेबाट ‘ड्राइभ' भएको छ, त्यहाँ एउटा भिलेन हुन्छ, एउटा हिरो हुन्छ । अनि हिरो धिरोदात्त हुन्छ, हिरोइन चाहिँ सति सावित्री, पवित्र हुन्छ । यस्तो चिज, जसले त्यो ‘इन्डोर्स' गर्छ, त्यो एउटा जीवनदर्शनसँग सम्बन्धित छ ।

तर, किरातीहरूले त्यसरी हेर्दैनन् । त्यही नै तात्विक अन्तर छ । यदि सिनेमा बनाइन्छ र सिनेमामा एउटा घगडान भिलेन राखिन्छ, भिलेनको खराबी नै खराबी हुन्छ, हिरो सर्वगुण सम्पन्न हुन्छ भने त्यो त रामायणको राम र रावणजस्तो भयो । तर, हाम्रो लोककथा र मुन्धुमका चरित्रहरू हेर्ने हो भने त्यो हुँदैन । व्यक्ति हुन्छ, व्यक्तिका खराबीहरू र असल पक्ष दुवै हुन्छन् ।

खाक्चलप/हेत्छाकुप्पाकै कुरा गरौं वा अरू कुनै चरित्रकै कुरा गरौं । त्यसका सबल पक्ष पनि छन्, दुर्वल पक्ष पनि छन् । हाम्रो जीवनदर्शनले यसो भन्छ ।

सिनेमामा किराती सौन्दर्य र शैली

हाम्रो कथ्यमा भन्ने शैली फरक छ र त्यसको संरचना पनि फरक छ । अहिलेको ‘सो-कल्ड' मूलधारले चाहिँ दुईवटा ‘आइडिया'लाई पछ्याइरहेको छ । पाश्चातिया आइडिया र भारतीय नाट्यशास्त्रमा आधारित आइडिया । पाश्चातिया आइडियामा सुरु, संघर्ष र अन्त्य हुन्छ । त्योसँगै झन्डै तादत्म्यता राख्ने भारतीय नाट्यशास्त्रमा आधारित धारणामा पनि सुरु, मध्य र अन्त्य भन्ने छ ।

हाम्रोमा पनि माथिका आइडिया हुन्छन्, तर हाम्रोमा त्यो समय झैँ घुमेर हुन्छ । र, हाम्रो कथामा चाहिँ बिसाउनीहरू हुन्छन् । जहाँ बिसाइन्छ, त्यही बिसाउनीबाट फेरि कथा सुरु हुन्छ । जस्तो कि हामी मृत्यु संस्कारमा एउटा चरित्रलाई लगेर एक ठाउँमा राख्छौं, फेरि त्यहाँबाट उठाएर अर्को ठाउँमा पुर्‍याउँछौं । अनि त्यो फेरि अन्त्य हुँदैन, त्यो सुरुवात नै हुन्छ । त्यसले गर्दा हाम्रो पर्सपेक्टिभ नै फरक छ । त्यसलाई बुझ्न सक्नुपर्छ । किरातीहरूमा धेरै काम भएको छैन ।

त्यसकारणले गर्दा ठ्याक्कै उदाहरण दिन गाह्रो भए पनि फिल्मको लागि किराती सौन्दर्यको स्पेस चाहिँ ठूलो छ ।
चरित्र चित्रणको कुरा गर्दा फिल्ममा एउटा कथ्य संरचना चाहिन्छ । कथ्य संरचना कस्तो हुने ? अनि कथ्य संरचनामा हुने चरित्रहरूको सोच कस्तो हुने ? त्यो सोचमै पनि भिन्नता छ । किरातीहरू थुपार्ने कुरामा विश्वास गर्दैनन् अथवा भोलिको कुरामा विश्वास गर्दैनन् । किरातीहरू आजलाई भयो भने पुग्यो ।

भोलिको लागि भोलि नै गर्ने भन्ने हुन्छ । त्यो खाने कुरामा होस् अथवा लाउने कुरामा होस् अथवा अन्य कुरामा पनि । त्यो सोच भनेको तत्काललाई प्रकृतिले जति दिन्छ त्यति मात्रै लिने, प्रकृतिको दोहन नगर्ने भन्ने सोच हो ।

