विचार नपुर्याई लेखनतिर घिस्रिएँ कि!
खेमकला-हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा आयोजित ‘पद्य श्री साधना सम्मान' (२०७३) तथा पुरस्कार वितरण समारोहमा गएको शनिबार बैरागी काइँलाले दिएको मन्तव्यको अंश
मलाई नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि काम गरिरहेकामा र नेपालमा बोलिने धेरै (१२४) मातृभाषाहरूमध्ये विशेषतः लिम्बू भाषा र साहित्यको क्षेत्रमासमेत क्रियाशील हुन सकेको भनेर यो सम्मान योग्य ठानिएको छ । मेरा लागि यी दुवै कुरा विशेष हुन् । तर, सम्झन्छु मैले साँच्चै सम्मानित हुन योग्यका काम यी दुवै क्षेत्रमा गरेको छु त ?
प्रकाशित हुन थालेको झन्डै ६० वर्ष नाघेछु । म कहिलेकाहीँ नेपाली कविताको क्षेत्रमा आफूले गरेको काम गन्ती गर्न खोज्छु जस्तैः एक, दुई..... अनि ? त्यहाँबाट उता मेरो गन्ती धेर भएर जाँदैन । लिम्बू भाषा र क्षेत्रमा ? त्यता पनि गन्ती गर्न खोज्छु, जस्तैः एक... अनि ? अहँ गन्ती अगाडि बढ्न सक्दैन । सधैं म एउटै निष्कर्षमा पुग्दछु कि गन्ती गर्न लायकको सिर्जनशील काम मैले त गर्न सकेको छैन । गर्न त त्यसै बाँकी रहेछ त ।
कहिले गर्ने त ? समय खोइ ? केही गरेकै छैन, तर गर्न मन छ अनि मसँग अब समयको अभाव हुँदै गइरहेको छ । सम्मान र पुरस्कारका साटोमा ‘ल यति समय दिन्छौं' भनेर सम्मान र पुरस्कारका संस्थापकहरूले विकल्प दिए कति रमाएर रोज्ने थिएँ हुँला मैले ।
गरेका सबै कामको सामाजिक मूल्य र लेखेका सबै कविताका साहित्यिक मूल्य हुँदो हो त निकै गरेँ हुँला जस्तो पनि लाग्थ्यो होला । तर, मूल्यवान् कविता सिर्जना तथा समाजपयोगी अन्य काम मबाट हुन सकेको छैनन् भन्ने बोध यसरी सम्मानित हुँदैपिच्छे अनुभव हुन्छ र मेरो शिर सधैं झुक्छ ।
अरूले जे सम्झे, ठाने, त्यसो हुन नसकेकामा र गर्न नसकेकामा प्रत्येकपल्ट आफूलाई दोषी भएको र अपराधी अनुभव गर्दछु । त्यसो भए किन यसो गरिबसेको त ? जस्ता प्रश्नहरूले लाठो र मुङ्ग्रो लिएर वरिपरि उभ्भेर चल्न र चट्पटाउन दिँदैनन् । अनि सुरु हुन्छ ढाँट र झुटको शृंखला ।
धेरैको उस्तैउस्तै प्रश्नको उत्तरमा धेरैचोटि भनेको छु । जस्तो कि पछिल्लोपटक एक उदीयमान साहित्यकारले नेपाल प्रज्ञा प्रतिष्ठानको ‘कविता' पत्रिकाका लागि सोध्नुभएको प्रश्नमा उसरी नै भनेँ, ‘जसरी सबै लेखकले लेख्दछन् रहरले, तर अरूभन्दा भिन्न देखिनु, त्यही मनस्थितिले मैले पनि लेख्न सुरु गरेँ र निकै पछिमात्र लेखन सामाजिक दायित्व हो भनेर बोध भयो । हतियार खेलाउन जान्नुपर्दछ तर हतियारसँग खेलाँची गर्न हुँदैन भनेर पनि बोध भयो ।'
