डान्सिङ डियो
नृत्यको क्षेत्रमा लागेको पाँच दशक बितिसक्दा पनि राधेश्याम प्रधान र नारायणदेवी प्रधानको यात्रा अझै रोकिएको छैन । हिजोआज पनि नृत्यसम्बन्धि विभिन्न कार्यक्रममा भाग लिन उनीहरुलाई भ्याइन नभ्याई छ । उमेरले ६ दसक पार गरिसक्दा पनि केही महिना अगाडि अष्ट्रेलियामा भएको एक कार्यक्रममा निर्णायक बन्दा आफूहरुले पनि स्टेजमा छमछमी नाचेको यी जोडीले बिर्सेका छैनन् ।
पाटन र काभ्रेका यी दुईलाई एक आपसमा चिनाउने र जीवनसाथीसम्मको यात्रा तय गर्ने माध्यम बन्यो नृत्य । कुरा २०२१ सालको हो । तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा त्रिवर्षिय योजनाअन्र्तगत कलाकार तालिम शुरु भएको थियो । काभ्रेको बनेपामा नाँच्ने केटी नपाइने हुनाले सानैदेखि केटीको भूमिकामा नाँच्दै हिँड्ने राधेश्याम र आमा दिदीले मन नपराएपनि दाइको सहयोगले केटाको भूमिकामा नाँच्दै हिँड्ने नारायणदेवी पनि तालिममा भाग लिन पुगेका थिए ।
तीन वर्षसम्म चलेको उक्त तालिममा बालकृष्ण सम, यज्ञराज शर्मा, माधवप्रसाद घिमिरे, मृगेन्द्रमान सिंह, मिली हल्डर , केबी टन्डनलगायतले विभिन्न कक्षा लिएका थिए । तालिममा समले विशेषगरी नवरस सिकाउथे । विभिन्न नृत्यअनुसार कलाकारको अनुहारमा कस्तो भाव झल्कनु पर्छ भन्ने नै समको विषय थियो । दुईतिर गाडेको बाँसमा माथिबाट पाइप बानेर त्यसमा हिँडेर सन्तुलन मिलाउन समेत समले सिकाएका नारायणदेवीले बताइन् ।
त्यतिबेला समको लेखन र निर्देशनमा तयार भएको नाटक प्रल्हाद र पृथ्वीनारायणमा आफ्ना गुरुका साथमा उनले पनि अभिनय र नृत्यको अवसर पाएकी थिइन् । भेषभुषा र मेकअप पनि उनकै घरमा गएर गर्थे कलाकारले । त्यतिबेला जम्मा ११ वर्षकी नारायणदेवीलाई नेपाली राम्रो बोल्न आउने थिएन । त्यसैले समले नेवारी गीत मात्रै नभई शेर्पा, भोजपुरीलगायतका सबै भाषाका गीतलाई पहिले नेपालीमा अनुवाद गराएर मात्रै कलाकारलाई नाँच्न लगाउँथे । तर गीतको लय र भेषभुषा भने मौलिक संस्कृति अनुसारकै हुने गथ्र्यो ।
२०२४ सालमा तालिम सकिएपछि नारायणदेवीले नाँचघरमा जागिर खाइन् । करारमा जागिर खानेले सातामा दुई दिन सुक्रबार र शनिवार गए पुग्थ्यो । गएपिच्छे ५० रुपैंया पारि श्रमीक पाइन्थ्यो । तर त्यहाँका जागिरेको महिनामा दुई सय मात्रै तलब हुन्थ्यो । त्यसैले उनलाई पनि त्यहाँ जवरजस्ति जागिर खुवाए । करिव दुई वर्षपछि पहिले प्रज्ञामा तालिम लिएकालाई त्यहाँ जागिरका लागि आउन सुचना प्रकाशित भयो ।
