महाकवि देवकोटाको आशुकवित्वः एक अभिशाप

महाकवि देवकोटाको आशुकवित्वः एक अभिशाप

प्रवेश

महाकवि लक्ष्मीप्रसाद देवकोटा (विसं १९६६–२०१६) नेपाली साहित्यकाशमा देदीप्यमान एक अमर नक्षत्र हुन् । आधुनिक नेपाली कविताको पहिलो पुस्ताका परिष्कारवादी र शास्त्रीय सिर्जनात्मक धारा तथा सुधारवादी–राष्ट्रवादी चिन्तनधाराका कविहरू लेखनाथ पौड्याल, धरणीधर कोइराला र बालकृष्ण समपछिको दोस्रो पुस्ताका रूपमा रोमान्टिक सिर्जनात्मक धारा र मानवतावादी, राष्ट्रवादी तथा प्रगतिवादी चिन्तनधारा लिएर नेपाली काव्यधाराको सिंगै एक चौथाइ शताब्दीको नेतृत्व गर्न सफल सशक्त कवि हुन् महाकवि देवकोटा ।

आफ्नो जीविकोपार्जनका लागि केही समय शिक्षण पेसा अँगाले पनि, अनि बेलाबखत राजनीतिका छालहरूमा उत्रन र डुब्न पुगे पनि उनको जीवनका क्रियाशील वर्षहरूमा उनी मूलतः साहित्य–सेवा–साधनामा समर्पित रहे । अठारौं शताब्दीको उत्तरार्ध र उन्नाईसौं शताब्दीको पूर्वार्धको अंग्रेजी रोमान्टिक काव्यधारालाई प्राचीन पूर्वीय जीवनदर्शन तथा समसामयिक नेपाली परिप्रेक्ष्यसँग सामञ्जस्य प्रदान गरी उनले साहित्यको साधना गरे ।

काव्य सर्जकका रूपमा बहुमुखी प्रतिभाशाली भए पनि उनी मूलतः कवि हुन् र निबन्धकार हुन् । यिनै दुई विधामा उनी विशिष्टताको अग्रिम स्थानमा उभिएका छन् भने एक कथाकार, नाटककार, उपन्यासकार र समालोचकसमेत देखिए पनि ती विधामा उनको विशिष्ट एवं अग्रगण्य स्थान देखिँदैन । यसैबाट उनको विधागत सीमांकन भएको छ ।

महाकवि देवकोटाको स्रष्टा व्यक्तित्वको सर्वाधिक चर्चित पक्ष के हो भने उनी अजस्र भावप्रवाहमा प्रबल एवं द्रुततर गतिमा कलम चलाउने कवि हुन् । अत्यन्त तीव्र वायुवेगमा काव्यरचना गर्ने संसारकै इनेगिनेका प्रतिभाहरूमा देवकोटाको नाम आउँछ । उनको कलममा बाढी र खहरेको वेग थियो, छाँगाबाट हाम्फाल्दै अघि बढ्ने छहराको गति थियो । अघि बढेपछि रोकिन नजान्ने देवकोटामा पुराणका दुई चर्चित पात्र- व्यास र गणेशको अनौठो सामञ्जस्य थियो । 

यस्ता अनवरत, अवि श्रान्त, दु्रततर प्रवेगमा कलम चलाउने सामथ्र्यका सर्जकलाई अाशुकवि भनिन्छ । अाशुकविकै एक अवस्था र तह हो-घटिकाशतक जो एक घडी (२४ मिनेट) मा सय श्लोक लेख्न सक्षम मानिन्छ । देवकोटालाई घटिकाशतक बन्ने रहर थियो र आफ्नो अाशुकवित्वमा थोरैधेरै गर्व पनि थियो । दस दिनमा तीन सयभन्दा केही बढी पृष्ठको ‘सुलोचना’ महाकाव्य होडबाजीका रूपमा लेखिसिध्याएका विजयी देवकोटाले सुलोचनाको भूमिकामा लेखेका छन्, ‘एक घन्टामा स्वागतमा ४५ श्लोक जुद्ध सडकमा मोटर दगुरेझैं दौडेँ, कविताले मलाई टिपेर लग्यो ।

शार्दूलविक्रीडितमा ३५ श्लोक कुदे, अनुष्टुप्मा मैले गनिनँ । मेरो २५ वर्षको कविताको तपस्या थियो, म श्लोकमा कुरा गर्न सक्छु, दिनभरि श्लोकमा फतफताइरहन सक्छु । तब दस दिनमा एउटा महाकाव्य किन नबनोस् ?


अधैर्य, असंयम र योजनाविहीन हडबडीका साथ लेख्नाले देवकोटाका अधिकांश रचना फितला, असंगठित र अपरिस्कृत बन्न पुगेका छन् । यो महाकविको अाशुकवित्वले सिर्जेको समस्या हो ।


यतिमात्र होइन, देवकोटा अलि जिस्किएर भनौं वा असाधारण विजयले अलिक उन्मत्त भएर भन्छन्, ‘अझ होड गरेको थिइनँ सायद एक दिनभरिमा एउटा (महाकाव्य) लेख्न सक्छु कि भन्नेसमेत मलाई आशा छ । ...मैले कल्पनाको कार्चोपीमा, छन्दको दौडमा बेअडान पंक्तिहरू हवाईजहाज कुँदाएर (उडाएर हो कि ? –लेखक) यो काव्य निर्माण गरेको छु ।’

नेपाली समालोकहरू र भारतीय समीक्षक महापण्डित राहुल सांकृत्यायनसमेतले देवकोटालाई छुनासाथ उनको आँसशुकवित्वको भुरीभुरी प्रशंसा गर्न बिर्सेका छैनन् । हुन पनि लय, छन्द, भाव र विषयसन्दर्भमा सम्बद्ध भएर असाधारण गतिमा नवनव सिर्जना गर्नसक्नु एक व्यक्तिको मात्र होइन मानव सभ्यताका दसौं हजार वर्षकै विशेष उपलब्धि मान्नुपर्छ ।

यस अर्थमा महाकवि देवकोटा असाधारण सामथ्र्यका काव्यपुरुष हुन् । अाशुकवि भनेर औपचारिक उपाधि शम्भुप्रसाद ढुंगेलले पाए पनि स्वयंसिद्ध अाशुकवि लक्ष्मीप्रसाद नै थिए ।

देवकोटाको अाशुकवित्व स्वदेश र स्वजातिका लागि मात्र होइन, मानवजातिकै लागि गौरव र प्रशंसाको विषय त भयो तर स्वयं देवकोटाको काव्ययात्रामा उनको अाशुकवित्वको भूमिका कस्तो रह्यो ? कविको यो विलक्षण शक्ति आफ्नै काव्यात्मक ओज, गरिमा र प्रभावकारिताका लागि कति उत्पादर र कति प्रत्युत्पादक भयो ? कवि स्वयंले आफ्नो अाशुलेखन क्षमताको उपयोग/दुरुपयोग के गरे ?

महाकविको काव्यप्रतिष्ठामा आँसशुकवित्वले अग्रगति वा गतिरोध के दियो ? यसतर्फ पर्याप्त विवेचना भएको छैन । नेपाली साहित्यका अगुवा समीक्षकहरूले देवकोटाको अाशुकवित्वले उनको काव्यसिर्जनामा ल्याएका व्यवधानको हल्का संकेतसम्म गरेर त्यसलाई कविको विलक्षण खुबीका रूपमा प्रशंसा गर्नमै तल्लीन भएका छन् । नेपाली काव्यजगत्का भावकहरूका प्राप्यशामा अाशुकवित्वले उभ्याएका अप्ठ्यारा पर्खालहरूबारे खास चर्चा भएको छैन ।

महापुरुष कोही पनि दिप्यपुरुष हुँदैनन्, जतिसुकै असाधारण गुणसामथ्र्य भए पनि अन्तिम विश्लेषणमा उनीहरू पनि मानवीय गुणदोषयुक्त मानव नै हुन् भन्ने प्रस्थापनाबाट समीक्षा गर्ने काम थोरैमात्र भएको छ ।

 

त्यसमा पनि महाकवि देवकोटा जसको कवित्वले मात्र होइन, व्यक्तित्वले पनि नेपाली जनमनमा श्रद्धा र प्रेमको स्थान लिएको छ, उनको अाशुकवित्वको नकारात्मक पक्ष केलाउनु नौलो र असजिलो कार्य (सायद धृष्टता पनि) भएको छ । तर पनि समीक्षा क्षेत्रका महारथीहरूले मात्र होइन भर्खर पाइला चाल्नेहरूले पनि कायरता, अन्योल र सम्मोहनलाई आफ्नो साधनाकक्षको बाहिरै राखेरमात्र क्रियाशील हुनुपर्छ ।


