मेरी माधवीविरुद्ध अक्षम्य अपराध

मेरी माधवीविरुद्ध अक्षम्य अपराध

काठमाडौंको बत्तीसपुतली सडकको पश्चिमपट्टि रहेको शिल्पी थिएटरमा मञ्चन भएको विख्यात महाभारतीय नाटक ‘माधवी’ले नेपाली द्रष्टाहरूबाट ठूलो प्रशंसा पाएको देखियो । केही साताअघि त्यो नाटक प्रदर्शनलाई अन्त्य पनि गरिएको छ ।

महाभारतको उद्योग पर्वमा रहेको महर्षि विश्वामित्र, शिष्य गालव र माधवीबारे संवत् २०३४ पुस १ गतेदेखि २०३९ को चैत मसान्तसम्ममा मैले पाँच सय ७० बृहत् उपन्यास लेखेको थिएँ ।

मैले त्यो उपन्यासलाई महाभारतीय कथाको आधार बनाउनुका साथै माधवीको समय भने उत्तर वैदिककाल लेखेर त्यो समयको पुरातत्व चिह्नहरू तथा त्यो उत्तर वैदिककालको भाषालाई विष्णुगुप्त चाणक्य कौटिल्यको गौतम बुद्धकालीन दुई सयभन्दा बढी विशिष्ट शब्दको प्रयोग गरेको थिएँ ।

संवत् २०३९ चैतमा साझा प्रकाशनले ‘माधवी’ प्रकाशन गरेपछि २०४० को वैशाखमा साझा प्रकाशनको सञ्चालक समितिले मेरो उपन्यासलाई साझा पुरस्कार दिने निर्णय गर्न लागेको थियो । त्यति बेला साझा प्रकाशन समितिको सदस्य रहेका पूर्वी नेपालका एक विशिष्ट विद्वान्ले श्री जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाजः एक चिन्तन’लाई पनि त्यही वर्ष साझा पुरस्कार दिनुपर्ने जोड गरे ।

त्यसैले त्यो वर्षको साझा पुरस्कार ‘माधवी’ र ‘हाम्रो समाजः एक अध्ययन’ बीच आधाआधा बाँड्ने निर्णय भयो । त्यस्तो आधा पुरस्कारबारे साझा प्रकाशनबाट चिठी मैले पाएपछि ‘ श्री जनकलाल शर्माको पुस्तक नेपाली समाजको गहन समाजशास्त्रीय चिन्तन हो भने माधवी पूर्णतया साहित्यिक उपन्यास हो, यी दुईबीच साझा पुरस्कार आधाआधा बाँड्न मिल्नु नपर्ने हो’ भन्ने धारणाको जानकारी दिएर आफ्नो भागको साझा पुरस्कार लिन इन्कार गरेको थिएँ ।

मेरो त्यो इन्कारीको आलोचना गर्दै संवत् २०४० को वैशाख र जेठमा विभिन्न पत्रपत्रिकामा ५२ वटा पाठकपत्र प्रकाशित भएका थिए । ती ५२ मध्ये काठमाडौंका दुईजना लेखकसित भेट हुँदा मैले ‘मेरो वा जनकलाल शर्माको पुस्तक अध्ययन गर्नुभएको छ कि छैन ? ’ भनी सोध्दा तिनले दुईवटै पुस्तक नपढेको जवाफ दिएका थिए ।

त्यस्तै धरानका महापण्डित श्री छविलाल पोखरेलले ‘गोरखापत्र दैनिक’मा दुई स्तम्भ लामो पत्र लेखेर मेरो निन्दा गरेका थिए । मैले गोरखापत्रमा नै लामै पत्र लेखेर त्यसको चित्तबुझ्दो जवाफ दिएको थिएँ । वर्ष दिनपछि श्री छविलाल पोखरेलसित धरानमा भेट हुँदा मेरासामु तिनी निकै विनम्र भएको पाएँ ।

 

त्यति बेला भारतका विशिष्ट साहित्यिक समालोचक रामवरन सिंह काठमाडौं आएर तीनपटक पुतलीसडकमा डेरा गरी बस्नुभएको थियो । उहाँले मेरासामु भन्नुभयो, ‘महाभारतको एउटा सानो कथालाई लिएर जसरी माधवीजस्तो अति उच्चस्तरीय उपन्यास लेखियो त्यस्तो साहित्यिक सम्प्राप्ति हिन्दी, बंगाली र मराठी भाषा साहित्यले पनि त्यो श्रेष्ठता र उच्चता प्राप्त गरेको छैन भन्ने म ठान्दछु ।’

समय बित्दै गयो, म प्रज्ञाप्रतिष्ठानमा उपकुलपति हुन पुगेँ । त्यहाँ एक श्री भीष्म साहनीसित हिन्दी साहित्य एकेडेमीको सभाकक्षमा मेरो भेट भयो उहाँले लेख्नुभएको ‘माधवी’ मैले पढिसकेको थिएँ । श्री भीष्म साहनीसितको त्यो भेटमा मैले संक्षेपमा भनेँ, ‘तपाईंले माधवीलाई फ्रेन्च शिफोंको साडी पहिर्‍याइदिनुभएछ ।’

साहनीजीले मेरो आलोचना बुझेर ‘साहित्य लेख्दा आफ्नो इच्छाअनुसार गर्न सकिन्छ’ भनी मेरो व्यंग्यको जवाफ दिनुभएको थियो । मैले विश्वकवि भनी प्रशंसा गर्ने गरेका केदारमान व्यथितले माधवी लेख्दै गर्दा चारपटक मेरो बासस्थानमा आएर लेखेको अंश सुनी प्रशंसा गर्नुभएको थियो ।

अन्तिमपटक उहाँले हाते रुमालले आफ्नो आँसुले भिजेको आँखालाई तीनपटक पुछ्दै उपन्यासको अन्त्यबारे प्रश्न उठाउनुभएको थियो, ‘उपन्यासको अन्त्यलाई संयोगान्त गर्ने कि वियोगान्त ? ’ ‘वाल्मीकीय रामायणपछि संस्कृत साहित्यमा वियोगान्त गर्ने पद्दति अन्त्य भएको थियो । तपाईले माधवीलाई संयोगान्त गराउनुभएको छ । तर मेरो विचारमा यो उपन्यासले आपूmलाई संयोगान्त र वियोगान्त दुवैबाट माथि उठाउनु बेस हुनेछ ।’ उपन्यासको त्यस बेलाको अन्तिम पृष्ठमा एक वाक्यमा परिवर्तन गरेर मैले व्यथितज्यूको समस्याको समाधान गरेको थिएँ ।

‘माधवी’ उपन्यास लेखेबापत श्री केदारमान व्यथितज्यूले म र मेरी पत्नीलाई आफ्नो घरमा निम्ता दिनुभएर नेवारी संस्कृति र परम्पराअनुसार हामी दुवैजनाको पूजा गर्दै माधवीजस्तो गहन र उच्चस्तरीय उपन्यास लेखेबापत बधाई दिनुभएको थियो ।

काठमाडौंको शिल्पी थिएटरमा भीष्म साहनीको नाटक ‘माधवी’ भयो भारतका माधवी नाटक लेखक श्री भीष्म साहनीको नाटक प्रदर्शन भयो । साहनीको नाटकले नेपालको नाटक र दर्शक क्षेत्रबाट अति ठूलो र हार्दिक प्रशंसा पाएको छ । आफ्नो स्वास्थ्यले गर्दा मैले त्यो नाटक हेर्न जान सकिनँ । तथापि त्यो नाटकले काठमाडौं उपत्यकामा देखाएको उच्चस्तरीय सफलतामा म आफ्नो तर्फबाट निकै थपेर अनुमोदन गर्दछु ।

शिल्पी थिएटरमा माधवी नाटक हेर्ने केही लेखकले अलगअलग समयमा विभिन्न पत्रपत्रिकामा नाटकबारे लेखेर उच्च प्रशंसा गर्दा मैले लेखेको ‘माधवी’ उपन्यास तथा सो उपन्यासका पात्रहरूका चरित्रबारे समेत लेखेको मैले पाएँ । ती चार लेखकसित मेरो पुरानो परिचय रहेको हो । मैले ती लेखहरू हेर्दा माधवीजस्ती अति उच्च पात्रलाई गालबको चरित्रभन्दा तल खसालेको गम्भीर आरोप ममाथि लगाइएको देखेँ ।

बरुणवलीमा जाँदा माधवी र गालबबीच दृष्टिमिलन भएको छ । ती नायिका र नायकबीच त्यो दिनदेखि पारस्परिक स्नेह, सद्भाव र प्रेम बढ्दै जान्छ । माधवीले चौथो छोरो जन्माएपछि त्यो केटीलाई असुर सम्राट् ययातीमा फिर्ता बुझाउन र त्यसपछि ययातीले आफ्नी छोरीको स्वयम्बर गर्ने अघोषित निर्णय गरिएको हुन्छ ।

