अनिद्राको अप्ठ्यारो पाटो
स्वास्थ्यको लागि मीठो निद्रा उत्तिकै जरुरी छ । अचेल धेरैजसो व्यवसायमा (बिहान, दिउँसो, राति) अलगअलग तीन सिफ्टमा काम हुन्छ । सबैभन्दा बढी असर नाइट ड्युटी गर्ने व्यक्तिको निद्रामा पर्छ । कहिलेकाहीँ त यस्तो हुन्छ कि किस्ता (टुक्रा) मा निदाउनुपर्ने हुन्छ । यसरी छोटो समयको निद्रा लिनु स्वास्थको लागि निकै हानिकारक हुन्छ । रिसर्च गरिएको एक रिपोर्टअनुसार बिल्कुलै न सुत्नुभन्दा पनि किस्ता-किस्तामा लिएको निद्रा स्वास्थ्यको लागि बढी खतरनाक हुन्छ ।
अनिद्राले मानिसको रोगप्रतिरोधात्मक क्षमता घटाउँछ । यसले शरीरमा धेरैजसो रोग लाग्ने सम्भावना बढी हुन्छ । अमेरिकाको जान हापकिन्स विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा दुई प्रकारको निद्राको अध्ययन गरेका छन् ।
यसमा बीचबीचमा खचपचिएर लिने निद्रा र कम समयको लागि सही तर शान्तिपूर्वक लिने निद्रा समावेश छन् । यी दुवै अवस्थामा मानिसको स्वभावलाई तुलनात्मक रूपले अध्ययन गरेर हेर्दा किस्ता-किस्तामा निदाउने व्यक्तिहरूको तुलनामा आरामसँग निदाउने मानिसको स्वभाव, बोलीवचन, व्यबहार सबै कुरा स्वाभाविक पाइयो ।
हाम्रो शरीरभित्रको अधिकतर प्रोसेस नेचुरल डेलीरिदम (सरकाडियन क्लक) शरीरको प्राकृतिक घडीको आधारमा हुन्छ । जुन कुरा हाम्रो निद्राबाट नै नियन्त्रित हुने गर्छ । अध्ययन अनुसार जब कुनै व्यक्तिको सुत्ने समयतालिका बिग्रिन्छ यसले व्यक्तिको पाचन प्रक्रियाको क्षमतालाई कमजोर बनाउनुका साथै किड्नीसमेतमा हानि पुर्याउँछ ।
यसले मिर्गौलासँग जोडिएका कैयौं रोग त्यस्ता व्यक्तिलाई हुन सक्ने खतरा रहन्छ । यस्तै अन्य रोगहरूमा रिंगटा लाग्नु, कमजोरी महसुस हुनु, आँखाको वरिपरि कालो घेरा देखिनु, टाउको दुख्नु, शरीर पहेँलो (एनिमिक) जस्तो देखिने हुन्छ ।
अधुरो निद्रा मुटुका लागि पनि हानिकारक हुन्छ । यसले मुटुरोग लाग्ने सम्भावना बढी हुनुका साथै हृदयाघात हुने सम्भावना पनि हुन्छ । राम्रोसँग निदाउने व्यक्तिको तुलनामा अपुग निद्राको गुनासो गर्ने व्यक्तिमा २० प्रतिशतभन्दा बढी हार्टकोरोनरी (मुटुबाट जाने) नलीहरूमा केल्सियम डिपोजिट भएको अध्ययनले देखाएको छ ।
थोरै सुत्ने व्यक्तिको दिमाग पनि सही ढंगले काम गर्न सक्दैन । यसको असर स्मरण शक्तिमा पर्छ । पढ्ने, लेख्ने, सिक्ने या कुनै कुराको निर्णय लिने क्षमतामा पनि अनिद्राको असर पर्छ । खराब निद्राले व्यक्तिको स्ट्रेस लेवल पनि बढ्छ ।