 देवकोटाको अाशुकवित्वः


महाकवि देवकोटा असाधारण गतिप्रवाहमा कविता लेख्थे । नेपाली साहित्यमा आधुनिक मान्यताअनुरूपको महाकाव्यको अभाव मेटाउने उद्देश्यले थालनी गरेको ‘शाकुन्तल’ महाकाव्य (२००२ साल)को लेखन उनले तीन महिनामा पूरा गरे, त्यो पनि जागिरे जीवनका बीचमा ‘राति राति बसेर फुर्सतमा ।’ (शकुन्तलाको भूमिका) ।

शाकुन्तलजस्तो महाकाव्य तीन महिनाबीचको फुर्सतका क्षणहरूमा लेखिसक्नु सामान्यतया विश्वासलाग्दो थिएन, नेपाली भाषानुवाद परिषद्का राणाहाकिमले झन् पत्याएनन् । उक्त महाकाव्य तीन महिनामा लेखिएको थियो भन्ने विश्वास दिलाउन उनले दसै दिनमा अझ साठी घन्टामा तीन सयभन्दा केही बढी पृष्ठको ‘सुलोचना’ महाकाव्य लेखे । उनको ‘कुञ्जिनी’ खण्डकाव्य (२००२) एक रातको उपज मानिन्छ ।

‘घटिका शतक’ बन्ने धुनमा लेखिएको ‘अाशु’ शोककाव्य असी मिनेटमा ९३ श्लोकमा लेखिएको थियो । निरन्तर यस काव्यमा उनको लेखन प्रतिमिनेट एक दशमलव १६ श्लोक वा ५१ सेकेन्ड प्रतिश्लोक देखिन आउँछ । शाकुन्तल महाकाव्यको प्रयोजनका लागि उनले सरस्वती सदन घन्टाघरको एक कोठामा बसेर शिखरिणी छन्दमा साठी श्लोक जम्मा दुई घन्टामा रचना गरेको घटना पनि स्वयंमा महत्वपूर्ण छ ।

कोही कविता माग्न आयो भने उनी हातमा चुरोट लिएर एक प्रवाहमा कविता पूरा गरिदिन्थे । दार्जिलिङ घुम्न गएको समयमा एक बसाइमा कैयौं व्यक्तिलाई कविता लेखिदिएको घटना पनि स्मरणीय छ । जब उनलाई कविता लेख्ने सुर चढ्थ्यो, त्यस बेला उनी भोक र प्यास बिर्सन्थे, न नाकबाट सिँगान झरेको ख्याल गर्थे न त सल्काएको चुरोट जल्दै आएर औंला पोलेको वा खसेको ठुटो चुरोटले काम्लो सल्किएको ।

देवकोटा कविमात्र नभई कथाकार पनि थिए । कथा पनि उनी भावनात्मक द्रुतगतिमा लेख्ने भन्ने उनका कथाका पाठकहरू अनुमान गर्न सक्छन् । अझ, पत्रिकाका लागि कथा माग्न आएका सम्पादकलाई बसालेर श्रुतिलेखन गराएर पठाएको प्रसंग पनि चर्चायोग्य छ । यसरी कथा लेखाएको शंकर लामिछानेले आफ्नो निबन्धमा उल्लेख पनि गरेका छन् । साहित्यबाहेक देवकोटाको मन भुल्ने अर्को अभिरुचि केही थिएन । साहित्यमा पनि उनी सुस्त हिँड्न होइन, बेतोड कुद्नमात्र जान्दथे ।

महाकवित्व र अाशुकवित्व

एक महाकवि आफ्नो लेखनमा अाशुकवि हुन पनि सक्छ र नहुन पनि सक्छ, यस्तै एक अाशुकवि साहित्यिक गुणस्तरका दृष्टिले महाकवि हुन पनि सक्छ र नहुन पनि । वाल्मीकिभन्दा व्यास बढी अाशुकवि देखिन्छन् तर व्यासको ‘महाभारत’भन्दा वाल्मीकिको ‘रामायण’ बढी काव्यात्मक ठहर्छ । फारसी महाकावि फिरदौसीले आफ्नो विश्वविख्यात महाकाव्य ‘शाहनामा’ (६० हजार श्लोक) ३५ वर्ष लगाएर रचना गरेका थिए ।

महाकाव्य लेख्ने धोको पूरा गर्न समलाई ३७ वर्ष लागेको छ । टोल्स्टोयले आफ्नो विश्वप्रसिद्ध महाकाव्यात्मक उपन्यास ‘युद्ध र शान्ति’ छ वर्ष लगाएर पूरा गरेका थिए । यस क्रममा कतिपय अध्यायलाई उनले सातपटकसम्म परिष्कार गरेका थिए ।

अंग्रेजी साहित्यका अद्वितीय महाकवि मिल्टनको महाकाव्य ‘प्याराडाइज लस्ट’ पनि वर्षौंको साधनाको उपज थियो । कविताको रूप संरचना र वस्तुविन्यासको विशिष्टतलाई हेर्दा महाकवि कालीदासका दुई कहाकाव्य ‘रघुवंश’ र ‘कुमारसम्भवम्’ पनि अाशुकवित्वका उपज होइनन् भनेर दह्रो अनुमान गर्न सकिन्छ । बरु नेपालका कवि शिखरनाथ सुवेदी आफ्नो समकालीन बालकृष्ण सम र लेखनाथ पौड्यालभन्दा द्रुतगतिमा रचना गर्दथे तर उनका पद्यमा लेखिएका शिखरभाव्य र थरगोत्र प्रवरावली कविता बन्न सकेनन् ।

हाम्रो जिब्रो एक धावक घोडाजस्तै हो, जति छिटो कुद्छ त्यति थोरै भारी बोक्छ । किसानले हलो छिटो चलाउनु छ भने फाली धेरै धस्दैन, गहिरो जोत्नेले गोरुलाई ढिलो हाँक्नुपर्छ । सांगोपांगो र गम्भीर विचार गर्नेले हतारमा काम गर्न कठिन हुन्छ । एक प्रतिभाशाली महाकविको कवित्व अवश्य नै एक महान् र गम्भीर काम पनि हो । कविमा निहित अाशुकवित्वले काव्ययात्रामा उत्साह थप्नसक्छ तर त्यसले काव्यात्मक उत्कर्षतिर लैजान्छ नै भन्न सकिन्न ।

कविको कवित्वको मूल्यांकन गर्दा अमूक कवि अाशुकवि थियो वा थिएन अथवा फलानो काव्य फलाना कविले कस्तो गतिमा लेखेको थियो भन्ने खासै महŒवको विषय बन्दैन । भाव, विचार र कलाको उच्च-उत्कृष्ट सामञ्जस्य छ वा छैन भन्ने नै मुख्य विषय हुन्छ ।

कुनै महाकविले आफ्नो अाशुलेखनलाई काव्यकारिताको अनुकूल साधन बनाउन सक्छ भने राम्रै हो तर अाशुकवित्वले महाकाव्यत्वलाई बिथोल्नुभन्दा बरु अाशुकवित्व नहुनु नै बेस हुन्छ । महाकवि देवकोटाको सन्दर्भमा अाशुकवित्व अनेकौं साहित्यिक दुर्घटनाको कारण बन्न पुगेको छ ।

अाशुकवित्व र देवकोटाको काव्यरचना

उपलब्ध सामग्रीका आधारमा भन्नुपर्दा देवकोटोले फुटकर कविता छ सय ४४ (डा. कुमारबहादुर जोशीका अनुसार), खण्डकाव्य ३५ ( डा. महादेव अवस्थीका अनुसार) तथा पूर्णअपूर्ण, प्रकाशित र अप्रकाशित तथा विभिन्न भाषामा गरी आठवटा महाकाव्य लेखेको देखिन्छ । उनका अनेकौं रचना र अपूर्ण कृतिहरू उनको आफ्नै र परिवारको समेत असावधानीको कारणले हराएको पनि देखिन्छन् ।

कविताबाहेक दुई निबन्धसंग्रह ‘लक्ष्मी निबन्धसंग्रह’ र ‘दाडिमको रूखनेर’, पद्यनाटक ‘सावित्री–सत्यवान’, अपूर्ण उपन्यास ‘चम्पा’, एउटा कथासंग्रह ‘लक्ष्मी कथासंग्रह’, केही समीक्षात्मक रचना र अनुवाद ग्रन्थहरू पनि उनले लेखेका छन् । देवकोटाका रचनाहरूको यो यात्रा विलियम सेक्सपियरका ३७ नाटक, ११ वटा लामाछोटा कविता र एक सय ५४ सिनेटका तुलनामा त्यति ठूलो संख्या होइन ।

