अमेरिकामा तन, नेपालमा मन

अमेरिकामा तन, नेपालमा मन

तन पो अमेरिकामा हुन्छ, मन त नेपालमै घुम्छ नि। यो मन त मेरो नेपाली हो। नेपाली मूलका अमेरिकी नागरिक डा. अनन्त सुवेदी यसै भन्छन् र घोत्लिन्छन्, नेपालका लागि।

नेपाली मूलका अमेरिकी नागरिक हुन्, डा. अनन्त सुवेदी। प्राय: उनी अमेरिकाको नर्थ क्यारोलिनाको केरीस्थित क्लिनिकमा तल्लीन हुन्छन्। शरीरका जोर्नीमा प्रभाव परेर कक्रक्क परेका बाथरोगीको सेवामा जुटेको भेटिन्छन् उनी। फुर्सद भयो कि नेपाल र नेपालीका लागि के गर्न सकिन्छ ? भनेर घोत्लिन्छन्। किन त ? उनी भन्छन्, ‘तन पो अमेरिकामा हुन्छ, मन त नेपालमै घुम्छ नि। यो मन त मेरो नेपाली हो।’

जेन–वाई पुस्ता (मिलेनियम जेनरेसन) का सुवेदी बाथरोग विशेषज्ञ हुन्। डायस्पोरामा रहेर उनी अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) मार्फत नेपालको स्वास्थ्य उपचारमा सहयोग गर्छन्। विभिन्न अनुसन्धानले भन्छ, बाथ रोग दुई सयभन्दा बढी प्रकारका छन्। तर, नेपालमा बाथ रोग विशेषज्ञहरू दुई दर्जन पनि छैनन्। यो न्यून संख्यामा कसरी वृद्धि कसरी गर्न सकिन्छ ? ४२ वर्षीय सुवेदी निधार खुम्च्याउँदै भन्छन्, ‘के गर्न सकिएला ? यही प्रश्नले सधैं घोच्छ। योजना बनाउँदै छु।’

000

बुवा संस्कृतका गुरु, आमा गृहिणी। तीन सन्तानमध्ये कान्छा सुपुत्र हुन्, सुवेदी। सुवेदीलाई आमाले डोहोर्‍याउँदै मावली जाँदाका पलहरू स्मरणयोग्य लाग्छन्। एउटै चट्टानबाट बनेको सहरका रूपमा चिनिने पनौतीमा जन्मिए /हुर्किए। बाल्यकाल स्मरण गर्दै उनी भन्छन्, ‘आमासँग मामाघर जाँदा खुसी भइन्थ्यो। हजुरआमा, सानिमाले आफ्ना हातहरू कक्रक्क परेको दु:खेसो आमालाई सुनाउनु हुन्थ्यो। उहाँहरूलाई कसरी उपचार गरेर निको पार्न सकिएला ? म भित्रभित्रै पिरोलिन्थें। मेरो बाल मनमस्तिष्कमा उदासी छाउँथ्यो।’ सुवेदीको यो इतिहास फुत्त उम्केर अहिले भविष्य बनेको छ। त्यही हात कक्रक्क पार्ने बाथ रोगमै विशेषज्ञता हासिल गर्न पुगे उनी। बाल शरीर दौडाउँदै गरेको त्यो मावली यात्रा भविष्यका लागि शुभमुहूर्त झैं भयो। युवा शरीर सात समुद्र पारि पुगेको छ। यो विशेषज्ञता हासिल सजिलै भएको होइन। प्रयास गर्न उनले दिलोज्यान दिए। हण्डर र सास्ती त कति खेप्नु पर्‍यो पर्‍यो। त्यो उनैलाई थाहा छ।

प्रतिकूलतालाई अनुकूल बनाउँदै उनले मेहनत गर्न छोडेनन्। बिरामीप्रतिको लगाव लत्याएनन्। अमेरिकी प्रोफेसरहरूलाई पनि नतमस्तक बनाए। जसका कारण उनले अवार्डसमेत हात पारे। फलस्वरूप अमेरिकन कलेज अफ फिजिसियन्स, मेरिल्यान्ड च्याप्टरबाट उनले एक्सिलेन्स अवार्ड हात पारेका छन्। त्यस्तै, मेडस्टार गुड समरिटान हस्पिटलबाट एम्बुलटरी मेडिसिनमा आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड पाएका छन्।

