पर्यटक आउँछन्, मन खिन्न बनाएर फर्किन्छन

पर्यटक आउँछन्, मन खिन्न बनाएर फर्किन्छन

सुर्खेतः बावियाचौर-५ म्याग्दीका नरसिंहबहादुर खत्री २०३० सालमा काम विशेषले सुर्खेत आउँदा काँक्रेविहार पुगेका थिए । भग्नावशेषको रूपमा रहेका काँक्रेविहारका पुरातात्विक वस्तुहरू अलपत्र परेको देख्दा त्यतिबेला उनको मन खिन्न भएको थियो । त्यसको ठिक ४३ वर्षपछि शुक्रबार उनी काँक्रेविहार भग्नावशेष पुगे । यस पटक पनि उनको मन उसैगरी खिन्न भयो ।

सरकारले पर्यटन प्रवद्र्धन गर्ने योजना अनुसार २०७३ साललाइ घुमफिर वर्षको रुपमा मनाइरहँदा सुर्खेतको काँक्रेविहार आउने पर्यटकहरू भने नरसिंहजस्तै खिन्न मन लिएर फर्कने गरेका छन् । नेपालको दोस्रो लुम्बिनीको रूपमा परिचित काँक्रेविहारको पुनर्निर्माण हुन नसकेका कारण पर्यटकहरू मन खिन्न बनाएर फर्कन बाध्य भएका हुन् ।

काँक्रेविहारमा ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरू छन् । जुन अहिले पनि अलपत्र अवस्थामै छन् । काँक्रेविहारलाई पुरानै स्वरूपमा निर्माण गर्ने योजना बनेको १२ वर्षभन्दा बढी समय बितीसक्यो । तर हालसम्म पनि यसको पुनर्निर्माणको काम भने अधुरै रहेको छ ।

१२ वर्षअघि बनाइएको काँक्रेविहार पुनर्निर्माणको योजना अझै पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । एक सय ५ फिट उचाईको मन्दिर निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको पुनर्निर्माण कार्य बीचमै रोकिएको छ । २१ फिट उचाईसम्म निर्माण गरेर काम अलपत्र परेको हो । ‘सरकारले कहिले पर्यटन वर्ष त कहिले घुमफिर वर्ष घोषणा गरिरहेको छ' खत्रीले भने, ‘तर हेर्नलायक काँक्रेविहाजस्ता ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पत्तीहरूको संरक्षणमा भने कुनै ध्यान दिइएको छैन ।'

काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरू निकालिएको थियो । उत्खनन स्थलमा पुरातत्व विभागले २०६१ साल मंसिरदेखि शिखर शैली मन्दिर बनाउन काम सुरु गरिएको थियो ।

पटक-पटक गरेर लाखौं रुपैयाँ खर्च भइसक्दा पनि पुनर्निर्माण कार्यले पुर्णता पाउन सकेको छैन । पछिल्लोपटक सिद्धबाबा कन्ट्रक्सन प्रालिले पुनर्निर्माणको जिम्मा लिएको छ । पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी गत वर्षदेखि पुनर्निर्माणको काम सुरु गरिएको थियो ।

यसका लागि सरकारले ९ करोड ६५ लाख ६६ हजार ६ सय ४१ रुपैयाँ बजेट विनियोजन गरिएको छ । २०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने सम्झौता छ । तर बीचमै काम रोकिएकाले समयमै निर्माण सम्पन्न हुनेमा स्थानीयवासीले आशंका गर्न थालेका छन् । स्थानीयवासी हरी विष्ट पुनर्निमाणको काम सुरु भएपनि अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउँछन् ।

उनले जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्नेमा समेत जोड दिए । काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भएमा मध्यपश्चिमको काँक्रेविहारलाई हेर्न लायक स्थानको रूपमा विकास गर्न सकिने उनको दाबी छ । जतिसक्दो छिटो काँक्रेविहारको मन्दिर निर्माण कार्य सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मन्दिर भएकाले काँक्रेविहारको पुनर्निर्माण सुर्खेतका लागि पनि महत्वपूर्ण हुने स्थानीय डम्मर जीसी बताउँछन् ।

पुनर्निर्माण कार्यमा ढिलाई हुँदा उत्खननका क्रममा भेटिएका पुरातात्विक वस्तुहरू नाश हुन थालेका छन् । बुद्ध मूर्ति र ढुंगामा कुँदिएका कलात्मक सिर्जना छरपस्ट छन् । पुरातत्व विभागले १८ वर्षदेखि उत्खनन गरी मूर्ति र बुट्टा कुँदिएका ढुंगालाई एकत्रित गरेको थियो । काँक्रेविहारलाई अनुमानित पुरानो स्वरूपमा ल्याउने योजना छ ।

जिल्लाको पर्यटन विकासका लागि पनि काँक्रेविहारलाई महत्वका साथ हेर्ने गरिएको छ । काँक्रेविहार हेर्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपनि मन्दिरको पुनर्निर्माण अधुरै रहँदा पर्यटकहरू खिन्न हुने गरेको काँक्रेविहार भग्नावशेषका संरक्षक शेरबहादुर कार्की बताउँछन् ।

उत्खननका क्रममा बुद्धका साथै सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रासमेत फेला परेकाले काँक्रेविहारलाई हिन्दु र बौद्ध दुबै धर्मावलम्बीले आस्थाको केन्द्र मान्दै आएका छन् । तत्कालीन सिन्जा साम्राज्यका राजा अशोक मल्लले विसं १३२५ मा काँक्रेबिहारको निर्माण गरेको अनुमान छ ।

इन्फोः काँक्रेविहार हेर्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपनि मन्दिरको पुनर्निर्माण अधुरै रहँदा पर्यटकहरू खिन्न हुने गरेका छन् ।
क्याप्सन ः
पुनर्निर्माणको क्रममा रहेको सुर्खेतको काँक्रेविहार मन्दिर ।
तस्बिरः अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.