कामकलाको खुला हेराइबाट मानिसको मनमा वास्तविक तृप्ति मिल्छ। मन र आकांक्षा अघाएपछि समाज स्वत: अनुशासित बन्दछ।
नेपाली कलाको आकाशमा एउटा सुन्दर जून झुल्किएको छ। अनमोल अनुसन्धानमूलक कृति यो सुन्दर जूनको नाम हो– ‘नेपाली कलामा कामकला’। करिब ३०० पृष्ठको यस पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। गहिरो अनुसन्धानमूलक यो पुस्तकले नेपाली ऐतिहासिक कलाका गुप्त रहस्यहरू खोतलेको छ। ढुंगा र काठका जीवन्त बुट्टाहरू यसमा बोल्छन्।
माटोका प्राचीन मूर्तिहरूले गहिरो दर्शनको गीत गाउँछन्। हाम्रा रैथाने पुर्खाहरूको प्रज्ञा यसमा संग्रृहीत छ। जसले पाठकलाई प्राचीन कालको कलात्मक यात्रा गराएको छ। कला र मानव जीवनको त्रिवेणी यसले प्रस्ट पार्छ। जसले नेपाली मौलिक सांस्कृतिक वैभवको उजागर गरेको छ। अर्थात्, कलाको गहिराइ नाप्ने यो एउटा बलियो कसी हो।
कलाको उत्पत्ति, शास्त्रीय परिभाषा : पुस्तकको पहिलो अध्यायले कलाको सार र रहस्य बुझाउँछ। कला शब्द संस्कृतको प्राचीन ‘कलू’ धातुबाट जन्मिएको हो। यसको वास्तविक अर्थ आनन्द र परम सुख दिने हुन्छ। मानिसको भित्री भावनाको सुन्दर बाहिरी प्रस्फुटन नै कला हो। सुन्दर रेखा, रंग र अनौठो तालमा कला सजिएको हुन्छ। अनुपम मूर्तिकला, संगीत र नृत्यमा यसको बास हुन्छ। काठमाडौं उपत्यकाका मठमन्दिर कलाका जीवित भव्य संग्रहालय हुन्। प्राचीन मल्लकालीन दरबारहरू कलाको सर्वोच्च सुन्दर शिखर हुन्। विशिष्ट कालीगढी पूर्ण कलाका लागि नेपाल विश्वप्रसिद्ध छ। धार्मिक मापदण्ड अक्षरश: पालना गरेर कला बनाइने गरिनु यसको कारण हो। कलाले मानवीय मस्तिष्कको चौतर्फी र सुन्दर विकास गर्छ। चिन्तनलाई उजागर गर्ने ठूलो सामथ्र्य कलामा मात्र हुन्छ। कामकला पनि यसै चिन्तनको एउटा विशिष्ट रूप हो। कलाले मानिसको आत्मालाई परमानन्दको दिव्य अनुभूति गराउँछ।
उपमहाद्वीपको परिवेश अनि दार्शनिक आधार :
पुस्तकमा भारतीय उपमहाद्वीपका मूर्तिहरूको विकासक्रम पनि समेटिएको छ। सिन्धुघाटीको प्राचीन सभ्यताका मूर्तिहरूको सुन्दर चर्चा यहाँ पाइन्छ। नेपाली मूर्तिकलामा देखाइएको रतिकलाको विकासक्रम निकै रोचक छ। धातु, काठ र मृण्मय कलामा मिथुनचित्रहरू कोरिएका छन्। वास्तुकलामा यौनकलाको बलियो उपस्थिति त यस पुस्तकले झनै गजबले प्रमाणित गरेको छ। मन्दिरका टुँडालहरूमा रतिकलाका अनौठा मूर्तिहरू सजाइएका छन्, जुन मूर्तिहरू केवल कौतुक वा सस्तो मनोरञ्जन होइनन्। त्यहाँ त एउटा गम्भीर दार्शनिक रहस्य लुकेको छ। चौधौं र पन्ध्रौं शताब्दीमा नयाँ सामाजिक परिस्थिति बन्यो। भारतीय पाल्कला शैलीको प्रत्यक्ष प्रभाव नेपालमा देखिन थाल्यो। तन्त्रयान र बज्रयानले नेपाली कलालाई गहिरो रूपमा प्रभावित पारे।