थोरै सुत्ने व्यक्तिको दिमाग पनि सही ढंगले काम गर्न सक्दैन । यसको असर स्मरण शक्तिमा पर्छ । पढ्ने, लेख्ने, सिक्ने या कुनै कुराको निर्णय लिने क्षमतामा पनि अनिद्राको असर पर्छ । खराब निद्राले व्यक्तिको स्ट्रेस लेवल पनि बढ्छ । त्यसो भएमा व्यक्ति अत्यधिक भावुक हुने, सजिलै डिप्रेसन हुनसक्ने सम्भावना रहन्छ ।
कारण
प्राकृतिक रूपमा निदाउन सक्ने गुण क्षय हुँदै जानु अनिन्द्रा हो । जसलाई (इनोस्मेनिया) पनि भनिन्छ । सुत्ने समय नमिल्नु । सुत्ने कोठाको वातावरण अनुकूल नहुनु । आफ्नो ओछ्यानबाहेक अन्य बेडमा निद्रा नपर्नु । एकदमै खुसीको घटना घट्नु वा निकट भविष्यमा हुनेवाला हुनु । अस्थायी रूपमा कुनै रोग वा शारीरिक कष्ट हुनु । लामो समयसम्म नाइट ड्युटी गर्नु ।
महिनौंसम्म अस्पतालमा बिरामीको कुरुवा बस्नु । सुत्केरी अवस्थामा बच्चालाई बीचबीचमा उठेर दूध चुसाउनु वा बच्चा बिरामी भएर आमा सुत्न नपाउनु । भूकम्पको डरले राम्रोसँग नसुत्नु । प्रियजनसँग बिछोड हुनु वा मृत्यु हुनु, सम्बन्धविच्छेद हुनु, व्यापार व्यवसायमा ठूलो घाटा हुनु, आफन्तको व्यवहारबाट भावनात्मक चोट लाग्नु, असुरक्षित महसुस गर्नु आदि अनिद्राका मुख्य कारण हुन् ।
लक्षण
सामान्यतया राति अबेरसम्म निदाउन नसक्नु । बीचमै ब्युँझनु त्यसपछि निदाउन नसक्नु । दिउँसो निद्रा लाग्नु । थकान, बैचैनी र झिझो लाग्नु । कुनै काममा एकाग्रता नहुनु । स्मरणशक्ति कमजोर हुँदै जानु । आँखाको वरिपरि कालो दाग देखिनु । शारीरिक एवं मानसिक दुर्बलताको कारण कार्यक्षमता घटदै जानु, आदि ।
जटिलता
लामो समयसम्म अनिद्राको उपचार गरिएन भने शारीरिक र मानसिक जटिलता उत्पन्न हुने गर्छन् । मानसिक रूपमा डिप्रेसन, डर, त्रास, भय, बैचैनी र साइकोसिस (पागलपन) जस्ता समस्या उत्पन्न हुने गर्छन् । मन खराब भएपछि तन पनि अस्वस्थ हुन्छ । त्यसैले पीडितले अनिद्राको उपचार बेलैमा गर्नुपर्दछ ।
कति सुत्ने
स्वस्थ्य व्यक्तिका लागि यति नै घन्टा वा समय सुत्नुपर्छ भन्ने अनिवार्य हँुदैन । कसैलाई तीनदेखि चार घन्टा सुत्दा पनि निद्रा पुगेको हुन्छ । कसैलाई पुग्दैन । यो कुरा व्यक्तिपिच्छे फरक हुन सक्छ । किनभने एउटा बालकको निद्रा, युवाको निद्रा तथा बूढापाकाको निद्रा एवं बिरामी व्यक्तिको निद्राको समय फरक हुन्छ । तर सामान्यतया ६ देखि ८ घन्टासम्म निदाउनुलाई स्वस्थ्यकर सुताइ भनिन्छ । बिहान उठ्दा हल्का र ताजापन महसुस गरेमा निद्रा पुगेको मानिन्छ ।
होमियोप्याथिक उपचार
काँफिया - अत्यधिक खुसीको कारण निद्रा नलाग्नु जस्तै कुनै चिट्टा पर्नु या कुनै यस्तो खुसीको समाचार सुन्नु जसले गर्दा मन, मस्तिष्क यति उत्तेजित हुन्छ कि आँखा झपक्क हुँदैन । मनमा एकपछि अर्को विचार आइरहनु, मनमा विचारहरूको भीड नै लागेर आउनु, मानसिक उत्तेजना अत्यधिक हुनु, राति ३ बजेपछि पनि निद्रा नै नलाग्नु । यस प्रकारका लक्षण देखिएमा यसको उपयोग गर्नु पर्दछ ।
जेल्सिमियम - यदि उत्तेजना (इमोसनल एक्साइटमेन्ट) का कारण निद्रा पर्दैन भने या कुनै भय, आतंक, या कुनै खराब समाचारका कारण निद्रा लाग्दैन भने यो औषधिको उपयोग लाभदायक हुन्छ ।
इग्नेसिया - कुनै दुःखका कारण निद्रा नलाग्नु, आफन्तको मृत्यु भएमा मन बढी खुखी भई निद्रा नलाग्नु । यस प्रकारको लक्षणमा यसको सेवन लाभदायक मानिन्छ ।
काक्युलस - रातिको समयमा धेरैबेर जाग्राम बस्ने गर्नाले निद्रा पर्दैन, जसको काम राति जागेर (नाइट) ड्युटी गर्नुपर्ने हुन्छ । जस्तै चौकीदार, नर्स, डाक्टर, कलसेन्टर, सञ्चारकर्मी, विद्युत्, आर्मी, प्रहरी, ट्राफिक प्रहरी आदि । उनीहरूलाई अनिद्राको समस्या देखिएमा यस औषधिको प्रयोग फाइदायक हुन्छ ।
सल्फर - अलिकति पनि छिसिक्क आवाज आउनेबित्तिकै निद्रा खल्बलिनु, निद्रा भंग भएपछि फेरि निद्रा नपर्नु । कुकुरको जस्तै पातलो निद्रा हुनु । यस्ता बिरामीको शरीरमा कही न कहीँ जलन हुने गर्दछ । राति सुत्दा खुट्टाको पैताला पोल्ने हुन्छ । सुत्दा सिरकबाट खुट्टा बाहिर निकाल्ने गर्दछन् । यस प्रकारको लक्षण देखिएमा सल्फरको प्रयोग हितकारी हुन्छ ।
नक्स वोमिका - रोगीको मस्तिष्क (मन) आफ्नो कार्यलाई लिएर यति व्यस्त रहन्छ कि ऊ रातभरि जागेर बस्छ । राति १२ बजेभन्दा अगाडि निद्रा नै पर्दैन । निद्रा परिहाल्यो भने पनि ३, ४ बजेतिर निद्रा खुलिहाल्छ । यसको एक घन्टापछि ऊ फेरि निदाउँछ । बिहान उठेपछि थकावट महसुस हुन्छ ।
यस्तो अनुभव हुन्छ कि राति सुत्दा पनि शरीरलाई आराम भएन । यस्तो लक्षणबाट पीडितले नक्सवोमिका औषधिको उपयोग गर्दा राम्रो हुन्छ ।
फसफोरस - रोगीलाई दिउँसोको समयमा निद्रा लागिरहन्छ । तर रातको समयमा निद्रा बिल्कुलै लाग्दैन । यस्ता लक्षणबाट पीडित व्यक्तिका लागि फसफोरस औषधि उपयोगी हुन्छ ।
सिप्रिपिडियम - एकदमै खुसीको सामाचार सुनेर मस्तिष्कमा विचारको भीड लागेर आउँछ । यसकारण निद्रा पर्दैन । यस्ता रोगीको अनिद्रा रोग ठीक गर्नको लागि सिप्रिपिडियम औषधिको उपयोगी हुन्छ ।
. पल्साटिला -रातिको समयमा लगभग ११ देखि १२ बजेसम्म निद्रा नलाग्नु । ढिलो निद्रा पर्नु यस किसिमको लक्षण देखिएमा पल्सेटिला औषधिको प्रयोग गर्नुपर्छ ।
माथि उल्लेख गरिएका औषधिहरू स्थानीय कुनै होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिई सेवन गर्दा राम्रो हुन्छ ।
चिकित्सकले तपाईंको शारीरिक एवं मानसिक लक्षणहरूको आधारमा औषधिको मात्रा बढाउन, घटाउन वा औषधि फेरबदल गर्न सक्छन् । जसले तपाईंलाई बेफाइदा हुन दिँदैन ।