सयपत्री फुलबाट चार गुणा नाफा
भक्तपुरः भक्तपुरका एक पुष्प व्यवसायीले तीन महिनामा सयपत्री फूलबाट चार गुणा नाफा कमाएका छन् । करिब एक लाख रुपैयाँको लगानीमा एक हजार सात सय सयपत्रीका बोट लगाएका उनले तीन महिनाभित्र पाँच लाखको कारोबार गरेका छन् ।
चाँगुनारायण नगरपालिकाका अराम सुनुवारले दुई रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलको खेतीबाट तीन महिनामा करिब चार लाख रुपैयाँ नाफा कमाएका हुन् ।
हाइब्रिड जातको कलकत्ते सयपत्री पूmलको फार्ममा ढक्कमक्क फूल फुलेका छन् ।
पुष्प व्यवसायी सुनुवारको टनेलमा फुलेका फूल देख्दा जोकोही पनि लोभिन्छन् । ढकमक्क फुलेका फूल देखेर गदगद हुँदै अराम भन्छन्, ‘सोचेभन्दा राम्रा फूल फुलेका छन् । पहिलोपटकको प्रयास नै सफल भएको देख्दा मनैदेखि खुसी भएको छु ।’
करिब २० हजार रुपैयाँ बराबरको सयपत्री फूलको बिउबाट चार लाखरुपैयाँ नाफा भएपछि खुसीको सीमा नै नभएको उनी सुनाउँछन् ।
उनको फार्ममा रहेका फूलको गुणस्तर राम्रो भएकाले व्यापारीहरू फार्ममै आएर फूल किन्ने गरेको उनले बताए ।
‘व्यापारीहरू फार्मसम्मै आएर फूलको माला उठाएर लगेका छन्’, उनले भने, ‘तर भाउ भने राम्रो आएन । उपभोक्ताले तिर्ने मूल्य नै हामीले पाउने हो भने नाफा दोब्बर हुन्छ ।’
सुरुमा उनले एउटा माला ४० रुपैयाँमा बिक्री गरेको बताए । तर बजारमा यसको होलसेल मूल्य नै ७०–८० रुपैयाँ भएको उनले सुनाए । सुनुवारले तिहारमा फूलको बढी मूल्य पाउने विश्वास व्यक्त गरे ।
उनका अनुसार एउटा बोटबाट कम्तीमा पाँचवटा मालालाई पुग्ने फूल फुल्छन् । यस हिसाबले उनको फार्ममा अहिले एकहजार सात सय बोट छन् जसबाट आठ हजार पाँच सय फूलका माला तयार हुन्छन् ।
सयपत्री फूलको फार्म राम्रो हुनुको पछाडि उनको चारजनाको परिवार र एकजना कृषि प्राविधिक तथा मजदुरको उत्तिकै योगदान रहेको छ । टनेलभित्र लगाएकाले फूल गुणस्तरीय हुने पुष्प व्यवसायी एवं कृषि प्राविधिक विश्वमणी पोखरेल बताउँछन् । उनका अनुसार खुलाभन्दा टनेलमा लगाएका पूmलबाट तीन महिनासम्म उत्पादन लिन सकिने भएको हो ।
‘खुला रूपमा लगाउँदा एकपटक फूल फुलेपछि रोग लागेर बोट नै मर्छन्’, प्राविधिक पोखरेलले भने, ‘टनेलमा लगाउँदा रोगको नियन्त्रण भई फूल पनि लामो समयसम्म फुल्छन् र गुणस्तर तथा रंग पनि उच्च कोटीको हुन्छ ।’