हामी किरातीहरू आदिवासीकै हाँगो हौं । हाम्रोमा कस्तो अवस्था छ भने, ‘आदिवासीको फिल्म लेखेँ' भन्ने, आदिवासीको नहुने । कसरी लेखियो भने त्यो आदिवासी हुन्छ ? आफ्ना पुर्खाहरूसँग बसेर, अग्रजहरूसँग सामूहिक रूपमा बसेर लेखियो भने बल्ल त्यो आदिवासी लेखन हुन्छ । जुन हामीले अभ्यास गरेकै छैनौं ।

त्यो सम्पत्तिसम्बन्धी उसको अवधारणा पनि हो र बाह्य संसारसँग गर्ने व्यवहारसम्बन्धी अवधारणा पनि हो । अझ स्पष्ट हुने हो भने कुनै पनि वस्तुसँग उसको ‘एटेचमेन्ट'को कुरा हो । मृत्यु संस्कारलाई पर्गेलियो भने त्यहाँ ‘एटेचमेन्ट'लाई कसरी कम गर्ने ? ‘एटेचमेन्ट' नराख्ने भन्ने कुरा हुन्छ ।

र, हाम्रोमा स्वर्ग र नर्कको अवधारणा छैन । स्वर्ग सुधार्नलाई हामी काम गर्दैनौं । स्वर्ग नै नभएपछि हामीलाई बैतर्नी तर्नुपर्ने छैन । यो अवधारणाले हामी के बुझ्छौं भने यदि खराब र असल काम हुन्छ भने यही जीवनमा हुन्छ ।

भोलिको लागि हुँदैन । हाम्रो सोचाइमा यस प्रकारको भिन्नता छ । यो कुरालाई हामीले चरित्र निर्माणमा उठान गर्नुपर्छ । चरित्रहरू त्यसरी निर्माण गर्नुपर्छ । यस्ता कुराहरूले नै अरू फिल्मभन्दा हाम्रो फिल्म तात्विक रूपमा फरक हुन्छ । तर, त्यसको खोज किरातीहरूमा भएको छैन ।

अभिनयमा किराती सौन्दर्य

हाम्रो दैनन्दिन जीवनमा नै अभिनयका पाटाहरू छन् । जस्तो कि राईहरू साकेला नाच्छन्, लिम्बूहरू च्याब्रुङ नाच्छन् । त्यसलाई हेरियो भने त्यहाँभित्र अभिनय भइरहेको हुन्छ ।

त्यहाँ उनीहरूले बिम्बहरू सिर्जना गरिरहेका हुन्छन्, विचारहरू अथ्र्याइरहेका हुन्छन् । साकेलामा राईहरू धान रोप्ने, पुतली नाच्ने, चरा नाच्ने अथवा फूल्ने सबै कुरा अभिनयद्वारा व्यक्त गरिरहेका हुन्छन् । च्याब्रुङमा लिम्बूहरूले गर्ने पनि त्यही हो ।

अभिनयका केही आधारहरू छन् । अभिनय भनेको ‘डाइलग' (संवाद) बोल्नु, अनुहारको ‘एक्प्रेसन' (भाव) ल्याउनु, अनुभूति प्रस्तुत गर्नुमात्रै होइन । सजिलोको लागि अभिनय भनेको चाहिँ कसैको नक्कल गर्नु हो भनिन्छ । अरू कसैको जीवनमा घटेको घटनाको अथवा कुनै चीजको नक्कल गर्नुलाई अभिनय भनिन्छ ।

तर, हाम्रो त दैनिक जीवनमा नै त्यो नक्कल गरिराखिएको हुन्छ, त्योमात्रै हुँदैन । किरातीहरूमा ‘स्पिरिचुअल लेवल'मा पनि त्यो भइरहेको हुन्छ ।

मृत्यु संस्कारको कुरामा, पूजापाठको कुरामा फेदाङ्माहरू÷नोक्छोहरू अनुष्ठान गरिरहेका हुन्छन् । ती फेदाङ्मा वा नोक्छोहरूले त्यहाँ बस्ने, अनुष्ठान गर्नेमात्र होइन अनुष्ठान गर्न आएका, पूजा गर्न आएकाहरूसँग संवाद पनि गरिराखेका हुन्छन् । त्यो अनुष्ठान गर्ने र गराउनेबीच पनि संवाद भइराखेको हुन्छ, ‘यो के हो ? यो कसो हो ? ' भनेर ।

