भाषा र विकासको सम्बन्ध

भाषा र विकासको सम्बन्ध

चीनमा चिकित्साशास्त्रको अध्ययन गर्नुअघि पंक्तिकारले चिनियाँ भाषा सिक्ने क्रममा उनीहरूले विभिन्न पश्चिमा भाषामा नयाँ बनेका पारिभाषिक शब्दको लागि नयाँ चिनियाँ शब्द बनाएको र तुरुन्तै व्यापक प्रचलनमा ल्याएको देखेको थियो । चिनियाँले त्यसरी आफ्नै भाषामा नयाँ शब्द बनाएर चिनियाँ भाषामै सबै विषयको पठनपाठन र अन्तरसंवाद गर्ने उद्देश्य लिनु आफ्नो राजनीतिक अहम् तुष्टि र भाषाको सांस्कृतिक वर्चस्व जोगाउन मात्र होला भन्ने लाग्थ्यो ।

तर बुझ्दै जाँदा के स्पष्ट भयो भने उनीहरूले त्यसो नगरेका भए यतिका वर्षदेखि उनीहरूले हाँकेको देश विकासको गाडी त्यही रफ्तारमा कुदिरहने रहेनछ । नेपाललाई पनि द्रूत गतिमा विकासको बाटोमा हिँडाउन एउटा अत्यावश्यक साधन एउटा बृहत् अंग्रेजी-नेपाली पारिभाषिक कोश हो भन्ने जिकिर लेखमा छ ।

पारिभाषिक शब्दकोश के हो ?

अंग्रेजी-नेपाली पारिभाषिक शब्दकोश भन्नाले अंग्रेजी भाषाको कुनै शब्दका विभिन्न परिप्रेक्ष्यमा लाग्ने फरक-फरक अर्थहरू जनाउने फरक-फरक नेपाली शब्दहरू दिइएको शब्दकोश भन्न खोजिएको हो । यसमा अरू अंग्रेजी-नेपाली शब्दकोशमा जस्तो अंग्रेजी भाषाको शब्दको अर्थ बुझाउन नेपालीमा व्याख्या गरिएको हुँदैन, खालि उही अर्थ खुल्ने एउटा नेपाली शब्द दिइएको हुन्छ ।

हाल अंग्रेजी-नेपाली पारिभाषिक शब्दकोशको अभावमा कतिपयले एउटा विकल्पको रूपमा उपयोग गर्ने गरेको फादर कामिल बुल्केकृत 'अंग्रेजी-हिन्दी कोश' केही हदसम्म यस्तो पारिभाषिक शब्दकोशको उदाहरण हो ।

पारिभाषिक शब्दकोश नै किन ?

पश्चिमी जगत्को आधुनिक ज्ञानविज्ञानका लगभग सबै क्षेत्रमा रहेको अग्रताले अहिले नेपालमा विभिन्न विषयको पठनपाठन वा सञ्चारमाध्यममा दैनिक प्रयोग हुने अधिकांश अवधारणा र सूचनाहरू पशिचमा भाषाबाट, विशेषतः अंग्रेजी भाषाबाट, कुनै न कुनै रूपमा नेपाली भाषामा आयात भएका हुन्छन् । नेपालीमा दैनिक रूपमा त्यस्ता सूचना वा अवधारणाबारे संवाद वा अन्तक्रिया गर्नुपर्ने सरकारी वा गैरसरकारी निकाय, प्राज्ञिक संस्था वा सञ्चारगृहले त्यस्ता अवधारणाका पर्यायवाची नेपाली पारिभाषिक शब्द नहुँदा आफ्ना औपचारिक दस्ताबेज वा प्रसारणमा सोझै अंग्रेजी शब्द नै प्रयोग गर्ने गरेका छन् ।

सबैको दैनिक बोलीचालीको 'नेपाग्रेंजी' भाषाको त कुरै गर्नुपरेन । कतिपय अवस्थामा उपयुक्त पारिभाषिक नेपाली शब्द हुँदाहुँदै पनि अंग्रेजी शब्दको पर्यायवाची नेपाली शब्द पत्ता लगाउने सजिलो स्रोत नहुँदा बीबीसी नेपाली सेवा वा प्रमुख दैनिक पत्रपत्रिकामा पनि 'कन्सुलेट', 'रेमिट्यान्स' आदि शब्दहरू निसंकोच प्रयोग भइरहेका छन् ।

