बिहेको नाममा बंगलादेशी युवतीको तस्करी गर्न चिनियाँ सक्रिय
बंगलादेशी युवतीलाई भारतको बाटो हुँदै सीमा नाकाबाट अवैधरूपमा प्रवेश गराएर काठमाडौं ल्याइन्छ र उनीहरूलाई स्थल मार्ग र हवाइ मार्गबाट चीनमा तस्करी गरिन्छ।
काठमाडौं : बिहेको प्रलोभन देखाएर बंगलादेशी युवतीलाई तस्करी गर्ने चिनियाँहरू नेपालमा सक्रिय भएका छन्। नेपालमा मात्र होइन, त्यस्ता चिनियाँहरू बंगलादेश र भारतमासमेत सक्रिय भएको भेटिएका छन्। बंगलादेशी युवतीलाई भारत हुँदै नेपाल ल्याएर चीनतिर तस्करी गर्न चिनियाँ गिरोह सक्रिय भएको हो।
गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लागेका तीन जना बंगलादेशी युवतीलाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेपछि यस्तो खुलेको हो। अध्यागमनका अधिकारीले उनीहरूको चीन यात्रा शंस्कापद देखिएपछि प्रस्थान अनुमति दिन अस्वीकार गरेको थियो।
त्यसरी विमानस्थलबाट फिर्ता हुनेहरूमा बंगलादेशी युवतीहरू रिहाना अक्तर रानु, अप्रुमा मर्मा र मिनुचिङ मर्मा रहेका छन्। जब उनीहरू एक चिनियाँ युवकको साथमा अध्यागमन पुगे, त्यसपछि अध्यागमन अधिकृतले उनीहरूसँग आवश्यक कागजपत्र मागे। तर, उनीहरूले अध्यागमन अधिकारीले मागेबमोजिमको न कागजत्र दिनसके, न उनीहरूले विश्वास नै दिलाउनसके।
लगत्तै अध्यागमन अधिकारीले उनीहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता गरिदिए। तर, उनीहरूसँगै भएका चिनियाँले भने अध्यागमनका कर्मचारीसँग केहीबेर गलबदी गरेका थिए। ती चिनियाँ युवकले यी तीन जना युवतीका श्रीमानहरू चीनमा बस्छन् र आफूले उनीहरूको श्रीमानसम्म पुर्याइदिने भनेका थिए। तर, त्यसमा पनि अध्यागमनका अधिकारीहरू आश्वस्त भएनन्।
चाइना साउदर्नको विमानबाट ती युवतीहरू चीन जान लागेका थिए। तर, बंगलादेशी युवतीहरूको कागजातमा शंका लागेपछि उनीहरू चीन जान नपाएका हुन्।
'बंगलादेशी युवातीहरूसँग भएको कागजात नै शंस्कापद थियो। उनीहरू एक चिनियाँ पुरुषसँग चीन जान लागेका थिए। चिनियाँ नागरिकले उनीहरू (बंगलादेशी युवतीहरू)को श्रीमान चीनमा रहेको बताएका थिए,' स्रोतले अन्नपूर्णसँग भने, 'उसो भए बंगलादेशबाट चीन किन नगएको? भन्ने प्रश्नमा बंगलादेशी युवतीहरू नाजवाफ बनेका थिए।'
नेपाली युवतीलाई पनि चिनियाँ केटासँग विवाह गराएर चीन तस्करी गर्ने गरेको घटना यसअघि नै सार्वजनिक भइसकेको छ। यस्तै प्रकृतिको घटनामा नेपालबाट चिनियाँ नागरिकहरू पक्राउ पनि परेका छन्। तर, पछिल्लो समय बंगलादेशको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै चिनियाँहरू बंगलादेशी युवतीहरूलाई तस्करी गर्न सक्रिय बनेका छन्।
उनीहरूलाई भारतको बाटो हुँदै सीमा नाकाबाट अवैधरूपमा प्रवेश गराएर काठमाडौं ल्याइन्छ। उनीहरूलाई स्थल मार्ग र हवाइ मार्गबाट चीनमा तस्करी गर्ने गरिएको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !