भूतपूर्व प्रेमिकाकाे नाममा
पट्यारलाग्दा फुर्सदका दिनमा उदास र एक्लो घडीले गिज्याउन थालेपछि म झ्याल, ढोका, किताब र मोबाइल बन्द गरी ड्यान्सिङ नम्बर बजाउँछु । ध्वनिको ग्राफ जब शतप्रतिशतमा पुग्छ, तब दुर्लभ ऐकान्तिकता र एक्लोपनलाई उत्सवमा कायाकल्प गराउँछु । र, जंगली पारामा शरीर बटार्ने-मर्काउने, उचाल्ने-थचार्ने, घुमाउने-सोझाउने, तन्काउने-खुम्च्याउने आदि/इत्यादि अभ्यास गर्छु ।
यी निजी अभ्यासलाई आधुनिक भाषामा ड्यान्स या योगा भन्न सकिएला । शरीरले अराजक लय पक्रेपछि मभित्रको 'म'बाट केही चिज विस्तारै बहिर्गमन भएजस्तो लाग्छ । निष्कासित चिज के हुन् ? जुनसुकै वृत्ति बगेर गएको होस्, केही समयलाई म हल्का हुन्छु । त्यसैले नाच शारीरिक अभिव्यक्तिमात्र होइन । र, कोठामा आफूलाई एक्लो कैद गर्ने संयोग पर्खन्छु ।
पिकनिक, भोजभतेरमा बिजुलीपानी र गानाबजानाले माहोल रसिक बनाउँदै लगेपछि मेरा गोडा यस्सै-यस्सै सग्बगाउन थाल्छन् ।
गुरुङको पुस्तैनी जोश उमारेर शरीरलाई निष्फ्रिक्री उफारिदिन्छु । पसिनाको उष्णबिन्दु थकित देहको खोल्सातिर पुगेपछि बल्ल नाचबाट वि श्राम लिन्छु । नृत्यको शास्त्रसँग कहिल्यै जम्काभेट भएन मेरो । तर, मित्रगण धाप मार्दै हौस्याउँछन्, 'रबरजस्तै फ्लेक्जिबल रैछ तिम्रो जीउ ।' लाज मान्दै गम्छु, अब लचक भन्नु मनमात्रै छ, तनले त अल्छी-बिसौनामा पिठ्यूँ टेकाउन खोजेको हो कि ?
काँचका पर्दामा नाचको कायापलट नियाल्ने सहज सुविधा उपलब्ध छ हामीसँग । पछिल्लो पुस्ताले नाचको व्याकरण नै अदलबदल गरिसक्यो । तिनको नृत्यमग्न चामत्कारिक प्रयोग हेरेर किस्ताबन्दीमा छक्क परिरहन्छु । तर, नृत्यभन्दा संगीत नजिक लाग्छ मलाई । कसैले भावको रिदमभित्र गाएको देखेँ भने मेरो आँखामा सन्तुष्टिको रस सल्बलाउन थाल्छ । अनि आफैं तर्कना गर्छु, मेरो आँसु सन्तुष्टिको प्रतिफलनमात्र हो कि आफूले गाउन नसकेको असली कुण्ठाको मौन अभिव्यक्ति ? सायद क्याथर्सिसको चरणमा पुग्छु त्यो बेला ।
गतिलो नृत्य हेर्दा मनमा ईष्र्याजस्तो पलाएर आउँछ । तर, त्यसको प्रभाव लामो समयसम्म टिक्दैन, जसरी संगीतको आरोह-अवरोहले पछ्याइरहन्छ । लाग्छ, सहोदर विधा हुन् संगीत र नृत्य । संगीत-प्रेम त घटेकै छैन । सायद आजीवन अभिन्न छ मसँग संगीत । श्रोताकै तहमा रहे पनि संगीतको ऊर्जा र साथ अतुलनीय छ । नाचचाहिँ मबाट दूर जाँदैछ या ऊसँग म जोगिएर भाग्दैछु । तर, नाचसँग जोडिएका छिर्केमिर्के यादहरू छातीको देब्रे खल्तीमा सुरक्षित छन् । ती बेलामौका बिनासन्दर्भ उघ्रिरहन्छन् ।
...
पहिलोपल्ट देखेको नाच कुन थियो ? कसको नाचले मनतातो प्रभाव पार्यो ? यकिनसाथ भन्न सक्दिनँ । ४ कक्षा पढ्दा कुनै घन्टीमा शिक्षकको उक्साहटमा मसिनो दुबोको गलैंचामा टेकेर पहिलोपल्ट नाचेको दृश्य सम्झँदा अहिले पनि मनमा सरमको लर्को लाग्छ । वृत्ताकार बसेका साथीहरूको तालीबीच बाटोछेउैको चौरमा नाच्दा मेरो अनुहारमा कतिवटा रङको मि श्रण थियो होला ?
