अन्तर्राष्ट्रिय मौरी वैज्ञानिक सम्मेलन
काठमाडौः जलवायु परिवर्तनको असरले अन्य क्षेत्रजस्तै मौरीको उत्पादकत्वमा प्रतिकुल असर परिरहेकाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय मौरी वैज्ञानिक सम्मेलन आयोजना भएको छ ।
सम्मेलनमा जलवायु परिवर्तनको असरले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा केन्द्रित रहेर विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । हाइल्यान्ड एग्रीकल्चर रिसर्च एन्ड डेभलपमेन्ट इन्टरप्राइजेज (हार्डेन) को आयोजना र व्यावसायिक किट विकास निर्देशनालयको सहकार्यमा आयोजित सम्मेलनमा नेपाललगायत चीन, भारत, भेनेजुयला, थाइल्यान्ड, कोरिया, जर्मनी, अमेरिकालगायत ९ वटा मुलुकका मौरी विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
एसियन एपिकल्चरल एसोसिएसनका अध्यक्ष प्राडा सिरिवात वोङिस्रीलगायत विभिन्न एसियाली मौरी विज्ञहरूको सहभागिता रहेको आयोजक संस्था हार्डेनका अध्यक्ष प्राडा रत्न थापाले जानकारी दिए । उनका अनुसार एसियाली मुलुकमा जलवायु परिवर्तनले मौरीमा पारेको प्रभाव, मह उत्पादकत्व बृद्धि र अन्तर्राष्ट्रिय मापदन्डबमोजिम गुणस्तरीय मह उत्पादनका विषयमा सम्मेलन केन्द्रित रहेको थियो ।
सम्मेलन उद्घाटन सत्रलाई सम्वोधन गर्दै चीनस्थित नेपाली राजदूत लिलामणी पौडेलले जलवायु परिवर्तन र विषादीको वढ्दो प्रयोग मौरीपालनका गंभिर चुनौती बन्दै गएको बताए । निर्यात प्रवद्र्धनका लागि गुणस्तरी मह उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।
कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीले जलवायु परिवर्तन र खाद्यन्न बालीमा विषादीको प्रयोगलाई न्यूनीकरण गर्न सकेमा नेपालमा मौरीपालन व्यवसायको भविष्य उज्वल रहेको बताए ।
आयोजक संस्थाका अध्यक्ष प्राडा रत्न थापाले महको प्रवद्र्धनका लागि सबैभन्दा पहिले अन्तराष्ट्रियस्तरको प्रयोगशाला आवश्यक रहेको बताए । सम्मेलनमा एसियन एपिकल्चरल एसोसिएसनका अध्यक्ष प्राडा सिरिवात वोङिस्रीलाई एसियन हनी वि आइकन २०१६ बाट सम्मानित गरिएको थियो ।
उनलाई हार्डेनले एक्लो प्रयासमा एक हजार डलर नगदसहित सम्मानित गरेको जनाएको छ । सम्मेलनको क्रममा रानी मौरी प्रतियोगिता समेत भएको थियो । मिस नेपाल क्विन बी र हनी प्रिन्सेस कन्टेस्ट नाम दिइएको प्रतियोगितामा रानी मौरीबीच प्रतिस्पर्धा गराइएको थियो ।