त्यतिबेला नाँचघरमा समका छोरा जनार्दन सम निर्देशक थिए । तर यता प्रज्ञामा सम आफैले बोलाएपछि नारायणदेवी, राधेश्यामलगायतका कलाकारहरु प्रज्ञामा नै गए । २०२६ सालदेखि प्रज्ञाको कर्मचारीका रुपमा देशविदेशमा विभिन्न खालका नृत्यहरु प्रस्तुत गर्दै २०६४ मा राधेश्याम र यसको चार वर्षपछि नारायणदेवीले जागिरबाट अवकास पाए ।
प्रज्ञामा तालिम र जागिर पाएपछि पनि करिव १० वर्षसम्म यो जोडीको त्यति बोलचाल हुने थिएन । ‘सँगसँगै नाँच्ने गथ्र्यौं , तर बोल्दै नबोल्ने’ राधेश्यामले भने । पछि दुवैले एक अर्कालाई जीवनसाथी बनाउने निधो गरेपछि पनि नारायणदेवीको परिवारबाट ठूलो अवरोध भयो ।
नाच्ने केटाले कसरी जीवन धान्छ, उसले के कमाएर खुवाउँछ भन्दै छोरीको सम्बन्धलाई परिवारले स्विकारेन । धेरै वर्षको पर्खाइपछि मात्रै उनीहरुको विवाहमा परिवार राजी भएपछि ३२ साल वैशाखमा उनीहरु वैवाहिक जीवनमा बाँधिए । स्टेजमा नृत्य प्रस्तुत गर्नु बाहेक राधेश्यामले केही चलचित्रमा नृत्य निर्देशन समेत गरे । नारायणदेवीले भने ठूलो र सानो पर्दाको गरी ३५ भन्दा बढीमा अभिनय र नृत्य गरेकी छन् ।
उनले नृत्य गरेको पहिलो चलचित्र माइतीघर हो । यसको शिर्ष गीतमा उनलाई देख्न पाइन्छ । त्यतिबेला पनि निर्देशकले जम्मा ६ वटा गीतमा सुटिङ गरेर जम्मा त्यही एउटा गीत मात्रै चलचित्रमा समावेश गरेका उनले बताइन् ।
विवाह पछि समाज त के नारायणदेवीका आफ्नै जेठाजुले पनि अब नाँच्न पर्दैन घर सम्हालेर बस भनेका थिए । तर पति नै यही क्षेत्रका भएपछि उनीहरु कुनै डर भएन । दुवैले एक अर्कालाई साथ र सहयोग दिएकै कारण आजसम्म पनि यही क्षेत्रमा निरन्तर लाग्न सकेका छन् । उनीहरुले प्रायः जसो लोक नृत्य नै गर्थे ।
नेपालमा चलेका हरेक किसिमका लोक नृत्यका पारखी रहेका प्रधान दम्पत्ति चर्या, अपेरा, ब्यालेलगायतका नृत्यमा पनि उत्तिकै पारंगत छन् । ब्याले गर्दा कहिलेकाहीं तीन घण्टासम्म पनि एउटै गीतमा नाँचिरहनुपर्ने हुँदा पनि त्यो ताका नृत्यप्रतिको साधनाले गर्दा पटक्कै थकान महशुस नहुने उनीहरुले बताए ।
नारायणदेवीको ब्याले नाच देखेर बरिष्ठ कलाकार लैनसिंह वाङ्देलकी पत्नीले समेत आफूलाई ब्यालिरिना उपनामले बोलाउने गरेको उनले सम्झिइन् । उनले पहिलोपटक बिजयबहादुर मल्लले लेखेका कुमारीको कथामा ब्याले प्रस्तुत गरेकी थिइन् । २०२७ सालमा प्रज्ञाप्रतिष्ठानको भवन उद्घाटनको समारोहमा उक्त ब्याले देखाइएको थियो । कुमारीले किन विवाह नगरेको भन्ने विषयबस्तुमा उक्त ब्याले केन्द्रित थियो ।
