प्रधानमन्त्री र सरकारसँग

 प्रधानमन्त्री र सरकारसँग


भारत भ्रमणअघि संसद्मा गरेको सम्बोधनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतासामु आफ्नो नेतृत्वमा गठित सरकारका प्राथमिकता घोषणा गरेका थिए । विगतमा झैं प्रधानमन्त्री र यो सरकारका पुराना एवं केही थप जिम्मेवारी छन् ।

स्वास्थ्य सेवाबारे

प्रधानमन्त्री दाहालले जिल्ला-जिल्लामा डाक्टर पठाउने, अस्पतालको ओपीडी समयलाई १० देखि ५ बनाउने घोषणा गर्नुभएको छ । सोही घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले पनि वीरलगायत मेचीदेखि महाकालीसम्मका करिब २० वटा अस्पतालमा परिपत्र पनि गरिसकेको छ ।

तर प्रधानमन्त्रीको यो घोषणा त्यो बेलासम्म सार्थक हुन्न जबसम्म आवश्यक न्यूनतम भौतिक पूर्वाधार, आर्थिक व्यवस्थापन र तालिम प्राप्त उच्च मनोबल बोकेको अनि उत्प्रेरित एवं उत्साहित जनशक्तिबीचको उचित संयोजन या व्यवस्थापन हुन्न ।

त्यो निर्णयलाई कार्यान्वयन गर्नुअघि सम्बन्धित पक्षहरूलाई विश्वासमा लिनुको विकल्प छैन । हेक्का रहोस्, अहिलेसम्म सरकारी चिकित्सक नौदेखि दसको बीचमा सरकारी अस्पतालमा प्रवेश गरी दुई बजेपछि निजी क्लिनिकमा रहने गरेका छन् ।

त्यो अवधिमा निजहरूबाट इमानदारीपूर्वक कर्तव्य पालना भए/नभएबारे सम्बन्धित कार्यालय प्रमुख र जिम्मेवार नियामक निकायले अनुगमन गर्ने, सम्पादित कामको रेकर्ड लिन पनि सक्थ्यो अर्थात् लगबुक पद्धतिको विकास पनि गर्न सक्थ्यो ।

त्यसैगरी भनसुन र आर्थिक चलखेलका आधारमा नभई औचित्यता र विशिष्टताका आधारमा चिकित्सकको सरुवा या पदस्थापना गर्ने पद्धति बसाल्न सकेको भए पनि जवाफदेहिता, जिम्मेवारीपन र उत्तरदायित्वको भावना विकास हुन सक्थ्यो ।

चिकित्सकलाई मात्रै खटाएर या कार्यालयको समयावधि बढाएर मात्रै पनि सरकारी अस्पतालमा न गुणात्मक न त मात्रात्मक सुधार हासिल गर्न सकिन्छ । भूकम्पपश्चात् हचुवा पारामा गाउँगाउँ पठाइएका चिकित्सक उपलब्धिविहीन या प्रयोजनहीन बनेका हुन् । विनातयारी आईसीयू सेवा सञ्चालनार्थ पठाइएका महँगा उपकरण त्यसै खेर गएको स्थिति छ ।

अस्पतालको ओपीडी अवधि र प्रदानित सेवाको स्तर दुवै कुरामा वृद्धि गर्नुपर्ने आवश्यकता छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी प्राक्टिस गर्न नपाउने, अस्पतालमा नै विस्तारित सेवा सञ्चालन गर्ने र सोबापत निजहरूलाई अतिरिक्त आर्थिक सुविधा प्रदान गर्ने कुरा पनि उल्लेख भएको हो । सोको प्रयोजनका निम्ति नियम र निर्देशिका त तयार भइसकेको हो । खै त कार्यान्वयन भएको ?

प्रस्ट छ- चिकित्सकप्रति पूर्वाग्रही र हेय दृष्टि राख्दै व्यावहारिकता र सम्भाव्यताको अध्ययन नगरी सम्बद्ध सेवाप्रदायक र चिकित्सकबीच अन्तक्र्रिया नगरी लाद्न खोजिँदा त्यो कार्यान्वयन हुन सकेन ।

विडम्बना समान तह या श्रेणीका गैरचिकित्सक प्रशासनिक कर्मचारीले पाउने गरेको हैसियत र सुविधा पनि सरकारी चिकित्सकले पाउन सकेका छैनन् । लेखा, अर्थ, दूर संस्थान आदि संस्थामा काम गर्ने कर्मचारीले पाउने सुविधा के स्वास्थ्यकर्मीलाई पनि उपलब्ध गराउनु पर्दैन ?

