गणतन्त्रको विकल्प खोजौं

गणतन्त्रको विकल्प खोजौं

नेपालीको चाहना न गणतन्त्र थियो, न धर्म निरपेक्षता न त संघीयता नै । जनताले त केवल राजाको निरंकुशताको अन्त्य चाहेका थिए नकि राजतन्त्रको उन्मूलन । यी तीनै कुरा विदेशी शक्ति केन्द्रको स्वार्थको आवश्यकता थियो । त्यसैले उनीहरूले कथित जनयुद्धको नाममा प्रचण्ड र बाबुरामलाई नियुक्त गरे र बाह्रबुँदे समझदारीमा बाँकी सात दललाई घिसारेर ल्याए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता प्रमुख दलहरूका केही नेताहरू जो विदेशी शक्तिबाट परिचालित थिए । सांसदहरू त ह्विपले नै चल्ने भइहाले । उनीहरूको विचारले संसद्मा ठाउँ पाउँदैन । अहिले लोकमानको महाभियोग प्रकरणले पनि त्यही प्रमाणित गरिरहेको छ । नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार भएको छ, लोकमान प्रकरण ।

पूर्वराजा ज्ञानेन्द्रको विजयादशमी र विराट् विश्व हिन्दु महासम्मेलनको सम्बोधनले कथित गणतन्त्रको दसबर्से कालको सही चित्रण गर्दै सोधिएको यक्षप्रश्नहरूको जवाफ खोज्ने बेला आइसकेको छ । ०४६ देखि नै नेपालको अर्थतन्त्र डामाडोल पार्दै समाप्त पार्न सुरु भएको खेल गणतन्त्रसम्म आइपुग्दा नेपाललाई भुटानीकरण गर्न हदसम्म आइपुग्यो । पच्चीसबुँदे सहमतिले नेपाललाई भुटानीकरण गर्दै नेपाल सरकारको हैसियत भारतीय दूतावासमा पुर्याएको छ ।

ब्रिक्स सम्मेलनबाट फर्केपछि पुष्पकमल दाहालले मोदीसँग मौखिक कुराकानी गरेर त्यसलाई सच्चाएको केटौली जवाफ संसद्मा दिँदा शरम मानेनन् ।

गद्दाफीको अन्त्यपछि लिबियाली जनताले गद्दाफीसँगै वास्तविक लिबियाको मृत्यु भएको दाबी गरिरहेजसरी नेपालमा पनि संवैधानिक राजतन्त्रको मृत्युसँगै वास्तविक नेपालको मृत्यु भएको आकलन गर्न थालिएको छ, दलीय गतिविधिका कारण । नेपालको स्वतन्त्रता तथा सार्वभौमिकताको मात्र मृत्यु भएको छैन, सँगसँगै यसको धर्म, संस्कृति, परम्परा, मौलिकता र पहिचानको मृत्यु भएको छ । आज विश्वभरिका ओमकार परिवारले यो कुरा स्विकारेका छन् ।

कथित गणतन्त्रले नेपाललाई आत्मनिर्भर हुनबाट रोकेर पराधीन बनाएको छ, नेताहरू सत्ता स्वार्थको लागि विदेशीका माग पूरा गर्दै गइरहेका छन् । यसको विकल्प खोज्न अब ढिलाइ गर्नुहुन्न ।

नेपालको एकचौथाइ जनसंख्या कामको खोजीमा बाहिर जान बाध्य छन् । यो क्रम बढ्दो छ । युवाशक्ति नै पलायन भए देश कसरी बन्छ ? ओलीले प्रधानमन्त्रीको हैसियतले नेपाललाई समृद्ध तथा आत्मनिर्भर बनाउँदै स्वतन्त्र मुलुकको हैसियतमा राख्ने प्रयास थालेका थिए । विदेशीको निर्देशनमा नेपालको विकास अवरुद्ध पार्न ओली सरकार ढालेर विदेशी निर्देशित सरकार बन्यो, जसले नेपालको हैसियत भारतीय दूतावाससरह बनाउँदै भुटानीकरण ग¥यो ।

हिजो निरंकुश राजतन्त्र अन्त्यको लागि भएको आन्दोलनमा अग्रपंक्तिमा रहने राष्ट्रवादी राजनीतिक चिन्तक, बुद्धिजीवी, लेखक, कलाकार र आम राष्ट्रवादी जनता गणतन्त्रविरोधी भएका छन् । हिजो निरंकुशतन्त्रविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेका राष्ट्रभक्तहरू आज भन्दैछन्- राजतन्त्र पुनस्र्थापित गर्ने आन्दोलन भए त्यो आन्दोलनका अग्रपंक्तिमा हुनेछौं । हिजो अनावश्यक भनेर फालिएको राजतन्त्र आज किन आवश्यक देखिएको छ ?

