लेसुखोला र सरस्वती प्रिक्वार्टरफाइनलमा
भुजी रामेछापः लेसुखोला लघुजलविद्युत् परियोजना र प्रीतिको सरस्वती युवा क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित हात पार्दै लेसुखोला समूह ‘ए' तथा सरस्वती समूह ‘डी'बाट अन्तिम १६ मा पुगेको हो ।
सोमबार लेसुखोलाले लिखु सुसेलीलाई ४-० गोलअन्तरले पराजित गर्यो । यस्तै सरस्वतीले लिखु भुजी रामेछाप युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्यो । भुजी खेल मैदानमा भएको एकपक्षीय खेलमा लेसु खोलाले चारै गोल पहिलो हाफमा सम्भव बनाएको थियो । लेसुखोलाले खेलमा अग्रता भने आत्मघाती गोलमार्फत लिएको थियो । खेलको ३०औं मिनेटमा लेसुका खेलाडीको प्रहारलाई बचाउने प्रयासमा झपट सुनुवारले बललाई आफ्नै पोस्टमा छिराएका थिए ।
त्यसपछि खेलको ३९औं मिनेछपछि पाँच मिनेटको अवधिमा तीन गोल गर्दै लेसुखोलाले भारी अन्तरको जित पक्का गरेको थियो । लेसुखोलाका लागि खेलको ३९औं र ४४औं मिनेटमा सुरज बस्नेतले दुई तथा अनुप बस्नेतले ४१औं मिनेटमा एक गोल गरेका थिए ।
यस्तै सरस्वतीले पनि दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । सरस्वतीलाई खेलको ३७औं मिनेटमा संगम सुनुवारले १-० ले अघि बढाएका थिए । त्यसपछि ४९औं मिनेटमा रुकुम कार्कीले गोल गरेपछि सरस्वतीको जित २-० ले पक्का भएको थियो ।