चार छोरछोरी छार छोरछोरी
बुढ्यौली आफैंमा समस्याग्रस्त र चुनौतीपूर्ण हुन्छ नै। बालापन पनि त्यस्तै हो। तर बालबालिकाप्रतिको प्रेम र कर्तव्य बाबुआमाले दिलोज्यान दिएर गर्छन्। पाका बाआमाको भन्दा!
‘एक छोरा, टेक ण्छोरा। चार छोरा, छार छोरा’ भन्ने कहवात रहेछ कर्णालीतिर। अर्थात्, एउटामात्र छोरा भए राम्ररी गरी खान्छ, र बुढ्यौलीमा पनि सेवा गर्छ चार छोरा हुनुभन्दा! लैंगिक समानताका दृष्टिकोणले यो कहवातमा पनि सुधार गरी शीर्षक राखिएको हो। यस लेखमा हाम्रो समाजमा बढ्दो ज्येष्ठ नागरिकको संख्या र घट्दो बुढ्यौली सहजीकरणको आलोकमा केही परिदृश्य र सोको आधारमा बुढ्यौलीका आवश्यकता विश्लेषण गर्ने जमर्को गरिएको छ।
परिदृश्य एक : बनीबुतो गरेर आठ १० सन्तान हुर्काएको। लाउँलाउँ र खाउँखाउँको अवस्था कहिल्यै नआएको। आफ्नै खेतबारीको अन्नपातले अहिले पनि खान पुग्ने अवस्था नरहेको। उमेरको हदले ८० काटेको। एक छोरा जन्मँदै शारीरिक रूपमा कमजोर, अर्को छोरा वैदेशिक रोजगारीको सन्दर्भमा रातो बाकसमा फर्केको। छोरीहरूको जसोतसो बिहेबारी भइसकेको। कान्छो छोरो पनि बाबुआमाको इच्छाविपरीत वैदेशिक रोजगारीको सहारामा आफ्ना बाआमा र परिवारको गर्जो टारिरहेको। साँच्चै भन्ने हो भने कहरको बुढ्यौली!
परिदृश्य दुई : उमेरले ९३ पुगेको। अझै दैनिक नुहाइधुवाइ जसोतसो आफैं गरी बिहानी पूजापाठ गरिरहेको। आफैं खाना बनाई खाइरहेको। सम्यक जीवन चलाइरहेको। एकै घरमा छोराबुहारी बस्ने तर फ्लाट बेग्लै, भान्सा वेग्लै, विदुषी बुहारी सासू, ससुरासँग बोलचाल पनि नगर्ने तर कोही नयाँ आफन्त इष्टमित्र आइपुग्दा शील, सौन्दर्यता र मधुरताको प्रदर्शन गरी सुखी बुढ्यौली भोगेका बाआमा भनी स्थापित गर्न सक्ने खुबी भएकी बहादुर बुहारीका सासू, ससुरा। भौतिक सम्पत्ति थोरै भए पनि निपुण उपयोगको कारण धनको कमी नभए पनि सँगै बस्ने शालीन छोराको मायाबाट पनि वञ्चित,
परिदृश्य तीन : करिब ५० वर्षअगाडि नै विज्ञानमा स्नातक गरेका बुबा। गृहस्थकी नायिका आमा। धनसम्पत्ति सम्हालिनसक्नु भएका। सरकारी जागिर इन्कार गरी बेलैबाट ठेक्कापट्टा व्यवसाय गरिवरी हाल त्यसबाट पनि निवृत्त रहेका। पाँच सन्तानका धनी। चार जना त अमेरिकामा पनि अत्यन्तै राम्रो बन्दोबस्त भएका। पहिलापहिला सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने आशिष पनि फलिभूत भएजस्तो एउटा रहरको बुढ्यौली। यद्यपि त्यसै दिने धन र काटिखाने सन्तान कसैको हुँदैन भनेजस्तो एकातिर नेपालको धन सम्पत्तिको व्यवस्थापनका लागि प्रशस्त समय दिनु परेको। अर्कोतिर छोराछोरीसँग भेटघाटका लागि अमेरिका जानुआउनु नै ठूलो कहर छ।
८० कट्ने बेलामा पनि कुलीनता धान्न र एक पटक भइसकेको हार्ट स्ट्रोकको कारण स्वास्थ्य बचाउन धौधौ छ। छोराछोरीसँगै नहुनुको रिक्तता यो पंक्तिकारले राम्ररी पढेको छ उहाँहरूको अनुहारमा। छार छोरछोरी! : गरिबी र बेरोजगारी, शिक्षा र सभ्यता एवं कुलीनता र पलायन नेपाली समाजका अभिन्न अंगका रूपमा रहे। माथिका परिदृश्यहरू यिनै अंगका घोतक हुन् र घरघरका कहानी पनि।