यस्तो कोशको अभाव धेरै परिस्थितिमा खट्केको छ । अंग्रेजी अलिअलि भए पनि बुझ्ने जमातले त सीधै अंग्रेजीमै पढेर र बोल्दा वा लेख्दा बीचबीचमा अंग्रेजी शब्द घुसाएर सूचनामा पहुँचको उपभोग गरेका छन् र त्यस्तो सूचनाबाट फाइदा लिएका छन् । तर अंग्रेजी पढ्न र बोल्न नजान्ने अधिकांश नेपालीले आफ्नो भाषामा उपयुक्त पारिभाषिक शब्द नहुँदा आफ्नो जीविकोपार्जन, स्वास्थ्य आदिलाई प्रभाव पार्न सक्ने उपयोगी आधारभूत सूचनासमेत पाउन सकेका छैनन् ।

प्रजातन्त्रलाई जीवित राख्ने र देशलाई विकास गर्ने हो भने जीवनोपयोगी सूचनाको पहुँचमा सबै नागरिकले समान अवसरको अनुभूति गर्न पाउनुपर्छ । नत्र सूचनाको पहुँचको असमानताको खाडल नै देशको अविकास र चरम गरिबीको निरन्तरताको कारण हुनेछ ।

प्रस्तावित पारिभाषिक शब्दकोश तयार भएमा इन्टरनेटमा हाल उपलब्ध अधिकांश सूचना सीधै वा अनुवादमार्फत अंग्रेजी नबुझ्ने नेपालीलाई उपलब्ध हुनेछ ।

अहिले अंग्रेजी बुझ्नेहरूले कुनै पनि विषयमा सूचना खोज्नुपर्‌यो भने अंग्रेजीको वेबसाइट विकिपिडियामा 'खोजी' गरेर प्राप्त गर्न सक्छन् । नेपालीमा पनि विकिपिडियाको वेबसाइट त छ, तर नेपाली भाषामा पारिभाषिक शब्दको अभाव एउटा प्रमुख कारण हो । जसले गर्दा नेपाली विकिपिडियामा नेपाली राजनीति जस्ता केही सामान्य विषयइतरका कुरा खोज्यो भने कुनै पनि सूचना उपलब्ध हुँदैन ।

अंग्रेजीका प्रयोक्ताहरूले सूचना खोज्ने अर्को प्रमुख स्रोत गुगल हो । आफूले खोजेको सूचना वा तथ्यांक यदि अंग्रेजीबाहेक अरू कुनै भाषा जस्तो- रूसी, स्पेनी, चिनियाँ आदिमा रहेछ भने गुगल ट्रान्सलेट (अनुवाद) सेवाको प्रयोग गरेर अंग्रेजीमा तुरुन्तै सम्पूर्ण लेखोटको अनुवाद गराएर पढ्न सकिन्छ । नेपालीमा पारिभाषिक शब्द पर्याप्त हुने हो भने गुगललाई नेपालीमा पनि त्यसरी नै अंग्रेजी वा अन्य विदेशी भाषाबाट अनुवाद गराउन सिकाउन सकिन्छ । त्यसपछि अंग्रेजीमा पोख्त नभए पनि नेपाली भाषाकै माध्यमबाट अंग्रेजी वा अन्य भाषाका लेख र सूचना नेपालीले पढ्न पाउनेछन् ।

अहिले विभिन्न विषयमा आफ्नो विशिष्ट छवि बनाएका वा कुनै समस्यालाई नयाँ तरिकाले सुल्झाउने उपाय पहिल्याएका व्यक्तिहरूले आफ्ना खारिएका अनुभव वा नवीन ज्ञानलाई संसारका थुप्रै सहरमा आयोजित हुने 'टेड टक्स' नामक प्रवचन शृंखलामा बाँड्ने काम गर्छन् । अंग्रेजी भाषामा दिइएका ती प्रवचनका भिडियोहरू इन्टरनेटमा निःशुल्क उपलब्ध छन् ।