१०—५ सम्म मात्रै होइन, चिकित्सक त (अझै सीमित संख्यामा मात्रै रहेका ठाउँमा त) चौबीसै घन्टा अनकल पनि बस्नुपर्ने हुन्छ । तर त्यसको उचित व्यवस्थापन गर्ने, नियमन गर्ने र उत्प्रेरणा दिने काम के राज्यको सम्बन्धित निकायको होइन ?

चिकित्सकका न्यायोचित मागको सुनुवाइ गर्दै उनीहरूसँग अन्तक्रिया गरी उनीहरूकै सहमतिमा उनीहरूले एकै स्थान संस्थामा मात्रै काम गर्ने वातावरण बनाउन सकिन्छ । सेवा र समयअनुसारको पारि श्रमिक, हैसियत, आवास सवारीसाधन, उपचार आदि आवश्यकताको व्यवस्थापन गरिदिने हो भने उनीहरूलाई पूर्णकालीन बनाउन सकिन्छ ।

सरकारी चिकित्सकप्रति मन्त्रालयमा गरिने व्यवहार उदेकलाग्दो छ । संविधानमा घोषणा गरिए झैं स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा स्थापित गर्न उपयुक्त ऐनकानुनको तर्जुमा गर्नुपर्नेछ । यसको लागि अन्य मुलुकहरूबाट पनि सिक्न सकिन्छ ।

शिक्षा क्षेत्रमा बजेट वृद्धिको आवश्यकता भन्दा कैयौं सार्वजनिक विद्यालयमा विद्यार्थी र शिक्षकबीच घट्दै गएको अनुपात कसरी बढाउने ? यतातर्फ ध्यान जानु जरुरी छ ।

वास्तवमा सार्वजनिक स्वास्थ्य क्षेत्रमा भारत होइन, श्रीलंका उदाहरण छ, जहाँ सस्तो, निःशुल्क र स्तरीय सेवा प्रदान हुन्छ । यो तथ्यलाई प्रधानमन्त्रीले पनि स्विकारेको अवस्था हो ।

भूकम्प, पुनर्निर्माण र जनकल्याण

भूकम्प गएलगत्तै बसेको संसद्को बैठकमा तत्कालीन प्रतिपक्षी नेता प्रचण्डले सरकारलाई हृदय खुला गरेर, मुठी फुकाएर, थैली खोलेर उदारतापूर्वक भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न सुझाएका थिए ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले भने नगद प्रवाहमा खुकुलोपन नल्याउने र कन्जुस्याईं प्रतीत हुने किसिमको प्रवृत्ति देखाएका थिए । सिद्धान्ततः उनीहरू दुवैमा विरोधाभास देखिएको थियो । माओवादी नेताले नगद प्रवाहमा उदारता देखाउन दलील पेस गर्ने अनि उदारवादी अर्थतन्त्रका पक्षपाती अर्थमन्त्री दुरुपयोग हुने भन्दै नगद वितरण गर्न अनिच्छुक देखिएका थिए ।

निष्पक्षतापूर्वक भन्नुपर्दा दुवै नेताहरूका अभिव्यक्तिमा सकारात्मक र नकारात्मक, व्यावहारिक र अव्यावहारिक जस्ता दुवैखाले प्रवृत्ति या सोचाइ विद्यमान देखिन्थे । नगद मात्रै बाँडेर राहत पुग्ने, कल्याण हुने या पुनर्निर्माण कार्य सम्भव हुन सक्दैन । उल्टो त्यसको सही सदुपयोग हुन नसकी ऋणको भार बढ्ने, अनुत्पादक क्षेत्रमा खर्च हुने र मुद्रास्फीति पनि बढ्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।

गरिब जनताको हितलाई नै एक मात्र ध्येय ठान्नुभएका बीपीका अनुयायी डा. महतले आर्थिक उदारीकरण, बजारमुखी अर्थतन्त्र, वैदेशिक लगानीलाई निःसर्त एवं अनियन्त्रित छुट दिनुमै मुलुकको भलो सम्झे । महतको अर्थनीतिले धनीलाई झन् धनी त बनाउला तर गरिबको कल्याण हुनेमा पंक्तिकारलाई आशंका छ ।

नगद प्रवाहसँगै स्वतः राहत र पुनर्निर्माण पुग्छ भन्ने माओवादी नेताको सोचाइ पनि कालान्तरले गलत सावित हुन सक्छ । माओवादलाई मार्गनिर्देशक ठान्ने पार्टीलाई माओले चीनको पुनर्निर्माणको नेतृत्व कसरी सम्हालेका थिए भन्नेबारे हेक्का हुनुपर्छ ।

