‘ज्यानमारा’ रोल नम्बर १३

अपवाद

‘ज्यानमारा’ रोल नम्बर १३

रोगबिना नै विद्यालयमा एक्कासि मृत्यु भएको महेन्द्र माध्यमिक विद्यालयकै पुराना शिक्षक तथा स्थानीय पाका व्यत्तिाmहरू बताउँछन्।

झट्ट सुन्दा सुरुमा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, वास्तविकता यही हो। नेपालको सुगम स्थानको जिल्ला सदरमुकाममा अवस्थित एउटा विद्यालयमा रोल नं. १३ नै हुँदैन भन्दा जो कोहीलाई हत्तपत्त विश्वास लाग्दैन। कतिलाई रोचक लागेर कौतुहलले सताउन थाल्छ।

२१औं शताब्दीको भौतिकवादको चरम युगमा पनि यसरी विज्ञानलाई चुनौती दिँदै अध्यात्मवादले अझै जरा गाडिरहेको छ– हालको लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको तम्घासस्थित रेसुंगा नगरपालिका–१ चिदिचौरस्थित महेन्द्र माध्यमिक विद्यालयमा। यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत रोल नं. १३ भएका सातजना विद्यार्थीको विभिन्न खालखण्डमा आकस्मिक मृत्यु भएपछि २०३२ साल अर्थात् विगत ५१ वर्षदेखि कक्षा ९ मा रोल नं. १३ नै खारेज गरिएको हो।

त्यसयता रोल नं. १२ बाट सिधै १४ पार्न थालिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक केशरबहादुर थापा बताउँछन्। ‘मलाई जानकारी भएसम्म २०२८ सालमा तत्कालीन अर्खले गाउँ पञ्चायतका ढुण्डिराज भण्डारी, २०३० मा तम्घास बजारकै जूनप्रसाद श्रेष्ठ र २०३२ मा स्थानीय कृष्णप्रसाद पाण्डे नामका रोल नं. १३ भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मृत्यु भयो’ उनी भन्छन्, ‘त्यसअघि पनि अन्य चारजना विद्यार्थीको ‘अकाल’मा निधन भइसकेको रहेछ।’

ती विद्यार्थी कोही चट्याङमा परेको, कोही रगत बान्ता गरेर तत्कालै ढलेको त कोही रोगबिना नै विद्यालयमा एक्कासि मृत्यु भएको महेन्द्रकै पुराना शिक्षक तथा स्थानीय पाका व्यक्तिहरू बताउँछन्। घटना भएको यति लामो समय बितिसक्दा पनि किन त्यही पुरानै अन्धविश्वासले डेरा जमाइरहेको छ त ? हालका प्रअ कृष्णप्रसाद मरासिनी प्रष्ट्याउँछन्– ‘हामीले विश्वास नगरेर के गर्ने ? विद्यालयको प्रांगणमै थलथले जमिन छ। त्यहाँ पानी उम्लिरहन्छ। मानिसले टेक्यो भने पूरै गाडिन्छ। स्थानीय ‘चिदीको देवता’ भनेर मान्छन्, केही वर्ष अघिबाट त मन्दिर नै बनाएर पूजाआजा गरिरहेका छन्। फेरि, रोल नं. १३ लिन–रोज्न कुनै विद्यार्थी–अभिभावक तयार हुँदैनन्, डराउँछन्। यस्तोमा कर गर्ने विषय उठ्दैन।’

यसरी ‘अकाल’ मृत्यु हुने भय बढ्दै गएपछि पाण्डेको निधनलगत्तै ‘ज्यानमारा रोल नं. १३’ भन्दै महेन्द्रको कक्षा ९ मा यो रोल नं. राख्ने प्रक्रिया नै रद्द गरियो। यस्तै, भण्डारीको नाममा त केही वर्षअघि अक्षयकोष नै खडा गरिएको छ। यस विद्यालयमा हाल कक्षा १ देखि १० सम्म करिब ७ सय र कक्षा ११–१२ मा ५ सय हाराहारी विद्यार्थी संख्या छ। चालू शैक्षिक सत्रमा कक्षा ११–१२ मा भर्ना हुने विद्यार्थी क्रमशः थपिँदै छन्। विद्यालयको अन्य कक्षामा भने प्रक्रियागत रूपमा रोल नं. १३ ले सुरुदेखि नै निरन्तरता पाइरहेको छ। नजिकै रहेका अन्य निजी तथा सरकारी विद्यालय र कलेजमा समेत रोल नं. १३ कसैका लागि अभिशाप बनेको छैन।

महेन्द्र माविको १० मिनेट पैदल दूरीमा रेसुंगा र सिद्धबाबा मावि पनि छन्। त्यहाँनजिकै १० कक्षासम्म अध्ययन हुने रिडर्स बोर्डिङ स्कुल, १२ कक्षासम्म सञ्चालित अर्जुन बोर्डिङ स्कुल र त्यही सेरोफेरोमा गण्डकी बोर्डिङ तथा आदर्श विद्याश्रमसमेत छन्। त्यसको केही टाढा भने उपल्लो तम्घास, बुद्ध मावि र रेसुंगा बहुमुखी क्याम्पसलगायत छन्। यद्यपि त्यहाँको स्कुल/कलेजमा महेन्द्रको जस्तो ‘चिदी देवता’ त परै जाओस्, त्यसको हावाले पनि छुन सकेन। 

