पुरुषोत्तम महिना भौतिक सुखसुविधाका लागि नभएर विशुद्ध आध्यात्मिक उन्नति, आत्मशुद्घि र भगवद्–भक्तिका लागि आरक्षित महिना हो।
सनातन हिन्दु धर्म र संस्कृतिमा समयको प्रत्येक पल, घडी, दिन र महिनालाई विशेष महत्वका साथ हेरिन्छ। सृष्टिको नियम र खगोलीय गतिअनुसार समयलाई गणना गर्ने हाम्रो मौलिक वैदिक पद्धति छ। यही पद्धतिअन्तर्गत पर्ने एउटा अत्यन्तै विशेष, पवित्र र आध्यात्मिक रूपले महत्वपूर्ण समय हो। पुरुषोत्तम महिना जनजिब्रोमा यसलाई मलमास वा अधिकमास पनि भनिन्छ। तसर्थ धार्मिक दृष्टिकोणले यो महिना भगवान् श्रीहरि विष्णुको विशेष कृपा प्राप्त गर्ने महिना हो। पुरुषोत्तम महिनासँगै जोडिएर आउने नेपालको एउटा ऐतिहासिक, सांस्कृतिक र धार्मिक पक्ष हो।
मत्स्यनारायणको मेला काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा अवस्थित कीर्तिपुर नगरपालिकामा पर्ने ऐतिहासिक तीर्थस्थल मत्स्यनारायण (मछेगाउँ) मा यस महिनाभरि लाग्ने मेलाले नेपालको मौलिक परम्परा र धार्मिक सहिष्णुतालाई प्रष्ट पार्छ। यस अर्थमा पुरुषोत्तम महिनाको शास्त्रीय पृष्ठभूमि, यसको खगोलीय र वैज्ञानिक आधार, यससँग जोडिएका पौराणिक कथाहरू, पुरुषोत्तम महिनामा गरिने व्रत–अनुष्ठान, र काठमाडौंको मछेगाउँमा लाग्ने ऐतिहासिक मत्स्यनारायण मेलाको विविध पक्षबारे विस्तृत रूपमा चर्चा गर्ने प्रयास गरिएको छ।
पुरुषोत्तम महिना भनेको के हो ? : वैदिक पञ्चांग (क्यालेन्डर) अनुसार सूर्य र चन्द्रमाको गतिको आधारमा समयको गणना गरिन्छ। सौर्यमान र चन्द्रमानबीचको समयको अन्तरलाई सन्तुलनमा ल्याउनका लागि प्रत्येक तीन वर्षमा एउटा अतिरिक्त महिना थपिने गर्दछ। जसलाई अधिकमास भनिन्छ। ज्योतिषशास्त्र र धार्मिक कृत्यका दृष्टिले यस महिनालाई सुरु–सुरुमा मलमास (अर्थात् मलीन वा फोहोर महिना) भनेर हेयको दृष्टिले हेरिन्थ्यो। किनकि यस महिनामा कुनै पनि शुभ वा संक्रान्ति कार्यहरू हुँदैनन्। तर, भगवान् विष्णुले यस महिनालाई आफ्नो नाम पुरुषोत्तम प्रदान गरेर यसको गरिमालाई सम्पूर्ण महिनाहरूभन्दा माथि पुर्याइदिनुभयो। त्यसैले यसलाई पुरुषोत्तम महिना भनिएको हो।
अधिकमासको खगोलीय र गणितीय आधार : हाम्रो वैदिक पञ्चांग अत्यन्तै वैज्ञानिक र खगोलीय गणनामा आधारित छ। यसलाई बुझ्न सौर्य वर्ष र चन्द्र वर्षको गणित बुझ्नुपर्छ। सौर्य वर्ष सूर्यले १२ वटा राशिहरू (मेषदेखि मीनसम्म) पार गर्न लाग्ने समयलाई सौर्य वर्ष भनिन्छ। यो सामान्यतया ३६५ दिन, ५ घडी, ४८ पला र ४६ विपला (करिब ३६५.२४२२ दिन) को हुन्छ। त्यसरी नै चन्द्र वर्ष चन्द्रमाको तिथि (प्रतिपदादेखि औंसी वा पूर्णिमा सम्म) को आधारमा गणना गरिने वर्षलाई चन्द्र वर्ष भनिन्छ। एक चन्द्र महिना करिब २९.५ दिनको हुन्छ र १२ महिनाको एक चन्द्र वर्षमा जम्मा ३५४ दिन हुन्छ।