त्यसरी ययाती छेउ गालबले माधवीलाई लिएर जाँदा स्वर्ण भद्र नदीको किनारमा गालबको काखमा माधवी पल्टिएकी छ । त्यस बेला तिनको पारस्परिक प्रेम उच्चस्तरमा पुगेर गालबले मावधीसित जीवनमा पहिलोपटक चुम्बन गर्ने माग गर्छ ।

माधवीले गालबको निहुरिएको मुखलाई अस्ताउँदो सूर्यको प्रतिभाको सौन्दर्यतिर हेर्न चिउँडोलाई फर्काइदिन्छे । उपन्यासमा नलेखिए पनि ययातीले स्वयम्वर गराउने दिनसम्म धैर्य धारण गर्न र आपसी प्रेमलाई त्यस बेलासम्म नियन्त्रित गर्न आग्रह गर्छे ।

त्यस्तैमा माधवीलाई सम्राट् ययातीमा बुझाएर गालब आफ्नो पुरानो साथी नागजेयसित भेट्न उत्तर पहाडतिर जान्छ । स्वर्ण भद्रमा एउटा चुम्बन माग्दा माधवीले परोक्ष तवरमा इन्कार गरेको सम्झिन्छ र स्वयम्वरको दिन आपूm अनुपस्थित हुन्छ । त्यसपछि माधवी स्वयवर परित्याग गरी वन प्रवेश गर्दछे ।

वनमा रहेको सम्बाला गणमा माधवी र गालबको भेट हुन्छ । त्यसपछि माधवीका चार छोराले प्रतिष्ठानपुरमा यज्ञ गर्दा वन्य प्रान्तबाट पहिले माधवी अनि गालब आपूmसँगै बसेका कुटीबाट निस्केर यज्ञस्थलमा आउँछन् । प्रथम भेट हुँदा माधवी १९ वर्षकी थिइन् । उपन्यासको अन्तिम दृश्यमा माधवी ७९ वर्षकी छे ।

शिल्पी थिएटरमा माधवी नाटक हेर्ने केही लेखकले मेरो उपन्यास माधवीमा गालबले माधवीलाई आपूmभन्दा तल खसालेबारे लेखेको भनी ममाथि आरोप लगाउँदा तिनीहरूले उपन्यास गहिरिएर राम्ररी बुझ्ने चेष्टा गरेका रहेनछन् भन्ने बुझेँ ।

ती दुई चरित्र माधवी र गालबबीच प्रारम्भदेखि नै पारस्परिक स्नेह, सद्भाव र प्रेमको प्रतिस्पर्धा थियो । त्यो प्रतिस्पर्धा चार छोरा जन्माएर ययाती प्रसादतिर जाँदासम्म उत्कट रूपमा प्रेमको रूरुपमा चलिरहेको थियो । आफ्नो उपन्यासमा मैले माधवीलाई कहिल्यै पनि गालबद्वारा तल खसालेर लेखेको छैन । तैपनि भीष्म साहनीको नाटक हेरेर गालबले माधवीलाई तल खसालेको आरोप ममाथि लगाइयो ।

मैले यो निराधार आरोप खप्नु परेकोमा ती मेरा परिचित लेखकहरूसित नम्रतापूर्वक क्षमायाचना गर्दछु र उहाँहरूसित मेरो उपन्यासलाई शान्त र गम्भीर मुद्रामा एकपटक फेरि गहन अध्ययन गरेर आफ्नो विचार परिष्कार गर्नुहोस् भनी आग्रह गर्दछु ।

मेरो औपन्यासिक पुस्तक माधवीमा मैले नारीलाई तल खसालेको छु भन्नु मेरो ठूलो अपराध ठहरिन्छ । आपूmले नगरेको अपराधबापत म त्यस्ता लेखकहरूसामु विनम्रतासाथ पुनः क्षमाप्रार्थी छु ।

भीष्म साहनी विशाल भारतका उच्चस्तरीय साहित्यकार तथा लेखक हुन् । यो सानो देश नेपालको सानो पत्रकार, लेखक मलाई साहनीको त्यो पुस्तकको सन्दर्भमा तल खसाल्ने प्रयास गर्नु त्यस्ता लेखकको लघुताभाष अतः अस्वीकार्य राष्ट्रिय प्रवृत्ति हो भन्ने म ठान्दछु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.