गुणस्तरीय पर्यटक धान्नै गाह्रो
काठमाडौः नेपालमा पछिल्लो समय बढ्दै गएको बजेट टुरिष्ट (थोरै खर्च गर्ने सस्ता पर्यटक)का कारण गुणस्तरीय पर्यटक धान्नै चुनौतिपूर्ण छ । होटल संघ नेपाल (हान)मा प्रत्यक्ष रूपमा आवद्ध होटलको संख्या तीन सय मात्रै रहेका भएपनि अन्य होटलको बाहुल्यता रहेको छ । केही पाँचतारे र सिमित स्तरीय होटेलको माध्यमबाट पर्यटकलाई पुर्याउने सेवाले मात्रै गुणस्तरीय पर्यटक धान्न नसक्ने होटल संघ नेपालले जनाएको छ ।
हानका अध्यक्ष अमरमान शाक्यका अनुसार होटलले दिने सेवा र सुविधा पर्यटकले खोजेजस्तो स्तरीय हुनुपर्छ । ‘कोठा संख्या धेरै हुँदैमा र ठूलो होटल हुँदैमा गुणस्तरीय हुने होइन,’ शाक्यले भने । उनका अनुसार भुटानमा जम्मा ८ कोठाको पाँचतारे होटल रहेको छ । त्यसले दिने सेवा र सुविधाकै कारण विश्वकै खर्चालु अर्थात गुणस्तरीय पर्यटक पुग्ने गरेका छन् । नेपालमा भने अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको र पाँचतारे होटलले पनि तीन र दुईतारे होटलसरह कोठा बेच्ने गरेका कारण गुणस्तरीय पर्यटक टिकाउनै चुनौतीपूर्ण छ ।
पछिल्लो समय पर्यटकको आगमन देखिए पनि ग्रामिण पर्यटनअन्र्तगतका होमस्टे पर्यटन बजेट होटलमा मात्रै सिमित भएका कारण बजेट पर्यटक मात्रै भित्रिएको शाक्यको बुझाई छ । गुम्बामा पर्यटक राख्ने गरिएको छ जसका लागि पर्यटकले ६० डलर तिर्ने गर्छन् । यसले न राज्यलाई लाभ हुन्छ न पर्यटकको पहुँच ठूला लगानीका होटलमा पुग्छ । पर्यटकलाई जहाँ राखेपनि हुन्छ, सस्तो खानपान र बसाईले चल्छ भनेरै दुई दिनको सेवा दिने गरिएको छ । यसबाट नेपालमा गुणस्तरीय पर्यटनका लागि पहिचानको बजार हुन नसकेको शाक्यको बुझाइ छ ।
पर्यटनमा क्रियाशील व्यवसायीको फरक पहिचान
होटल क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले गुणस्तरीय पर्यटनमा केन्द्रित रहेर गरेको व्यवसायको पहिचानै फरक हुने गरेको छ । ‘गुणस्तरिय पर्यटनका लागि पहिलो दायित्व चाहिन्छ’, होटल द्वारिकाजकी अध्यक्ष अम्बिका श्रेष्ठले भनिन्, ‘त्यसपछि सोही क्षेत्रकै आफूभन्दा माथिल्लो बजारमा जानुपर्छ ।’ सन् १९७२ बाट द्वारिकाज सुरु भएदेखि नै हामीले क्वालिटी टुरिजममा मात्रै फोकस गर्ने गरेका छौं’, श्रेष्ठले भनिन् ।
हाम्रो काम गुणस्तरीय सेवा दिने हो । सेवा कमजोर बनाउने होइन । पर्यटक भनेको खर्च गर्न आउने हुन सोही अनुसार उनीहरूबाट पैसा लिन सक्नुपर्छ । क्वालिटी घटाएर होइन बढाएर सेवा दिनुपर्ने तर्क श्रेष्ठको छ ।
होटल तथा पर्यटन व्यवसायीबीच प्राइसमा झगडा नगरी सर्भिस राम्रो भनेर दाबी गर्नसक्ने हुनुपर्ने श्रेष्ठको बुझाई छ । सेवामा कमि हुने गरी कम रेटमा पर्यटक ल्याएर पर्यटन सेवा नहुने उनले बताइन् ।
व्यवसायीले सानोसमस्यामा पनि आत्तिने पर्यटकलाई अनावश्यक छुट दिने गरेका छन् । एकपटक दिएको छुट त्यो पर्यटकले सधै खोज्छ । पाँचतारे होटेलमा आफूभन्दा माथिल्लो स्तरको सेवा दिने प्रयास गर्ने हो तल्लो स्तरको चार तारे र तीन तारेको सुविधा दिन नहुने तर्क श्रेष्ठको छ । गुणस्तरीय पर्यटनकै लागि द्वारिकाजले धुलिखेलमा सेवा विस्तार गरेको उनले बताइन् ।
होटल व्यवसायी भरत बस्नेतले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन नेपाली कला र संस्कृतिको प्रवद्र्धन गरिरहेको बताए । उनले अहिलेसम्म सञ्चालन गरेका सबै व्यवसाय नेपालीपन झल्कने खालका मात्रै छन् । उनले नेपालमा गुणस्तरीय पर्यटनको वकालत गर्दै सोही व्यवसायमा तीन दशकदेखि लागिरहेका छन् ।
सन् १९९८ मा डिल्लीबजारमा भोजनगृह सुरु गरेका बस्नेतले नेपालीपन र नेपाली संस्कृति पस्कने कामलाई होटेलको माध्यमबाट बढाउदै लगे । उनले सोही वर्ष ठमेलको ज्याठामा कान्तिपुर टेम्पल हाउस सञ्चालनमा ल्याए ।
एकपछि अर्को नेपाली कला र संस्कृतिको नमुना पस्किने क्रममा उनले सन् १९८८ मा दी एक्सप्लोर नेपाल नामक ट्राभल एजेन्सी सञ्चालन गरेर पर्यटन व्यवसाय गरेका बस्नेत पनि गुणस्तरीय पर्यटनमा मात्रै नेपालको पहिचान रहेको तर्क पेश गर्छन् ।
कोसीटप्पु वाइल्डलाइफ क्याम्प, भोजनगृह, कान्तिपुर टेम्पल हाउस, गैंडा वाइल्ड लाइफ हुँदै गाउँघर होटलसम्म नेपाली कला र संस्कृति झल्कने सेवा दिएका बस्नेतले नेपालको ब्रान्डिङको आधार नै गुणस्तरीय पर्यटन हुन सक्ने बताए ।
पर्यटन क्षेत्र नराम्रो भयो भनेर गाली गर्ने होइन सेवा सुविधामा भएको कमजोरीलाई सुधार्नु पर्ने पर्यटन व्यवसायी कर्ण शाक्यको बुझाई छ । सरकारले पर्यटनको विकास गरेको छैन, निजी क्षेत्रको योगदानले नेपालको पर्यटन परिचित भएकाले राज्यले सहजीकरण मात्रै गर्नुपर्छ, पर्यटक बढ्दै गएपछि सेवा सुविधा र शुल्क आफैं बढ्दै जाने शाक्यको भनाइ छ ।
उनका अनुसार नेपालको पर्यटनलाई विशिष्टिकरण गर्दै जाने हो भने गुणस्तरीय बनाउन सकिन्छ । नेपालमा भएको प्राकृतिक विविधता, वाइल्डलाइफ, पर्वतारोहण र सहरका गतिविधि यही रहेका छन् । पर्यटकीय सेवा सुविधाको विकास र बिस्तार हुँदै जाँने शाक्यको बुझाई छ ।