मुखर्जी स्वागतमा नागरिकलाई सास्ती

मुखर्जी स्वागतमा नागरिकलाई सास्ती

काठमाडौंः छिमेकी राष्ट्रप्रमुखको स्वागतका नाममा सरकारले बिदा घोषणा गरे पनि राजधानीका सडकमा सवारीसाधन र पैदल यात्रुलाई समेत रोक लगाउँदा बुधबार सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । सर्वसाधारण कतै घन्टौं ट्राफिकजाममा फसेर बिचल्लीमा परे भने कतै सडक किनारमा समेत हिँड्न पाएनन् ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको भ्रमणको दिन बुधबार यसअघि नै सार्वजनिक बिदा घोषणा गरिएको थियो । तर, सडकमा गुडिरहेका थोरै सवारीसाधनलाई पनि रोक लगाउँदै राष्ट्रपति मुखर्जीलाई त्रिभुवन विमानस्थलबाट शीतलनिवास र त्यहाँबाट भारतीय दूतावाससम्म लैजाँदा सर्वसाधारणले ठूलो सास्ती पाएका हुन् ।

मुख्य सडकमा ट्राफिक प्रहरीले सवारी आवागमनमा पटक-पटक रोक लगाउँदा विदेशयात्राका लागि निस्किएका यात्रुसमेत समयमै विमानस्थल पुग्न सकेनन् । राजधानीबाहिरको गन्तव्य बनाएका यात्रुले समेत ठूलै सास्ती व्यहोर्नुपर्‍यो ।

तिहार मनाएर घर फर्कंदै गरेका सर्वसाधारण सबैभन्दा धेरै मारमा परे । एक वर्षअघि भारतीय नाकाबन्दीका कारण घर जानै नपाएका सर्वसाधारणले यस वर्ष फर्कने क्रममा सास्ती पाएका हुन् ।

सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाउँदा भाइटीका लगाएर फर्किएका दिदीबहिनी घन्टौं हिँडेर घर पुग्न बाध्य भए । बिरामी र तिनका आफन्तलाई पनि सास्ती भएको छ । ‘बिदा भए पनि अघिपछि धेरै गाडी चल्थे ।

त्यसैले माइतमा दाजुभाइले कर गरे पनि नबसी हिँडें । काँडाघारीबाट हिँडेकै एक घन्टाभन्दा धेरै भइसक्यो । एउटा पनि बस पाएको छैन,' कोटेश्वरमा ठुल्ठूला झोला तान्दै हिँडिरहेकी सामाखुसीकी सुन्दरी बस्नेतले अन्नपूर्णसँग भनिन्, ‘अब घर पुग्नै नसकिने पो हो कि भन्ने चिन्ता लागिरहेको छ । यस्तो हुन्छ भन्ने थाहा भएको भए त माइतै बस्ने थिएँ नि !'

बस्नेतजस्ता सयौं सर्वसाधारणले बुधबार सडक बन्द भएको सूचना नपाउँदा सास्ती पाएका छन् । सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक बिदा दिएको दाबी गर्ने सरकारले राष्ट्रपति मुखर्जीको भ्रमण बेला वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई अपिल गरे पनि कुन-कुन मार्ग वैकल्पिक हुन् भन्ने जवाफ उनीहरूले दिन सकेनन् ।

अस्तव्यस्त ट्राफिकका कारण शीतलनिवास, भारतीय दूतावास र हायात होटलमा राष्ट्रपति मुखर्जी सहभागी हुने कार्यक्रममा बोलाइएका पाउनाको समेत बिचल्ली भएको छ ।

छिमेकी मुलुकका राष्ट्रप्रमुखलाई नेपालमा सम्मानजनक स्वागत गर्नु सान्दर्भिक भए पनि उनको भ्रमण बेला अनाहकमा दुःख पाएपछि कतिपय सर्वसाधारणले मुखर्जीविरुद्ध आक्रोश पोखे ।

‘अर्को देशका राष्ट्रपति आउँदा हामीलाई झन् राम्रो होला भनेको त उल्टै सास्ती पाइयो । के अर्थ रह्यो र उनी हाम्रो देश आउनुको ? '

यस्तो हुनुमा भारतको नभई नेपाल सरकारकै दोष भएको उनीहरूको टिप्पणी छ । सार्वजनिक बस नपाएपछि लाजिम्पाटबाट हिँडेर सिनामंगल जान लागेका सोम महर्जनले भने, ‘अर्को देशका नेता वा राष्ट्रपति आउँदा हामीलाई झन् राम्रो होला भनेको त उल्टै सास्ती पाइयो । के अर्थ रह्यो र उनी हाम्रो देश आउनुको ? '

मुखर्जी भ्रमणले बिहान साढे ११ बजेदेखि साँझ ५ बजेसम्म गौशाला, विमानस्थल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, न्युरोड गेट, दरबारमार्ग, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमूल, पुतलीसडक, सोह्रखुट्टे, जय नेपाल, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टेलगायत क्षेत्रका सडक प्रभावित बनेका थिए । मुखर्जीको नेपाल भ्रमणले सास्ती मिलेपछि कतिपय नेता, चिकित्सक, बुद्धिजीवी, साहित्यकार र नागरिक समाजका अगुवाले सामाजिक सञ्जालमार्फत चर्को विरोध जनाएका छन् ।

पूर्वसभासद शान्ता चौधरी भन्छिन्, ‘भारतका राष्ट्रपतिको आगमनमा जनजीवन नै अस्तव्यस्त हुने गरी गरिएको स्वागत र सम्मानले आमजनमानसमा कस्तो भावना उब्जन्छ ? उनी आउँदा भाइटीका लाउन गएका चेली घर फर्कन नसक्ने गरी अघोषित कफ्र्यूको अवस्था छ ।

जनताको मनमा बस्ने व्यवहार नहुँदासम्म सरकारले जतिसुकै लम्पसारवाद प्रस्तुत गरे पनि द्विदेशीय सम्बन्धमा न्यानोपन आउन सक्ला र !'
चिकित्सक सुधांशु केसीले भारतीय राष्ट्रप्रमुखको भ्रमणलाई लक्षित गर्दै ट्विट गरेका छन्, ‘आउन पाएको छैन, मलाई त तुम कव जाओगे भन्न मन लागिसक्यो ।' साहित्यकार खगेन्द्र संग्रौलाले बुधबार सरकारले फौजी शैलीमा उपत्यका बन्द गरेको र नागरिकलाई गृहनजरबन्दमा राखेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.