अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प आक्रामक, क्लिन्टन रक्षात्मक

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प आक्रामक, क्लिन्टन रक्षात्मक

बोस्टन अमेरिकाः अमेरिकी राष्ट्रपति निर्वाचन आउन पाँच दिन बाँकी छँदा अनिर्णीत मतदातामाझ रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लोकप्रियता बढेको मत सर्वेक्षणहरूले देखाइरहेका छन् भने हिलारी क्लिन्टनलाई जिताउन हाइप्रोफाइल डेमोक्र्याटहरू बाराक ओबामा, बर्नी स्यान्डर्स र बिल क्लिन्टनले चुनावी अभियान तीव्र पारेका छन् ।

मतदातामाझ आक्रोशपूर्ण, भावुक र प्रतिद्वन्द्वीविरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रने डोनाल्डको शैलीले उनी मिडियामा लोकप्रिय छन् । संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले हिलारीका शंकास्पद इमेलबारे फेरि छानबिन सुरु गरेपछि डोनाल्डको एउटै चुनावी रणनीति उनीमाथि आक्रामक रूपले प्रस्तुत हुने देखिएको छ ।

सामाजिक सञ्जाल र मिडियाबारे गहिरो जानकारी राख्ने बोस्टनका प्राध्यापक भिन्सेन्ट रेनोल्डका अनुसार डोनाल्डलाई कसरी मिडिया प्रयोग गर्ने भन्ने राम्ररी थाहा छ । ‘उनको ट्विट पढ्दा उनको आवाज नै सुनेजस्तो लाग्छ जसले उनलाई बढी ध्यान दिन मतदाता बाध्य हुन्छन्', रेनोल्ड भन्छन् ।

हिलारीको ट्विट भने डोनाल्डको जस्तो स्पष्ट र भावुक नहुने, बरु सीधा, जटिल र नीतिगत हुने रेनोल्डको हेराइ छ । ‘यसले मतदातालाई आकर्षित गर्दैन', उनी भन्छन्, ‘तथ्य भन्ने केही कुरै हुँदैन डोनाल्डको सन्देशमा, भावना हुन्छ, आवेग हुन्छ तर त्यही आम मतदातालाई मन पर्छ ।'

इमेल छानबिनपछि डोनाल्ड विपक्षीविरुद्ध आक्रामक देखिएका छन् भने हिलारी बढी रक्षात्मक । पछिल्ला सर्वेक्षणहरूले डोनाल्डका पक्षमा जनमत बढेको देखाइरहँदा उनी झन् उत्साही र आक्रामक देखिनु असामान्य होइन पनि ।

किन मतदाता र मिडियाले डोनाल्डका सन्देशलाई बढी वास्ता गर्छन् ? किनभने उनी सामान्य र सतही नीतिगत प्रस्ताव ल्याउँछन् जुन आम मतदातालाई मन पर्छ । उनको भाषा सामान्य हुन्छ जुन सबैले सजिलै बुझ्छन् । उनी संस्थापनका विरुद्ध छन् जुन अधिकांशका लागि रुचिकर हुन्छ । नकारात्मक, भावनात्मक र व्यक्तिगत विषयमै उनले बढी कुरा गरिरहेका हुन्छन् जसले मिडिया र आम मानिसको ध्यान सजिलै तान्छ ।

राजनीतिक डकुमेन्ट्री बनाउने पत्रकार केभिन बोवेका अनुसार द्वन्द्वात्मक विषय मिडियाको बढी प्राथमिकतामा हुन्छ । ‘हामीले बनाउने रिपोर्टलाई बढी चाखलाग्दो बनाउन द्वन्द्व हाम्रो पहिलो आकर्षण हुन्छ कुनै पनि प्रस्तुतिमा', उनी भन्छन् ।