बिहान पौने ५ बजे उठिसक्छन्, उनी। नित्यकर्मपछि दम्पती नै १५ मिनेट जति नियमित योग गर्छन्। अनुलोम, विलोम, कपालभातीजस्ता प्राणायामको अभ्यास गर्छन्। एरोबिक व्यायाम पनि कहिल्यै छुट्दैन। सातामा दुई दिन मांसपेशी मजबुत बनाउने व्यायाम गर्छन्। एक घण्टा ड्राइभ गर्दै क्लिनिक पुग्छन्। गठिया बाथ, भास्कुलाइटिस, अस्टियोअर्थराईटिस, लुपसलगायतका विभिन्न बाथ रोगका बिरामीको उपचारमा ध्यान दिन्छन्। राति सुत्ने बेलामा दिनभरिको कार्यव्यस्तताको स्मरण गर्छन्। समीक्षा गर्छन्। उनको मान्यता छ, ‘नियमित शारीरिक अभ्यास गर्ने, मस्त निदाउने, तनावरहित जीवन जिउने। यो किनकि असल सामाजिक कनेक्सन भएको व्यक्तिको जीवन ‘हेल्दी र ह्याप्पी’ हुन्छ।

000

सुवेदी बिरामीलाई उच्च प्राथमिकता दिन्छन्। कुन खालको बाथ रोग हो ? त्यसको बारेमा सुसूचित गर्छन्। ‘कस्तो र कसरी उपचार गरुँ ? बिरामीलाई नै सोध्छन्। उपचारका सम्पूर्ण आयामबारे झन्झट नमानी बताउँछन्। राय लिन्छन्। ‘बिरामीलाई विभिन्न किसिमका उपचार प्रणालीबारे जानकारी दिएर छनोटको अवसर दिइन्छ। पेसेन्ट फस्र्ट (बिरामीलाई पहिलो प्राथमिकता) भनिन्छ’, भन्छन्, ‘नेपालमा डाक्टर फस्र्ट भन्ने सोच छ। कुन उपचार र कस्तो उपचार गर्ने भन्ने बिरामीलाई जानकारी दिन अनिवार्य ठानिँदैन। डाक्टरले नै छनोट गर्छ।’ आफ्नो रोगप्रति कौतुहल राख्दै जिज्ञासा राख्ने/प्रश्न गर्ने बिरामीप्रति झर्किनु साटो पर्याप्त जानकारी दिएर खुसी बनाउनुपर्ने उनको सुझाव छ। भन्छन्, ‘प्रश्न गर्ने वा जिज्ञासा राख्ने बिरामीको अधिकार हो। बिरामीले अधिकारको प्रयोग गरेको बेला चिकित्सकले धन्यवाद भनेर सौहाद्रपूर्ण व्यवहार गर्नुपर्छ। ओपन माइन्डमा गरिने संवादले डाक्टर–बिरामीको सम्बन्ध पनि सुमधुर बन्छ।’

दूषित वातावरणमा बस्ने, अस्वस्थ खानपान र जीवनशैलीले पनि बाथ रोग निम्त्याउँछ/बढाउँछ। बिरामीलाई उपचार गर्नुअघि नै उपचार विधिबारे सुसूचित गर्छन् उनी। कुन उपचार विधि मन पर्छ ? बिरामीलाई छनोट गर्न सुझाउँछन्। बिरामीकै इच्छालाई प्राथमिकता दिन्छन्। भन्छन्, ‘उपचारको छनोट गर्ने अधिकार बिरामीको हो। नेपालमा बिरामीलाई उपचारमा छनोट गर्न दिइँदैन। डाक्टरले जे राय दिन्छन्, त्यसैलाई शिरोपर गर्नुपर्छ। यो सोच र व्यवहार त्रुटिपूर्ण छ। अमेरिकामा बिरामीलाई छनोट गर्ने अवसर दिइन्छ।’

