काठमाडौः व्यावसायिक घराना एमएस समूहको लगानीमा यही पुसदेखि ठमेलमा चारतारे होटेल सञ्चालन हुँदैछ । होटेलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । यही होटेलमार्फत एमएस समूह पहिलो पटक हस्पिटालिटी उद्योगमा प्रवेश गर्न लागेको हो । समूहले नक्सालमा अर्को पाँचतारे होटेल बनाइरहेको छ ।
उत्पादनशील उद्योगमा जमिरहेको शंकर समूहले पनि होटेलमा हात हालेको छ । यो समूहको नक्साल भगवती मन्दिर नजिकै पाँचतारे होटेल निर्माण सुरु भइसकेको छ । पहिलो पटक हस्पिटालिटी उद्योगमा प्रवेश गर्न लागेको शंकर समूह छिट्टै होटेल सञ्चालनमा ल्याउने तयारीमा छ ।
देशबाहिर लक्जरी होटेल चलाइरहेको चर्चित व्यावसायिक घराना चौधरी समूहले नेपालमा पनि होटेल सञ्चालनमा ल्याइसकेको छ । यो समूहले चितवनको मेघौलीमा यसै वर्ष लक्जरी सफारी रिसोर्ट खोलेको छ । यसअघि ललितपुरको कुपण्डोलस्थित समिट होटेलको हिस्सेदार पनि बनिसकेको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा चर्चित आईएमई समूहले पनि साझेदारीमा चन्द्रागिरि डाँडामा तारे होटेल निर्माण सुरु गरिसकेको छ । राजधानी नजिकै शान्त वातावरणमा बस्न रुचाउने पर्यटकलाई लक्षित गरिएको यो होटेल छिट्टै सञ्चालनमा आउँदैछ । यो समूहले अन्य ठाउँमा पनि होटेल खोल्ने योजना बनाएको छ ।
मुलुकका चर्तित व्यावसायिक घराना यतिबेला तारे होटेल खोल्ने ध्याउन्नमा देखिन्छन् । ‘बिजनेस डाइभर्सीफाइ’ को उपयुक्त विकल्प बनेको छ, हस्पिटालिटी इन्डस्ट्री । पछिल्लो समय व्यावसायिक घरानाबीच उद्योग छाडेर होटेल खोल्ने होडबाजी देखिन्छ । ‘ट्रेडिङ बिजनेस’ पछि सबैभन्दा आकर्षक क्षेत्र हस्पिटालिटी इन्डस्ट्री बनेको छ ।
नेपालमा पर्यटनको ठूलो सम्भवना देखेर होटेलक्षेत्रमा लागेको एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल बताउँछन् । ‘यहाँ उद्योग चलाउन निकै कठिन छ, सेवा क्षेत्रमा जोखिम तुलनात्मक कम हुन्छ’ उनले भने, ‘नेपालको सेवा क्षेत्रमा सबैभन्दा बढी सम्भावना भएको पर्यटन व्यवसाय हो ।’ कतिपय घरानाले होटेल निर्माण सुरु गरिसकेका छन् भने कतिपयले होटेल सञ्चालन गर्ने योजना बनाइरहेका छन् ।
ठूला घराना व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन होटेल भिœयाएर होटेल सञ्चालन गर्न लागेका छन् । व्यवस्थापनको जिम्मा बहुराष्ट्रिय ब्रान्डलाई दिएपछि ग्राहक खोज्ने झन्झट नहुने उनीहरूको बुझाइ छ ।
चौधरी समूहले मेघौलीमा प्रख्यात ताज ग्रुप भिœयाएको छ । ताजको भगिनी कम्पनी ताज सफारीले लक्जरी रिसोर्ट सञ्चालन गर्दै आएको छ । ताज सफारी ब्रान्डमा विनोद चौधरीको झन्डै आधा हिस्सा छ । चौधरी समूहले झम्सिखेल र भरतपुरमा पनि होटेल खोल्दैछ ।
झम्सिखेलमा एक अर्ब लगानीमा सय कोठाको चारतारे होटेल निर्माण भइरहेको छ । भरतपुरको निर्माणाधिन ल्यान्डमार्क कम्पलेक्समा बिजनेस होटेल सञ्चालन गर्ने चौधरीको योजना छ । यहाँ ४८ वटा कोठा हुनेछन् । त्यस्तै, समिट होटेलको स्तरोन्नतिमा पनि ठूलो लगानी हुँदैछ ।
