हिउँको मरुभूमि
कविता
समयको भेलमा बग्दैबग्दै आइपुगेको छु म
हिउँको मरुभूमि !थाहा छ, मैले हिँड्नु छ जीवनको अनन्त बाटो
हिउँले पुरिएको जमिनमाथि उभिएर
यतिखेर
म पहिल्याउन खोज्दैछु छायाहरूबीच आफ्नो छायाकहिल्यै पुछ्न सक्दैन यो हिउँ
मसँगै टाँसिएर हिँड्ने मेरो मौलिक वासना
तातो बालुवाले डामेको मेरो पैतालाको दाग
दर्शनढुंगामा ठोकिएर रगतपच्छे भएको मेरो बूढी औंलाको खत
नाम्लोले खजमजिएको मेरो तालुको कपाल
र मनभरि कुँदिएका अतृप्त सपनाजतिपल्ट छोएर जान्छ मलाई यो चिसो बतास
उडाउन सक्दैन यसले
मनभरि बाँधिएर बसेका मेरा साथी, प्रेमी र आफन्तको सम्झना ।बेतोडले बतासिएर कुद्ने मसिना गाडीका सिटहरूमा
सयौं मानिसले कोचाकोच रेलका डिब्बा
र हन्मेर्ना डन्डीहरूरुमा
देख्दैछु म हिउँले कठ्यांग्रिएका सपनाहरूको तँछाडमछाडस्टेसनमा ठोक्किएर छरिएका सपनाहरू सम्हाल्दै
गफिइरहेछु कुनै संगीसित भाइबरमा
कुदाइरहेछु मेरा औंलाहरु स्मार्ट फोनको स्क्रिनमा
गरिरहेछु ट्विट
ठेलिरहेको छु मेसेज
र अपलोड गरिरहेछु हिउँका केही तस्बिरहिउँको मरुभूमिमा
हराएको छ परिचय
परिचय खोज्दै चहारिरहेछु म गल्लीहरू
फर्किरहेछु रन्थनाएर आफ्नो मथिंगलमान्छेहरूको हतारको लस्कर
र निद्रा कचपटिएका अनिदा आँखाहरूमा
देख्छु म
निद्राजस्तै कचपटिएका सपनायतिखेर म लेख्न खोज्दैछु हिउँमा आफ्नो नाम
र, सोचिरहेछु—
अहिलेसम्म कति नामहरू
ती नामसँगै जोडिएर आएका कति सपनाहरू
पग्लिएर विलीन भए होलानयो हिउँको मरुभूमिमा ?

प्रतिक्रिया दिनुहोस !