नेपालमा भित्रिन्छ घोडा र गधाको मासु
काठमाडौः नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा घोडा र गधासँगै खच्चरको मासु आयात हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ । राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, गिज, डल्फिनको मासु पनि आयात हुन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/२०७३ मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको एक सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयात भएको थियो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा चीनबाट दुई हजार नौ सय २५ मूल्य बराबरको घोडा, गधा र खच्चरको २५ किलो मासु आयात भएको थियो ।
नेपालमा आयात हुने यस्ता मासु पाँचतारे होटेल, ठूला रेस्टुराँ, कूटनीतिक नियोग र विभिन्न मुलुकबाट पर्यटकका रूपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् । ‘पछिल्लो समयमा यस प्रकारका मासु नेपाल भित्रिन थालेको हो’, भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भने, ‘खाने बानीमा आएको परिवर्तन र जिब्रोको स्वाद फेर्न अहिले यस्ता विभिन्न प्रकारका मासुको उपभोग बढ्न थालेको छ ।
.राँगा, भेडा र चराजन्य पन्छीको मासु अत्यधिक आयात
.चीन, बेलायत र फ्रान्सबाट घोडा, गधा र खच्चरको मासु
.इटलीबाट डल्फिन र अमेरिकाबाट टर्कीको मासु
.सबैभन्दा बढी मासु थाइल्यान्ड र भारतबाट आयात
जसले गर्दा विभिन्न जनावर र पन्छीको मासुको आयात भइरहेको छ । यस्ता मासुको उपभोगकर्ता बाहिरका पर्यटकका साथै केही नेपाली पनि छन् ।’ यस्ता मासु उपत्यकाको ठूला होटेलबाहेक पोखरा, चितवनलगायतका स्थानमा पनि पुग्ने गरेको छ ।तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन् ।
नेपालीले चीन, भारत, अस्ट्रेलिया, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, डेनमार्क, मलेसिया, न्युजिल्यान्ड, बेलायत, स्पेन र ब्राजिलबाट आयात भएका मासु उपभोग गर्दै आएका छन् । यसैगरी फ्रान्स, सिंगापुर, बेल्जियम, इटली र नेदरल्यान्डबाट मगाइएका विभिन्न जनावरका मासुका परिकार पनि नेपालीले खाँदै आएका छन् ।
नेपालीले खसी, राँगा, कुखुरा, सुँगुर, बंगुर र भेडाको मासु मात्रै खाँदैनन् । पछिल्लो समयमा गिनी, गिज, डल्फिनलगायतका मासु पनि स्वाद मानेर खान थालेका छन् । नेपालीको मासुप्रति बढ्दै गएको मोहका कारण आर्थिक वर्ष २०७२/०७३ मा ४७ करोड २५ लाख २० हजार मूल्य बराबरको १२ लाख किलो मासु नेपाल आयात भएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा भने १३ करोड ९४ लाख २५ हजार मूल्य बराबरको १४ लाख दुई हजार नौ सय ६८ किलो मासु आयात भएको थियो ।
आयात हुने विभिन्न प्रकारका मासु पाँचतारे होटेल, रेस्टुराँ र विभिन्न कूटनीतिक नियोगले खपत गर्दै आएका छन् । नेपालमा हाड भएको, हाड नभएको, कलेजो, सुक्खा मासु, फ्रोजन, तयारी मासु बट्टा र प्याकेटमा, ताजा मासु, पेट र छातीको मासु, फिलाको मासु, बोसो भएको मासु, बोसो नभएको मासु, सिंगै, काटेर टुक्रा बनाइएका अवस्थामा विभिन्न प्रकारका मासु आयात हुन्छ ।
आयात गरिने यस्ता मासुको विभिन्न परिकार तयार पारी होटेल तथा रेष्टुराँले सर्वसाधारणलाई खुवाउँदै आएका छन् । नेपालमा चीन, थाइल्यान्ड, भारत, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट भेडाको मासु आयात हुन्छ भने अस्ट्रेलिया र चीनबाट भेडाको बच्चाको मासु आयात हुन्छ । यस्तै चीन, डेनमार्क, भारत, थाइल्यान्ड, इटली, नेदरल्यान्ड्स, स्पेन र बेल्जियमबाट सुँगुर र बंगुरको मासु नेपाल भित्रिन्छ ।
विभागका प्रवक्ता कुलराज ज्ञवालीका अनुसार चीन, थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया र भारतबाट राँगाको मासु आयात हुन्छ । तथ्यांकअनुसार सबैभन्दा बढी राँगा, भेडा र विभिन्न प्रकारका चराजन्य पन्छीको मासु आयात हुँदै आएको छ ।
यस्तै सिंगापुर, स्पेन र थाइल्यान्डबाट हाँस, गिज, गिनी र सोही प्रजातिका अन्य पन्छीको मासु आयात हुन्छ । थाइल्यान्ड, अमेरिका, अस्ट्रिया र फ्रान्सबाट टर्की तथा इटलीबाट डल्फिनको मासु आयात हुँदै आएको छ । उनका अनुसार ब्राजिल, भारत, थाइल्यान्ड र स्पेनबाट आयातित कुखुरा अन्य चराजन्य पन्छीको मासु पनि नेपालीले स्वाद मानेर उपभोग गर्छन् ।
यस्तै अस्ट्रेलिया, चीन र भारतबाट आयातित खसीको मासुको परिकार बनाएर होटेल र रेस्टुराँले पस्कँदै आएका छन् । गत आर्थिक वर्ष २०७१/०७२ मा इटलीबाट ३२ हजार चार सय ८३ मूल्य बराबरको १२ किलो डल्फिनको मासु आयात भएको तथ्यांक छ ।
ब्राजिल र भारतबाट आउने कुखुराको मासु राजधानीका बहुराष्ट्रिय चेन रेस्टुराँ केएफसीले प्रयोग गर्दै आएको छ । अमेरिकाबाट टर्कीको मासु आयात हुन्छ । सबैभन्दा बढी भारत र थाइल्यान्डबाट मासु आयात हुन्छ । भारत र थाइल्यान्डबाट एकपटकमा दुई करोडदेखि पाँच करोड रुपैयाँ बराबरको एक लाख ३२ हजार किलोको हाराहारीमा मासु आयात हुन्छ ।
विभागका प्रवक्ता ज्ञवालीका अनुसार बट्टामा आउने मासु (चीन र थाइल्यान्ड) आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्छ । यसैगरी मासु आयात गर्दा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ । ताजा र फ्रोजन मास आयात गर्दा भ्याट नलागे पनि १० प्रतिशत भन्सार शुल्क लाग्छ ।
भारतबाट आयात गर्दा भने ५ प्रतिशत भन्सार शुल्क मात्रै लाग्छ ।