अलग्गै चिनिने ठूला साहित्यकारहरूको विशिष्ट चिनारीले प्रभावित र प्रेरित भएकोले मैले पनि भिन्न देखिन कविता लेख्न सुरु गरेको हुँ । नढाँटीभन्दा अरूले गरेको देखेर नक्कल गर्ने कामजस्तो गरेर पो मेरो कविता लेखन प्रारम्भ भएको थियो जस्तो लाग्दछ सम्झँदा । तर, लेखनले गर्दा बिस्तारै अरूभन्दा भिन्न हुन थालेँ । अरूभन्दा भिन्न हुनु चिनारी वा पहिचान अरूको भन्दा भिन्न बनाउनु हो । आफ्नो पहिचान अलग निर्माण गर्नु हो ।
कविता लेखनका प्रारम्भिक दिनहरू सरल, सरस र भावुकतापूर्ण थिए । रोमान्टिक काव्यधाराका कलकल गर्ने जलप्रवाहमा बग्दै लेखकीय यात्राको थालनी रमाएरै गरियो । उसबेला साहित्य लेखन भाषा सेवाको माध्यमजस्तो पनि थियो, जाति सेवाको माध्यमजस्तो पनि थियो र सेवाका अतिरिक्त फलका रूपमा हातलाग्ने यशको लोभ लोभलाग्दो थियो ।
‘नाम क्यै पछि रहोस्' भनेर घाँसीले कुवा खनाएजस्तो आदिकवि भानुभक्तले लेखेका ‘लोकको हित गर्ने' साहित्यलेखनले उनको नाम कालजयी बनोस् भन्ने राखे भनेर आदिकवि भानुभक्तलाई यशको लोभी कवि भन्दछन्, कति कटु आलोचकले ।
घाँसीले साहुका घरमा घाँस काट्ने गोठालो बसेर पाउने दरमाहाबाट बचाएको पैसाले कुवा खनाई गरेको परोपकारी कार्यबाट सबैले सम्झने कृति रहने सुनेर भानुभक्त प्रेरित भएकामा मलाई त आश्चर्य लाग्दैन । हामी जो जोले जे जे भने पनि रचनाकारमा अरुले पछिसम्म सम्झिऊन् भन्ने भाव अन्तरकुन्तरमा लुकेकै हुन्छ ।
त्यस्तै, प्रतिदान पाउने क्षुद्र भावनाले म पनि उत्पे्ररित भएर सिर्जनात्मक कर्ममा लागें कि लोभिएर ? भाषासेवाको माध्यमजस्तो देखाएर यही लोभलाई फल (यश) का रूपमा हात पार्ने कुत्सित अभीष्ट पनि थियो कि मेरो पनि ? ठीक ठीक भन्न त सक्दिनँ । कि म आफैं सत्य भन्न चाहदिनँ ? कि अर्को लोभ थियो ? अरूभन्दा भिन्न देखिने लोभ ?
किन अरूभन्दा भिन्न देखिनुपर्यो भन्दा भिन्नताले अन्यको ध्यान तत्काल आकर्षित गर्दछ । अन्यको ध्यान आकर्षित भएको अनुभव र अनुभूतिले आफ्नो सत्वको बोध गराउँछ र विस्मृतिको अथाह गर्भमा नहराउने चाह आश्वस्त हुन्छ । अस्तित्वविहीन नहुनका लागि भिन्न देखिने, भिन्न हुने अथवा पहिचान टड्कारो छुट्टिने प्रयास गर्नु नै अरूभन्दा अलग देखिनु, हुनु हो ।
अस्तित्वविहीन नहुनका लागि भनेको भौतिक मृत्यु नचाहेको पनि हो ? अथवा, त्यसको विकल्प वा क्षतिपूर्ति ? अस्तित्वविहीन नहुनका लागि प्रयत्न गर्नु भनेको क्षणभंगुरताको विरुद्धमा उभिनु पनि हो कि ? जीवनको क्षणभंगुतालाई निस्तेज गर्नका लागि साहित्यको सहारा लिएँ कि मैले पनि ? जीवनको क्षणभंगुरताको अथवा खाडलमा फसेको मानव अस्तित्वको उद्धारकार्यमा लागेको जस्तो गरेर थालेको हुँ त कविता-लेखन ?
कहिलेकाहीँ त लाग्छ, भिन्न देखिएर अरूको ध्यान आफूतिर आकर्षित गर्ने चाह र इच्छा पनि व्यक्तिगत इगोलाई सन्तुष्ट गर्ने प्रयत्नमात्र हो नि । घाँसीको कुवा खनाउने निर्दोष इच्छाबाट प्रेरित भानुभक्तको आदर्श कार्य सम्झेर त्यस्तै रोमाञ्चक र रोमान्टिक भावले लेखनतिर विचार नपुर्याइकन नै घिस्रिएँ कि ?