एमएस समूहको ठमेलको होटेलमा एक सय १५ र नक्सालको होटलमा दुई सय ३५कोठा रहने छन् । अन्तर्राष्ट्रिय विख्यात चेन मेरियटको व्यवस्थापनमा सञ्चालन हुने दुई होटलमा पाँच अर्ब लगानी हुनेछ ।
आईएमईले भाटभटेनी समूहलगायतसँग मिलेर चन्द्रागिरिमा बनाउन लागेको पाँचतारे स्तरको होटेलमा करिब एक अर्ब लगानी हुँदैछ । निर्माण सुरु भइसकेको यस होटेलमा सय कोठा हुनेछन् । यो होटेल पश्चात अरु ठाउँमा पनि होटेल खोल्ने योजना रहेको अध्यक्ष चन्द्र ढकालले बताए । ‘यहाँ पर्यटनको ठूलो सम्भवना छ, पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक आगमन पनि बढ्नेछ, त्यसैले हाम्रो ध्यान होटेलमा खिचिएको छ’ उनले भने, ‘होटेलमा पनि आक्रमक रूपले अगाडि बढ्ने योजना छ ।’
रविभक्त श्रेष्ठको एनई समूह यसअघि नै होटेल उद्योगमा आवद्ध छ । चर्चित पाँचतारे सोल्टी क्राउन प्लाजामा यो समूहको लगानी छ । साथै, कुपण्डोलको समिट होटलमा चौधरी समूहसँग मिलेर लगानी गरेको छ । सोल्टी ब्रान्डमा राजधानीबाहिर नेपालगन्ज र पोखरामा चारतारे होटेल सञ्चालनमा आउँदैछन् । नेपालगन्जको होटेल सञ्चालनको अन्तिम चरणमा छ ।
सेञ्चुरी समूह चारतारे र पाँचतारे होटेल चलाउन कस्सिएर लागेको छ । मोती दुगडको यो समूहले विराटनगरको तीन पौनीमा ५० करोड लगानीमा चारतारे होटेल ह्यारिसन प्यालेस सञ्चालनमा ल्याइसकेको छ । यो होटेलमा ५० वटा कोठा छन् । यही समूहले विराटनगरमै पाँचतारे दी सेञ्चुरियन होटेल बनाइरहेको छ । एक २० कोठा हुने यो होटेलमा सवा अर्ब लगानी हुनेछ ।
अर्को चर्चित सुमार्गी समूह पनि होटेल उद्योगमा प्रवेश गर्न लागेको घोषणा गरिसकेको छ । यो समूहले पाँच अर्ब लगानीमा दुई सय २० कोठा भएको होटेल सञ्चालन गर्दैछ । टोयोटा गाडी बिक्री गर्दै आएको वैद्यज अर्गनाइजेसनले तीनकुनेमा पाँचतारे होटेल खोल्न लगानीकर्ता खोजिरहेको छ । यो होटलमा विदेशी लगानीकर्ता भित्राउने सोचाइमा सुरज वैद्य छन् । लक्ष्मी समूह पनि पोखरामा चारतारे होटेल खोलेर पर्यटन उद्योगमा प्रवेश गर्ने सोचाइमा छ ।
बन्दहडताल, श्रम समस्याले उद्योग चलाउने वातावरण बिग्रिएपछि उद्योगीहरू धमाधम व्यवसाय विविधिकरणमा लागेका छन् । उद्योग चलाउन छाडेर ठूला घरानाहरु ट्रेडिङ र पर्यटन व्यवसायमा लगानी गरिरहेका छन् ।
केही वर्षभित्र नेपालमा झन्डै १८ वटा पाँचतारे, दुई दर्जनको हाराहारीमा चारतारे र थुप्रै पर्यटकस्तरीय होटेल सञ्चालनमा आउँदैछन् । भैरहवा विमानस्थल सञ्चालनमा आउँदासम्म मुलुकमा झन्डै चार हजार कोठा थपिने होटेल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्य बताउँछन् । यी कोठा तयार पार्न ५५ देखि ६० अर्ब रुपैयाँ लगानी हुँदैछ ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि होटलमा आकर्षण बढेको हो । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मुलुकमा पर्यटक बढ्ने विश्वास छ ।