नयाँ-नौलो कुराप्रति चासो पल्लवित हुँदो त्यो उमेरमा मैले संकोचको पिँजडाबाट साहसको बचेरालाई स्थानीय आकाशमा विस्तारै उडाइदिएको थिएँ । आँट त उड्यो भुर्रर । तर, कोमल प्वाँखको गुदगुदीचाहिँ पोल्टामै अल्झियो । साथीहरूले ईष्र्यापूर्ण तारिफ गरे । एक गुच्छा स्यावासीले मेरो काँध थपथपाउँदै वीरबहादुर गुरुङ सर बोले, 'अब सांस्कृतिक कार्यक्रममा पनि नाच्नुपर्छ । जिल्लास्तरीय प्रतियोगितामा पठाउँछु ।' साहसको सहज पुनरावृत्तिले हामीमा आदतको विकास गराउँदो रहेछ । आदत एक रोमाञ्चक रोग रहेछ, जो नाफाघाटाको गणना पन्छाएर पुनरावृत्तिको भ्रमणमा रमाइरहन्छ ।
उदांगो आँगनदेखि बार्दलीको एकान्तसम्म एक्लै नाच्ने आदत बस्यो । लाग्थ्यो, 'कक्षामा पनि मादल बजाइदिए हुन्थ्यो । नाच्न पनि मलाई नै डाकिदिए हुन्थ्यो । बरु एकछिन नकारको भावमा भाउ खोज्दै मुन्टो हल्लाउँथँे । सरले तानेपछि या साथीहरूले धकेलेपछि जीउ गह्रुँगो बनाउँदै जान्थेँ । र, हलुकासित नाच्थेँ ।' यस्तो काल्पिनिकी एकाधपटक यथार्थमा पनि उत्रिएको थियो ।
नाच्न पाएको खुसीबाहेक पनि कक्षा ४ अनेक कोणबाट रमाइलो लाग्दै थियो । अंग्रेजी अक्षरसँग औपचारिक चिनापर्ची यतै भयो । छुट्टै कोठामा पहिलोपटक पढ्न यहीँ पाइयो । थोत्रो भए पनि डेक्स-बेन्च प्रयोगको अवसर यहीँ जुर्यो । १ देखि ३ कक्षाका विद्यार्थी एउटै हलमा चिलाउनेको लामो टिम्बामाथि आफ्नो कलिलो नितम्ब टेकाएर पढ्थे । हामी ४ कक्षामै हुँदा तनहुँका वीरबहादुर गुरुङ सर आएका थिए । क्षेत्री-बाहुन र मधेसी समुदायका सरहरूको अनुहारमा कसोकसो परायापनको छायाँ सल्बलाएझैं लाग्थ्यो । हुन त लक्ष्मी मिस गुरुङ नै थिइन् ।
उनी मेरो मामाकी छोरी भएकोले यसैउसै निकट थिएँ । हामीलाई गुरुङ सर अझ आत्मीय र रमाइलो लाग्नुमा भाषा र अनुहारमात्र पर्याप्त कारण थिएनन् । उनी यति रसिक थिए, विद्यार्थी नचाउन आफैं नाचिदिन्थे । गुरुङ सरले नै हो, मलाई नाचको वर्णमालाको ककनन पढाएको ।
त्यो बेला जाडो महिनामा शैक्षिक सत्र परिवर्तन हुन्थ्यो । सत्रको अन्त्यतिर नै सरहरू गीत तयार पार्ने कुरा गर्दै थिए । कहिले रेडियोतिर बज्ने गीत नै छनोटमा पथ्र्यो, कहिले रिमिक्स गरिन्थ्यो त कहिले नयाँ गीत लेखिन्थ्यो । गीतमा प्रायः हिमाल, नेपाल आमा, विद्यार्थी हामी कोपिला, भविष्यको कर्णधार, देश उठाउनु, फूल फुल्नु, विकास, पढिलेखी ज्ञानी बन्नुजस्ता शाब्दिक पत्र उन्नु-बुन्नु अनिवार्यझैं मानिन्थ्यो ।
ती शब्दका वास्तविक गहिराइ र ऐतिहासिकताबारे शिक्षकगण नै कति जानकार थिए भन्न सक्दिनँ । तिनै निर्जीव शब्दलाई शारीरिक हाउभाउबाट अभिव्यक्त गर्ने बाल-प्रयत्नलाई नृत्य-प्रतियोगिता भनिन्थ्यो । वाद्यवादनको नाममा मादल र खैंजडी हुन्थे । थाहा छैन, निर्णायकको कुर्सीमा कस्तो चेतनास्तरका मनुवा उपरखुट्टी लाएर बसेका हुन्थे ? र, कुन मापदण्डको सौन्दर्यशास्त्रले श्रेणी- श्रेणीका बिल्ला भिराउँथे ?