करिव सवा घण्टाको ब्यालेमा उनले ‘ननस्टप’ नाँचेको नाचै गरेकी थिइन् । त्यसमा पनि बीचबीचमा एक मिनेटको अन्तरालमै विभिन्न पोशाक परिवर्तन गर्नुपर्ने हुँदा त्यो ब्याले निकै चुनौतिपूर्ण रहेको उनले बताइन् ।
त्यसपछि माधवप्रसाद घिमिरेको ‘सकुन्तला’ नामक गिती नाटकमा पनि उनले दुई घण्टाको ओपेरा गरेको थिइन् । २०२९ सालमा तत्कालिन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा भारतको राजधानी नयाँ दिल्लीमा भएको एक कार्यक्रममा कुमारीको नृत्य गर्दा गुरुले लगाइदिएको नागको एक मालाले आफूमा वास्तबिक कुमारी चढेको पनि उनले अझै याद आउँछ ।
नेपालको शास्त्रिय नृत्यको रुपमा परिचित चर्या नृत्यमा पनि यी दुवैको नाम कहलिएको छ । त्यसैले त उनीहरुलाई नृत्यका पारखीले चर्या नृत्यकार भनेर पनि सम्बोधन गर्थे । चर्या नृत्यका विभिन्न रुपहरु जस्तै पन्चबुद्ध, मन्जु श्री, भैरवकाली, आर्यतारालगायतका सबै नृत्यमा उत्तिकै निपूर्ण छन् उनीहरु । राधेश्यामलाई भने भोजपुरी नृत्यका लागि सबै सम्झन्छन् ।
उनले राजाको जन्मोत्सवका अवसरमा काजमा २०४५ सालसम्म करिव २० वर्ष नेपाल प्रहरी क्लबमा कलाकारलाई भोजपुरी नृत्य सिकाए । भोजुरी गीतमा धेरै चटकपटक, नयाँ नयाँ स्टेप र त्यसमा पनि गोपाल योन्जनको संगीतका गीत भएपछि सबै हुरुक्कै हुने गरेका राधेश्यामले सुनाए ।नेपालमा चलेका प्रायः सबै नृत्यमा ज्ञान हुनुको एउटै कारण यी दम्पत्तिले गर्ने कडा मेहेनत नै हो ।
विभिन्न नृत्यका बारेमा सैदान्तिक ज्ञान लिनुका साथै यो मैले गर्नैपर्छ र सिक्नैपर्छ भन्ने चोखो भावनाका साथ आफूले नृत्य रिहर्सल गर्ने गरेको उनीहरुले बताए । स्वर्गिय पं. होमनाथ उपाध्यायले तबला बजाउँदा नारायणदेवी एउटा गोलो चक्कामा बसेर नाँच सिक्न थाल्छिन् ।
आफूले लगाएको एक सरो घाँगर पसिनाले पुरै भिजेर त्यो पसिना नाचेको चक्कामा समेत नझरेसम्म उनी नाँचिरहन्थीन् । त्यतिबेला पं. उपाध्यायले जिस्क्याएर ‘अब यी फुच्चीहरुले सक्दैनन् की क्या हो’ भनेको पनि उनलाई अझै सम्झना छ ।
लामो समय धैर्य र साधना गरेर लागे मात्रै कलाकारिताको क्षेत्रमा टिक्न सकिने उनीहरुको अनुभव छ । गीत र नृत्यमा रिमिक्स समयको माग भए तापनि मौलिक साँस्कृतिक पहिचानलाई पनि बिर्गान नहुने यी कलाकारको बुझाई छ ।
देउसी भैलोमा पनि विकृति आएकोमा गुनासो गर्दै नृत्यको क्षेत्रका जिउँदो इतिहासका रुपमा रहेका प्रधान दम्पत्तिले भने, ‘एकैछिनको रमाइलोलाई हेरेर हुँदैन, आफ्नो संस्कृति र मौलिकता जोगाए मात्रै हामी नेपालीको पहिचान जोगिन्छ ।’