हाम्रै नेपाली सेक्सपियर बालकृष्ण समका नाटक, एकांकी, निबन्ध, कथा र कविताकृतिको तुलनामा पनि त्यो संख्या असाधारण रूपले ठूलो होइन । स्मरणीय के छ भने ती दुवै साहित्यिक महारथीहरू अाशुकविका रूपमा परिचित प्रतिभा होइनन् ।

यो तुलनाबाट के देखिन्छ भने देवकोटाको २५ वर्षको साधनाकालमा अर्थात् प्रथम कविता ‘पूर्णिमाको जलधि’को प्रकाशन (१९९१ मंसिर १५) देखि मृत्युपर्यन्त (२०१६ साल भदौ २९)को अवधिमा एक समर्पित, लगनशील र प्रतिभासम्पन्न साधकबाट काव्यकृतिहरूको त्यति परिमाण सिर्जना हुनाका लागि कुनै विशेष अाशुकवित्व वा द्रुततर प्रवाहपूर्ण लेखनको अनिवार्यता हुँदैन, धैर्य, संयम र योजनाबद्ध लगनशीलता भए स्वाभाविक गतिमा लेख्न सकिने संख्या हो । बरु अधैर्य, असंयम र योजनाविहीन हड्बडीका साथ लेख्नाले देवकोटाका अधिकांश रचनाहरू फितला, असंगठित र अपरिस्कृत बन्न पुगेका छन् । यो महाकविको अाशुकवित्वले सिर्जेको समस्या हो ।


‘सुलोचना’ महाकाव्य लेख्दा (विसं २००२ मा) देवकोटा ३६ वर्षका थिए । उक्त काव्यको भूमिकामा देवकोटाले लेखेका छन्- मेरो २५ वर्षको तपस्या थियो । एक संस्मरणात्मक निबन्धमा आफूले १० वर्षको उमेरदेखि कविता लेख्न थालेका जानकारी देवकोटाले दिएका छन् । कलेजमा पढ्दा हप्ताको २/३ दिन घरैमा बसी कविता लेख्ने गरेको पनि देवकोटाले जनाएका छन् ।

मूलतः दसदेखि पच्चीस वर्षसम्मको डेढ दशक देवकोटाको समर्पित पूर्वाभ्यासको अवधि थियो । यस अवधिमा उनले सशक्त अभिव्यक्तिको सिद्धि हासिल गरेका थिए जसले उनलाई जीवपर्यन्त साथ दिइरह्यो । जहिलेसुकै, जहाँसुकै र जस्तो अवस्थामा पनि अनुभूति र अभिव्यक्तिको त्यो सशक्त प्रवाहमा उनी गतिमान हुन सक्थे ।

तर आफूले आर्जन गरेको द्रुततर प्रवेगका कारणले अर्को प्रवृत्ति पैदा भयो- उनी अधीर र असंयत भए । लेख्न बस्दा सधैंभरि उनलाई ‘हामफाल्न्को हड्बडी’ (शाकुन्तल, प्रथमसर्ग) भइरह्यो । चाहेर पनि उनी पछाडि फर्किन र अडिएर विचार गर्न नसक्ने भए । आफ्नो अाशुलेखनप्रति स्वयं देवकोटा त्यति सन्तुष्ट हुन सकेनन् । उनले लेखे-
‘भाषा भासिन जान्छ भासहरूमा दौडेर चाँडो अलि
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कली
बत्ती फूलसमान शब्दरुका जान्नन् धपक्कै बली...।’

हत्पती र हडबडीमा गहकिलो सिर्जना गर्न कठिन हुने देवकोटाले महसुस गरेका छन् । ‘सुलोचना’ महाकाव्य लेखेर कीर्तिमान कायम गरेका देवकोटाले सोही काव्यको भूमिकामा लेखेका छन्, ‘यसमा खहरेको वेग थियो । बाढी आएको बेलामा पानी जरुर धमिलो भएकै होला... चाँडै विचार गर, छन्दमा कुद । तब विचार कसरी गहिरो होस् ? छिपछिपे नै होला यहाँ । ...छरितो छनाइलाई समय पो कहाँ थियो र ? ’

