पर्यटकको नयाँ गन्तब्य बन्दै पुम्दी

पर्यटकको नयाँ गन्तब्य बन्दै पुम्दी

पोखराः तीन दिनको पदयात्रा गरिसकेका सुजन कुप दम्पतीले अन्तिम दिन हाइकिङमा जाने निधो गरे । हाइकिङकाक्रममै शनिबार भेटिएकी कुपले भनिन्, ‘सबैभन्दा आनन्दचाहिँ आज भयो ।’ शनिबार उनी पतिसहित पुम्दीकोटमा भेटिएकी थिइन् । हत्तपत्त पर्यटक नपुग्ने यो डाँडामा आएजति धेरैले यस्तै प्रतिक्रिया दिने गरेको स्थानीय ध्रुव बरालको अनुभव छ ।

पर्यटकले रुचाएको यही डाँडालाई पोखरामा पर्यटकको नयाँ गन्तब्य बनाउन स्थानीयले अभियान नै थालेका छन् । अभियानकै क्रममा पुम्दीकोटमा भ्युटावर बनिसकेको छ । अबचाहिँ स्थानीयको लक्ष्य १०८ फिट अग्लो शिवमूर्ति निर्माण गर्ने हो ।

शनिबार पत्रकार सम्मेलन गरेर मूर्ति निर्माणको काम सुरु भएको जानकारी दिइयो । टावर बनेपछि पोखरा बजारबाट टावर छर्लंग देखिन थालेपछि पर्यटकको चासो बढेको स्थानीय बताउँछन् । स्थानीयमा टावरभन्दा अग्लो मूर्ति बनाउने जाँगर चलेको हो । ‘टावर निर्माण र पार्क व्यवस्थित गर्दै सवा करोड खर्च भइसक्यो’, स्थानीय अगुवा रामजी बरालले भने, ‘अब २१ करोड रुपैयाँको योजना छ ।’

समिति अध्यक्ष चन्द्रकान्त बरालका अनुसार ध्यानकेन्द्र, बगैंचा, शिवमूर्तिसहितको गुरुयोजना तयार भइसकेको छ । त्यसको आर्किटेक्ट डिजाइन पनि तयार पारिसकेको जानकारी उनले दिए । ५ वर्षभित्र गुरुयोजना कार्यान्वयनको लक्ष्य राखिएको छ । १७ रोपनी जमीनमा पर्यटकीय पूर्वाधार विकास गर्न लागिएको हो ।

फेवातालबाट दक्षिणमा उभिएको पुम्दीकोटबाट तालसँगै हरिया डाँडा र अन्नपूर्ण, धौलागिरि र मनास्लु हिम श्रृंखलालगायतका धेरैजसो हिमालहरू देखिन्छन् । पोखरा बजारपनि छर्लंग देखिन्छ । पुम्दीकै अनदु डाँडामा विश्व शान्ति स्तूप छ । निप्पोजन मियोजी अर्थात अखिल जापान भिक्षु संघद्वारा निर्मित स्तूप पोखरा आउने पर्यटकको गन्तव्य भएको छ ।

यो स्तूपभन्दा ४ सय मिटर अग्लो डाँडा पुम्दीकोटमा धार्मिक पर्यटकसमेत लोभ्याउने गरी शिवमूर्ति स्थापना गर्न लागिएको हो । मूर्ति र पार्कका लागि मात्रै ५ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

स्थानीयको योजनाकै लागि सरकारले यो वर्ष नागरिक उडड्यन तथा पर्यटन मन्त्रालयमार्फत २० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । मंसिरको पहिलो साता योजना कार्यान्वयन थालिने प्रकाश बरालले जानकारी दिए । ‘मूर्ति र सहिद स्मृति पार्क भने २ वर्षमै पूरा हुनेछन्’, उनले भने । पुम्दीकोटलाई पोखराको पर्यटकीय नक्साभित्र समेट्ने प्रयास थाल्ने आश्वासन क्षेत्रीय प्रशासक खगराज बरालले दिएका छन् ।

पुम्दीकोट पश्चिमको गुरुङ गाउँ कालाबाङमा घरबास पर्यटन सुरु भइसकेको छ । पुम्दीमै पर्ने फेवाताल किनारको रानीवनमा जैविक विविधता पार्क निर्माण जारी छ । यी पूर्वाधारले पनि पुम्दीकोटलाई पर्यटकीय स्थल बनाउन सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् । फेवा किनारबाट पुम्दीको अनदु डाँडानजिकै केबलकार जोड्ने प्रयास पनि भएको छ ।

१५ सय मिटर उचाइमा रहेको पुम्दीकोटबाट निहुरिएर हेर्दा फेवातालमाथिको आकाशमा चराहरु कावा खाइरहेको देखिन्छ । रंगीबिरंगी प्याराग्लाइडिङको उडान पनि यहाँबाट देखिने लोभलाग्दो दृश्य हो । सूर्योदय र सूर्यास्तका लागि पनि पुम्दीकोट उपयुक्त छ ।

‘पूर्णिमाको दिन फेवातालमा माछापुच्छेको प्रतिबिम्व बिछट्टै रमाइलो देखिन्छ’, अनदु डाँडामा एलाइट क्याफे सञ्चालन गरिरहेका राजु क्षेत्री भन्छन्, ‘वास्तवमा पोखरा, फेवाताल र हिमाली श्रृंखला एकैनजरमा हेर्न पाइने यो भन्दा उत्तम शिखर अर्काे कुनै छैन ।’ मोटर बाटोको पहुँचसमेत पुगिसकेको हुँदा अहिले पनि पुम्दीकोटमा पर्यटकलाई आउनजान सजिलो रहेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.