आमसञ्चारबारे अनुसन्धान गर्ने अमेरिकी संस्था मिडिया रिसर्च सेन्टरका अनुसार डोनाल्डले हिलारीको तुलनामा धेरै बढी मिडिया कभरेज पाउँछन् । तर यौन दुव्र्यवहारका घटना सार्वजनिक भइरहेका बेला उनले पाएका मिडिया कभरेजमध्ये ९१ प्रतिशत नकारात्मक थिए । सेन्टरका अनुसार ‘अति कभरेजले उनलाई फाइदा गर्दैन ।'

दुवै उम्मेदवारलाई मिडियाले सन् २००८ का ओबामा जसरी सकारात्मक रूपमा प्रस्तुत नगरे पनि डोनाल्ड बढी प्राथमिकतामा छन्, नकारात्मक रूपमै भए पनि ।

सेन्टरले हिलारीबारे अध्ययन गरेका १८४ विचारपूर्ण अभिव्यक्तिमध्ये ३९ वटा वा २१ प्रतिशत सकारात्मक थिए भने १४५ वा ७९ प्रतिशत नकारात्मक । त्यस्तै डोनाल्डमाथि अध्ययन गरिएका ६२३ सामग्रीमध्ये ९१ प्रतिशत नकारात्मक थिए भने नौ प्रतिशत वा ६३ वटामात्र सकारात्मक ।

पछिल्लो समयमा चरित्र र पारदर्शिता अमेरिकी राष्ट्रपति उम्मेदवारलाई तौलने महत्वपूर्ण उपकरण बनेका छन् । एकपछि अर्को सेक्स टेप सार्वजनिक भएपछि डोनाल्डको चरित्रमाथि प्रतिद्वन्द्वी हिलारीदेखि मिडियासम्मले प्रश्न उठाएका थिए ।

मेक्सिकोको सीमामा पर्खाल लगाउने र मुस्लिमलाई छिर्न नदिनेजस्ता अभिव्यक्तिका कारण उनलाई मिडियाले संकुचित र साम्प्रदायिक रूपमा प्रस्तुत गरेका थिए । कर सार्वजनिक नगरेका कारण उनलाई अपारदर्शीको आरोप पनि लाग्ने गरेको छ ।

एक साताअघि सार्वजनिक भएको हिलारीको इमेलकाण्डले उनको पारदर्शिता र नीतिगत चरित्रमाथि पनि प्रश्न उठ्न थालेको छ । क्लिन्टन फाउन्डेसनमार्फत उनी र उनका पति बिल क्लिन्टनले ठूलो भ्रष्टाचार गरेको भन्दै खनिएका विपक्षी र मिडियाहरूलााई उनको पारदर्शितामाथि प्रश्न उठाउन इमेलकाण्ड ठूलो हतियार बनेको छ ।

यद्यपि झन्डै ३५ वर्षदेखि राजनीतिमा सक्रिय हिलारी डोनाल्डभन्दा धेरै चतुर छिन् राजनीतिक र व्यक्तिगत रूपमा पनि । उनी डोनाल्डजस्तो ‘सस्तो' भाषण गर्दिनन् । मतदातामाझ हँसिलो अनुहार र सभ्य भाषामा प्रस्तुत हुन्छिन् । खर्बपति व्यापारी ट्रम्प भने टर्रा र तीता कुरा गर्छन् मतदातामाझ र मिडियामा पनि । ‘मतदाता र मिडियालाई यही मन पर्छ । आरोपप्रत्यारोप र गालीगलौज अमेरिकी मिडियाको प्राथमिकता बनेको छ', प्राध्यापक रेनोल्ड भन्छन् ।

मत सर्वेक्षणहरूले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लोकप्रियता बढेको देखाइरहेका बेला हिलारी क्लिन्टनलाई जिताउन हाइप्रोफाइल डेमोक्र्याट बाराक ओबामा, बर्नी स्यान्डर्स र बिल क्लिन्टनले चुनावी अभियान तीव्र पारेका छन् ।