 

सबैलाई चिन्ता छ- गणतन्त्र आयो, नेपाल रहेन, नेपालको पहिचान हराएको छ । ऋषिमुनीहरूको तपोभूमि, जन्मभूमि र कर्मभूमि हजारौं वर्षदेखि रहेको देवभूमि नेपाल समाप्त पारिएको छ । बेलायतमा पनि दसबर्से गणतन्त्र फालेर राजालाई पुनस्र्थापित गरेको इतिहासबाट नेपालीले प्रेरणा लिइरहेका छन् ।

राजतन्त्रको अनुपस्थितिमा आज मुलुक अभिभावकविहीन भएर भद्रगोल अवस्थामा पुगेको छ । कानुन सानाका लागि मात्र लागू छ, पैसावाल, नेता र पहुँचवालालाई कानुनले छुन सक्दैन । राजनीतिको आवरणमा अपराध बढिरहेको छ । स्वयं गृहमन्त्री नै अपराधीलाई संरक्षण दिँदै अपराधीलाई कानुनी प्रक्रियामा ल्याउन खोज्ने प्रहरी अधिकृतहरूलाई कारबाही गर्छन् । के यही हो गणतन्त्रको कानुनी राज्य ?

एउटा राजा पाल्नुपर्ने ठाउँमा आज सयौं राजाको खर्च राष्ट्रले धान्नुपरेको छ । राष्ट्रपतिहरू भूपू हुँदै जाँदा हात्ती पाले झैं पाल्नुपर्दा उनीहरूका लागि राष्ट्रले व्यहोर्ने खर्चले राष्ट्रलाई एक दिन कंगाल हुनेछ । गरिब राष्ट्र कहिल्यै पनि स्वतन्त्र रहन सक्दैन, न त सार्वभौम नै रहन्छ । संविधानको खोस्टोमा जेजति फूलबुट्टा पारे पनि वास्तवमा गरिब नेपाल पराधीन नै रहनेछ । गणतन्त्रको वर्तमान रूप यति कहालीलाग्दो छ भने भविष्य कस्तो होला ?

निरंकुश राजतन्त्र नेपाली जनताको चाहना होइन । वास्तविक लोकतन्त्रको उदाहरण युरोपेली मुलुक हुन् । एसियाका जापान, थाइल्यान्ड आदि मुलुक जहाँ संवैधानिक राजतन्त्र छ, आज विकासको चुचुरोमा छन् । संविधानले राजाको निरंकुशतामाथि अंकुश लगाउने हो, उनको अधिकार सीमित पार्ने हो नकि राष्ट्रको एकताको प्रतीकको रूपमा रहेको राजतन्त्रको विकल्पमा गणतन्त्र खोज्ने हो ।

गणतन्त्रको यो रूप रहिरहने हो भने एक दिन नेपालको अस्तित्व नै रहने छैन । अहिले भारतीय स्वार्थ पूरा गर्न केही तराईका जमिनदारहरूको दबाबमा संविधान संशोधन प्रक्रिया सुरु गर्ने बहस चलेको छ । अबको आवश्यकता संविधानको संशोधन होइन, पुनर्लेखन जरुरी छ ।

नेपालको अस्तित्व रक्षा गर्ने हो भने नेपालको वैदिक परम्परा, धर्म, संस्कृति र मौलिकताको रक्षा गर्दै नेपाललाई वास्तविक स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक मुलुक बनाउने हो भने संवैधानिक राजतन्त्र, हिन्दु अधिराज्य, कम्तीमा पाँच प्रतिशत थ्रेसहोल्डको व्यवस्था, पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्छ । जुन देशको ६५ हजार हेक्टरभन्दा बढी भूभाग भारतले कब्जा गरेको छ, जुन सरकार आए पनि त्यसलाई फिर्ता लिने आँट गर्न सक्दैन त्यो देशले प्रदेशको सीमा कसरी निर्धारण गर्न सक्छ ?

नेपालको विकास गर्ने हो भने भारतको एकाधिकार तोड्दै ओली सरकारले चीनसँग गरेका सम्झौता ढिलो नगरी लागू गर्दै थप मुलुकहरूसँग नेपालको पारवहन सुविधा र व्यापारमा वृद्धि गर्दै जानुपर्छ । नागरिकता ऐनलाई सकेसम्मको कडा पार्नुपर्छ ।


कथित गणतन्त्रले नेपाललाई आत्मनिर्भर हुनबाट रोकेर पराधीन बनाएको छ, नेताहरू सत्ता स्वार्थको लागि विदेशीका माग पूरा गर्दै गइरहेका छन् । यसको विकल्प खोज्न अब ढिलाइ गर्नुहुन्न । समयमै राजनीतिक दलहरू र यसका नेताहरू नसच्चिए ठूलै विस्फोट हुनेछ, जसलाई नेताहरूले रोक्न सक्ने छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.