गृहस्थाश्रमको रक्षासँगै सामाजिक सन्तुलन : तत्कालीन समयमा नेपाली समाजमा एउटा ठूलो संकट आयो। बौद्ध धर्ममा घर त्यागेर भिक्षु बन्ने लहर चल्यो। युवा विवाह नगरी भिक्षु धर्म ग्रहण गर्न थाले। हिन्दु धर्ममा पनि सन्न्यास र ब्रह्मचर्यको अत्यधिक महिमा भयो। सबैले संसार त्यागेपछि सृष्टिको सुन्दर नियम संकटमा पर्यो। जनसंख्या घट्ने र प्रकृतिमा नकारात्मक अवस्था सिर्जना भयो। यो अवस्था मानव समाज र प्रकृतिविरुद्धको ठूलो काम थियो। यस विषम संकटबाट समाजलाई जोगाउन आवश्यक देखियो। त्यसपछि हाम्रा दूरदर्शी पुर्खाहरूले नयाँ बाटो पहिल्याए। यौन र कामकला अधार्मिक क्रिया होइनन् भनी देखाइयो। मन्दिरका टुँडाल र धार्मिक ग्रन्थमा रतिकलाका चित्रहरू राखिए। यसले गृहस्थाश्रम धर्मलाई पुनर्जीवन दिने ठूलो काम गर्यो। कामकला केवल भौतिक चरम सुखमात्र कदापि होइन, यो त आध्यात्मिक निर्वाण प्राप्तिको बलियो माध्यम पनि हो। उपनिषद्का चार आश्रमको सुन्दर र व्यावहारिक व्याख्या यहाँ छ। गृहस्थाश्रमको पालना धार्मिक मान्यताबमोजिम आवश्यक रहेको पुष्टि हुन्छ।
यौन मनोविज्ञानभित्र रचनात्मक शिक्षा : यौन मानिसको एक अनिवार्य र अकाट्य जैविक तत्व हो। यसलाई कुनै पनि अवस्थामा रोक्न वा दबाउन सकिँदैन। प्राकृतिक वासनालाई जबरजस्ती दमन गर्दा भयानक परिणाम आउँछन्। समाजमा बलात्कारजस्ता जघन्य र जंगली अपराधहरू बढ्छन्। अतृप्त चाहनाले समाजलाई संक्रामक र सधैं असुरक्षित बनाउँछ। त्यसैले हाम्रा दार्शनिक पुर्खाहरूले यसलाई खुल्ला किताब बनाए। मठमन्दिरहरूमा यी अद्भुत कलाहरू सहजै निर्माण गर्न लगाइयो। यसले यौनप्रति रहेको अनुचित हाउगुजी र रहस्य समाप्त पार्छ। यो वास्तवमा एक प्रकारको सिर्जनात्मक र स्वस्थ यौन शिक्षा हो। निश्चित उमेरका युवा पुस्ताका लागि यो अत्यन्त आवश्यक छ। कामकलाको खुला हेराइबाट मानिसको मनमा वास्तविक तृप्ति मिल्छ। मन र आकांक्षा अघाएपछि समाज स्वत: अनुशासित बन्दछ। मानवीय ऊर्जाको सही आध्यात्मिक व्यवस्थापन नै कलाको मुख्य ध्येय हो। दमित चाहनालाई बाहिर ल्याएर मन पवित्र बनाउने यसको लक्ष्य हो।