होटेलमा पाँच अर्ब लगानी
म्यानुफ्याक्चरिङ उद्योगमा स्थापित मालिराम-शिवकुमार (एमएस) ग्रुपले झन्डै पाँच अर्ब रुपैयाँ लगानी गरी पर्यटन व्यवसायमा आफूलाई परीक्षण गर्दैछ । ठमेलमा यो समूहले बनाइरहेको होटेल आगामी जनवरीदेखि सञ्चालनमा आउँदैछ । ‘लक्ष्य त गएको दसैंदेखिको थियो,’ एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल भन्छन्, ‘अलि ढिलो भए पनि अब दुई महिनामा अपरेसनमा आउँछ ।’
विख्यात होटेल चेन मेरियटको व्यवस्थापन हुने उनको होटेल फोरस्टारस्तरको बिजनेस होटेल हुनेछ । व्यवस्थापन जिम्मा लिएको मेरियटले प्रमुख कार्यकारी नियुक्त गरी परिचालन गरिसकेको छ । होटेलमा लगानी एक अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
नेपाल भित्रिने पर्यटक जानैपर्ने ठाउँ भए पनि ठमेलमा अन्तर्राष्ट्रियस्तरका होटेल छैनन् । ‘ठमेलमा पहिलो अन्तर्राष्ट्रिय होटेल हुनेछ’, उनी थप्छन् । यसले झोलेपोके पर्यटकको थलोका रूपमा बिग्रिदै गएको ठमेलको इमेज परिवर्तन गर्न योगदान पुग्नेछ ।
मेरियटकै व्यवस्थापन हुने गरी एमएसले समूहले नक्सालमा लक्जरी फाइव स्टार होटेल बनाइरहेको छ । यसमा साढे तीन अर्ब रुपैयाँ भन्दा बढी लगानी छ । अबको डेढ वर्षभित्र होटेल सञ्चालनमा आइसक्नेछ । फाइवस्टार होटेलमा क्यासिनो पनि सञ्चालन गर्ने योजना छ ।
नेपालमा मारवाडी समुदायको हस्पिटालिटी व्यापारमा उति रुचि देखिएको थिएन । अग्रवालका अनुसार शाकाहारी, होटेल खोलेपछि मासु सर्व नगरी हुन्न, तारे होटेलमा बिफ पनि राख्नुपर्छ भनेर समुदाय होटेल थाइल्यान्डको पर्यटकीय पूर्वाधार र पर्यटनको आकर्षण देखेर हस्पिटालिटी उद्योगमा लगानी गर्न आकर्षित भएको उनी बताउँछन् ।
लामो समयदेखि होटेलमा ठूलो लगानी भएन मात्र हैन, द्वन्द्वको समयमा कतिपय होटेल बन्द भए । अब स्थिरताउन्मुख मुलुकमा पर्यटक आगमन ह्वात्तै बढ्ने विश्वासमा ठूलो लगानी होटेलमा गरेको उनी बताउँछन् । ‘होटेल व्यवसायमा ग्ल्यामरले पनि मलाई तान्यो,’ उनी थप्छन् ।
मुलुककै ठूलो चिनी उद्योग, हालै केमिकलरहित चिनी उद्योग आदिको लगानीकर्ताका रूपमा जति चर्चा उनको भएको छ, त्योभन्दा धेरै बढी चर्चा होटेलमा लगानी गर्ने घोषणा गर्नासाथ भएको छ ।
नेपालको सबैभन्दा धेरै चिनी उत्पादन गर्ने एभरेस्ट सुगर मिलमा एमएस ग्रुपको लगानी छ । उसको लगानीको हिमालयन सुगर मिलले आउने सिजनदेखि केमिकलरहित चिनी उत्पादन गर्दैछ ।
एमएस समूहको लगानीमा रिलायन्स स्पिनिङ उद्योग सञ्चालनमा छ । तर, हस्पिटालिटी बिजनेसमा प्रवेश गरेको समूह थप लगानी गर्ने योजनामा छ । भक्तपुरमा लक्जरी रिसोर्ट बनाउने सोच छ ।
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.