वास्तवमा खहरेको वेग, बाढी र खरायोको दौडका कारणले ‘सुलोचना’ महाकाव्यमात्र होइन देवकोटाका दर्जनौं खण्डकाव्य र झन्डै छ सय फुटकर कविता अपरिस्कृत, अपरिमार्जित, असन्तुलित र अपरिपक्वसमेत बन्न पुगेको तीतो सत्य हाम्रा सामु छ ।

देवकोटाका महाकाव्यहरूमा सर्व श्रेष्ठ नै मानिने ‘शाकुन्तल’ रचना भइसकेपछि कवि लेखनाथ पौड्यालले पढे । देवकोटीय कल्पनाको असाधारण उडान देखेर चकित पर्ने पौड्याल देवकोटाको अभिव्यक्ति (सम्प्रेषण कला)मा परिमार्जन र कलात्मक कुँदाइका प्रशस्त सम्भावना देखेर त्यति सन्तुष्ट हुन सकेनन् । उनले शाकुन्तलबाट केही श्लोक टिपी तिनैलाई अझै थोरै श्लोकमा परिस्कृत रूपमा प्रस्तुत गरे ।

स्वंय देवकोटा आफ्नो शिल्पगत अपर्याप्तता देखेर लज्जित बनेको प्रसंगले अाशुकवित्व कलात्मक समृद्धिमा बाधक बन्न पुगेको स्पष्ट हुन्छ । यसको अर्थ के होइन भने उनमा शिल्पगत दक्षता र कलात्मक क्षमता कम थियो । उनको काव्यराशिभित्र पसेर केलायौं भने यस्ता सयौंसयौं स्थान भेटिन्छन् जहाँ देवकोटा भावना, कल्पना र कलाको उच्च शिखरमा पुगेका छन् । देवकोटाको २६ वर्षको उमेरमा लेखिएको ‘मुनामदन’का सयौं पंक्ति यसका साक्षी छन् ।

तर भएको के छ भने लेखनको द्रुततामा देवकोटीय कला सुसंगठित हुन र खारिन पाएको छैन, पुञ्जीभूत भएर माझिन पाएको छैन, छरिएको छ, छित्रिएको छ, असन्तुलित भएर फैलिएको छ ।
देवकोटा भावनाको प्रबल आवेगमा प्रवाहित भएर लेख्दथे । विषयवस्तुलाई सुचिन्तित, सुविचारित र सुव्यवस्थित रूपमा संयोजन नगरी भावावेगमा जेजस्तो र जति भाव र विचार समेटिन्छ त्यो त्यस्तै र त्यति मात्रामा प्रस्तुत गर्ने उनको बानी थियो । काव्य गगनमा आफ्नो दिव्य उडान सुरु गर्नुअघि एक प्रतिष्ठित साधकले गर्नुपर्ने बृहत् पूर्वतयारी देवकोटाले गरेको देखिन्न । लेखनपूर्वको धैर्यको सट्टा देवकोटामा उही पूर्वोक्त ‘हाम्फाल्नको हड्बडी’ देखिन्छ । कविले भनेका छन्-


‘उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ।’

हुन पनि ‘उर्लेको खहरे’, हामफाल्नको हड्बडी’, ‘धमिलो बाढी’, यस्तै छ महाकविको काव्ययात्रा । जब देवकोटा कलम लिएर बस्दथे तब उनी विद्युत् गतिमा हानिएर अघि बढ्थे । द्रुत लेखन नै उनका स्वभाव बनेको थियो । अडिनु, घोरिनु, केलाउनु, योजना गर्नु, सावधानीपूर्वक विचार गर्ने उनको स्वभाव थिएन । यसबाट उनका सबै काव्यकृतिहरू प्रभावित भएका छन् ।

उनको सर्व श्रेष्ठ महाकाव्य ‘शाकुन्तल’मा नै कैयौं प्रसंगको अतिविस्तार भएको छ भने कतिपय श्लोकमा दुई वा तीन पंक्ति उन्नतस्तरका छन् भने एक दुई पंक्ति अस्वाभाविक रूपले कमजोर छन् । काव्यकृतिहरूमा ‘मुनामदन’ नै एक भाग्यमानी कृति हो जुन कविको अाशुलेखनको झम्टाइबाट पीडित भएको छैन । दोस्रो खण्डकाव्यका रूपमा ‘मायाविनी सर्सी’ पनि कम आक्रान्त छ ।