प्रायः सबै प्रवचन भिडियोमा कम्तीमा २०/२२ भाषाका 'सबटाइटल' (लिखित अनुवाद) पनि उपलब्ध गराइएका छन् । यी सबटाइटल उपलब्ध भएका भाषामध्ये एउटा मात्र भाषा बुझ्ने मानिसले अंग्रेजी नबुझे पनि ती प्रवचनबाट नयाँ कुरा सिक्न पाउँछन् ।

यीबाहेक अरू असंख्य सूचना र ज्ञानका अपूर्व स्रोतहरू इन्टरनेटमा उपलब्ध छन्, जसलाई अंग्रेजी-नेपाली पारिभाषिक शब्दकोशको निर्माणले आम नेपालीको घर घरसम्म पुर्‌याइदिन सक्नेछ ।

अर्को कुरा, आफ्नो भाषालाई अलिकति मात्र अद्यावधीकरण गरेका देशहरूमा कम्प्युटर प्रयोक्ताहरूले अंग्रेजी भाषा पटक्कै नसिकीकनै कम्प्युटर प्रयोग गर्न सक्छन् । त्यसको कारण हो, भाषामा पर्याप्त प्राविधिक शब्द बनाइयो भने लेनोभो, माइक्रोसफ्ट, गुगल जस्ता कम्प्युटरका हार्डवेअर, सफ्टवेअर निर्माताहरूले कम्प्युटरको सञ्चालन प्रणाली (अपरेटिङ सिस्टम), किबोर्ड, इन्टरनेट एक्स्प्लोरर, एक्सेल, वर्ड आदि कतिपय अति प्रयोग हुने सफ्टवेअर पूरै नेपालीमै चलाउन सक्ने गरी तयार गरिदिनेछन् । उत्पादकहरूले त्यसो गर्नेछन् भनेर अपेक्षा गर्नुको कारण उनीहरूलाई हुने आर्थिक लाभ हो ।

अहिले बजारमा किन्न पाइने कम्प्युटरको सञ्चालन प्रणालीको भाषा अनेक भाषामध्येबाट आफूले रोजेको भाषामा चलाउन मिल्ने गरी बनाइएका हुन्छन् । त्यस्ता उत्पादकलाई एउटा नयाँ भाषाको रोजाइ थप्न ठूलो लगानी लाग्दैन । नेपाली भाषामै कम्प्युटर चलाउन सक्ने अवस्था आयो भने निःसन्देह नेपालमा कम्प्युटर र विभिन्न सफ्टवेयरको व्यापार धेरै गुणा बढ्नेछ । त्यसैले पारिभाषिक शब्दहरू बनाउन हामीले मेहनत मात्र गर्नुपर्छ । अंग्रेजी नजान्ने नेपालीले पनि कम्प्युटर चलाउने दिन टाढा हुने छैन ।

 

अझै ठूलो परिवर्तन त मोबाइल फोनको प्रयोगमा हुनेछ । नेपाली भाषा अद्यावधिक हुने हो भने मोबाइल फोनको सञ्चालन प्रणाली पनि नेपालीमै उपलब्ध हुनेछ । त्यति हुनासाथ फोनको बिक्री र प्रयोग कम्प्युटरभन्दा पनि धेरै गुणा बढ्नेछ । अधिकांश नेपालीले कम्प्युटर किन्न सक्दैनन्, तर मोबाइल फोन प्रयोग गरिरहेका छन् । प्रविधिको विकासले इन्टरनेट चलाउन मिल्ने फोन पनि सुपथ मूल्यमै पाइने दिन टाढा छैन । नेपाली भाषामार्फत फोनमै इन्टरनेटका अति उपयोगी साधनहरूसम्म पहुँच भयो भने समग्र नेपालको लागि आधुनिक ज्ञानको क्षितिज धेरै फराकिलो हुनेछ ।

विकास कसरी ?