४ कक्षामै हुँदा आफू सांस्कृतिक कार्यक्रममा भाग लिन चाहेको कुरा आमालाई बताएको थिएँ । तर, आमाले अनिच्छापूर्वक भनिन्, 'तिमारु नाच्नी मत्तै हो । पैसा पुरुस्कार कल्ले खान्छ खान्छ । गरिप्लाई आउनी पैसा नि तरुनीहरलाई दिन्छ । नाचेर के हुन्छ ? ' मलाई थाहा थिएन, छात्रवृत्ति कसलाई कुन आधारमा दिइन्थ्यो ? तर, मेरो उत्साहको दियोमा आमाले एक घैंटो पानी खन्याइदिएझैं लाग्यो । सरिक हुने लोभको धुकधुकीचाहिँ बाँकी नै थियो ।
भूतपूर्व प्रेमिका हो नाच जसलाई चौरस्तामा भेट्दा चिठीपत्रकालीन श्यामश्वेत झझल्कोले अचेट्छ । बोलूँबोलूँ लाग्छ । तर, शब्द निख्रिसकेका हुन्छन् । विगत कोट्याउन खोज्छु, गन्थन बढी भइदिन्छ । जसै ऊ कुनै घुम्तीबाट ओझेल पर्छ, म बेढंगको निजी तालिकामा फर्कन्छु ।
फासफुस जाने पुसको कुनै एक दिन ५ कक्षाको हाजिरी कापीमा मेरो नाम लेखियो । र, नाथ्रीसम्मै वासना पुग्ने नयाँ किताबको चाङ मेरो हातमा पर्यो । एक मिनेटको दूरीमा उभिएको घरमा किताब थन्क्याएर स्कुल फर्किएँ । नाच्ने विद्यार्थीको छनोट चलिरहेको कक्षामा उत्साहित पाइलासहित प्रवेश गरेँ । र, तीक्ष्ण आँखाले गुरुङ सरलाई खाजेँ । कोठाको छेउकुना कतै पनि उनलाई नदेखेपछि निराश भएँ । मलाई विश्वास थियो, गुरुङ सरले मलाई छनोट गर्छन् । अनुमान गरेको थिएँ, गीत पनि उनैले लेखेको हुनुपर्छ । तुरुन्तै ओइलाएको मनले भन्यो- बाहिर जाऊ ।
ढोकानेर पुग्नेबित्तिकै मेरो पाखुरामा कसैले दरोसँग समात्यो । फर्किहेर्दा आफ्नो अगाडि 'सिङ' सरलाई देखेँ । विद्यार्थीका लागि भयानक विम्ब थिए उनी । प्रायः सुकिलो सेतो सर्ट लगाउने उनी बाक्लो कालो जुँगामा ताउ लगाइरहेका हुन्थे । बोली पनि साह्रै रूखो र मोटो थियो उनको । जहिल्यै हातमा छडी लिने सरको खास नाम भागवतप्रसाद सिंह भए पनि हाम्रो लागि 'सिङ'मात्र थिए उनी ।
मानौं, उनी सधैं हान्न तयार छन् । उनी अफिसमा चर्कोचर्को स्वरमा अरू सरसँग बोलेको सुनिन्थ्यो । रेडियो नाटकमा गुञ्जिने रावणीय अट्टहास र उनको हाँसो समवयीझैं लाग्थ्यो । अगाडि त सबैले उनलाई मास्टरकै आदर गर्थे । तर, हाम्रो एकांगी पहाडे-मनोविज्ञानमा उनी मास्टरमात्र थिएनन्, 'मदिसे' पनि उत्तिकै थिए । उनले कुनै निहुँमा मेरो साथी राजुलाई पिटेछन् । राजुकी हजुरआमाले निकै ठूलो ढुंगा लिएर सरलाई लखेटेको घटना ताजै छ स्मृतिमा ।
मेरो पाखुरा समात्नुमा सरको कुनै बदनियत थिएन सायद । उनी मलाई नचाएर छनोट गर्न चाहन्थे । उनले मलाई डोर्याएर अगाडि लगेर नाच्न अह्राए । नाच्ने मनोकांक्षा साँचेर पुगेको म अनायास अटेरी बनेर बसेँ । किन हो किन, नाच्नै मानिनँ ।