तीबाहेक सारा खण्डकाव्य अस्तव्यस्त ढंगका बनेका छन् भने ‘शाकुन्तल’ र ‘प्रमिथस’बाहेक अरू महाकाव्यहरूले वास्तवमा महाकाव्यात्मक गरिमा नै भेट्टाएका छैनन् भने हुन्छ । सावधानीपूर्वक पढ्ने पाठकले स्पष्ट रूपले के बुझ्नुपर्छ भने यी रचना लेख्ने लेखक एक विलक्षण प्रकारको प्रतिभा अवश्य नै हो तर ‘माल पाएर चाल नपाएको भनेजस्तै सरस्वतीले दिएका स्नेहका उपहारहरूलाई यत्नपूर्वक हिफाजत नगर्ने अत्यन्त असाधारण प्रतिभा हो । यसको मुख्य कारण महाकविले तह लगाउन नसकेको अाशुकवित्व नै हो ।

साहित्य भाषिक कला हो । कला भएकाले यसको स्रष्टाले यसलाई सावधानीपूर्वक कुँद्नुपर्छ, खार्नुपर्छ, प्रशोधन गर्नुपर्छ, काट्नुपर्छ, छाँट्नुपर्छ र आफूभित्रको पाठक सन्तुष्ट नभएसम्म त्यसलाई टल्काउनुपर्छ, चिल्लो पार्नुपर्छ । सहज कलाका नाममा जेजसरी आयो त्यो त्यसरी व्यक्त गर्दैमा कला माथि उठ्दैन, सौन्दर्यका पारखीहरू प्राकृतिक वनमा भन्दा मान्छेले बनाएका उपवनमा ज्यादा सौन्दर्य देख्दछन् ।

परन्तु महाकविले काटछाँट मन पराएनन्, अनुभूतिको पहिलो झुल्का जसरी झुल्क्यो त्यसरी नै झुल्क्यो, जसरी भुल्क्यो त्यसरी नै भुल्क्यो । यसमा उनले बुझ्नुपर्ने, हाम्रो चित्तधारा प्रत्येक अंशमा कलात्मक र परिस्कृत हुँदैन, हरेक मोडमा प्रशोधित हुँदैन, त्यसैले विश्लेषण, छनोट, संश्लेषण र उपयुक्त संयोजनको आवश्यकता सदैव रहन्छ । त्यसका लागि कलाकारमा धैर्य, संयम र सावधानी आवश्यक हुन्छ ।

यसैमा देवकोटा सुदृढ हुन सकेनन् । एकपटक लेखेको शब्दलाई हटाएर अर्को विकल्प राख्नु उनका लागि कठिन कार्य थियो । कला प्रथम चरणमा स्वान्तसुखायको वस्तु हुनसक्छ तर अन्तिम चरणमा यो एक सामाजिक वस्तु हो, सामाजिक सरोकारको वस्तु हो । तर देवकोटाले आफ्ना कृतिहरूलाई पाठकको दृष्टिकोणबाट हेरेनन् । असाधारण वेगमा हुइँकिएर गन्तव्यमा पुग्नु नै उनको सोख बन्यो ।

यसैकारण उनले लेखेका झन्डै साढे छ सय फुटकर कवितामध्येबाट संग्रहणीय र उत्कृष्ट पचासवटा कविता भेट्न सजिलो छैन । (स्मरण रहोस्, यिनै सीमित उत्कृष्ट रचनामध्ये ‘यात्री’ र ‘पागल’ जस्ता अति उत्कृष्ट कविता पनि नभएका होइनन् ।)

यो लेखको उद्देश्य देवकोटाको महाकवित्वप्रति शंका जगाउनु वा अनास्था पैदा गर्नु होइन । कवि देवकोटा आफ्नो कृतित्वले नै महाकवि हुन् । परन्तु उनको महाकवित्वसँगै एउटा नमीठो सत्य पनि गाँसिएको छ, त्यो के हो भने उनको कृतित्वको अति थोरै अंशमा मात्र महाकवित्व सल्बलाएको छ । उनको कृतित्वमा प्रतिभा बसेको छ, अतिवृष्टि नै भएको छ तर सँगसँगै खण्डवृष्टि, अनावृष्टि र अनिकालले कतिपय अंश आक्रान्त पनि छन् ।

