रुकुमपूर्वको स्याला सुर्पामा पुग्यो बिजुली बत्ती
रुकुमपूर्व : रुकुमपूर्वको स्याला सुर्पा भन्ने गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ मा पर्ने स्याला सुर्पा गाउँमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो।
अहिलेसम्म पनि बिजुली नपुगेको उक्त गाउँमा ट्रान्सर्फमर जडान गरी करिब ६० वटा घरधुरीमा बत्ती बाल्न सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुमपूर्वका कार्यालय प्रमुख प्रमोद खनालले जानकारी दिए।
प्रमुख खनालका अनुसार भूमे गाउँपालिका वडा नम्बर ८ कोर्जामा पनि त्यहाको बत्ती भरपर्दो नभए पछि सोही ट्रान्सर्फमरबाटै करिब एक सय घरधुरीलाई पुग्ने गरी लाइन विस्तार गरी प्राधिकरणको लाइन पुर्याइएको छ। गाउँमा बत्ती बलेपछि स्थानीय खुसी भएका छन्।
पछिल्लो समय रुकुमपूर्वको विभिन्न गाउँहरूमा नेपाल विद्युत् प्राधिकरणको लाइन विस्तारको काम भइरहेको भए पनि ईआईबी आयोजनाअन्तर्गत सालासार र इथोस कम्पनीहरूले काममा ढिलासुस्ती गर्दा सबस्टेसन तथा विद्युत्को लाइन विस्तारको काममा ढिलाइ भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !