अछाम घटना : दुई जनाविरुद्ध किटानी जाहेरी
अछाम : ढकारी गाउँपालिक-८ मा फुपू भदैनी मृत्यु प्रकरणमा आफन्तहरूले किटानी जाहेरी दिएका छन्। मृतकका आफन्तहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय मंगलसेनमा दुई जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।
ढकारी गाउँपालिका ३ का १५ वर्षीया र १७ वर्षीया बालकको नाममा मृतक सरस्वतीका ठूला बुबा तथा इसराका हजुरबुबा अवि खड्काले किटानी जाहेरी दिएका हुन्। दुवै जनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएर अनुन्धान थालको छ। घटनाको विषयमा प्रहरीले एक ११ वर्षीया बालकसहित दर्जनभन्दा बढीलाई सोधपुछ गरेको छ। स्रोतका अनुसार घटनाको प्रत्यक्षदर्शी ११ वर्षीया बालक रहेको बताइएको छ।
प्रहरी नियन्त्रणमा किटानी जाहेरीका दुई जना रहेको प्रहरी नायब उपरीक्षक डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए। उनले भने, ‘११ वर्षीया बालकलाई सोधपुछ पछि अभिभावकको जिम्मा लगाएका छौं। आवश्यक परेको बेला बोलाउने छौं। दुई जना हिरासतमै छन्। घटनाको क्रममा दर्जन बढीलाई सोधपुछ गरेका छौं।’ घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए। जिल्ला अदालतबाट अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरू दुवै जनाविरुद्ध अनुसन्धान अघि बढाइएको भण्डारीले बताए।
नेपालगञ्जबाट शव पोष्टमार्टमपछि ढकारी ल्याइएको पूर्व वडाध्यक्ष लालबहादुर भण्डारीले जानकारी दिए। भोलि गाउँको बर्साली खोलाको गजरगाडमा ११ बजेतिर अन्तिम दाहसंस्कार गरिने भण्डारीले बताए। उनले भने, ‘बुधबार अन्तिम संस्कार गर्ने तय भएको छ। दुई जनाको नामको नाममा किटानी जाहेरी दिएर फर्केका छौं। शंकास्पद अन्यलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छौं।’ घटना बीभत्स र निर्मम भएकाले अनुसन्धान गरेर सत्य, तथ्य र दोषीलाई कारबाहीको माग गरिएको उनले बताए।
घटनाको विषयमा थप अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरीको टोली अछाम आउने भण्डारीले बताए। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि खटिने भएको छ। सीआइबी र प्रदेश प्रहरीको टोली बुधबारदेखि अनुसन्धानमा खटिने डीएसपी भण्डारीले जानकारी दिए। उनले भने, ‘घटनाको विषयमा निकै सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं। मृतकको मोवाईलको नम्बरहरु परीक्षणका लागि सिआइवीलाई पठाइएको छ। अनुसन्धानका लागी थप सहयोग गर्न विज्ञ टोली अछाम आउँदैछ।’
शुक्रबार सम्पर्कविहीन भएका इसरा र सरस्वती शनिबार छिन्ने ओडार जंगलमा मृत अवस्थामा भेटिएका थिए। दुवै जनाको शव १५ मिटरको दूरीमा रहेको थियो। मृतक दुवै कमलबजार नगरपालिकाको विद्या प्रवोधनी मावि कक्षा ८ मा अध्ययनरत थिए।
प्रतिक्रिया दिनुहोस !