मलाई लाग्छ, गुरुङ सरको अनुपस्थिति, आमाको सन्देहात्मक प्रश्न र 'सिङ' सरको डरलाग्दो विम्बको त्रिकोणात्मक ओदानमुनिबाट आएको रापले अटेरीपनलाई पकाएको थियो । सिंह सरले आफ्नो स्वभावगत कठोरपनलाई बलियो बनाउँदै मलाई थर्र्र्काइरहे । कन्सिरीका रौं तान्दै हुकुमी शैलीमा नाच्न निर्देशन दिए । मैले आँखा र नाकबाट तरल विरोध जनाइरहेँ । छुटकारा पाउन अन्तिम अस्त्र प्रयोग गरेँ, डाँको । घर पुगेको एकाध घन्टासम्म डाँकोको लम्बाईले विश्राम लिएन ।
युवाजोडी गीतमै माया लाउँथे, बिहे गर्थे, सन्तान उत्पादन गर्थे र न्वारान गर्थे । रोधी-यामको अँधेरीमा जवानीको राँको बालेर मायाको गोरटो खोज्थे धेरैले । कतिले मूल बाटो पक्रन्थे । र, घरजमको टुंगोमा पुग्थे । कतिका दियालो कोदोबारीको छेउकुनामै निभ्थे ।
त्यो साँझ आमा बेस्सरी भुत्भुताइन् सर र स्कुलको नाममा । बालसखा विजयले सुझायो, 'अब यो स्कुलमा नपढ्नी हामी । डाँडागाउँ जानी पढ्न । मेरो हजुरमाको घर पनि तीँ छ ।' उसले पनि केही चरणमा सत्तोसराप गर्यो । मैले राहत महसुस गरेँ । भोलिपल्टैदेखि हामी डाँडागाउँ जान थाल्यौं । सिमेन्ट पोतिएको सेतो भित्ता र नीलो इनामेलले रंगिएको झ्याल हेरेरै दंग परेँ म । ठूलो स्कुलमा पढेको फोस्रो अभिमान चार दिन पनि टिकेन ।
नयाँ स्कुल आउजाउ गरेको चौथो दिन कुप्रिएपछि आँगनमा सिंह सर टुप्लुक्क आइपुगे । र, कराउन थाले मलाई । देशमा पुरानो सत्ता क्षीण हुँदै गएर नयाँ शक्ति र संगठनहरूको तापमान बढेको बेला शिक्षकहरू कुनै परिवर्तनकारी दलसँग सम्बन्धित थिए होलान् । नत्र प्रधानपञ्च पत्नीको झम्टाइ भेटिसकेका सिंह सरको चुरीफुरी घट्ने थियो कि ? सर बोल्न थाले, 'भोलिदेखि स्कुल आउने खुरुक्क । होइन भने सब किताब फिर्ता गर्ने ।' घरमा म एक्लै थिएँ ।
आँगनवरपर छिमेकी जम्मा भएका थिए । ती निरक्षरजनसँग न उपयुक्त चेतना थियो न बोल्नका लागि पर्याप्त शब्द । अपमानबोध भएपछि सिंह सरविरुद्ध सुनेजानेजति सबै गाली बर्साउँदै रोएँ । र, बार्दलीमा उफ्रिँदै आफ्नो नाम कोरिएका किताब छानाबाट हुर्र्याइदिएँ ।
मेरो मानसिक भूगोलमा ससाना पहिरो चलिरह्यो । कहिले आफ्नै अटेरीपनलाई काखी बजाउँदै खुच्चिङ भन्न मन लाग्थ्यो, कहिले सिंह सरको रवाफिलो शैली सम्झेर आक्रोशको आगो बल्थ्यो । याद छैन— कसले, कहिले, कहाँ, कसरी कुराको लयदार मार्गमा पाइला चाल्यो ? म फेरि पुरानै स्कुलमा पूर्ववत् फर्किएँ । र, जिल्लास्तरीय सांस्कृतिक कार्यक्रमका लागि छानिएँ ।