पहिलो परिदृश्यको मूल सवाल रोजगारी नै हो। ती कहरका बुढ्यौलीको जोडीमा दुवै पुस्तामा आफ्नो र छोराको मर्यादित रोजागरीको अभाव रह्यो। कमकामे भएसी जीवन गुजारा पनि अभाव र दुखौटे नै हुने भयो। वास्तवमा व्यक्तिको हकमा मर्यादित श्रम, समुदायको हकमा शिष्टताको डोरी र राज्यको हकमा समृद्धि होला रोजगारीको सवाल। रोजगारीका लागि व्यक्ति जिम्मेवार आफ्नो तहमा हुन्छ नै। त्यही वैदेशिक रोजगारी नै सही यदि सूसूचित अवसरको आधारमा गरिएको भए। खासमा परिदृश्य एकमा रातो बाकसमा फर्किने आम प्रवृत्ति हुन थाल्यो हामीकहाँ। फलत पारिवारिक मुख्य आयकर्ताको मृत्यु भएपछि बाआमालाई एकातिर कहिल्यै नमेटिने मुटुको घाउ हुन्छ नै र श्रीमती/श्रीमान्सहितका आश्रित परिवारको हविगत खराब हुनै नै भयो। अत: यो परिदृश्यको सवालमा छार छोरछोरी बेरोजगारी, गरिबी र पछौटेपन नै हो।
दोस्रो परिदृश्यको अन्तर्यमा बुढ्यौली एकातिर स्वाभिमानको रहर हो भने अर्कोतिर सन्तान सुखको अनुभूतिको वञ्चितीकरणको दोसाँधजस्तो देखिन्छ। अर्को अर्थमा हेर्ने हो भने आकांक्षा र महŒवाकांक्षाको भँुमरीमा परेको दोस्रो पुस्ता र परम्परा एवं स्वाभिमानको लडाइमा रहेको पहिलो पुस्ताबीचको बेमेल। अर्थात्, न्यून मध्यमवर्गीय नैतिकताको पालना पनि। बुहारी पनि अलमलमा छिन्। सासू, ससुरासँग बोलचाल गरौं त ४० वर्ष अगाडिको बुहार्तनमा परिने हो कि भन्ने भय! नबोलौं त ढाकछोप ढाकछोप गरिकन सासू—बुहारीबीच राम्रो सम्बन्ध छ भनी देखाउनु पर्ने लोकाचार।
अर्कोतिर सासू–ससुरालाई भने कुल कुटुम्बले थाहा पाएमा इज्जत र प्रतिष्ठामा आँच आउने हो कि भन्ने त्राहिमाम्–त्राहिमाम्। यथार्थमा नैतिकताको झिनो डोरीमा अडेको र कुण्ठामा आधारित पारिवारिक सम्बन्ध बचाई राख्नुपर्ने बाध्यता पनि। त्यसैगरी, बुहारी नानीलाई भोलि छोराछोरीबाट पनि कुनै अपेक्षा नभएर पनि हुन सक्छ! पेसा, पढाइ र वृत्ति विकासको चंगुलले पनि जीवनपर्यन्त संघर्षको भुमरीमा आफूलाई समर्पित गर्नुपर्ने बाध्यताले पनि डोहो¥याएको छ। ग्रामीण शिक्षा र सहरी सुविधाको संघर्ष पनि हो। बसाइँसराइको अवसर र चुनौती पनि हो। मूलमा रूपान्तरणको संक्रमणले पनि काम गरेको छ। यस सन्दर्भमा भएको बुढ्यौलीको छारछोरी परम्परा र आधुनिकताको द्वन्द्व तथा रोजगारी एवं जीवनको सन्तुलनको अभाव पनि।
तेस्रो परिदृश्य बैद्धिक पलायन र यसले बुढ्यौलीमा परेको प्रभावको रूपमा हेर्न सकिन्छ। सन्तानले एकातिर संसारै देखाए भने अर्कोतिर माटोको वासनाले नेपालको माया झन् बढायो। बाआमालाई चाहिँ एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आउँछ भन्ने गीतको मर्म जस्तो बनाइदियो बुढ्यौलीले। छोरा छोरीलाई राम्रो शिक्षा र महत्वाकांक्षा दिइयो। पढे, बढे र उडे। कसको दोष! उनीहरूले यहाँभन्दा अमेरिकामा अवसर बढी देखे, गए। राम्रै गरेका छन्।
नोक्सानी चाहिँ राज्यलाई र बुढा बाआमालाई। बाआमा नेपाल चटक्कै छोड्ने नसक्ने, छोराछोरी चाहिँ बाआमाको ‘फनरियल इन्सुरेन्स’ पनि उनै गर्न चाहने। यही विडम्बना हो नेपालीको प्रथम विश्वमा भइरहेको बौद्धिक पलायनको वर्तमान यथार्थ। हुँदाहुँदै कक्षा ७ देखि १२ सम्म पढ्दा कतिपय गुरुवा/गुरुआमा नै नेपालमा बसेर केही हुँदैन भन्दै केटाकेटीको ‘ब्रेनवास’ गरेको पनि पाइन्छ। सुसूचित अवसरको बदलामा! यही शिक्षा प्रणाली छारछोरी हुन्– बौद्धिक पलायन र मूलत: तिनका बाआमाको बुढ्यौलीका।टेक छोराछोरी अर्थात् गरिखाने छोरछोरी कसरी बनाउने ?
पहिलो परिदृश्यको समस्या समाधान गर्न अर्थपूर्ण रोजगारीका अवस्था बढाउनु पर्दछ। सुरुवात हालसालै सुरु गर्नुपर्छ। केही भइरहेका पनि हुन्। जस्तै, राज्यले क्यासलेस एकोनोमीको नीति लिएको छ। अर्थतन्त्रको औपचारिकीकरणमा टेवा दिन्छ यो नीतिले। सो हुनासाथ रोजगारीका सबै अभिलेख राज्यको सूचनामा हुन्छ। ततपश्चात् राज्यलाई सामाजिक सुरक्षा, सशक्तीकरण र रोजगारीका कार्यक्रम गर्न सजिलो हुन्छ। त्यसैगरी, ठालुतन्त्र विपरीत भए पनि स्थानीय, प्रदेश र संघ सरकारका उपभोक्ता (भोक्ता!) समितिबाट भइरहेका काममा प्रयोग हुने श्रमिकतर्फको रकम काम गर्ने श्रमिकको खातामा सोझै जाने व्यवस्था गर्न सके मलेसियालगायत गल्फ देश जानेको संख्या विस्तारै घट्न थाल्छ। सम्मानजनक रोजगारी पहिलो परिदृश्यको टेक छोरछोरी हो।
दोस्रो परिदृश्यको ओखती परिवारमा क्षितिजीय सम्बन्धको विकास, संयुक्त पारिवारिक परम्परागत मान्यतामा सुधार र छोरी एवं बुहारी तथा छोरा र ज्वाइँमा सम्मानसहितको व्यवहार र भरोषाको विकास हो। सारमा भन्दा शिक्षा र रोजगारीलाई संस्कारयुक्त तुल्याउने। संयुक्त परिवारको राम्रा परम्पराको निरन्तरता दिँदै चौंठीमा तेल ठीक पार्नुपर्ने, हुक्का चिलिम दुरुस्त गर्नुपर्ने जस्ता परम्परामा सुधार चाहिन्छ। स्थानीय तह, टोल विकास संस्थाजस्ता संरचनाले असल बुहारी, भरोषायुक्त ज्वाइँजस्ता शिक्षा र सम्मानको माध्यमबाट सामाजिक अभिप्रेरणाको विकास गर्न सकिन्छ। बुढ्यौलीको सहजीकरण र युवाको योगदानको कदरको वातावरण परिवारमा गर्न सकेमा पारिवारिक मेल बढाउन सकिन्छ।
तेस्रो परिदृश्यले खासमा देशलाई नोक्सानी भइरहेको छ। बुढ्यौली व्यवस्थापनमा भन्दा पढेलेखेका, देखेसुनेका, कमाइधमाइ भएका यी वर्गका छोराछोरीलाई सरकारले नेपालमा फिर्ता गर्ने दिगो र टिकाउ कार्यक्रम ल्याउनुपर्दछ। जस्तो लगानी भिसा। उनीहरूलाई नेपालमा लगानीको अवसर, टेक्नोक्याटिक राजकीय पदमा आकर्षण र सहज आवागमनको प्रबन्ध गर्न सकेमा पक्कै नेपाल फर्किन्छन्।
अनित, तिनका बाआमाको बारेमा राज्यले सोच्नै पर्दैन। बरु दान संस्कारलाई अभिन्न अंगको रुपमा विकास गर्न सकिन्छ। जस्तो कानुनी र संस्थागत व्यवस्था गरेर ज्येष्ठ नागरिक हेरचाह केन्द्र, दिवा सेवा केन्द्रजस्ता संरचना निर्माण र सञ्चालन गर्न सक्छन्– यी पाकाहरूले त! यिनलाई चाहिएको त आफ्नो छोराछोरीको समीपतामात्र!
र अन्त्यमा, बुढ्यौली आफैंमा समस्याग्रस्त र चुनौतीपूर्ण हुन्छ नै। वालापन पनि त्यस्तै हो। तर बालबालिकाप्रतिको प्रेम र कर्तव्य बाबुआमाले दिलोज्यान दिएर गर्छन्। पाका बाआमाको भन्दा! बालापनमा बाआमाले हामीप्रति गरेको कर्तव्य सम्झी छोराछोरीले आफू सक्दो गरेकै हुन्छन्। यद्यपि समाजका आदर्शमा आएको परिवर्तनले र आधुनिकताको नाममा भइरहेको व्यक्तिवादीकरणले बुढ्यौलीलाई नेपाली समाजमा असहजजता बढ्दो छ। अत: माथिका पारिदृश्यमा रहेका आम नेपाली प्रवृत्तिमा सुधार गरी छारको न्यूनीकरण र टेकको पोषितीकरण गर्न व्यक्ति, परिवार, समाज र राज्यको कर्तव्य हुन आएको छ।
प्रतिक्रिया दिनुहोस !