नेपाली भाषामै सूचनाको स्रोत फराकिलो हुने र नेपाली भाषामै सञ्चारका उपाय बढ्नेबित्तिकै विकासका नयाँ ढोका कसरी खुल्नेछन् भन्ने अनुमान गर्न अलिकति कल्पनाशीलताको पनि खाँचो हुन्छ । उद्यम र कारोबारमा अहिले असंलग्न लाखौं नेपालीले उद्यम र व्यवसायमा संलग्न हुन पाउनेछन् । फोन वा कम्प्युटरमार्फत हुने अनलाइन आर्थिक र बैंकिङ कारोबार धेरै गुणा बढ्नेछ । आर्थिक लेनदेन बढी सुरक्षित र भरपर्दो हुनेछ ।

ग्रामीण उत्पादकलाई बजारको सूचना पाउन र आफ्ना उत्पादनबारेको सूचना प्रवाह गर्न, बिचौलियालाई संलग्न नगराइकनै सीधै क्रेतासम्म आफ्ना उत्पादन पुर्‌याउन धेरै सजिलो हुनेछ । नेपाली भाषामा सञ्चारका उपाय बढ्दा विकास र समृद्धिसँग काठमाडौंको मात्रै होइन, पिछडिएका ग्रामीण क्षेत्रको पनि पहुँच बढ्नेछ । अर्थात् विकास र समृद्धिको विकेन्द्रीकरण हुन सजिलो हुनेछ ।

अहिले देशको आर्थिक बजार र औद्योगिक उत्पादन टाक्सिनमा 'दक्ष', अर्थात् अंग्रेजीबाज, जनशक्तिको अभावको पनि ठूलो जिम्मेवारी होला । देशलाई चाहिने प्राविधिक सीप सिकाउन पनि अंग्रेजी बुझ्नेहरूको कमीले अप्ठ्यारो परेको होला । प्राविधिक, आर्थिक र औद्योगिक क्षेत्रमा अंग्रेजीको आवश्यकता खुम्चिनेबित्तिकै देशको आर्थिक र औद्योगिक गतिविधि प्रवद्र्धन गर्न, देशको श्रमशक्ति बढाएर रोजगार बढाउन र समग्र विकासको रफ्तार बढाउन धेरै सजिलो हुनेछ ।


नेपालमा प्रज्ञा-प्रतिष्ठानको दायित्व साहित्यका दुई चार किताब छपाउने मात्र होइन, देशको विकासको बाटोमा भाषाका तर्फबाट कस्ता व्यवधान छन्, तिनको निराकरण गर्ने, भाषालाई बढी प्रयोजनपूर्ण र विकासमा सहयोगी बनाउन पहलकदमी र नेतृत्व लिने पनि हो ।

अर्को पक्ष, केन्द्र र स्थानीय निकायमा राज्यसञ्चालन र नीतिनिर्माण क्षेत्रमा काम गर्नेहरू, केन्द्र र मोफसलका नागरिक समाजका अगुवा र अभियन्ताहरूले आफ्नो रुचिका क्षेत्रमा संसारभरका विभिन्न देशमा गरिएका प्रयोग र अनुभवहरूबाट सिक्न पाए भने राज्य सञ्चालन र नीतिनिर्माण बढी प्रभावशाली हुनेछ ।

उदाहरणको लागि माथि उल्लिखित टेड टक्समा नेपालीमा सबटाइटल उपलब्ध हुने भए नेपालका अंग्रेजी नजान्ने तर जिज्ञासु नीतिनिर्माता वा अभियन्ताहरूले बंगलादेशमा निर्धन जनतालाई हाते फोन उपलब्ध गराउँदा कसरी गरिबी निवारण गर्न मद्दत मिल्यो भन्ने इकबाल कादिरको अनुभव वा भारतको पन्जाब राज्यका बीस लाख बालबालिकाले पढ्ने पन्ध्र हजार सरकारी विद्यालयलाई सञ्चालन गर्ने भग्नावस्थाको शैक्षिक प्रणालीमा कसरी आर्थिक भार नबढाई द्रूत सुधार ल्याउन सकियो भन्ने सीमा वंशलको अनुभवको वर्णनबाट नयाँ कुरा सिक्न पाउनेछन् ।