लामो अभ्यासपछि जाडोको एक बिहान हाम्रो स्कुले टोली प्रतियोगिताका लागि गाउँबाट ओर्लियो । पारि कालिकास्थान हाम्रो गन्तव्य थियो । जंगलको बाटोतिर उक्लिएपछि मोटरगाडी चढ्ने हाम्रो लोभले पनि स्याँस्याँ गर्न थाल्यो । भीरको कोखा कोपेर जन्मिएको साँघुरो बाटो उक्लँदा सबैभन्दा सकस 'घोम्बाको डल्ला'लाई भएको थियो । पुगनपुग तीन फिट उचाइ भए पनि उसको उमेर र शरीरचाहिँ धेरै छिप्पिएको थियो । उसको खास नाम के थियो कुन्नि । तर, उसलाई सबै घोम्बाको डल्ला भन्थे । गुम्बा अपभ्रंश भएर घोम्बा भएको अनुमान सहजै गर्न सकिन्छ ।
सांस्कृतिक कार्यक्रममा उसको भूमिका थियो, मादले । दर्शकहरू मादलको तालभन्दा उसको शारीरिक भाषा पढेर मनोरञ्जन लिइरहेझैं लाग्थ्यो । सायद शिक्षकहरू पनि उसको फरकपनको प्रयोग गरी निर्णायकको भावनालाई आफूतिर नुहाउन चाहन्थे । बीस प्रतिशतजति उकालो काटेपछि मादले त सिंह सरको पिठ्यूँमा पो चढेर मुसुमुसु हाँस्यो । डाँडोको टुप्पोसम्मै केटीहरू खितखित गर्दै थिए । तर, पसिनाको धारलाई सुतीको रुमालले पुछ्दै गरेका सिंह सरले मादलेमात्र बोकेका थिएनन्, मेरो नजरमा उनी आदर्शको हिमाल पनि एकसाथ उक्लिरहेका थिए । मेरो मस्तिष्कको शिलालेखमा छापिएका पूर्वविम्ब विस्तारै धमिलो हुँदै थियो ।
जीवनकै पहिलो नृत्य प्रतियोगिता भएकाले ममा अनौठो रोमाञ्चकता सवार हुँदै थियो । नर्भस पनि थिएँ । अनुभवी अग्रज र शिक्षकका अनेक सूत्र दिमागमा खेलाउँदै पनि थिएँ । अन्ततः आफ्नो समूहमा मिसिएर म स्टेज चढेँ । सानो कदको भएकोले म अग्रभागमै उभिएँ । गायनका लागि छात्रा टोली पृष्ठभागमा कापी पल्टाएर बसेका थिए । अच्चमलाग्दो कुरा— महिना दिन अभ्यास गर्दा पनि दस हरफे गीतको पाना किन पल्टाउन लगाएका हुन् ?
'देशको अनुहार बदल्ने' गीत गाउने कलिलो आत्मविश्वासलाई एउटा कापीमा कैद गर्नु जायज थियो त ? मादलको पहिलो घिन्ताङमा निहुरिएर दर्शकदीर्घालक्षित जम्लाहात गर्यौं, दोस्रो घिन्ताङमा दुवै हात कम्मरमा अड्यायौं । तेस्रो घिन्ताङपछि मादलले ताल नफेरेसम्ममा ख्याली-बिटमा क्रमशः दायाँ-बायाँ गोडा मिलाउँदै गोलाकार पूरा गर्यौं । त्यसपछि त शब्दको लय पछ्याउँदै शारीरिक हाउभाउलाई मूर्त बनाउन तल्लीन भयौं । अभ्यासमा सिकिएका स्टेपलाई हुबहु उतार्ने कोसिस गर्यौं । नाचको स्टेप प्रायः सहभागीको उस्तै थियो ।
हामीले थुप्रै विधामा बाजी मार्यौं । प्रमाणपत्र र पुरस्कार उचाल्न सरहरू अघि सरे । भूमेदेवी निमाविको नाम बारम्बार दोहोर्याइयो । तर, औपचारिक रूपमा हाम्रो नाम उच्चारण गरिएन । हाम्रा आँखाहरूले मिहिनेत र समयको हिस्सा खोजे । तर, कोही कसैले पनि मुखको ताल्चा खोलेनौं । फर्कंदाखेरि मादले बोक्ने सिंह सर थिएनन् । मादलेको हविगत चित्रण गर्ने श्लील शब्द व्यूत्पति भएकै छैन सायद । जितको जवान उमंग त छँदै थियो । तर, मेरो कानमा आमाका निरस शब्दहरू पनि गुञ्जिँदै थियो ,'नाचेर के हुन्छ ? '
...