तन्त्र साधना र चौरासी आसनको रहस्य : पुस्तकको चौथो र पाँचौं अध्याय निकै गहन र दार्शनिक छन्। तन्त्रशास्त्रमा कामकलाको निकै रहस्यमय पाटो उजागर गरिएको छ। कामुकतालाई तन्त्रमा पवित्र साधनाको उच्च रूप दिइएको छ। रतिकलाका चौरासी विशिष्ट आसनहरूको विस्तृत चर्चा यहाँ छ। चौरासी कलालाई मोक्ष प्राप्तिको मुख्य आधार मानिएको छ। ती विभिन्न आसनभित्र गुप्त ज्ञान र गहन योग लुकेका छन्। प्राचीन मन्त्र र यन्त्रका गहन रहस्यहरू यसमा सुरक्षित राखिएका छन्। टुँडालका यी मूर्तिहरू मन्त्रसिद्धिका हिसाबले बनाइएका हुन्। साधारण मानिसले यसमा केवल भौतिक सुखमात्र देख्छन्। तर आध्यात्मिक साधकले यसभित्र लुकेको परम ज्ञान भेटाउँछ। प्रकृति र पुरुषबीचको रतिकला नै सृष्टिको मूल आधार हो। भैरव र भैरवीको क्रीडा यसै शाश्वत सत्यको उत्कृष्ट बिम्ब हो। भौतिक चरम सुखलाई ब्रह्मसुखमा लैजाने अद्भुत कला यही हो। यस साधनाबाट मोक्ष र परलोकको दिव्य सुख प्राप्त हुन्छ। तन्त्रमा पञ्चमकारको प्रयोग र तान्त्रिक विधिको बयान सुन्दर छ। श्रीचक्र र श्रीविद्याको गहन उपासनाले मानवीय मन एकाग्र बनाउँछ। मैथुनक्रियामा स्त्रीको सत्ता पुरुषसमान हुने कुरा सुखद छ।
लयात्मकता अनि भाषाको जादु : लेखकको लेखनशैली अत्यन्तै लयात्मक, सुमधुर र बगाममय छ। शब्दहरू सफा नदीको पानी जस्तै सलल बगेका देखिन्छन्। पुस्तकको हरेक वाक्यमा कलाको मीठो सुगन्ध महसुस हुन्छ। मौलिक बिम्बहरूको प्रयोगले पुस्तकलाई निकै काव्यिक बनाएको छ। ढुंगामा कुँदिएका पुराना मूर्तिहरू जीवन्त रूपमा बोलिरहेका लाग्दछन्। काठका टुँडालहरू दर्शनको गहिरो र विशाल आँखा बनेका छन्। पुराना चित्रहरूले प्राचीन समयको जीवन्त कथा उजागर गर्छन्। यो एक गहन अनुसन्धानमूलक ग्रन्थ भएर पनि असाध्यै रसिलो छ। शुष्क तथ्यहरूलाई पनि लेखकले कलात्मक र सुन्दर रूप दिएका छन्। कौतुहलताको मसिनो त्यान्द्रो आदिदेखि अन्त्यसम्म दरो गरी कायम रहन्छ। यो नेपाली लेखन कलाको एउटा उत्कृष्ट र बलियो नमुना हो। शब्दको चयन र वाक्यको बनौटले मनलाई आनन्दित तुल्याउँछ भन्दा फरक नपर्ला।
प्राज्ञिक मूल्य र निष्कर्ष : यो पुस्तक केवल रतिकलाको भौतिक बयानमात्र होइन। यो त हाम्रो गौरवमय नेपाली पहिचानको सफा ऐना हो। यसले हाम्रो हराउन लागेको अमूल्य सांस्कृतिक सम्पदाको रक्षा गर्छ। भविष्यका अनुसन्धानमूलक कार्यका लागि यो बलियो मार्गचित्र हो। पुस्तकभित्र संगृ्रहीत पुराना ऐतिहासिक फोटोहरू निकै महत्वपूर्ण र दुर्लभ छन्। यसले नेपाली कला र इतिहासको ठूलो रिक्ततालाई सफलतापूर्वक भर्दछ। मठमन्दिर, सम्पदा र इतिहास प्रेमीका लागि यो एक अनुपम गीता हो। लाग्छ, कलाको गहिराइ बुझ्न यो पुस्तक हरेक पाठकले पढ्नै पर्छ।
प्रतिक्रिया दिनुहोस !