माया मातृभूमिको : अमेरिकी नायिका/गायिका भेनेसा हजेन्सले भनेकी छन्, ‘मिहिनेत गर्नुहोस्। सपना देख्न नछाड्नु होस्। तर, आफू कहाँबाट आएको थिएँ, कहिल्यै नभुल्नुहोस्।’

सिद्धार्थ वनस्थलीको शाखा पनौतीमा थियो। २०५५ सालमा उनले सिद्धार्थ वनस्थलीबाट फलामे ढोका भनिने एसएलसी उत्तीर्ण गरे। काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरे। केही समय उनी इन्टर्नका रूपमा नेपाली बिरामीको उपचारमै संलग्न रहे। कुनै बेला अमेरिकाको रजिस्टर्ड डाक्टरको सपना देख्ने डा. सुवेदीको सपनाले मूर्तरूप लिएको छ। उनी अमेरिकन बोर्ड अफ इन्टर्नल मेडिसिन र र्‍र्युमाटोलोजी बोर्ड सर्टिफिकेसनबाट बोर्ड सर्टिफाइड हुन्। सुवेदीले द जोन हप्किन्स स्कुल अफ मेडिसिन, बाल्टिमोरबाट एमडी गरेका छन्। युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट जनस्वास्थ्य विषयमा एमपीएच गरेका छन्। अहिले इम्पावर्ड आर्थराइटिस एण्ड र्‍र्युमाटोलोजी सेन्टर खोलेर बाथरोगीको सेवामा तल्लीन छन्। नर्थक्यारोलिना र त्यसवरपरका सहरहरूका बाथरोगीहरूलाई गुणस्तरीय सेवा दिइरहेका छन्।

सहयात्री हुन्, डा. मनिषा घिमिरे। जनरल फिजिसियन उनी चाहिँ टेलिमेडिसिन माध्यमबाट घरबाटै बिरामी हेर्न/उपचार गर्नमा व्यस्त छिन्। दम्पतीलाई जन्मभूमिप्रतिको स्नेह गढेको छ। ‘नेपालमै जन्मियौं। हुर्कियौं। पढ्यौं। देशले हामीलाई लगानी गरेको छ’, दुवै भन्छन्, ‘जन्मभूमिप्रति स्नेह प्रकट गर्नु छ। हाम्रो व्यक्तित्व बनाउन सहयोग गरेको मुलुकलाई केही अवश्य दिनु छ।’ यतिबेला नेपाल आएका उनी फुर्सदिलो समय परिवारसँग बिताउन, घुमफिर गर्न र पुस्तक अध्ययन गर्न रुचाउँछन्।

नेपालीलाई निरोगी बनाउने उपायमा योगदान गर्न चाहन्छन्। भन्छन्, ‘अमेरिकामा बस्दाबस्दै पनि नेपालमा के योगदान गर्न सकिन्छ त ? यो प्रश्नले घोचिरहन्छ। जवाफ खोज्दै मातृभूमिले डोहोर्‍याइरहन्छ। अमेरिकाबाटै नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई बाथ रोगका बारेमा सचेतना फैलाउने सोच छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालको उपयोग गर्न सकिन्छ नि।’ विश्वव्यापीकरण र सूचना प्रविधिले संसारलाई एउटै गाउँमा रूपान्तरण गरेको छ। अमेरिकामै रहेर पनि जन्मभूमिमा धेरै योगदान गर्न सकिने उनको लेखाजोखा छ। नेपालमा बाथ रोगीको उपचारमा पहुँच पुर्‍याउन पर्याप्त मात्रामा बाथ रोग विशेषज्ञ उत्पादन गर्नुपर्छ भन्ने उनको सोच छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर फेलोसिप कार्यक्रममा सहयोग गरेका छन्। हरेक वर्ष आउँदा पाटन पुग्छन्। विशेषज्ञ चिकित्सक र अन्य विद्यार्थीसँग अन्तरक्रिया गर्छन्। डा. सुवेदी थप्छन्, ‘स्वदेशमै रहेर नेपालीजनको सेवामा तल्लीन जनशक्तिको क्षमता/दक्षता वृद्धिमा सघाउने नै मेरो दीर्घकालीन सोच हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.