‘हार्ने खेल नेपाल र भारत दुवै देशले खेल्नु हुँदैन’
काठमाडौंः भारतका लागि नवनियुक्त नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउन ठूलो भूमिका खेल्ने बताएका छन्।
उपाध्यायले भने,‘नेपाललाई राम्रोसँग चिन्ने मित्रराष्ट्र भारतमा नेताहरुपनि थोरै हुँदै जानुभएको छ, त्यसमध्ये उहाँ एक अग्रणी व्यक्ति हो। उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाइमा पुर्याउन मदत पुग्छ, हामीले नेपाली जनताहरुको पनि उत्साह देखेका छौं, यो एकदमै राम्रो कुरा हो।’
राजदूत उपाध्यायले सानातिना कुराहरुलाई हामीले अगाडि ल्याउने भन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाइदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने बताए। उनले भने,‘द्विपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्विपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ।’
रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा गएको पत्रकारहरुको देउसी-भैलो टोलीसँग कुराकानी गर्दै उनले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि भारतको अत्यन्तै आत्मिय सहयोगको आवश्यकत्ता रहेको समेत औंल्याए। पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने महशुस गरेको उल्लेख गर्दै उनले भने,‘हार्ने खेल खेलेर न भारतलाई फाइदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन्।’
भारतले नेपाललाई सहयोग गर्नै पर्ने बताउँदै उनले भने,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको बीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाइदा छैन्।’ राजदूत उपाध्यायले अब नेपाल र भारतबीच सम्बन्धमा कुनै दरार नभएको समेत दाबी गरे।
उनले नेपाल सानो देश भएपनि आफूहरुले आफ्नो कला, कौशल, चातर्युताको माध्यमबाट राष्ट्रको हित कसरी गर्न सकिन्छ भनेर आफ्नो पक्षमा काम गर्नुपर्ने बताए। उनले भने,‘हाम्रो राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितको बारेमा यहाँ धेरै विमति हुनुहँदैन, यहाँ कुनै विमति भएन भने भारतबाट कुनै कुराको पनि रुकावट हुँदैन। तर हामीमा विमति भयो भने यही विमतिमा नै अरु कसैले खेल्ने हो, त्यसमा हामीले ध्यान दिनुपर्छ ।’