उसो त महेन्द्र माविको इतिहास आफैंमा निकै चाखलाग्दो छ। अभिलेख अनुसार, २००९ मा तम्घासको ताल्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत–१ (हालको रेसुङ्गा–१) चिदिचौरमा १ देखि ८ कक्षासम्म सञ्चालन हुने श्री लक्ष्मीपुर मिडिल स्कुल स्थापना भएको हो। २०१६ मा राजा महेन्द्र देश भ्रमणमा रहँदा त्यही स्कुलमा बास बस्न पुगेछन्। ‘त्यतिबेला जनता, बडाहाकिम सबैले माग गरेबमोजिम राजा महेन्द्रबाट हाइस्कुल बनाउन हुकुम बक्स भएछ’, स्थानीय उदय खनाल स्पष्ट पार्छन्– ‘अनि महेन्द्रसँगै बसेको टोलीले विद्यालयको नाम पनि फेरेर श्री महेन्द्र हाइस्कुल बनाइदिएको हो।’

‘हाइस्कुल’मा परिणत भएपछि महेन्द्र माविको पहिलो ‘ब्याच’का विद्यार्थीले २०२० मा पाल्पाको सदरमुकाम तानसेन परीक्षा केन्द्रमा आएर एसएलसी दिए। यो क्रम २०२४ सम्म चल्यो। त्यसपछि विद्यार्थीको चाप क्रमशः बढ्न थाल्यो, भवनको अभाव भयो। अनि १० मिनेट टाढा उदिनढुंगामा भवन निर्माण गरी १–५ कक्षाका विद्यार्थीलाई त्यहाँ सारियो। महेन्द्रमा ६ देखि १० कक्षासम्म सञ्चालन गरियो। यसपछि २०३५ मा नयाँ शिक्षा लागू भयो। यससँगै विद्यालयको नामसमेत श्री महेन्द्र नमुना व्यावसायिक माविमा परिमार्जन गरियो।

प्रसंग २०४० को हो– विद्यालय पुनः श्री महेन्द्र माविमा नै रूपान्तरण भयो। र, २०५७ मा आइपुग्दा विज्ञान संकायमा ‘प्लस टु’ थपिएसँगै श्री महेन्द्र उच्च मावि बन्न पुग्यो। सोही वर्ष कक्षा ६ मा अनिवार्य अंग्रेजी माध्यम थपियो। त्यो ‘ब्याच’ले २०६१ मा एसएलसी दियो, जुन शतप्रतिशत उत्तीर्ण भयो। २०६१ मा त कक्षा १० सम्म नै अनिवार्य अंग्रेजी माध्यम भयो। त्यसपछि त्यो नीति १–५ कक्षामा पनि लागू गरियो। ‘यो प्रयास लुम्बिनी अञ्चलकै हकमा पहिलो हो’, प्रअ मरासिनी दाबी गर्नुहुन्छ– ‘हाम्रो त्यस्तो कदमबाट नजिकका विद्यालयले पनि अनुसरण गर्न मौका पाए।’

अर्को गर्वको पक्ष के छ भने अहिलेका रेसुंगा, सिद्धबाबा मावि तथा रेसुङ्गा बहुमुखी क्याम्पस २०३५, २०३९ र २०४२ मा महेन्द्रकै शाखा–उपशाखाको रूपमा विकास भएका हुन्। २०६३ देखि रेसुंगामा मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान आदि संकायमा स्नाकोत्तरतहसम्म अध्ययन–अध्यापन हुँदै आएको छ।

अंग्रेजी विषयमा प्रखर मानिने मरासिनी २०५३ सालदेखि महेन्द्र माविमा अध्यापनरत छन्। उनी २०७८ बाट त्यहाँ प्रअ भएका हुन्। उनलाई विषयगत, आंशिक र पूर्ण गरी ६२ अध्यापकले साथ दिइरहेका छन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पन्थी छन्। विषयगत, विधागत र समग्र अध्ययन, अध्यापन तथा परिणाम सबैमा हाल गुल्मी जिल्लाकै सर्वोत्कृष्ट ठहरिएको महेन्द्र मावि २०७४ मा नै नेपाल सरकारले देशभरबाट छनोट गरेको २ सय २२ वटा नमुना विद्यालयमध्येमा परेको हो।

‘हाम्रो स्कुललाई २०७४ मा नमुना विद्यालयको रुपमा छनोट गरियो। २०७५–७९ को पञ्चवर्षीय गुरुयोजना र एकबर्से कार्ययोजना बनाएर शिक्षा मन्त्रालयको सहमतिमा स्थानीय सरकारबाट स्वीकृत लिई कार्यान्वयन पनि गर्‍यौँ’, प्रअ मरासिनी मुस्कुराउँछन्। रोगबिना नै विद्यालयमा एक्कासि मृत्यु भएको महेन्द्र माध्यमिक विद्यालयकै पुराना शिक्षक तथा स्थानीय पाका व्यक्तिहरू बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.