यसरी समयको अन्तर : सौर्य वर्ष (३६५ दिन) र चन्द्र वर्ष (३५४ दिन) को बीचमा वर्षमा करिब ११ दिनको अन्तर पर्दछ। यदि यो ११ दिनको अन्तरलाई सच्याइएन भने हाम्रा चाडपर्वहरू (जस्तै दसैं, तिहार, होली) हरेक वर्ष मौसमभन्दा फरक समयमा पर्न थाल्नेछन्। मुस्लिम समुदायको हिजरी क्यालेन्डरमा यही चन्द्रमाको मात्र गणना हुने भएकाले उनीहरूको रमजान वा इद हरेक वर्ष १०–११ दिन अघि सर्छ र कहिले जाडो त कहिले गर्मीमा पर्छ। तर सनातन संस्कृतिमा ऋतु र चाडपर्वको सन्तुलन मिलाउन ज्योतिषहरूले हरेक ३२ महिना, १६ दिन र ४ घडीपछि एउटा अतिरिक्त महिना थपिदिए, जसलाई अधिकमास भनिन्छ। यो प्रक्रियाले सौर्य र चन्द्र वर्षलाई पुन: एक ठाउँमा ल्याउँछ।
पौराणिक पृष्ठभूमि र पुरुषोत्तम नामकरणको कथा के छ ?
सनातन पुराणहरू, विशेषगरी पद्मपुराण र पुरुषोत्तम माहात्म्यमा अधिकमास पुरुषोत्तम महिना कसरी बन्यो भन्ने रोचक र मार्मिक कथा पाइन्छ।
मलमासको दु:ख र भगवान् विष्णुको शरण : सृष्टिको सुरुमा ब्रह्माजीले वर्षका १२ महिनामा वैशाख, जेठ, असार आदि र तिथिहरूका छुट्टाछुट्टै अधिपति देवताहरू तोकिदिए। तर जब अधिकमास मलमासको पालो आयो। यस महिनामा सूर्य संक्रान्ति सूर्यको एक राशिबाट अर्को राशिमा प्रवेश नहुने भएकाले यसलाई मलीन अर्थात् मलमास भनियो।
यस महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश, यज्ञजस्ता कुनै पनि मांगलिक कार्य गर्न शास्त्रीय निषेध गरियो। अधिपति देव नभएको र समाजले अशुभ वा बहिष्कृत महिना मानेका कारण मलमास असाध्यै दु:खी भयो। आफ्नो यस्तो अपमान र निन्दा सहन नसकेर मलमास रुँदै वैकुण्ठधाममा भगवान् विष्णुको शरणमा पुग्यो र भन्यो प्रभु ! मलाई कसैले आदर गर्दैनन्। म अनाथ भएँ, मलाई सबैले त्यागे। यस्तो निन्दित जीवन बाँच्नुभन्दा म आफ्नो अस्तित्व नै समाप्त पार्छु। तसर्थ मलमासको दु:ख देखेर करुणामयी भगवान् विष्णुले उसलाई सान्त्वना दिनुभयो र उसलाई साथमा लिएर गोलोकधाम भगवान् श्रीकृष्णको निवासमा जानुभयो।
पुरुषोत्तम नामको प्राप्ति : गोलोकधाममा भगवान् नारायणले श्रीकृष्णसमक्ष मलमासको व्यथा राख्नुभयो। तब भगवान् श्रीकृष्ण जो स्वयम् परमपुरुष पुरुषोत्तम हुनुहुन्छ ले मलमासलाई ढाढस दिँदै भन्नुभयो– हे मलमास अब तिमी चिन्ता नगर। आजदेखि तिमीलाई आफ्नो स्वरूप, गुण र नाम प्रदान गर्दछु। संसारमा मलाई पुरुषोत्तम भनिन्छ। त्यसैले आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम महिना हुनेछ।
म स्वयम् तिम्रो स्वामी (अधिपति देव) बन्नेछु। भगवान्ले अगाडि भन्नुभयो जसले यो महिनामा मेरो आराधना गर्छ। उसलाई वर्षभरिको पूजाको भन्दा बढी फल मिल्नेछ। अरू महिनामा गरिने व्रत र दानको फल सीमित हुन्छ। तर पुरुषोत्तम महिनामा श्रद्धापूर्वक गरिने सानो सत्कर्मको फल पनि अक्षय (कहिले नसकिने) हुनेछ। यसरी एउटा अपवित्र र त्याज्य मानिएको महिना भगवान्को कृपाले सबैभन्दा पवित्र महिनामा परिणत भयो।
हिरण्यकशिपु वध र पुरुषोत्तम महिनाको सम्बन्ध : यो महिनाको महत्व श्रीमद्भागवत् महापुराणमा वर्णित भक्त प्रह्लाद र हिरण्यकशिपुको कथासँग पनि जोडिएको छ। दैत्यराज हिरण्यकशिपुले ब्रह्माजीबाट अनौठो वरदान मागेको थियो। ब्रह्माजीको वरदानका कारण अहंकारले अन्धो भएको हिरण्यकशिपुले सोचेको थियो कि ऊ अमर भयो, किनकि वर्षमा त १२ वटामात्र महिना हुन्छन्। तर भगवान्ले वरदानको मर्यादा पनि राख्ने र दैत्यको विनाश पनि गर्ने अद्भुत लीला रच्नुभयो। भगवान्ले वर्षको १२ महिनाभन्दा बाहिरको तेह्रौं महिना (अधिकमास÷पुरुषोत्तम महिना) सिर्जना गर्नुभयो र सिंह र मानवको मिश्रित रूप नृसिंह अवतार लिएर, दिन र रातको सन्धिकाल (साँझ) मा, आफ्नो काखमा राखेर नंग्राले हिरण्यकशिपुको वध गर्नुभयो। त्यसैले यो महिना अधर्ममाथि धर्मको विजयको प्रतीक पनि हो।
पुरुषोत्तम महिनामा गरिने धार्मिक कृत्य र नियम
पुरुषोत्तम महिना भौतिक सुखसुविधा वा सांसारिक मंगल कार्यका लागि नभएर विशुद्ध आध्यात्मिक उन्नति, आत्मशुद्धि र भगवद्–भक्तिका लागि आरक्षित महिना हो। त्यसैले यस महिनामा पालना गरिने नियमहरू विशिष्ट छन्।
के गर्नु हुँदैन ? (वर्जित कार्यहरू) : यस महिनामा काम्य कर्महरू निषेध गरिएको छ: विवाह, व्रतबन्ध (उपनयन) र गुफा राख्नेजस्ता संस्कारहरू। नयाँ घर निर्माण सुरु गर्ने वा गृहप्रवेश गर्ने। नयाँ व्यापार–व्यवसायको थालनी गर्ने। बहुमूल्य गहना, गाडी वा सम्पत्ति किन्ने (विशेष अवस्थाबाहेक)। कुवा, इनार वा पोखरी खन्नेजस्ता कामहहरू आदि रहेका छन्।
के गर्नुपर्छ ? (विशित कार्यहरू) : यो महिना आत्ममन्थन र ईश्वरसँग जोडिने समय हो। यस महिनामा गरिएका निम्नलिखित कार्यहरूको अनन्त गुणा फल मिल्ने विश्वास छ। मन्त्र जप र ध्यान: भगवान् विष्णुको मूल मन्त्र ॐ नमो भगवते वासुदेवाय वा विष्णु सहस्रनामको पाठ गर्नु अत्यन्त कल्याणकारी मानिन्छ। श्रीमद्भागवत र पुरुषोत्तम माहात्म्य श्रवण: यस महिनाभरि भागवत
