अलैंची खेतीमा किसानको आकर्षण
बेनीः म्याग्दीका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् । थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका किसान दुईवर्षदेखि अलैंची खेतीतर्फ आकर्षित भएका हुन् ।
यसअघि अर्मन र बरंजाका केही किसानले न्यून मात्रामा अलैंची खेती गर्दै आएका थिए । दुईवर्षदेखि परीक्षणको रूपमा रहेको अलैंची खेती विस्तार कार्यक्रम सञ्चालन भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत श्यामराज क्षत्रीले जानकारी दिए ।
‘पहाडी क्षेत्र भएकाले अलैंचीको उत्पादन राम्रो हुन्छ की हुदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ’, उनले भने, ‘दुईवर्षमा ५५ हजार अचैलीको विरुवा वितरण भईसकेको छ, अझै पनि माग उस्तै छ ।’
केही किसानले मकै र कोदोको ठाउँमा अलैंचीका बिरुवा रोपेका छन् । दुईवर्षमा ५ हेक्टर क्षेत्रफलमा अलैंची खेतीको विस्तार भएको कृषि विकास कार्यालयले जनाएको छ । कुईनेमँगले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देविस्थान, ताकम, दरबाङ, कुहु, लगायतका गाविसमा बिरुवा वितरण गरिएको छ ।
अलैंचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकहरूको भनाई छ । समुद्री सतहबाट ७ सयदेखि २२ सय मिटरको उचाइमा वार्षिक १५ सयदेखि ५ हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैंचीको उत्पादन राम्रो हुने बताइएको छ ।
जिल्लामा साउने जातका अलैंचीका बिरुवा बढी वितरण गरिएका छन् । बागवानी विकास अधिकृत रिजालले जिल्लाको माथिल्लो भागमा अलैंचीको राम्रो उत्पादन हुने बताए । यी क्षेत्रमा ताप्लेजुङ, इलाम र संखुवासभाको जस्तै हावापानी पाइन्छ । ‘अहिले बिरुवाहरु हुर्किरहेका छन्, फल दिन कम्तिमा ३ वर्ष लाग्छ’, उनले भने ।
अलैंचीका लागि खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँस लगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्याम प्रसाद रिजालले किसानको आकर्षणका कारण चालु आर्थिक वर्षमा पनि अलैंची क्षेत्र विस्तार कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
‘यसवर्ष पनि थप ६ हजार अलैंचीका बिरुवा वितरण गर्दैछौँ, नर्सरी पनि यहीवर्ष स्थापना गर्दैछौ’, उनले भने, ‘सरकारले अलैंचीको बिरुवामा पचास प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।’
एउटा बिरुवालाई १० रुपैयाँ पर्ने भएपनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिदै आएको छ । सदरमुकामसम्मको ढुवानी सरकार आफैले व्यहोर्ने गर्छ । उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकहरुको बुझाई छ ।
उनीहरुका अनुसार अलैंचीको बीयाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ । उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधी बनाउन सकिन्छ । ‘अहिलेपनि बजारमा प्रतिकिलो २ हजार भन्दा बढीमा बिक्री भईरहेको छ, उत्पादन मात्र हुनपर्यो बजारको कुनै समस्या छैन’, वरिष्ठ कृषि विकास अधिकृत रिजालले भने ।