हो, कविता लेख्नका लागि विचार पुर्याउनुपर्छ । तर, कविता कुनै विचारले प्रभावित भएर लेखिनुपर्ने हो र ? मजस्ता धेरै सन्काहा तथाकथित कविहरू कवितालाई सम्प्रभु ठान्दछन् । विचारविशेष बोकिहिँड्ने वाहन हुनुले कविता सम्प्रभु रहँदैन । त्यसैले कविता बौद्धिकताले समृद्ध त हुनुपर्छ तर विचार विशेषले होइन ।
किन हो कुन्नि ! मलाई विचार ‘सधैंको उही हो' जस्तो पहिलेदेखि नै लागेको थियो । ‘सधैंको उही' नयाँ हुँदैन । तर, कविता भने नयाँको खोजीका लागि यात्रा हो । धेरैपछि मैले पढेँ जे. कृष्णमूर्ति (फ्रिडम फ्रम द नोन, १९९९÷२००७, पृ.१३८) को विचारसम्बन्धी धारणा कि विचार स्मृतिबाट जन्मन्छ । त्यसैले यो विगतको वस्तु हो । हामी (मानिस) ले गरिराखेको जीवन बाँच्ने कर्म भने वर्तमानकालिक क्रिया हो ।
हामी विचारका पछि किन लाग्दछौं ? उनको विचारमा विचारको गोवद्र्धन पर्वतमुनि ओत लाग्दा वर्तमान जीवनको बचाइ वा भोगाइको सन्त्रासबाट सुरक्षित भएको अनुभूति गर्दछौं । त्यसैले हाम्रा लागि विचारको महत्ता हुन गएको हो । तर, उनलाई जस्तै कताकता विचारले विभाजन गराउँछ जस्तो भान मलाई उहिलेदेखि नै लाग्दथ्यो ।
अखण्डित र अभिभाज्य (मानिस) रहनाका लागि विचारमाथि आक्रमण जरुरी देखेर कवितामा लेखेको पनि छु । तर, मेरो कविता विचारविहीनताको पक्षधरता भने होइन । विचारप्रति निरपेक्ष भाव राखिए, राख्न सके साहित्य (कविता)को महत्ता र सौन्दर्य गौरवमय हुनेमात्र मेरो भाव थियो ।
लेखनकार्यमा लागेका हामी साहित्यकार सामाजिक प्राणी भएकाले सदा तटस्थता भने असम्भव हुन्छ । तटस्थताको खोल त्याग्न पनि पर्दछ, सबैका हितका लागि । मेरो लेखकीय लामो कालवधिमा पनि यस्ता विचारका अनेक झारजंगल गोडमेल हुँदै फूलबारी भएर हुर्के । किन हुर्के, किन फाँडिएर सफा गरिएजस्ता भएर हुर्के ? यस्ता प्रश्नका उत्तरका लागि बहानाबाजीको अनेक शब्दहरू पनि सिर्जना गरिए ।
उमेरले नेटो काट्न आँटेपछि मानिस व्यावहारिक हुन थाल्छ कि ? आफू पनि अब अरूका दृष्टिमा व्यावहारिक देखिनका लागि साहित्यको सिर्जना व्यक्तिगत यशका लागिभन्दा सिर्जनात्मक कर्मको सार्थकता, कलाचेतना र जीवनप्रतिको आस्थामा जोड दिँदै सामाजिक दायित्वको निर्वाह गरिनु हो भन्नेसम्म पुगियो । यसो गर्दा व्यक्तिगत अनुभूतिले साहित्यमा अभिव्यक्त हुँदा सबैका हुन सकोस् भन्ने विचार बलियो भयो ।
आत्मतुष्टिका लागि लेखिने साहित्यले मानवजीवनको प्रतिबिम्बन गर्न नसके एकजना व्यक्तिको आत्मालाप हुने भयले म आफैं त्रसित हुन थालेँ-को अनुभवले लेखकीय जीवनमा भयानक त्रासदी सामुन्ने उभ्यायो । व्यक्तिले आफूलाई समाजसँग जोडेर हेर्दा राष्ट्रसँग जोडेर हेर्दा वा समग्र मानव समुदायसँग जोडेर हेर्दा उसको दृष्टिमा, चिन्तनमा र दर्शनमा देखापर्ने व्यापकताले उसको व्यक्तिगत अनुभव र अनुभूतिको सीमाभन्दा धेरै विस्तारित र फाँटिलो हुँदोरहेछ- को अनुभवले लेखकीय जीवनमा नयाँ चुनौती खडा गर्दोरहेछ ।
यस्तै चिन्तन र अनुभूतिले आफ्ना लागि, सबैको र सबैले हामी सबैको भन्न सक्ने सम्पूर्ण साहित्य कस्तो होला ? भन्ने दिशामा, सन् ६० को दशकको आरम्भमा अबको लेखनमा सम्पूर्णताको खोजी हुनुपर्दछ भनेर ठूलोठूलो आवाजले नारा लाएजस्तै करायौं पनि ।