महापुराणको कथा सुन्नु वा वाचन गर्नुले जन्म–जन्मान्तरको पाप नष्ट हुने विश्वास गरिन्छ।
दीपदान : साँझको समयमा मन्दिर, तुलसीको मोठ वा नदी किनारमा दीप (बत्ती) बाल्नु शुभ मानिन्छ। व्रत र सात्विक भोजन: यो महिनाभरि एक छाकमात्र सात्विक भोजन गर्ने वा फलाहार गरेर व्रत बस्ने परम्परा छ। जसमा लहसुन, प्याज, माछा–मासु र मदिरा पूर्ण रूपमा वर्जित हुन्छ। मालपुआ र काँसको थाल दान: पुरुषोत्तम महिनामा ३३ वटा मालपुआ (एक प्रकारको मिष्ठान्न) काँसको थालामा राखेर ब्राह्मण वा विपन्नलाई दान गर्ने विशेष परम्परा छ। ३३ को संख्याले हिन्दु धर्मका ३३ कोटि देवताहरूलाई प्रतिनिधित्व गर्दछ।
मत्स्यनारायणको मेला – परिचय र महत्व : पुरुषोत्तम महिनाको सन्दर्भ आउनासाथ नेपालको परिप्रेक्ष्यमा काठमाडौंको मत्स्यनारायण मेला स्वत: जोडिएर आउँछ। नेपालमा पुरुषोत्तम महिना मनाउने यो सबैभन्दा ठूलो र प्रमुख केन्द्र हो। कीर्तिपुर नगरपालिका, वडा नं. ९, मछेगाउँ काठमाडौंबाट करिब ८ किमि दक्षिण–पश्चिम रहेको छ। यहाँ भगवान् विष्णुको प्रथम अवतारको रुपमा रहेको मत्स्यनारायण (माछा रूप) छ। यो पुरुषोत्तम महिनाभरि मेला लाग्छ। यो प्रत्येक तीन वर्षमा एक पटक (मलमास परेको वर्ष) आउँछ।
निष्कर्ष : समग्रमा भन्नुपर्दा पुरुषोत्तम महिना र मत्स्यनारायणको मेला नेपाली समाजको एउटा अमूल्य सांस्कृतिक धरोहर हो। यो विज्ञान (खगोलशास्त्र) र अध्यात्मको सुन्दर समिश्रण यस महिनाको गणनामा देख्न सकिन्छ। गणितीय रूपमा समयलाई सच्याउने अधिकमास कसरी भगवान्को कृपाले परम पवित्र पुरुषोत्तम महिना बन्न पुग्यो भन्ने कथाले संसारमा कोही पनि निरर्थक वा अपवित्र छैन्, ईश्वरको शरणमा पुगेपछि सबैको उद्धार हुन्छ भन्ने सनातन दर्शनको मूल मर्मलाई उजागर गर्छ।
मूलत: काठमाडौंको मछेगाउँमा लाग्ने मत्स्यनारायण मेलाले हामीलाई हाम्रो इतिहास, कला, संस्कृति र जैविक विविधतासँग जोड्छ। यो मेला र पुरुषोत्तम महिनाको गरिमालाई बचाइराख्न मन्दिर क्षेत्रको संरक्षण, कुण्डहरूको सरसफाइ र नयाँ पुस्तामा यसको वैज्ञानिक तथा धार्मिक महत्वबारे चेतना फैलाउनु आजको आवश्यकता पनि हो। प्रत्येक तीन वर्षमा आउने यो पावन अवसरमा हामी सबैले आफ्नो मनभित्रको मलीनता (मल) लाई फालेर पुरुषोत्तम भगवान्को भक्तिमा लीन भई आध्यात्मिक लाभ उठाउनु नै यस पर्वको वास्तविक सार्थकता हुनेछ।
प्रतिक्रिया दिनुहोस !