व्यक्तिगत पहिचानको विषय अमेरिकी राजनीतिमा पनि प्रमुख आकर्षण बनेको छ । डोनाल्ड सायदै नीतिको कुरा गर्छन्, उनी सस्तो लोकप्रियता, व्यक्तिगत मुद्दा र असम्भव कुरा गर्छन् । उनी सार्वजनिक मञ्चमा भन्छन्, ‘हिलारी खराब छिन् । हिलारीको दिमाग खुस्केको छ । म अमेरिकालाई फेरि महान् बनाउँछु ।' त्यही आम मानिसका लागि आकर्षक र मिडियाका लागि हट केक हुन्छ ।

प्राध्यापक रेनोल्डका अनुसार सामाजिक सञ्जालमा छोटो भाषामा स्पष्ट सन्देश दिनुपर्ने भएकाले अन्य मिडियाले दिने सन्देशको शैली पनि छोटो र स्पष्ट हुने दिशामा बदलिन थालेको छ । ‘ट्विटर र इन्स्टाग्राममा डोनाल्डले गर्ने पोस्ट भावनात्मक र लोकप्रियतावादी हुन्छन् जुन आम मानिसलाई असाध्यै मन पर्छ', रेनोल्ड भन्छन् ।

डोनाल्डमात्र होइन, प्राइमरीका डेमोक्र्याट उम्मेदवार बर्नी स्यान्डर्स पनि मतदातामाझ भावनात्मक र आक्रोशपूर्ण रूपमा प्रस्तुत हुन्थे । युवा र किशोरकिशोरीमाझ उनी लोकप्रिय हुनुको एउटा महत्वपूर्ण कारण थियो, उनको आक्रोशपूर्ण प्रस्तुति ।

प्राध्यापक रेनोल्डका अनुसार हिलारीको प्रचारशैली भने परम्परागत मिडियामा बढी केन्द्रित छ । ‘उनी बढी टीभी केन्द्रित छिन्, मिडियालाई आकर्षण गर्ने डोनाल्डको शैली उनका लागि ठूलो चुनौती हो', रेनोल्ड भन्छन् ।

अमेरिकी निर्वाचनमा गालीगलौज र आरोपप्रत्यारोप सामान्य रहेको बताउँछन् करिब ३५ वर्ष राजनीतिक रिपोर्टिङ गरेका पत्रकार मार्क लेसेस ।

उनका अनुसार एकै दिन पाँच ठाउँमा भाषण गर्दा डोनाल्ड नयाँनयाँ अभिव्यक्ति दिन्छन् भने हिलारी सामान्यतयाः एउटै विषयमा केन्द्रित हुन्छिन् । ‘डोनाल्ड कुनै तयारी गर्दैनन्, मुखमा जे आयो त्यही भन्छन्, हरेक दिन नयाँनयाँ कुरा, पत्रकारलाई कभर नगरी सुखै हुँदैन', उनी भन्छन् ।

स्पष्ट, सामान्य र छोटो रूपमा बोल्ने र मिडियामा प्रस्तुत हुने डोनाल्डको शैली गम्भीर र नीतिगत विषयमा बढी केन्द्रित हुने हिलारीका लागि चुनौतीपूर्ण बनेको थियो नै, इमेलकाण्डको पुनरावृत्तिपछि उनी अझ संकटमा देखिएकी छन् ।


तीन करोड मत खसिसक्यो

निर्वाचन आउन अझै पाँच दिन बाँकी भए पनि ४६ राज्यमा तीन करोडभन्दा बढी मतदाताले बुधबारसम्म आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । इडाहो, मिनेसोटा, भर्मन्ट, वोमिङजस्ता राज्यमा निर्वाचनको डेढ महिनाअघि नै ‘अर्ली भोटिङ' सुरु भइसकेको थियो ।

संसारको जुनसुकै ठाउँमा रहेका मतदाताले जुनसुकै ठाउँमा भोट दिन पाउने व्यवस्था रहेको अमेरिकी निर्वाचनमा केही राज्यमा बाहेक अधिकांश राज्यमा मतदानको दिन मत दिन नभ्याउने मतदाताका लागि ‘अर्ली भोटिङ' को व्यवस्था हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.