उनको २५ वर्षे साधनको विपुल राशिभित्र दुई महाकाव्य— शाकुन्तल र प्रमिथस, दुई खण्डकाव्य- मुनामदन र मायाविनी सर्सी, यस्तै ४०÷५० फुटकर कविता तथा केही निबन्ध र समीक्षामा देवकोटाको महाकवित्वसँग हाम्रो भेट हुन्छ । ती कृतिमा देवकोटा सशक्तततासाथ प्रस्तुत भएका छन्, त्यहाँ देवकोटा महान् छन् । तर, देवकोटाको कृतित्वको ठूलो राशिमा उनको प्रतिभा वैरिएको छैन, अव्यवस्थित र अनियन्त्रित रूपले छित्रिएको छ ।

देवकोटाको प्रतिभा देखेर कुनै समीक्षकले टिठ मान्दैनन्, मान्नुपर्ने अवस्था पनि छैन- देवकोटा प्रतिभाका धनी छन्, भनौं, उनी कुवेर हुन्, परन्तु व्यवस्थापन पक्षमा उनी धेरैजसो ठाउँमा कमजोर देखिएका छन्, कविले ‘माल पाएर चाल नपाएको’ बोधले प्रत्येक समीक्षक चुक्चुकाउँछ, अलपत्र परेको उत्तम प्रतिभा देख्दा सहृदयी समीक्षकलाई असजिलो अनुभव हुन्छ ।

यसको मूल कारणका रूपमा देखिएको छ- उर्लेको दौड, हाम्फाल्नको हड्बडी, खरायो दौड र पछि फर्केर नहेर्ने कविको आदत । २००७ सालपछिका वर्षहरूमा देवकोटामा परिस्कार चेतना झुल्केको देखिन्छ । एउटै कवितालाई दुईतीन पटकसम्म लेखेको देखिन्छ तर त्यहाँ पनि उनको अाशुकवित्वचाहिँ आक्रामक भएर आइलागेको छ ।

पहिलो लेखाइ मन नपर्दा कविले त्यसभित्र परिमार्जन नगरी पुनः अर्को लेखन गरेका छन्, परिणामस्वरूप उही दौडबाजी र उही असन्तुलित छरपष्टता छाएको छ ।
अब निष्कर्षतिर लागौं । देवकोटाको समग्र कृतित्वले के देखाएको छ भने अाशुकवित्वले उनको विराट् प्रतिभालाई कतै पनि र कत्ति पनि उपकार गरेको छैन, बरु कतै अहंकार बढाएको छ ।

लेखनाथ पौड्याल, बालकृष्ण सम, रवीन्द्रनाथ टैगोर, कालीदासजस्ता कविको उच्च प्रशंसा गर्ने देवकोटाले ती कविहरूबाट कलाको वस्तुलाई कुँद्ने व्यावहारिक पाठ सिकेनन् । अाशुकवित्व देवकोटाको जीवनमा केवल एकपटक उपयोगी भएको छ, त्यो पनि साहित्यिक गरिमा बढाउन होइन, एक राणाहाकिम पुष्करशमशेरसँगको अहंको होडबाजीमा विजयी बन्नका लागि मात्र ।

दस दिनभित्र ‘सुलोचना’ महाकाव्य लेखेर उनले त्यो बाजी जितेका थिए । तर, दस दिन होइन दस महिना वा पच्चीस महिना लगाएर ‘सुलोचना’ लेखिएको भए कस्तो महान् काव्य बन्दो हो ? तीन महिना होइन तीस महिना वा तीन वर्षभन्दा बढी साधना गरेर ‘शाकुन्तल’ महाकाव्य लेखेको भए कस्तो चमत्कारपूर्ण काव्य बन्दो हो ? अवश्य ज्यादै मूल्यवान् र महान् कृति निस्कने थिए तर ती सारा सम्भावनालाई अाशुकवित्वले फक्रिन दिएन ।

अाशुलेखनको क्षमता एक उच्च सिद्धि हो तर महाकविले एक अभिशापको रूपमा अाशुकवित्व प्राप्त गरे । महाकवित्वलाई निरन्तर कुण्ठित पार्ने तथा दुब्लो र कमजोर पार्ने विरोधी शक्तिका रूपमा अाशुकवित्व परिचालित भयो । महाकवि देवकोटाका निम्ति अाशुकवित्व नै अभिशाप सिद्ध भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.