बाबु-छोराबाट ६६ लाख बढी लग्ने गिरोह पक्राउ

बाबु-छोराबाट ६६ लाख बढी लग्ने गिरोह पक्राउ
सुन्नुहोस्

विराटनगर : आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा भारतीय नागरिकसहित ५ जनाको समूहलाई पक्राउ गरिएको हो।

उनका अनुसार भारतीय नागरिककै योजनामा ठगी गरेको पाइएको छ। पक्राउ पर्नेमा भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का २३ वर्षीय करण भनिने अमित राय छन्। 
एउटै परिवारका बाबु-छोरालाई विदेश पठाउने भनेर ६६ लाख बढी ठगेपछि प्रहरीले गिरोहलाई फेला पारेको हो। डीएसपी जोशीका अनुसार पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको छ। 

क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको भनेर विराटनगर-११ का महेशकुमार चौधरीले प्रहरीमा जाहेरी दिएका थिए। महेश र उनका छोरा युपेशकुमार चौधरीबाट उक्त रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विदेशी मोबाइल नम्बरबाट खोलिएको वाट्सएप प्रयोग गरी ठगी गरेको जोशी बताउँछन्। 

भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पारी रकम ठगेको प्रहरीको भनाइ छ। रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरोहका ५ जनालाई माघ ८ गते पक्राउ गरेको हो। गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले बताए।
 
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेकामध्ये ठगीमा भारतीय नागरिक केशव यादवको विशेष संलग्नता छ। उनी ठगीका मुख्य योजनाकार हुन्। यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई-सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाएको चिमरियाको भनाइ छ। 

‘डिजिटल वालेट’ तथा बैंक खाताको ‘युजर एक्सेस’ र ‘पासवर्ड’ लिएर यादव आफूले कारोबार गर्ने गरेको उनले बताए। उनका अनुसार पक्राउ परेका अरु ४ जना नेपाली युवाहरु यादवले ठगीमा प्रयोग गरेका व्यक्तिहरु हुन्। एसपी चिमरिया पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने प्रवृत्ति बढेको बताउँछन्। सर्वसाधारणलाई विभिन्न प्रलोभन एवं भ्रममा पारेर ठगी गर्ने क्रम बढेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए। 

‘पछिल्लो समय सामाजिक सञ्जालमार्फत ठगी गर्ने क्रम बढेको छ । प्रविधिको प्रयोग गरेर ठगिएका उजुरीहरु प्रहरीमा आउने क्रम बढ्दो छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफैं सचेत हुनुपर्छ। पछुताउनु र दुःख पाउनुभन्दा बेलैमा सावधानी अपनाउँदा ठगी वा कुनै समस्यामा पर्ने सम्भावना हुँदैन,’ एसपी चिमरियाले भने। अपरिचितले कुनै प्रलोभनमा पार्ने प्रयास गरेमा तत्काल प्रहरीमा जानकारी दिन र होसियारी अपनाउन सबैमा उनको आग्रह छ। एसपी चिमरियाले अपरिचितलाई चाँडै विश्वास गर्न नहुने र आफैं सचेत बन्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.