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशभित्र आवश्यक तालिम व्यवस्था गरी उनीहरूलाई पुनर्निर्माणमा परिचालन गर्ने व्यवस्था कति गर्न सकियो ? कांग्रेस, एमाले मात्रै होइन, यो अभियानमा हिंसात्मक विद्रोह छोड्दा बेरोजगारसमेत बन्न पुगेका माओवादीका युवा कार्यकर्ता कति परिचालित हुन सके ? आखिर मलेसिया, अरबलगायतका देशहरूमा न्यूनतम ज्यालामा काम गर्न जाने युवालाई स्वदेशभित्र तालिम दिइएर कति रोक्न सकियो ?

भूकम्पपश्चात् थोपरिएको नाकाबन्दीको समयमा गृह र आपूर्तिको जिम्मेवारी पाएको क्रान्तिकारी पार्टीले तत्कालीन समयमा सिर्जित अभाव, कालोबजारी, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न कस्तो भूमिका खेल्यो ?

मानव संकटलाई उचित व्यवस्थापन गर्न किन सकेन ? यसो हुनुमा अक्षमता जिम्मेवार छ कि गलत नियत ? त्यसो भनेर यो पार्टीमाथि दोष थोपर्न भने किञ्चित पनि खोजिएको होइन, तर दसबर्से जनयुद्धताका प्रकट गरिएका वचनबद्धताको स्मरण गराउन खोजिएको मात्रै हो ।

हजारौं भूकम्पपीडितले ओतको अभावमा पानीमा भिज्नु मात्र परेन, जाडोका कहरमा कठ्यांग्रिनुपर्‍यो । यस्तै ढिलासुस्ती र अकर्मण्यता रहे कहिलेसम्म यो नियति भोग्नुपर्ने हो ?

अझै पनि संवेदनशील र क्रियाशील हुन सके पुनर्निर्माण असम्भव छैन । स्थानीय या स्वदेशमै उत्पादित वस्तु या सामग्रीको अधिकतम प्रयोग गरी अनि यथासम्भव स्वदेशकै तालिमप्राप्त जनशक्तिको माध्यमबाट पुनर्निर्माण अभियान सञ्चालन हुनुपर्छ ।

पुनर्निर्माणमा अनुशासित, संगठित र सक्षम सावित भइसकेको अनि जनशक्ति र भौतिक साधनको हिसाबले सम्पन्न नेपाली सेनालाई पुनर्निर्माणमा महत्वपूर्ण भूमिका प्रदान गर्नैपर्छ । पाकिस्तान, अस्ट्रेलियालगायतका देशहरू उदाहरण छन् । काठमाडौं उपत्यकामा नेपाली सेनाले चर्चेको जमिनमा उसैको माध्यमबाट सार्वजनिक सेवाका निर्माण सम्पन्न गर्न सकिन्छ ।

सकभर वैदेशिक सहायताप्रति मुख ताक्नुभन्दा स्वदेशभित्रको र स्वदेशीबाट स्रोत परिचालन गर्नु उपयुक्त हुन्छ ।

शिक्षामा सुधारबारे

सार्वजनिक शैक्षिक संस्थाको सुधारका निम्ति पहिलो सर्त हो, तिनलाइ पार्टीगत राजनीतिबाट मुक्त गर्नु । बजेटको हिसाबले भन्ने हो भने सार्वजनिक विद्यालयमा प्रतिविद्यार्थी खर्च भएको रकम निजी क्षेत्रमा भएको लगानीभन्दा धेरै बढी छ ।

तर नतिजा किन कमजोर हुन्छ ? एउटै शिक्षकले पढाएको निजी र सार्वजनिक विद्यालयको स्तर किन फरक हुन्छ ? कारण खोज्न धेरै दिमाग खियाउनै पर्दैन । शिक्षा क्षेत्रमा बजेट वृद्धिको आवश्यकता भन्दा कैयौं सार्वजनिक विद्यालयमा विद्यार्थी र शिक्षकबीच घट्दै गएको अनुपात कसरी बढाउने ?

यतातर्फ ध्यान जानु जरुरी छ । नियतवश नै सार्वजनिक विद्यालयको स्तर कमजोर बनाउन खोजिएको आरोप लाग्ने गरेको छ । त्यसैले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने र पार्टीगत राजनीतिबाट अलग राख्ने नारा नारामै सीमित भएको प्रतीत हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.