नृत्यकारमा औपचारिक रूपमा नाम दर्ता भएपछि स्कुल र स्कुलबाहिर नाच्ने क्रम निरन्तर चल्यो । मेरो जोडा थियो, विजय गुरुङ । केटी जोडीहरू भने परिवर्तन भइरहे । मनले खोजेको जोडीसँग नाच्न पाउँदा अनुहारमा चहकिलो घाम लाग्थ्यो । नत्र रुँदेको आकाशले ऐँठन गथ्र्यो मलाई । जोडी जस्तोसुकै परोस्, नाच्न पाउँदा सब थोक बिर्सन्थेँ । अलिकति तारिफको साथ थियो, अलिकति सामाजिक फैलावटको रंगीन मोह ।
घर बस्दा, गोठालो हिँड्दा, घट्ट पुग्दा, पौडी जाँदा मेरो अनिवार्य मित्र थियो रेडियो । त्यो मित्रले मलाई कहिले गीत गाउन लगाउँथ्यो, कहिले मस्त नाच्न अह्राउँथ्यो । मेरो कचिलो फूर्तिफार्ती देखेर आमा उमेरकी छिमेकी भाउजूले भद्दा गाली पोखिछन्, 'भुइँबाट छुटेको छैन, हातमा रेडियो लिएर उफ्रिन्छ त्यो । त्यसले एसएलसी पास गर्यो भने आफ्नै मुत्ने चाट्छु म ।' गानाबजानासँग लसपस नगरेको आफ्नो छोरो एसएलसीमा उत्तानो परी लडेपछिको आक्रोशपूर्ण कुण्ठा पोखेकी थिइन् ती भाउजूले ।
त्यस्ता कुण्ठा र गुनासोलाई 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ'को भाकामा घाममा सुकाउँदै हिँडेँ । गुरुङ सरको प्रशिक्षणमा स्काउटको बफादार सिपाही भएर नाच-शृंखला अझै बाक्लो बनाइयो । अनेरास्ववियुमा संगठित भएपछि पनि पुरानै ढर्राको नाचले प्राथमिकता पायो । प्रगतिशील कला-संस्कृतिबारे अखिल पनि बेखबर थियो । यी गोडा रसुवाका अनेक स्कुल-प्रांगणमा नाच्न पुगे । डाँडागाउँ, पैरेगाउँ, खड्गु, कुवापानी, कालिकास्थान, बोगटीटार, धुन्चेमा भएका सांस्कृतिक कार्यक्रमका धूमिल चित्रहरू वैयक्तिक गाडधनजस्तो लाग्छ ।
...
नाचको सन्दर्भ उप्किँदा तिथिमिति निधो नभएको एउटा दुब्लो दृश्यले स्मृतिको झ्याल ढकढकाउँछ । छिमेकी पिँढीमा अनौठो 'डिस्को डानस' हेरेका थियौं । गाउँबाट निकै हिउँद-वर्षा बेपत्ता भएको 'चाउरे' झुल्किएको थियो लाहुरे अवतारमा । बेलीबटम पेन्टमाथि लेदर ज्याकेट लगाएको लाहुरेले कालो चस्माले यथेष्ट लाज छोपेको थियो । बडेमानको क्यासेट प्लेयरमा गीत बज्दै थियो, 'तु चिज बडी है मस्त-मस्त !'
कुनै षोडषीलाई तामाङ पहलमानहरूले लतार्दै-घिसार्दै-घचेट्दै-बोक्दै लगेको दृश्यको रमिते बन्थ्यौं । मन परेकी युवतीलाई श्रीमती तुल्याउने त्यो काइदा बढी नै जोखिमपूर्ण थियो । अनुहार उही, मान्छे उही भए पनि नाच्ने तामाङ्नी र पहलमानहरूको घेरामा परेकी तामाङ्नीभित्रको युवती फरक देखिन्थ्यो । मलाई चाहिँ निर्धक्क नाच्ने उनै युवती नै सुन्दर लाग्थ्यो ।
दर्शकका सम्मोहित आँखाको भाका बुझेर लाहुरे अर्को गीतमा 'डानस' मार्यो, 'धड्कने चुराने लगा, जरा जरा !' सिनेमाको स्वाद नपाएका अबोध गाउँलेका लागि ऊ नायकतुल्य हुनु अनौठो थिएन । उसको लोभलाग्दो डानसको चर्चा टोलटोलमा हुन थाल्यो । एकान्तमा म पनि कल्पना गर्थें, लाहुरेजस्तै नाचेको । गाउँकी एक युवती भगाएपछि उसको डानस-यात्रा गृहस्थीको माकुरीजालमा अड्कियो । र, हामीले पनि उसको लचकदार देहमा गोविन्दा र अक्षयकुमार आरोपित गर्न छाडिदियौं ।
...