साहित्यमा आधुनिकताले ल्याएको बौद्धिकता हो । तर, बौद्धिकता र विचारलाई पर्यायवाची शब्दका रूपमा बुझेर अन्योल पनि भएको छ । कविताका बौद्धिकता अपरिहार्यजस्तै हो, तर विचारविशेष होइन । पहिले शास्त्रीय धारका कविताले रुढिगत परम्परा र चिन्तनको भारी साहित्यलाई बहन गर्न लाएकोझैं बौद्धिक पक्षधरताले धर्म र संस्कृति, आर्थिक र राजनीतिक विचारको भारी साहित्यले बोकेर हिँड्नु परिरहेको छ आजसम्म पनि ।
साहित्यलाई कुनै विचारको करिया हुनुबाट अम्लेख गराउनुपर्दछ भन्दा आलोचनाको ठूलो सिकार हुनुपरेको थियो उसबेला, जुन अवस्था आज पनि न्युनाधिक छ । भयरहित वातावरणमा साहित्यकारले लेख्न नपाएमा साहित्यको सिर्जना असम्भव हुन्छ भन्ने सोचका लागि कटु आलोचनाका बीचमा समेत प्रशंसा पनि उत्तिकै पाएका ती दिनहरू थिए । हामीमाथि जति आक्रोश थिए, उतिकै माया र सद्भाव पनि थिए, छन् । साहित्य लेखन (कविता) सामाजिक दायित्व हो भन्ने हाम्रो बुझाइ थियो ।
साहित्य (कविता) लेखन परिवर्तनका लागि व्यग्रता हो र निरंकुशता स्रष्टाहरूको सधैंको शत्रु । साहित्यलेखन (कविता) स्वतन्त्रताको चेतनबोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्छ । त्यसैले जुनै अवस्थामा पनि शिर झुकाएर नहिँड्ने नागरिकको अनुहारमा देखिने आत्मसन्तुष्टि, आत्मसम्मानको भाव र मुस्कान हुन पुगेको हो साहित्यलेखन (कविता) ।
साहित्य (कविता) लेखनमा उत्प्रेरणा दिने अवस्था वा स्थिति जतिसुकै व्यक्तिगत भए पनि उसले अभिव्यक्त गरेका भाव र विचारहरूको सम्बन्ध सोझै पाठकसँग हुन्छ, तिनैका माध्यमबाट बृहत्तर समाज र देश र परदेशसम्म नै पुग्दछ । साहित्यलेखन (कविता) व्यक्तिगत कर्म भए पनि सामाजिक कर्म पनि हो । कुनैपनि स्रष्टाले समाजमाथि उभिएर नै समयको चेतले लेख्दछ ।
नेपाली समाज पनि एकल संस्कृतिको समाज होइन । मुलुकको सम्पूर्णतालाई ओगट्नका लागि स्रष्टाले पनि अब नेपाली समाजको बहुसांस्कृतिक सामाजिक संरचनाको हेक्का राखेकै हुन्छन् । हुन पनि नेपाली समाजको यथार्थ भनेको यसको विविधता र बहुलता हो । विविधता र बहुलतालाई हामीले हाम्रो राष्ट्र निर्माणमा शक्तिको स्रोत मान्नुपर्दछ ।
नेपाली साहित्यमा प्रतिबिम्बित बहुलवादी प्रवृत्तिलाई नेपाली समाजको स्थायित्व र राष्ट्रियताको सबलताका लागि थप प्रयत्न हुन् ।हामीले नेपाली राष्ट्र, राष्ट्रियता र पहिचान बचाउन र बलियो राष्ट्र निर्माणका लागि सबैले ठाउँ पाएको नेपालको संवद्र्धन गर्नैपर्दछ ।
सन् ६० को दशकमा (तेस्रो आयाम, वि.सं. २०२०) ‘अबको साहित्यमा सम्पूर्णता लेख्नुपर्दछ' भनेर आग्रह राखेका थियौं । सम्पूर्णता भनेको त्यो स्थिति हो, जहाँ कुनै पनि विचार वा वस्तु तथा कोही व्यक्ति पनि बाहेक गरिएको हुँदैन । नेपाली साहित्यले पनि सद्भावपूर्वक यस्ता विचारलाई सिर्जना कर्ममा स्वागत गर्नुपर्दछ ।
समाज र समयको यो स्थितिलाई हृदयंगम गरेर नेपाली स्रष्टाहरूले नेपालको भूगोल, जाति, भाषा, धर्म र संस्कृतिको विविधता र विशेषतालाई र नेपाली सामाजभित्र विद्यमान लैंगिक, जातीय र भौगोलिक विभेद आदिले जन्माएका आग्रह दुराग्रह, आक्रोशलाई सम्प्रति साहित्यलेखनमा उचित स्थान पाउन थालेका पनि छन् । नेपाली स्रष्टाहरूको यो प्रशंसनीय कामले समाजमा सहिष्णुताको संस्कृतिको निर्माण र सद्भावको विकासमा ठूलो भूमिका खेल्नेछ ।