अनि उत्तर दिइराखेको हुन्छ । त्यहाँ ‘डाइलग डेलिभरि' (संवाद) भइराखेको हुन्छ, ‘इमोसन्स'को ‘प्ले' भइराखेको हुन्छ । बुझ्नुपर्ने कुरा के मात्रै हो भने त्यसलाई कसरी सैद्धान्तिकीकरण गर्ने र अभिनयमा कसरी लिएर आउने ? भन्ने हो । त्यो ‘इमोसन्स' कसरी ‘इमोर्ट' हुन्छ ? ती कुराहरूलाई खोज्न सकियो भने अभिनयमा धेरै गर्न सकिन्छ ।

ब्वाल नोक्छो (मृत्यु संस्कार गर्ने धामी)ले मृतात्मासँग सीधै संवाद गर्छ । त्यो संवाद गर्न ऊ ट्रान्समा पुग्छ । उसले कत्ति राम्रो अभिनय गरिरहेको हुन्छ भने हामी सबैलाई उ मृतात्मासँग संवाद गरिरहेको विश्वास हुन्छ । विश्वासमात्रै होइन, हामी त्यसमा सहभागी पनि हुन्छौं । आफूले आफूलाई त्यसमा एकाकार गर्छौं ।

त्यो रूपको अभिनय नाटक वा सिनेमामा हुँदैन । नाटक र सिनेमामा सम्भव नभएको त्यो अभिनय जीवनमा कसरी हुन्छ त ? त्यो बुझ्न सक्यौं भने हाम्रो आफ्नै अभिनयको बाटोहरू पहिल्याउन सकिन्छ ।

मुन्धुममा धेरै चिजहरू छन् । त्यसको गम्भीर विश्लेषण गरियो भने कथा कसरी भन्ने ? हाम्रो कथाहरू कस्तो हुनुपर्छ ? कथाको संरचना कस्तो हुनुपर्छ ? चरित्र चित्रण कसरी गर्ने ? भन्ने कुराको जवाफ पाउन सकिन्छ । अभिनय कसरी गर्ने भन्ने हाम्रो जीवनलाई हेर्‍यौं भने हामीले जीवन कसरी बाँचिराखेका छौं ? त्योभित्र खोज्न सकिन्छ । त्यसमा स्थुल रूपमा देखिने र बुझिने गरी पनि छ, जस्तै माथि साकेला र च्याब्रुङको कुरा गरियो ।

अर्को, नबुझिने तर दैनिक रूपमा जीवनमा अभ्यासमा आइराखेका कुराहरू पनि छन् । मृत्यु संस्कारको कुरा गरियो, त्यहाँबाट अभिनयलाई लिएर कसरी आउन सक्छौं ? त्यसको पद्धति, बाटो, अभिनयको किराती अवधारणा कसरी विकास गर्न सकिन्छ ? भन्ने त्यसले बताउँछ । तर, त्यो कत्ति फरक हुन्छ ? भन्ने हो । मान्छे त मान्छे हो ।

त्यो अमेरिकन, भारतीय, नेपाली होस् वा नेपालीभित्रको पनि राई वा लिम्बू होस्, मान्छे मान्छे नै हो । मान्छे मान्छेमा अनुभूत गर्ने लेवलमा फरक चाहिँ के हो ? भन्ने कुरा चाहिँ उसको जीवनदर्शन, उसको सोचलाई बुझियो भने अभिनयको त्यो सिद्धान्त विकास गर्न सकिन्छ ।

आदिवासी सिनेमाको सौन्दर्य

हामी किरातीहरू आदिवासीकै एउटा हाँगो हौं । माथि जे कुरा गरियो, त्यो आदिवासी सौन्दर्यकै कुरा हो । आदिवासी चेतनाकै कुरा हो । आदिवासीहरूको केही राम्रा सिनेमाहरू बनेका छन्, र ती सिनेमाहरूको बनाउने तरिका फरक छ । केही फिल्म मेकरहरूले फिल्म बनाउनुभयो ।