पारिभाषिक शब्दकोश बनेमा सरकारी र अन्य निकायहरूलाई विविध सूचना धेरैभन्दा धेरै जनमानससम्म पुर्‌याउन सम्भव हुनेछ । राज्यसञ्चालनमा आम जनसहभागिता र पारदर्शिता दुवै बढ्नेछन् ।

यसरी सर्वसाधारणको सूचना र प्रविधिमा पहुँच बढाएपछि खुल्ने नयाँ सम्भावनाका ढोकाहरूको अहिल्यै यकिन भविष्यवाणी गर्न सकिँदैन । तर विगत्‌ाका अनुभवका आधारमा के ठोकुवा गर्न सकिन्छ भने उपयोगी सूचना र प्रविधिको प्रयोग गर्ने मौका पाउनासाथ हामीले अहिले सोच्नै नसक्ने कयौं तरिकाबाट नेपालीले विकास र सुधारका नवीन उपायहरू पहिल्याउनेछन् ।

त्यसबाहेक, जनस्वास्थ्य, वैज्ञानिक दृष्टिकोण, विवेचनात्मक चिन्तन जस्ता विविध क्षेत्रमा आम जनमानसको चेतना र जागृति बढ्दा कति फाइदा हुन्छ भन्ने पूर्ण आकलन साँच्चै सम्भव होला र ?

कोश कसले, कसरी बनाउने ?

यस्तो कोश बनाउन अहिले नेपाली भाषामा प्रचलनमा रहेका शब्दले मात्र नपुग्ने भएकोले थुप्रै नयाँ नेपाली शब्द बनाउनुको साथै संस्कृतबाट बाहेक उपयुक्त ठाउँमा नेपालमा बोलिने अन्य नेपाली भाषाका साथै नेपालीसँग मिल्दाजुल्दा छिमेकी देशका भाषाबाट पनि शब्द लिनुपर्ने हुन्छ । यसका लागि थुप्रै भाषा र विषयका विशेषज्ञको समूहलाई सहकार्य गर्न लगाउनुपर्ने भएकोले सरकारी स्तरबाटै नेपाल प्रज्ञाप्रतिष्ठानजस्तो निकायमार्फत यसको दायित्व लिइनुपर्छ ।

सूचना र सञ्चार, विज्ञान प्रविधि, शिक्षा आदि विभिन्न मन्त्रालयका कामसँग यसको सीधा सरोकार भएकाले सरकारका मन्त्री र नेताहरू सबैको त्यसैअनुसारको गम्भीरता यो परियोजनामा देखिनु आवश्यक छ । सरकारी तवरबाट नहुने हो भने देशको आर्थिक र औद्योगिक विकासको लागि यति महत्त्वपूर्ण यो परियोजनालाई नेपाल उद्योग वाणिज्य महासंघ जस्ता निकाय आफैंले आर्थिक स्रोत जुटाएर अघि बढाए भने त्यो उनीहरूकै स्वार्थको दृष्टिले पनि दूरदृष्टिपूर्ण काम मानिनेछ ।

आजको नेपालमा प्रज्ञाप्रतिष्ठानको दायित्व साहित्यका दुईचार किताब छपाउने मात्र होइन, देशको विकासको बाटोमा भाषाका तर्फबाट कस्ता व्यवधान छन्, तिनको निराकरण गर्ने, भाषालाई बढी प्रयोजनपूर्ण र विकासमा सहयोगी बनाउन पहलकदमी र नेतृत्व लिने पनि हो ।

अहिल्यै नेपाली र नेपालका अन्य भाषा बोलिँदा अनेकौं दैनिक प्रयोगमा आउने पारिभाषिक शब्दको अभावमा आधाजसो अंग्रेजी शब्द मिसिएर नेपालका भाषा द्रूतगतिले असान्दर्भिक हुँदै जाने खतरा देखिएकै छ । उपयोगी पारिभाषिक शब्दकोश बनाउने भनेको नेपालमा बोलिने भाषालाई अद्यावधिक गर्दै तिनको सान्दर्भिकता जोगाउने र प्रयोग बढाउने चुनौती र अवसर पनि हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.