दिनले आफ्नो उज्यालो अनुहार पश्चिमी डाडाँपछिल्तिर लुकाएपछि गाउँले ठिटाठिटी रोधी-आँगनमा झुल्किन्थे । घाँसदाउरा, मेलापातको सनातन थकान मेट्न एकअर्कामा जुहारी चलाउँथे ती । पहाडी जीवनमा श्रमको उदात्तीकरणसँग पनि जोडिएको हुँदो हो नाच । उनीहरूको नाचको लवजले मायाप्रेमको अपिल गर्ने नै भयो । सुनिन्थ्यो, नाचगानको रन्कोले छोपेपछि सात दिन-सात रात अनिँदो बस्न सक्छन् ठिटाठिटीहरू ।
मेरा बाले जुहारीको जोशमा आफूले बजाएको मादल फुटेको पनि पत्तै पाएनछन् । भ्वाङ परेको मादलले स-सानो लफडा निम्त्याएको मसिनो सम्झना छ । दोहोरी हेर्दाहेर्दा हामीलाई धेरैको नाच्ने भंगिमा कण्ठस्थै हुन्थ्यो । युवाजोडी गीतमै माया लाउँथे, बिहे गर्थे, सन्तान उत्पादन गर्थे र न्वारान गर्थे पनि । रोधी-यामको अँधेरीमा जवानीको राँको बालेर मायाको गोरटो खोज्थे धेरैले । कतिले मूल बाटो पक्रन्थे । र, घरजमको टुंगोमा पुग्थे ।
कतिका दियालो कोदोबारीको छेउकुनामै निभ्थे । रोधीमा अनेकका विविध नाच हेरियो, कहिलेकाहीँ आफैं पनि नाचियो । तर, दर्शक बन्नुको रोमाञ्च नाच्नुमा थिएन । दर्शकले नै चाल पाउँथ्यो, कसको नाचले कसलाई ताकेको छ ? कति युगल आँखाहरू इशाराको डोरीमा झुन्डिएर लुसुक्क डुबे नग्न आकाशको दहमा ? नाचको रौनक चरमोत्कर्षमा पुगेको बेला दर्शकदीर्घाको मुलायम पछ्यौरीभित्र गुप्ती सम्बन्धको हातेमालो कसिलो हुन पनि सक्थ्यो । कुरकुरे बैंसको पासोमा अल्झिएर मैले पनि त्यस्ता गोप्य भव्यतालाई भोगचलन गरेँ कि !
दसैंतिहारको बेला पनि तन्नेरीगण दोहोरीकै तानाबानामा व्यस्त हुन्थे । उता बूढापाका मारुनी नाच्नमा मस्त हुन्थे । उसो त देउसीभैलोको नाच उमेर र लिंगअनुसार फरक हुन्थ्यो नै । मारुनी नाचका लागि मादल नै मोटोघाटो खालको हुन्थ्यो । मारुनी नाच्ने पुरुषले महिलाको पहिरन लगाएका हुन्थे । कहिलेकाहीँ गुरुबा या मादलेले शरीरमा कम्प छुटाउँथे । कामेको जीवात हेर्दै कसैले भन्थ्यो, 'देउता चढ्यो ।' रक्सी र अन्धविश्वासयुक्त भ्रम चढेकोबारे कसले बताइदिने ? गुरुबाले भट्याएपछि गर्रा टोलीले गीतलाई अगाडि बढाउँथे ।
'सीता रानी वनैमा'बाहेक कुनै हरफ याद छैन अहिले मारुनी गीतको । जति मारुनी फेरिए पनि नाचको सूत्र फेरिएको देखिएन । गीतमात्र होइन, नाच पनि शास्त्रीयझैं भान हुन्थ्यो । हामीले 'बूढाखारा'को नाचगान ठानी उति वास्ता पनि गरेनौं । यस्तो नाचमा कहिल्यै रस लागेन मलाई ।
हाम्रो गाउँमा हुने नाचमध्ये घाटुचाहिँ विशेष थियो । बुद्धपूर्णिमासँग जोल्ठिएर आउने हरेक जेठ पूर्णिमामा हुने नाचमा दुई कन्याले तीन दिनसम्म आँखा चिम्लेर नाच्थे । एकाध साता अघिदेखि नै अभ्यास गर्ने घाटुमा गाउँका बालवृद्धवनिता सबै सक्रिय हुन्थे । मिथमा आधारित सतीघाटुसँग अनेक अन्धविश्वास पनि यसरी गाँसिएका थिए, 'घाटुसारीले आँखा चिम्लेर नाचेको बेला छेउको ठूलो ढुंगाभित्र सुनको घोडा, लठ्ठी र मान्छे देख्छन् ।