फरक के छ भने उहाँहरूले पुर्खाहरूलाई, भद्रभलाद्मीहरूलाई राखेर उनीहरूको संलग्नतामा स्क्रिप्ट लेख्नुभयो । तर, अरूले त कोठामा लेख्छन् । ‘आदिवासीको फिल्म लेखें' भन्ने, तर आदिवासीको नहुने । कसरी लेखियो भने त्यो आदिवासी हुन्छ ? आफ्ना पुर्खाहरूसँग बसेर, अग्रजहरूसँग सामूहिक रूपमा बसेर लेखियो भने बल्ल त्यो आदिवासी लेखन हुन्छ । जुन हामीले अभ्यास गरेकै छैनौं ।

विदेशमा केही आदिवासी चलचित्रकर्मीहरूले त्यसलाई अभ्यास गरिरहेका छन् । तर, हामी चाहिँ ‘म आदिवासी हुँ, मैले लेखेपछि आदिवासी हुन्छ' भनेर सोचिरहेका छौं । त्यसो होइन । किनभने म भनेको त व्यक्ति भएँ । व्यक्तिलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ ।

जस्तैः रेडियो, टेलिभिजन, इन्फर्मेसन्स, पत्रपत्रिकाजस्ता कुराले मलाई प्रभाव पारिराखेको हुन्छ । अर्को शिक्षापद्धति र राज्यले जुन कुरा हामीलाई दिइराखेको छ, त्यसले पनि हामी प्रभावित भइरहेका हुन्छौं । लामो समयदेखि किरातीहरूले आफ्नो सभ्यता, संस्कृतिको स्वतन्त्र अभ्यास गर्न पाएनन् । राज्यको चरित्रको कारण र भूमण्डलीकरणको कारण किरातीहरूमाथि अन्य सभ्यता र संस्कृति थोपरियो ।

हामी यसरी पनि कोलोनाइज्ड छौं । त्यसले गर्दा हामी जे सोच्छौं, त्यो चाहिँ आदिवासीले जसरी सोच्छौं कि सोच्दैनौं ? किरातीजस्तो सोच्छौं कि सोच्दैनौं ? हामी त्यो सोचिराखेका हुँदैनौं । हामी सामूहिक रूपमा त सोचिराखेका हुँदैनौ भने मान्छेले एक्लैले सोचेको कुरा कसरी किराती हुन्छ ? अथवा कसरी आदिवासी हुन्छ ? पिता पुर्खाहरूलाई राखेर सामूहिक रूपमा लेख्नुपर्ने, सामूहिक रूपमा गर्नुपर्ने कारण चाहिँ यो हो । अनिमात्रै त्यो आदिवासी अथवा किराती हुन्छ । एउटा ‘बेसिक' आधार यो हो ।

र, अरूले आदिवासी चिज नगर्ने भन्ने पनि हुँदैन । यदि ऊ सचेत रूपमा आदिवासीको जीवनपद्धति, आदिवासीको सोच, आदिवासीको सपना सबै कुरासँग प्रष्ट छ र उसले आदिवासीहरूलाई बुझ्दछ भने उसले पनि त्यो राम्ररी अभिव्यक्त गर्न सक्छ । यस्तो काम अस्ट्रेलिया, न्युजिल्यान्डमा केही फिल्म मेकर्सले गरेका छन् ।

आदिवासी भएकै कारणले आदिवासी सिनेमा बन्छ भन्ने होइन । किराती भएकै कारणले किराती फिल्म बन्ने भए, राई वा लिम्बू भएकै कारणले राई वा लिम्बू फिल्म बन्ने भए त राई, लिम्बुहरू यत्ति धेरै फिल्म इन्डस्ट्रीमा छन्, सबै फिल्म राई वा लिम्बू फिल्म बन्नुपर्ने हो । तर, बन्दैनन् । कारण त्यही नै हो ।

आदिवासी फिल्मको सैद्धान्तिकीकरण

नेपालमा आदिवासी फिल्मलाई सैद्धान्तिकीकरण गर्ने काम भएको छैन । केही मात्रामा गर्ने कोसिस भएको छ, केही ठाउँमा । तर, त्यो पर्याप्त छैन । त्यसमा छलफल नै भएको छैन ।

