गृष्म ऋतुका देउडा गीत
सत्यकुरालाई उजागर गर्ने हो भने भोलिका सन्ततिका लागि ठूलो पाठ लागू हुनेछ। त्यसैले देउडा गीतमा दर्शन छ, जीवन र प्रकृतिबीचको मीठो मिलन छ।
रुणा पण्या जनसुकै गैली मूलका पानी,
डिठ्पण्या भिट् भैग्यै मान्दो मेरो गैलो बानी।
माथिको ऐतिहासिक देउडा गीत मौसमसम्बन्धीको गीत हो। प्रकृतिमा देखा पर्ने परिवर्तनलाई यो गीतले उजागर गरेको देखिन्छ। रुणा पण्नु (सुक्खा पर्नु) ले जनजीवनलाई कष्टप्रद पार्ने हुँदा पानीका मुहानहरू सुरक्षित राख्नुपर्ने सन्देश दिएको छ। गहिरो पानीको मूल भएमा सुक्खा मौसममा पनि सुक्दैनन्, जसरी एकपटक भेटेको या टाढाबाट नै देखेको असल चरित्र बोकेको मानिसलाई म बिर्सन सक्दिनँ। गहिरो पानीको मूल झैं आफ्नो बानीव्यहोरा पनि सोहीबमोजिम रहेको जानकारी देउडा सर्जकले गीतमा व्याख्या गरेको पाइन्छ।
देउडागीतहरू गहिरा पानीका मूलजस्तै हुन्, जसले समाजमा सकारात्मक सन्देश दिन्छन्। अझ भावी पिँढीलाई प्राकृतिक, सांस्कृतिक र सामाजिक परिवेशलाई समयानुसार बचाएर राख्नुपर्छ भन्ने शुभ सन्देश (रैवार) पनि दिइराखेका हुन्छन्। यत्रतत्र सर्वत्र देउडा गीतहरू कालीकर्णालीको भूमिमा छरिएका पाइन्छन्। गीतका पारखी र संस्कृतिकर्मीहरूले आवाजमार्फत देउडा खेलको माध्यमले बचाउने कोसिस गरिराखेका त देखिन्छन्, तर प्रान्तीय र संघीय सरकारबाट नीतिगत रूपमा संरक्षण गरेको देखिँदैन। संरक्षणको नाममा बेला बेलामा मनोरञ्जनका रूपमा व्यक्तिलाई सो अवसरमा पुरस्कार प्रदान गरिन्छ। यसो गर्दा असल संस्कृति साधक पछाडि पर्छन्।
धारापानी सुकिगयो पण्पानी चुदैछ,
झाऊझाऊ प्यारी म कया भनुँ हृदय रुँदैछ।
६ वटा ऋतुअनुसार मौसमले गति लिएको देखिँदैन, विगत केही वर्षयता। पानी पर्ने बेला सुक्खा हुने, वैशाख जेठ महिनामा वर्षामासमा झैं झरी आइरहने भएकाले विशेषगरी किसानहरू मर्कामा परेका छन्। केही वर्ष पहिले, अझ पंक्तिकार सानो छँदा वैशाख, जेठको प्रचण्ड गर्मी भएको सम्झना ताजा छ। त्यसबेला पानीका मूलहरू सुक्ने, पानीको अभावमा घणो (गाग्री) बोकेर गाण (सानो खोला) र सेती नदी पुग्ने पानी बोक्ने बाध्यता पनि थियो। त्यही अवस्थाको चित्रण गरी देउडा सर्जकले प्रकृतिको वर्णन हुबहु रूपमा गीतमा उतारे।
पण (भीर) बाट चुहिने थोपाथोपा पानी झरेको देखिए तापनि पिउन नसकिने अवस्था छ, धाराहरू सुकेर पानीको अभावमा काकाकुल बनेको छ समाज भन्दै दुःखेसो पोखेको देखिन्छ सर्जकले गीतमा। दुई÷तीन घण्टाको बाटो हिँडी पानी बोक्नुपर्ने बाध्यता कुनै बेला गाउँघरमा थियो। अहिले त्यस्तो कठिनाइ छैन, सरकारले घरघरमा धाराको व्यवस्था गरेको देखिन्छ। दुई÷तीन घण्टाको बाटो पार गर्दाका भीर र उकाली ओराली बाटो पार गर्दा कतै लडिन्छ कि भन्ने पीरले श्रीमान्ले जीवन संगिनीलाई त्यसरी पानी बोक्ने अवस्था देखेर हृदय रोइराखेको वस्तुपरक चित्रण गरेको पाइन्छ।
गीतले समाज बोकेको हुन्छ, इतिहास ब्युँझाउने काम गरेको हुन्छ। त्यसैले पनि गीत जीवित छन्, प्राणीहरू जन्मन्छन्, मर्छन् तर सिर्जना र इतिहास मर्दैन। बाल कलाकार सुश्रुत तिमिल्सिनाले ८ वर्षको उमेरमा गाएको देउडा गीतले भन्छ–
न्याय पाउन गोर्खा वाइझाऊ पढ्नाखी काशीझाऊ
मेरा माइत काला पाल्त कोइली वासीझाऊ।