गीतको गेडा गडबड भएमा सती गएकी रानी घाटुसारी यथार्थमै मर्छिन् ।' राजारानीका रूपमा नाचिने घाटुसारीको विशेष पहिरन हुन्थ्यो भने गुरुबा-गुरुआमाहरू पनि परम्परागत पोसाकमा हुन्थे । कथाको मोडअनुसार नाटकीय शैलीमा मृग, सिकारी र कुकुरको मुकुन्डो लगाई अभिनय गरिन्थ्यो । दुई पूर्णिमामा फलामको घन्टा बजाउँदै कुकुरको भूमिका निभाएँ मैले पनि । जति दिन हेरे पनि घाटुसारीको नाच उस्तै धिमा गतिको देखिने हुँदा मलाई साह्रै अल्छी लाग्थ्यो ।
बच्चा बेला जेठपूर्णिमा बेलुन, मिठाई, चुँइगम, जेरी, सिठ्ठी, घाटुसारी, नयाँ लुगा, भीडभाड, पाहुनाको पाइला आदिको बहुप्रतीक्षित कोलाज बनेर आउँथ्यो । अलि जवान भएपछि नयाँनयाँ युवतीको पोल्टामा हालिदिने चाउचाउका प्याकेट भएर जान थाल्यो जेठपूर्णिमा । कुनै वर्ष ठूलो झगडा परेन भने गाउँलेहरू भन्थे, 'यसपालिको जात्रा राम्रो भो ।' यही जात्रामा देख्न पाइन्थ्यो अनेक नाच ।
ब्राह्मणको सानो टुकडी कुनै कुनामा खैंजडीसहित 'हरि ! हरि !' भन्दै बालन नाचिरहेका पनि भेटिने सम्भावना उत्तिकै हुन्थ्यो । साँझ छिप्पिएपछि तामाङ युवकयुवती झुण्डझुण्डमा हातेमालो गर्दै 'मेन्ह्दोमाया'मा गोडा बजारिरहेका हुन्थे । कहिलेकाहीँ यिनै झुण्डकी कुनै षोडषीलाई तामाङ पहलमानहरूले लतार्दै-घिसार्दै-घचेट्दै-बोक्दै लगेको दृश्यको रमिते बन्थ्यौं हामी । मन परेको युवतीलाई श्रीमती तुल्याउने त्यो काइदा बढी नै जोखिमपूर्ण थियो होला । अनुहार उही, मान्छे उही भए पनि नाच्ने तामाङ्नी र पहलमानहरूको घेरामा परेकी तामाङ्नीभित्रको युवती फरक देखिन्थ्यो । मलाई चाहिँ निर्धक्क नाच्ने उनै युवती नै सुन्दर लाग्थ्यो ।
...
साथीजस्तो दाइ राकेशको संगतमा डुबेपछि नाचसँगको मेरो सम्बन्ध चिसियो । छ्यामाको छोरो भएकोले राकेशसँगको संगतमा मलाई पारिवारिक गुनासो थिएन । म उसलाई आफ्नो आदर्श ठान्थेँ । उसका दुई महालत थिए— गीत र फेसन । सहरका पैसावाल साथीहरूसँगको उठबसको नतिजा थिए ती लत । उसकै कोठामा हो मैले 'कामना', 'साप्ताहिक', 'वेभ' पढेको । सुन्दर अक्षरमा उसले थुप्रै गीत डायरीमा सारेर राखेको थियो । नेपाली पप गीतको इन्साक्लोपेडियाजस्तै थियो ऊ ।
मोहित चौहानको सिल्क रोडकालीन गीतदेखि शंकर महादेवनको ब्रेथलेससम्म उसकै अँध्यारो कोठामा सुनेको हुँ । बब मार्ले र जिमी ह्यान्ड्रिक्सका अजंगका पोस्टर उसकै भित्तामा देखेँ पहिलोपटक । संगीतलाई गम्भीर ढंगले सुन्न उसैले सिकायो मलाई । हामी दाजुभाइले सम्भवतः संगीत र युवतीको कुरा धेरै गर्यौं । फेसनको चर्चा गर्ने मेरो ल्याकत थिएन, नाचको कुरा गर्ने उसको रुचि थिएन । फर्किहेर्दा लाग्छ— राकेशको सामीप्यमा नाचमात्र छुटेन, समाचार-शृंखलाको हात पनि छुटेछ ।
सहर छिरेपछि कला केन्द्र धाउने साथीसँग लामै संगत गरियो । अलिअलि डान्स स्टेप पनि सापटी लिइयो । र, भुलियो पनि । अचेल आधुनिक नाचका मायावी छायासँग जम्काभेट हुन्छ कहिलेकाहीँ । ती छायाको अनुकरण गर्ने हुत्ती रित्तिसकेछ । लाग्छ- भूतपूर्व प्रेमिका हो नाच जसलाई चौरस्तामा भेट्दा चिठीपत्रकालीन श्यामश्वेत झझल्कोले अचेट्छ । बोलूँ-बोलूँ लाग्छ । तर, शब्द निख्रिसकेका हुन्छन् । विगत कोट्याउन खोज्छु, गन्थन बढी भइदिन्छ । जसै ऊ कुनै घुम्तीबाट ओझेल पर्छ, म बेढंगको निजी तालिकामा फर्कन्छु । ऊसँग आक्कलझुक्कल जम्काभेट त चलिरहेछ ।