यो नयाँ फेनोमेनन (विषय) हो । आदिवासीहरूले भर्खरै सिनेमा बनाउन थालेका हुन्, धेरै लामो भएको छैन । अनुपातिक रूपमा विश्वमै चाहिँ केही काम भएको छ । सन् २००० यता केही काम गर्ने कोसिस भएको छ । न्युजिल्यान्ड, अमेरिका, क्यानडामा आदिवासी सिनेमालाई लिएर केही सैद्धान्तिकीकरण गर्ने काम भएको छ । तर, यो सुरुवातकै स्थितिमा छ ।

अघि पनि भनियो, आदिवासीहरूको जीवनपद्धति, उनीहरूको संसारलाई हेर्ने विश्वदृष्टिकोण नै फरक भएको कारणले उनीहरूको फिल्ममा फरकपन देखिएको छ । आदिवासीहरूको कथाभित्र कथा, त्यो भित्रको पनि कथा भन्ने खालका फिल्महरू बनेका छन् । आदिवासीहरूको चरित्रहरूले कसरी सोच्छ वा कुनै पनि कुरालाई आदिवासी चरित्रले कसरी लिन्छ ? भन्ने कुरा ती चलचित्रहरूमा देख्न सकिन्छ ।

उनीहरूले उनीहरूको सृष्टि कथा, लोक कथा र रिचुअलहरूको अध्ययन गरेर यसलाई सैद्धान्तिकीकरण गर्ने काम गरेका छन् । तर, आदिवासीहरूको आधारभूत कुराहरूमा समानता रहे पनि कथाको रूप र कथ्यको निर्धारण भूमिले पनि गर्ने भएकोले ठ्याक्कै एकरूपता भने आउँदैन । जेहोस्, मोटामोटी रूपमा यो हो भन्ने चाहिँ छ ।

संसारभरका आदिवासीहरूको जीवनपद्धति मूल रूपमा एउटै हो । प्रकृतिलाई हेर्ने दृष्टिकोण एउटै हो । जीवजन्तु, वनस्पतिलाई हेर्ने दृष्टिकोण पनि उनीहरूको एउटै हो । यो कारणले गर्दा खास ठूलो भिन्नता पनि छैन । बाहिर जुन सिद्धान्त विकास भइरहेको छ, त्यो सिद्धान्त चाहिँ के हो त भन्दा आदिवासीहरू त ‘कोलोनाइजेसन'को उत्पीडनमा परेका, धेरैको जग्गा, जमिन, भूमि अतिक्रमणमा परेको, अर्को सभ्यताले भाषा÷संस्कृतिहरू समाप्त पारेको, आधारभूत रूपमा सबैको पीडा एउटै भएको कारणले गर्दा त्यसलाई अभिव्यक्त गर्ने कुरामा पनि झन्डैझन्डै तादत्म्यता छ ।

र, उनीहरूले त्यसैलाई सैद्धान्तिकीकरण गरे । तर, उनीहरूले सैद्धान्तिकीकरण गर्दाखेरि आदिवासी सिनेमा यस्तो हुनुपर्छ भनेर गरेका होइनन् । उनीहरूले सैद्धान्तिकीकरण गर्दा यो कथा यसरी भनेको छ, र यसको आधारमा चाहिँ हामीले यसो गर्न सक्छौं मात्र भनेका छन् ।

हामीले नेपालमा सोच्नुपर्ने हाम्रो जीवनदर्शनसँग सम्बन्धित अथवा हाम्रा अवधारणाहरू कस्ता छन् त ? त्यसलाई कसरी अभिव्यक्त गर्ने यो माध्यममा ? भनेर हेर्ने हो । क्यामेरा कसरी सञ्चालन हुन्छ अथवा सम्पादन कस्तो हुन्छ ? हाम्रो गीतसंगीत कस्तो हुन्छ ? त्यसको ताल कस्तो हुन्छ ? त्यसको लय कस्तो हुन्छ ? भन्ने कुराले त्यसलाई निर्धारण गर्छ ।