पहाडी जनजीवन गीतिमय छ। सुखमा पनि गीत, दुःखमा पनि गीतद्वारा वर्तमानमा पनि गीतांगी (गीतको रचना गर्ने मानिस) जीवनलाई प्रकृति र भाग्यसँग दाँजेर गाउने गर्छन्। जीवनको शाश्वत सत्य पनि त्यही नै हो। औल (बेंसी भाग) मा प्रचण्ड गर्मीका कारण पानीका मूल सुक्ने हुँदा किसानहरू, अझ भैंसी गोठालाहरू वस्तु लिएर लेकाली भाग जाने गर्छन्। लेकाली भागमा पनि बस्ती बाक्लो भएका कारण जंगल फडानी गरी मानिसहरूको बसोबास भैरहेकाले पानीका मूलका अभाव दिनप्रतिदिन देखा पर्दैछ। बाबुबाजेले धारा निर्माण गरी देवीदेवताका मूर्ति स्थापना गर्ने गर्थे। वर्तमानमा धाराहरूमा पानी छैन, देवताका मूर्तिमात्र छन्। यही अवस्थाको चित्रण गर्दै देउडा गीतका पारखी बोल्छन् ः–
रामले चिन्याका धारा पानी खाईझाऊ सीता,
मन् भन्छ घरबार होइझा कर्म भन्छ विता।
अत्यन्तै अर्थपूर्ण यो देउडा गीतले केवल सामाजिक र सांस्कृतिक परिचयमात्र दिएको छैन, १४ वर्ष बनवासी भएका रामले जनताको पानी प्यास मेटाउन धारा निर्माण गरेको कुरालाई गीतले व्याख्या गरेको छ। सायद गृष्म ऋतुको प्रचण्ड गर्मीमा निर्माण गरेको हुनुपर्छ– त्यो पानीको धारा। यहाँ सीतालाई पानी पिएर जाऊ भनिएको छ। सीता अर्थात् पतिपरायण नारी, मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई सम्बोधन गर्न पनि देखा परेको छ। नारी र पुरुष एक रथका दुई पांग्रा भएको संकेत गर्दै समानताका कुरा पनि गीतमा दर्शाएको पाइन्छ।
कुनै बेला पहाडी भूखण्डमा जेठाजूले पिएको पानीको अंखरामा भाइबुहारीले पानी पिउन हँुदैन भन्ने प्रचलन थियो। जेठाजुलाई देख्दा कपाल ढाक्नुपर्ने, लामो दूरीको बाटोमा बाहेक घरायसी कामकाजको बाटोमा हिँड्न पनि हुन्न, यसो गरे धर्म नष्ट हुन्छ भन्ने पुरानो मान्यता थियो। कालान्तरमा परिवर्तन हुँदै जाँदा अहिले समानता र पारदर्शिताका कुराहरू देखा परे। हुँदाहुँदा देउडा खेलमा सामूहिक सवालजवाफ पनि सुरु भए। जसलाई सांस्कृतिक रूपमा विकासको क्रम मान्न सकिन्छ। गीतको पहिलो पंक्तिले बाहिरी परिवेशको व्याख्या गर्नेगर्छ भने दोस्रो हरफले गीतको मर्म बुझाउने हुँदा माथिको ऐतिहासिक गीतलाई ऐतिहासिक र लोकप्रिय देउडा गीत पनि भन्न सकिन्छ।
वास्तवमा देउडागीत र मारुनी, सालैजो काठेगीत र टप्पागीतमा देखिने फरकपन पनि यही नै हो। बझाङ तलकोटको वेदकाली गाउँका पुराना मुखिया जेठमा बिरामी परे। झाडाबान्ता पनि भयो। अन्तिम अवस्था सम्झी गाउँका मानिसले अन्तिम इच्छा के छ ? भनी सोधेछन्। बिरामी मुखियाले ‘तिल्यालाको ठण्डपानी पिउने इच्छा छ’ भनी जवाफ दिएछन्। गाउँबाट दुई घण्टाको उकालो बाटो हिँडेर पुग्नुपर्छ तिल्यालाको पानी मुहानमा। तिल्याला रुखको फेदीमा मूल भएको त्यस ठाउँको पानीको स्वाद र चिसोपन पनि व्याख्या गर्न लायक छ। मुखियाको इच्छाअनुसार वेदकाली गाउँका केही युवाले तिल्यालाको पानी पनि बिरामीलाई पिलाएछन्
सायद पानी प्यासको सन्तुष्टि पाएर होला वृद्ध मुखिया थप ६ महिनासम्म जीवित रहन सके भन्ने त्यसबेलाको वस्तुपरक घटना सुनाउँछन् अहिले पनि गाउँमा। यी र यस्ता खाले घटना धेरै सुनिन्छन्। त्यसबेलाका बुढापाकाले संस्कृतका श्लोक र मन्त्र उच्चारण गरेर वैशाख, जेठमा पानी वर्षाउँथे भन्ने चर्चा पुरानो होइन। यी कुरा देउडा गीतमा आउँछन्। त्यसैले पृथ्वी, अप, तेज, वायु, आकाश सत्यमा अडिग भए जस्तै देउडा गीत समाजमा मर्यादित संस्कार र संस्कृतिहरू सत्य छन्। सत्य कुरालाई उजागर गर्ने हो भने भोलिका सन्ततिका लागि ठूलो पाठ लागू हुनेछ। त्यसैले देउडा गीतमा दर्शन छ, जीवन र प्रकृतिबीचको मीठो मिलन छ।
प्रतिक्रिया दिनुहोस !