जस्तै डम्फु त नेटिभ अमेरिकनले पनि बजाउँछ, नेपालमा तामाङहरूले पनि बजाउँछन् । तर, त्यो बजाइमा के फरक हुन्छ त ? त्यो कुरालाई हामीले पर्गेल्न सक्नुपर्छ । त्यो पर्गेलियो भने बल्ल यो हो है फरक चिज, हाम्रो चिज भनेर हामीले भन्न सक्छौं । यसरी सैद्धान्तिकीकरण गर्न सकियो भने हामी किराती सौन्दर्य निर्माण गर्न सक्छौं ।

निष्कर्ष

किराती सिनेमा अथवा सौन्दर्य यो हो भनेर विकास गर्नुपर्छ । अहिले नै ठोकुवा गरेर यही हो भन्न थालियो भने त्यसले अर्को समस्या सिर्जना गर्छ । जब कि यो हाम्रो पद्धति पनि होइन । हाम्रो पद्धति त जब कुनै समस्या आइपर्‍यो भने, कुनै घटना घट्यो भने अथवा कुनै कुरालाई ‘डिल' गर्नुपर्‍यो भने सबै भेला हुने, पितापुर्खाहरूलाई राख्ने, चेलीबेटीहरूलाई राख्ने र छलफल चलाएर त्यसको निचोड निकाल्ने हो ।

यहाँ कसैले ‘ल किराती सौन्दर्यशास्त्र यस्तो हुनुपर्छ' भनेर थोपर्न थालियो भने त्यो मान्य हुनेवाला छैन । त्यसरी सैद्धान्तिकीकरण गर्ने भनेको व्यक्तिवादतिर जान्छ । हाम्रो त व्यक्तिमा आधारित जीवनपद्धति नै होइन । सामूहिकतामा आधारित हो । त्यसैले हामी सबैसँग बसेर, हाम्रा अग्रजहरूलाई राखेर यसको बारेमा बहस गरौं ।

तर, सबै अग्रजहरूले सबै जान्दछन् भन्ने पनि होइन । अग्रजहरूले फिल्म नै देखेको छैन भने उनीहरू फिल्मको कुरा गर्न सक्छन् त ? सक्दैनन् । तर, उनीहरूले जीवन के हो ? भन्ने जानेका छन् । फिल्म मेकरले जीवन के हो ? नजानेको हुन सक्छ ।

पितापुर्खाहरूले जीवन के हो ? त्यो भूगोलमा कसरी ‘एडप्ट' गर्नुपर्छ ? प्रकृतिमा कसरी ‘एडप्ट' गर्नुपर्छ ? वा समयमा कसरी ‘एडप्ट' गर्ने भन्ने जानेका हुन्छन् । त्यही कुरालाई आधार बनाएर हामी किराती सौन्दर्य निर्माण गर्न सक्छौं ।

फेरि पनि मूख्य कुरा सौन्दर्य केलाई मान्ने ? प्रश्न यो हो । हाम्रो जीवनदर्शन नै किराती सौन्दर्य हो । त्यो जीवनदर्शन केले निर्माण गरेको छ त ? भन्दा हाम्रा अनुष्ठानहरू, हाम्रा विश्वासहरूले निर्माण गरेका छन् । त्यो सौन्दर्यलाई हामी अक्षुण राखेर, बाहिरको प्रभावमा नपरिकन, ‘कोलोनाइज्ड' नभइकन समयसापेक्ष विकास गर्न सक्छौं ।

अहिले नै किराती सौन्दर्यशास्त्र यो हो भन्नु दाहिने कालो, देब्रे गोरो हो भनेजस्तो हुन जान्छ । किराती सौन्दर्य त हाम्रो जीवनपद्धति, जीवनदर्शन, विश्वदृष्टिकोण र हाम्रा विश्वाससँग सम्बन्धित भएको कारण त्यो साहित्य, कला, गीत-संगीत वा सिनेमामा कसरी ल्याउने र जीवनमा कसरी स्थापित गर्ने ? भन्ने कुरा हो ।

त्यो समग्र समुदायसँग निर्भर हुने कुरा हो । त्यसलाई बहसमा ल्याइयो भने विस्तारै हामी किराती सौन्दर्य ‘यो हो है' भनेर बढी प्रस्ट हुन सक्छौं ।

(फिल्मकर्मी सुब्बाको यो लेख गणेशकुमार राईको सम्पादनमा प्रकाशोन्मुख कृति ‘किराती सौन्दर्यशास्त्र'बाट लिइएको हो ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.